विज्ञहरू भन्छन्–‘प्रधानमन्त्रीको त्रिदेशीय प्रस्ताव राम्रो सुरुवात’
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा भारत र चीनसँग त्रिदेशीय जलवायु संयन्त्र बनाउने प्रस्ताव गरे। उक्त प्रस्तावलाई निकै चासोका साथ हेरिएको छ। तर, प्रधानमन्त्री शाहले भनेजस्तो त्रिदेशीय संयन्त्र बन्न कत्तिको सम्भव होला ? कसैले यसलाई अत्यन्त राम्रो सुरुवात हुन सक्ने बताए पनि कार्यान्वयन पक्षमा शंका व्यक्त गरेका छन्। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले भर्खरै लेखेको लेखमा चीन नजिकबाट सहकार्य गर्न तत्पर रहेको बताएका छन्।
राजदूत माओमिङले जलवायु विपद् साझा समस्या भएकाले नेपालसँग नजिकबाट सहकार्य गर्न चीन तयार रहेको उल्लेख गरेका छन्। जलवायु परिवर्तन र सीमापार विपद् नेपाल र चीन दुवैले अनुभव गरिरहेका साझा समस्या भएको राजदूत माओमिङको लेखमा उल्लेख छ। त्यसैगरी राजदूत माओमिङले विश्वव्यापी सुरक्षा तथा सुशासन पहल कार्यान्वयन गर्न संयुक्त विपद् पूर्वसूचना र प्रतिरोध प्रतिकार्य संयन्त्रमा अभिवृद्धि गर्ने जनाएका छन्। मानव–प्रकृतिबीच सामञ्जस्यतासहितको ट्रान्स–हिमालयन भूमि बनाउने पनि बताएका छन्। उनले नेपालसँग हातेमालो गर्दै द्विपक्षीय सम्बन्ध अझ सुदृढ गर्ने विषय उल्लेख गरेका छन्। उनको यस खालको आशयले सीमापार विपद् व्यवस्थापनमा चीन सहकार्य गर्न इच्छुक रहेको देखिन्छ।
अल्पविकसित मुलुकहरूको सहायता टोलीका प्रमुख सल्लाहकार मञ्जित ढकाल प्रधानमन्त्रीले महासभामा गरेको प्रस्तावलाई बलियो राजनीतिक संकेतका रूपमा बुझ्न सकिने बताउँछन्। ‘देशको उच्चस्तरीय तहबाट नै यस्ता विषय बोल्दा महत्व धेरै देखिन्छ। अब प्राविधिक हिसाबमा कसरी काम गर्न सकिन्छ, तयारी गर्नुपर्छ,’ ढकालले भने, ‘प्रधानमन्त्रीको प्रस्तावसँगै छिमेकीहरूलाई प्राविधिक तथा कूटनीतिक संवादका लागि बाटो खुला गरिएको छ। तुरुन्तै गर्न सकिने खालका सहकार्य हामी गर्न सक्छौं।’
प्रधानमन्त्रीको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै उनले प्राविधिक तथा कूटनीतिक तहबाट अगाडि बढ्नुपर्ने सुझाव दिए। पूर्वसूचना प्रणाली होस् या विपद्पछिको प्रतिकार्य संयन्त्र, यस्ता प्राविधिक विषयमा सहकार्य अत्यन्त आवश्यक रहेको उनले बताए।
चिनियाँ राजदूत माओमिङको राजनीतिक सन्देशले वैज्ञानिक संस्थाहरूबीच स्याटेलाइट डेटा आदानप्रदान, ग्लेसियर अनुगमन (मोनिटररिङ), प्राविधिक विज्ञता, विपद् प्रतिकार्यको सहकार्य जस्ता विषयमा अघि बढ्ने संकेत दिएको ढकालले बताए। यसका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जस्ता संस्थाहरूको समन्वयमा काम गर्न सकिने उनको भनाइ छ। विपद् कुनै क्षेत्रमा सीमित नहुने भएकाले मित्रराष्ट्रहरूसँग समन्वय गर्दै अन्तरदेशीय संयन्त्र बनाउन जरुरी रहेको ढकालको भनाइ छ।
चाइनिज एकेडेमी अफ साइन्समा कार्यरत डा. डिबी कट्टेलले प्रधानमन्त्रीको अन्तरदेशीय सहकार्यको प्रस्तावलाई एकदमै सकारात्मक रूपमा लिन सकिने बताए। त्रिदेशीय संयन्त्रमार्फत सहकार्य हुन सके झन् राम्रो हुने उनको धारणा छ। ‘नेपाल, चीन, भारतलगायत अन्य देशहरूको पानीको स्रोत एउटै हिमाली क्षेत्रमा गाँसिएको छ,’ कट्टेलले भने, ‘हिउँजन्य जोखिमका दृष्टिले हेर्दा तल्लो तटीय क्षेत्रमा असर परे पनि सबै क्षेत्रमा असर देखिन्छ। जलवायु विपद् सबैले भोगिरहेको समान साझा समस्या भएकाले त्रिदेशीय सहकार्य उपयुक्त हुन्छ। तर, यसका लागि अत्यन्त कडा/बलियो कूटनीति नभईकन त्यस्तो संयन्त्र बनाउन सकिन्न। सहकार्य व्यवस्थापन गर्न पनि सजिलो छैन।’
- प्रधानमन्त्री वालेन्द्र शाहले संयुत्ताm राष्ट्रसंघको महासभामा नेपाल, भारत र चीनबीच त्रिदेशीय जलवायु संयन्त्र बनाउन प्रस्ताव गरेका छन्।
- विज्ञहरूले प्रस्तावलाई सकारात्मक र महत्तवपूर्ण राजनीतिक पहल माने पनि कार्यान्वयनका लागि बलियो कूटनीति आवश्यक रहेको बताएका छन्।
- नेपाल–चीनबीच विपद् पूर्वसूचना, प्रतिकार्य, स्याटेलाइट डेटा आदानप्रदान, ग्लेसियर अनुगमन र प्राविधिक विज्ञतामा सहकार्य बढाउन सकिने विज्ञहरूको भनाइ छ।
- हिमाली क्षेत्रमा भएका हजारौं अनुसन्धान र अनुसन्धानका नतिजा नीति निर्माणमा पर्याप्त प्रयोग हुन नसकेको विज्ञहरूको गुनासो छ।
- नेपालसँग आफ्नै स्याटेलाइट नभएकाले राडार स्याटेलाइट, नयाँ प्रविधि र एआईको प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
बेवास्तामा हजारौं अनुसन्धानहरू
कट्टेलका अनुसार प्राज्ञिक/एकेडेमिक तहबाट धेरै अनुसन्धानका काम भइरहेका छन्। हजारौं अनुसन्धान पत्रहरू छन्। अनुसन्धानका परिणामहरू आएका छन्। तर, ती परिणामहरूको उपयोगिता हुन सकेको छैन। ‘ती नतिजाहरूले नीति निर्माण गर्दा सहयोग पुर्याउँछन् भनेर बारम्बार भन्दै आएको भए पनि बेवास्ता गरिएको छ,’ कट्टेलले भने, ‘त्यसैले कूटनीतिक पहलबाट अहिलेसम्म भएका उपलब्धि र सहकार्यका बारेमा मनन गर्नुपर्छ।
अहिले पनि डेटा तथा सूचना आदानप्रदान र अनुसन्धानमा सहकार्यका कामहरू भइरहेका छन्। नेपाल र चीनको सहकार्यमा नदीहरूको पारिस्थितिक प्रणालीमा काम भएको छ।’ तर, भारतसँग धेरै काम हुन नसकेको उनले बताए। त्यसैले ट्रान्सबाउन्ड्री मुद्दालाई कसरी बढावा दिने भन्ने हिसाबमा जानुपर्ने कट्टेलको भनाइ छ। ‘छिमेकीसँग सम्बन्ध बनाउनु र अन्य ५०औं देशसँग सम्बन्ध बनाउनुमा फरक छ,’ कट्टेलले भने, ‘त्यसैले छिमेकीहरूलाई प्राथमिकता दिनुपर्छ।’
विपद् जुनसुकै समयमा पनि हुन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न हिमाली क्षेत्रको अवस्था र भोलि हुन सक्ने जोखिमको सम्भावना जस्ता विषयमा सहकार्य एकदमै जरुरी देखिएको उनको भनाइ छ। हालको समस्या तिब्बती पठार क्षेत्रमा भएकाले पहिलो जोड नेपाल–चीनबीचको सहकार्यलाई बलियो बनाएर समस्यालाई सम्बोधन गर्नुपर्ने पनि उनले बताए।
विदेश मामिला तथा सुरक्षासम्बन्धी विज्ञ डा. इन्द्र अधिकारीले जलवायु संयन्त्र बनाउने विषयलाई दुई खालका दृष्टिकोणबाट हेर्नुपर्ने बताइन्। ‘पहिलो, भूगोल र वातावरणीय क्षयीकरणको हिसाबले। दोस्रो, भूगोलको हिसाबले,’ अधिकारीले भनिन्, ‘तिब्बत/चीन नेपालभन्दा माथि र भारत तल पर्छ। तर, विपद्को प्रभाव नेपाललाई बढी परे पनि भारतसम्मै पुग्छ। जे–जस्ता वातावरणीय समस्याहरू छन्, तिनले सबैलाई एकैपटक पीडित बनाउँछन्।’
प्रधानमन्त्री शाहको प्रस्ताव सकारात्मक भए पनि दुई–तीनवटा देशहरूले मात्रै संयन्त्र बनाएर सुरक्षित नहुने उनी बताउँछिन्। ‘उनीहरूसँग सहयोग, सहकार्य र परामर्श कसरी गर्ने भन्नेमा नेपालले आफूलाई धेरै अभ्यास गराउनुपर्छ,’ अधिकारीले भनिन्, ‘अन्य देशहरूलाई कसरी सहमत गराउने र कसरी सहयोग लिने भन्ने विषयमा नेपालले काम गर्न बाँकी छ। अब संयन्त्र बनाउनमा नेपालको प्रयास कस्तो हुन्छ भन्ने कुराले अर्थ राख्छ।’जलवायु परिवर्तनले जुन प्रकारको वातावरण क्षयीकरण बढाइरहेको छ, यो कुनै भौगोलिक क्षेत्रमा मात्र सीमित नहुने भएकाले अन्य राष्ट्रहरूसँग पनि हातेमालो गर्दै नेपालले आवाज बलियो बनाउनुपर्ने उनको भनाइ छ।
‘विश्वको ध्यानाकर्षण मात्र गराउनुभन्दा पनि विकासका मोडेल परिवर्तन आवश्यक रहेको उनले देखेकी छन्। वैकल्पिक विकासको संयन्त्रमा काम गर्दै विश्वका विकसित देशहरूलाई पनि दायरामा ल्याउन उनले सुझाव दिइन्। ‘नेपालले आफ्नै विकासका नीति परिकल्पना गर्नुपर्छ,’ अधिकारीले भनिन्, ‘भारत र चीनबाहेक नेपालजस्तै समान हित भएका देशहरू भुटान, अफगानिस्तान, म्यानमारलगायतका देशहरूलाई पनि बोर्डमा राख्नुपर्छ।
वातावरणमैत्री, जनतामैत्री तथा असहायमैत्री विकासका नीति अवलम्बन गर्न सरकार अलिकति चुकेको छ। हिमाल पग्लिएको असर समुद्री सतहसम्म (विश्वको १५ देखि २० प्रतिशत जनसंख्या) पुगेर प्रभावित हुने भएकाले उनीहरूसँग पनि लबिङ गर्न सक्नुपर्छ।’
पूर्वसूचना प्रणालीमा सहकार्य कस्तो होला ?
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वरिष्ठ रिमोट सेन्सिङ स्पेसलिस्ट वीरेन्द्र बज्राचार्यले प्रधानमन्त्रीको अन्तरदेशीय संयन्त्र प्रस्ताव एकदमै महत्वपूर्ण रहेको बताए।
इसिमोडले वैज्ञानिक संस्थाको हिसाबले विगतदेखि चीनको चाइनिज एकेडेमी अफ साइन्ससँग काम गरिरहेको छ। भारतसँग पनि केही वैज्ञानिक सहकार्य भएको छ। तर, जनस्तर (पिपुल टु पिपुल) को सहकार्य अझै प्रभावकारी हुने उनले बताए। विगतमा कतिपय संयन्त्रहरू फलदायी हुन नसकेको दृष्टान्त सुनाउँदै विगतलाई समीक्षा गरेर कमजोरीहरूमा सुधार गर्दै लैजानुपर्ने सल्लाह उनले दिए।
बज्राचार्यका अनुसार तथ्यांक आदानप्रदानको विषय पनि कतिसम्म उपलब्ध गराउने भन्नेमा स्पष्ट हुनुपर्छ। यस्ता विषयहरूमा द्विपक्षीय रूपमा उपलब्ध तथ्यांकहरूले वार्तामा फरक पार्छन्। यस्ता काम सरकारको तहबाट मात्रै सम्भव हुन्छन्। भोटेकोशी बाढीको कुरा गर्दा विगतका पूर्वसूचना प्रणालीले काम नगरेको भन्ने आममानिसको बुझाइ छ। तर, उक्त घटना एकदमै फरक खालको भएको उनले बताए। पानी परेर आउने बाढीको विषयमा पूर्वसूचना दिन सकिए पनि रसुवाको जस्तो घटना अत्यन्त फरक भएकाले पूर्वसूचना प्रणालीलाई परिवर्तन गर्नुपर्ने देखिएको उनले बताए। उनले भने, ‘विगतमा जे–जस्ता पूर्वसूचना प्रणालीको अभ्यास गरेका थियौं, त्यसले नयाँ खालका विपद्का जोखिमलाई सम्बोधन गर्न नसक्ने भयो। त्यसैले हाम्रा प्राविधिक सीमितताको विषयमा विचार गर्नुपर्नेछ भन्ने सिकाएको छ।’
नेपालको आफ्नै स्याटेलाइटसम्म छैन। पानी पर्ने बेलामा बादल लागेपछि सामान्य अप्टिकल स्याटेलाइटले काम गर्दैन। ‘त्यस्तो समयमा अर्को राडार स्याटेलाइट प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘पहाडी भूभागका कतिपय तस्बिरहरू यसले क्याप्चर गर्न सक्दैन। स्याटेलाइट भन्दैमा सबै समाधान दिन्छ भन्ने हुँदैन। आफ्नै खालका प्राविधिक सीमाका बाबजुद सम्भव भएसम्म प्रविधिलाई कतिसम्म उपलब्ध गराउन सकिन्छ, प्रयास गर्नुपर्छ। तर, हजारौं नदीहरू भएकाले कति उपकरण राख्ने भन्ने बजेटको कुरा आउँछ। बृहत् अध्ययनका लागि त्यसतर्फ जानुपर्छ।’
इसिमोडको प्रोजेक्ट सर्भियरमार्फत मौसम पूर्वानुमान अझ कसरी मिलाउने भन्ने काम भइरहेको उनले बताए। ‘अत्यन्त धेरै पानी पर्ने र त्यसबाट हुन सक्ने बाढीको सूचना दिन सकिए पनि हिमपहिरोहरूको सूचना दिन भने कठिन छ,’ उनले भने, ‘पछिल्लो समय इसिमोड आफैंले नयाँ प्रविधि ल्याएर काम गरिरहेको छ।’ एआईको प्रयोगमार्फत कति सुधार गर्न सकिन्छ भन्नेमा पनि काम गरिरहेको बज्राचार्यले जानकारी दिए। सरकारले नयाँ प्रविधिलाई कसरी बढीभन्दा बढी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रयत्न गर्नुपर्ने उनले सुझाव दिए।
प्रतिक्रिया दिनुहोस !