विद्युत् ट्रान्सफर्मर चोरीले मधेसका किसान धुरुधुरु

विद्युत् ट्रान्सफर्मर चोरीले मधेसका किसान धुरुधुरु
सुन्नुहोस्

मधेसमा सिँचाइ र खानेपानीका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर चोरीको शृंखला रोकिएको छैन। आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्रदेशका चार जिल्लाबाट ५८ वटा ट्रान्सफर्मर चोरी भएका छन्। चोरीका २० वटा मुद्दा दर्ता भए पनि ६ जनामात्रै पक्राउ परेका छन्। पछिल्लो ५ वर्षमा भने मधेसमा एक सयभन्दा बढी ट्रान्सफर्मर चोरी भइसकेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ।

बर्दिबास : आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशबाट ५८ वटा विद्युत् ट्रान्सफर्मर चोरी भयो। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी महोत्तरीमा २८ वटा ट्रान्सफर्मर चोरी भयो। सर्लाहीमा १७, धनुषामा १० र रौतहटबाट ३ वटा ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ।

चोरीका २० वटा मुद्दा दर्ता हुँदा ६ जनामात्रै पक्राउ परेका छन्। यो तथ्यांकले विद्युत् ट्रान्सफर्मरको बढ्दै गएको घटना र प्रहरीले गरिरहेको फितलो अनुसन्धानको तथ्यलाई उज्जागर गर्छ। प्रहरी र विद्युत् कार्यालयलाई समेत चोरहरूले छक्याउँदै एकपछि अर्को गर्दै एक सय बढी ट्रान्सफर्मर चोरी गरेर रेकर्ड कायम नै गरेको छ।

तर, प्रहरीको अनुसन्धान भने चोरको रफ्तारभन्दा निकै कमजोर रहेको पीडित किसानहरू बताउँछन्। विशेष गरेर सिँचाइ र खानेपानीका लागि जडान भएको ट्रान्सफर्मर चोरी हुने गरेको छ। लाखौं मानिसहरू प्रत्यक्ष पीडित बनेको छ। प्रदेशभरीमा वार्षिक २० वटा ट्रान्सफर्मर चोरी हुने गरेको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशको तथ्यांकले देखाउँछ।

५ जना पक्राउ, उजुरी हार्नेको लर्को
प्रहरीले डेढ वर्षको निरन्तर प्रयासबाट महोत्तरीबाट विद्युत् ट्रान्सफर्मर चोरेको घटनाका कवाड व्यवसायीसहित ५ जना आरोपीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूमाथि कस्तो कारबाही र अनुसन्धान गर्छ ? आम चासोको विषय बनेको छ। सोमबार इलाका प्रहरी कार्यालय बर्दिबासले विद्युत्को ट्रान्सफर्मरको तामाको क्वाइलसहित ५ जनालाई नियन्त्रणमा लिएको थियो।

यो सूचना पाउना साथ आरोपित चोरीहरूविरुद्ध गाउँ–गाउँबाट उजुरी लिएर आउनेको समूहको प्रहरीमा भीड नै लागेको छ। चोरहरूलाई राजनीतिक आडमा प्रहरीले छाड्न सक्ने आशंकामा पीडित किसान तथा गाउँलेहरूले गहिरो अनुसन्धानका लागि निरन्तर दबाब दिँदै आएका छन्। ९ वटा डिपट्युबेल सिँचाइ जल उपभोक्ता समितिले स्थानीय प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्याम सारु मगर र सरकारी वकिल कार्यालय ध्यानार्षणपत्र बुझाउँदै दोषीलाई कडा कारबाही गर्न माग गर्दै ध्यानकर्षण पत्र बुझाएको छ।

असोज १९ गते राति करिब ७ बजेको समयमा बर्दिबास नगरपालिका–१ स्थित हमाल टोलबाट ३३ केजी ट्रान्सफर्मरमा प्रयोग हुने तामाको क्वाइलसहित ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमा सर्लाहीको गोडैता नगरपालिका–६, बगदहका ३१ वर्षीय इन्द्रजित महतो, महोत्तरीको बर्दिबास नगरपालिका–८, हात्तीलेटका २९ वर्षीय दिनेशकुमार महतो, २७ वर्षीय भरत यादव, ३१ वर्षीय भुवन भुजेल र २८ वर्षीय जयराम ठाकुर छन्।

५ वर्षमा खानेपानी र सिँचाइका गरी झन्डै एक सयवटाभन्दा धेरै ट्रान्सफर्मर चोरी भएका छन्। चोरीका घटनामा विद्युत्को कर्मचारीको कुनै मिलोमतो छैन। नेपाल प्रहरीलाई घटनाको अनुसन्धान गरिदिन पत्रचार गरेका छौं।
शम्भु कुशियत यादव - प्रमुख, नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश, जनकपुरधाम

ट्रान्सफर्मर चोरीका घटनाबारे सबै तहबाट अनुसन्धान गर्न प्रहरी लागिपरेको छ। गिरोहको पत्ता लगाएर कारबाही हुन्छ। ट्रान्सफर्मर चोरी गर्ने गिरोहसम्म पुग्न हामी सबै प्रकारका अनुसन्धान गराउँछौं।
इन्द्रदेव यादव, प्रमुख जिल्ला अधिकारी, महोत्तरी 

प्रहरीले ट्रान्सफर्मर चोरीका घटनामा चोरको सञ्जालको कनेक्सन खोजिरहेका छौं। महोत्तरी, धनुषा र सर्लाहीलगायतका स्थानबाट लगातार ट्रान्सफर्मर चोरी भइरहेको छ। हामी गम्भीर भएर यो घटनाको 
अनुसन्धान गर्छौं।
श्याम सारुमगर - एसपी, जिल्ला प्रहरी कार्यालय महोत्तरी

ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ बोरिङहरू ठप्प छन्। ट्रान्सफर्मरको बडी झारेर भित्रको तामाको क्वाइल झिकेर चोरले लान्छ। गम्भीर भएर घटनाको अनुसन्धान गर्न सीडीओ, एसपी, सरकारी वकिललाई ध्यानार्षण गराएका छौं।
देवनारायण महतो, पीडित किसान

कवाड संकलन गर्ने व्यवसायी इन्द्रजित महतोले पक्राउ परेका अन्य ४ जनासँग उक्त तामाको क्वाइल खरिद गरेको स्वीकार गरेका छन्। नियन्त्रणमा लिइएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी महोत्तरी जिल्ला अदालतबाट पक्राउ परेकै मितिदेखि लागू हुने गरी ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ। बरामद तामाको तार ४० हजारमा बिक्री गर्ने तयारी भइरहेको बेला गोप्य सूचनाको आधारमा प्रहरी टोलीले उनीहरू गिरफ्तार गरेको हो।

झन्डै १ सय ट्रान्सफर्मर चोरी
मधेसमा शृंखलाबद्ध ट्रान्सफर्मर चोरीको घटनाले प्रदेशवासीलाई आजित भएका छन्। धनुषा, महोत्तरी, सर्लाही, रौतहटको विभिन्न स्थानमा खानेपानी र सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुख शम्भू कुश्यत यादवले जनाए। उनका अनुसार विगत पाँच वर्षयता निरन्तर ट्रान्सफर्मर चोरी घटना भरहेको बताए। उनका अनुसार हालसम्म एक सय बढी ट्रान्सफर्मर चोरी भइसकेको छ।

शृंखलाबद्ध रूपमा भइरहेको चोरीमा कवाड व्यवसायी तथा स्थानीय व्यक्तिहरूको संलग्नता रहेको आशंका गरिएको छ। ट्रान्सफर्मर चोरीका कारण विशेषगरी किसानहरू प्रभावित भएका छन्। खेतबारीमा सिँचाइका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ प्रभावित भएर खेतीपाती नै रोक्नुपर्ने अवस्था आएको गौशालाका पीडित किसान देवनारण महतोले जनाए।

महोत्तरीको हात्तीलेटका शलिग्राम यादवका अनुसार त्यहाँमात्रै हालसम्म करिब ६ वटा ट्रान्सफर्मर चोरी भएका छन्। उनका अनुसार गाउँकै केही व्यक्तिको संलग्नतामा ट्रान्सफर्मर चोरी हुने गरेको आशंका छ। यादवले ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्तिमाथि प्रहरीले कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। उनले चोरी नियन्त्रणका लागि प्रभावकारी अनुसन्धान र दोषी प्रमाणित भएकालाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए। ‘सरकारले हामीलाई ट्रान्सफर्मर दिँदै जाने र चोरले चोर्दै जाने, तर चोरीमा संलग्नलाई कारबाही नहुने हो भने खेतीपाती नगरे हुन्छ,’ उनले भने। उनका अनुसार चोरिएपछि दोस्रोपटक ल्याएको ट्रान्सफर्मरसमेत चोरीको प्रयासमा आधा खोलिएको अवस्थामा फेला परेको थियो।

यादवले विद्युत् वितरणका लागि जडान गरिएका ट्रान्सफर्मरको तुलनामा सिँचाइ प्रयोजनका ट्रान्सफर्मर बढी चोरी हुने गरेको भन्दै यसको कारणबारे समेत गम्भीर अनुसन्धान आवश्यक रहेको बताए। उनले घटनामा विद्युत् क्षेत्रका कर्मचारीको समेत मिलेमतो हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

बिजपुराका स्थानीय किसानहरूले सिँचाइका लागि प्रयोग हुने ट्रान्सफर्मर चोरीका घटनालाई गम्भीरतापूर्वक लिएर चोरीको सञ्जाल पहिचान गर्न तथा दोषीमाथि कानुनअनुसार कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्। साथै, चोरी भएका ट्रान्सफर्मरको पुनःस्थापना र किसानको सिँचाइ सुविधा नियमित बनाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने उनीहरूको भनाइ छ।

यता प्रहरीलाई घटनाको अनुसन्धान गरिदिन पत्रचार गरिएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुख यादवले जनाए। ट्रान्सफर्मर चोरीमा विद्युत्को कर्मचारीको कुनै मिलोमतो नभएको स्पष्ट पारे।

चोरको कनेक्सन खोज्दै प्रहरी
प्रहरीले ट्रान्सफर्मर चोरीका घटनामा चोरको सञ्जालको कनेक्सन खोजिरहेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्याम सारु मगरले आरोपीहरूमाथि अनुसन्धान गर्न महोत्तरी जिल्ला अदालतबाट म्याद लिएर गहिरो अनुसन्धान भइरहेको बताए। महोत्तरी, धनुषा र सर्लाहीलगायतका स्थानबाट लगातार ट्रान्सफर्मर चोरी भइरहेको छ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ट्रान्सफर्मर चोरीको घटनाबारे सबै तहबाट अनुसन्धान गर्न प्रहरी लागिपरेको बताए। उनले भने, ‘ट्रान्सफर्मर चोरी गर्ने गिरोहसम्म पुग्न हामी सबै प्रकारका अनुसन्धान गर्छौँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.