तीव्र गतिमा भइरहेको जनसाङ्ख्यिकी पलायन अर्को प्रमुख समस्याका रूपमा देखा परेको छ। तीनवटै प्रतिकूलता एकैपटक जोडिँदा मनाङमा एउटा अभूतपूर्व ‘त्रिवेणी संकट’ सिर्जना भएको छ। यो संकट केवल एउटा हिमाली जिल्लाको स्थानीय व्यथामात्र होइन। यो समग्र हिमाली भू–राजनीति, वातावरणीय सुरक्षा र दिगो विकास रणनीतिमाथि खडा भएको ठूलो प्रश्नचिह्न हो।
नेपालको उत्तर–मध्य भागमा अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित छ– मनाङ जिल्ला। प्राकृतिक सौन्दर्य, मौलिक हिमाली संस्कृति र बहुमूल्य जैविक विविधताको अनुपम संगम हो, मनाङ। ऐतिहासिक रूपमा ‘मनाङे’ समुदायको साहसिक व्यापारिक यात्रा र हिमाली जीवनशैलीका लागि प्रसिद्ध यो क्षेत्र पछिल्ला दशकमा विश्वप्रसिद्ध ‘अन्नपूर्ण पदमार्ग’ को मुटुका रूपमा स्थापित छ। समुद्र सतहबाट करिब २६ सय मिटरदेखि ५४ सय मिटरसम्मको उचाइमा फैलिएको यो जिल्ला भौगोलिक रूपमा संवेदनशील र वातावरणीय दृष्टिले अत्यन्तै संवेदनशील मानिन्छ।
तर, आजभोलि मनाङ बहुआयामिक चुनौतीहरूको तीव्र घेराबन्दीमा छ। एकातिर जलवायु परिवर्तनको भयावह र अप्रत्याशित असर, अर्कोतिर अनियन्त्रित भौतिक पूर्वाधार निर्माणको होडबाजी छ। तीव्र गतिमा भइरहेको जनसाङ्ख्यिकी पलायन अर्को प्रमुख समस्याका रूपमा देखा परेको छ। तीनवटै प्रतिकूलता एकैपटक जोडिँदा मनाङमा एउटा अभूतपूर्व ‘त्रिवेणी संकट’ सिर्जना भएको छ। यो संकट केवल एउटा हिमाली जिल्लाको स्थानीय व्यथामात्र होइन। यो समग्र हिमाली भू–राजनीति, वातावरणीय सुरक्षा र दिगो विकास रणनीतिमाथि खडा भएको ठूलो प्रश्नचिह्न हो।
१. संकटको पहिलो आयामः जलवायु परिवर्तन, अन्याय र पारिस्थितिकीय जोखिम
‘वृष्टिको छाया’ क्षेत्रमा पर्ने भएकाले ऐतिहासिक रूपमा मनाङमा असाध्यै कम वर्षा हुन्थ्यो। यहाँको सुक्खा हिमाली भूगोल र मरुभूमितुल्य वातावरणमा मानिसले परापूर्वकालदेखि सोही अनुकूलको कृषि, पशुपालन र आवास निर्माणको शैली अपनाएका थिए। तर, विश्वव्यापी तापक्रम वृद्धि र भू–मण्डलीय जलवायु परिवर्तनको प्रत्यक्ष मार मनाङको संवेदनशील भूगोलमा परेको छ।
यहाँ सबैभन्दा ठूलो प्रश्न जलवायु न्याय हो। वैश्विक कार्बन उत्सर्जनमा मनाङवासीको योगदान शून्यप्रायः छ। तर विश्वका औद्योगिकीकृत मुलुकले गरेको प्रदूषणको मूल्य मनाङका निर्दोष नागरिकले आफ्ना घरखेत र परम्परागत जीविकोपार्जन गुमाएर चुकाउनु परिरहेको छ।
अतिवृष्टि र अप्रत्याशित प्राकृतिक विपद्ः ०७८ जेठ/असारमा मस्र्याङ्दी नदीमा आएको अभूतपूर्व बाढी र त्यसलगत्तैका पहिरोले ताल, चामे र धारापानीलगायतका बस्तीमा ठूलो क्षति पुर्यायो। यतिमात्र होइन, ०८३ असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण चामेमा मस्र्याङ्दी नदी थुनिएर ताल बन्दा र नासों गाउँपालिका– १ को तालले गाउँ नै जलमग्न भई डुबानमा पर्दा स्थानीय जनजीवन झनै त्रसित बन्यो। विगतमा हिउँमात्र पर्ने क्षेत्रमा लगातार मुसलधारे वर्षा हुन थालेको छ। वर्षाको यो परिवर्तित ढाँचाले वर्षौंदेखि स्थिर रहेको सुक्खा हिमाली माटोलाई पगाल्ने र बगाउने काम गरिरहेको छ।
हिमनदी पग्लिने क्रम र हिमताल विस्फोटको जोखिमः मनाङका उच्च हिमाली भागमा रहेका हिमनदी तीव्र गतिमा पग्ली खुम्चिरहेका छन्। यसले एकातिर ठुलाकी (डोना) जस्ता हिमतालको आयतन बढाएर हिमताल विस्फोटनको उच्च जोखिम बढाएको छ भने अर्कोतिर दीर्घकालीन रूपमा तल्लो तटीय क्षेत्रमा जलस्रोतको संकट निम्त्याउने निश्चित छ।
जैविक विविधता र कृषिमा असन्तुलनः तापक्रम वृद्धिका कारण माथिल्लो उचाइमा नयाँ–नयाँ प्रजातिका कीरा र रोगको संक्रमण देखिन थालेको छ। परम्परागत स्याउ खेती, उवा, फापर र जडीबुटी संकलनमा जलवायु परिवर्तनले नकारात्मक असर पारिरहेको छ।
जलवायुजन्य हानि र नोक्सानीको प्रत्यक्ष प्रभावले मनाङवासीको जिउधन र परम्परागत जीविकोपार्जनलाई चरम अनिश्चिततातर्फ धकेलेको छ।
२. संकटको दोस्रो आयामः अनियन्त्रित विकास र पूर्वाधारको द्वन्द्व
कुनै पनि दुर्गम क्षेत्रका नागरिकका लागि सडक सञ्जाल, बिजुली र आधुनिक पूर्वाधार पुग्नु अधिकार र समृद्धिको आधार हो। मनाङमा सडक पुग्नुले स्थानीयको स्वास्थ्य उपचार, खाद्यान्न आपूर्ति र दैनिक जीवनमा ठूलो राहत पु¥याएको छ। तर, वातावरणीय दृष्टिकोण र हिमाली संवेदनशीलतालाई पूर्णतः उपेक्षा गरी चलाइएको ‘डोजरे विकास’ ले मनाङको संकटलाई झन् भयावह बनाएको छ।
असंवेदनशील निर्माण शैलीः पहाडी र हिमाली भूगोलमा सडक खन्दा गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकनलाई केवल कागजी प्रक्रियामा सीमित राखिएको छ। भारी मेसिनरीको प्रयोगले भिरालो जमिनको प्राकृतिक सन्तुलन बिगारेको छ, जसले सामान्य वर्षामा पनि ठूला–ठूला पहिरो निम्त्याउने गरेको छ।
साहसिक पर्यटनको मौलिकतामा ह्रासः मनाङको अर्थतन्त्रको मुख्य मेरुदण्ड भनेकै ‘अन्नपूर्ण सर्किट’ मा आउने विदेशी पर्यटक हुन्। तर, पुराना पदमार्गहरूमै धुलाम्मे मोटरबाटो निर्माण गरिएपछि पदयात्रीहरूको अनुभव खस्केको छ। सडक बनेसँगै पर्यटकहरूको बसाइ अवधि घट्नुका साथै पर्यटकहरूले गर्ने खर्चमा समेत भारी गिरावट आएको छ।
संरक्षण र विकासबीचको नीतिगत द्वन्द्वः अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कडा संरक्षण नीति र स्थानीय जनप्रतिनिधि तथा समुदायको तीव्र भौतिक विकासको चाहनाबीच उचित समन्वय हुन सकेको छैन। सन्तुलित र हरित पूर्वाधारको अवधारणा लागू नहुँदा विकास नै विनाशको कारण बन्ने खतरा बढेको छ।
३. संकटको तेस्रो आयामः तीव्र जनसांख्खिकीय पलायन र शून्यतातर्फको यात्रा
मनाङको ‘त्रिवेणी संकट’ को तेस्रो र सम्भवतः सबैभन्दा चिन्ताजनक पक्ष भनेको तीव्र गतिमा घट्दो जनसंख्या र व्यापक बसाइँसराइ हो। राष्ट्रिय जनगणना ०७८ को नतिजाअनुसार कुल स्थायी जनसंख्या ५ हजार ६ सय ५८ रहेको मनाङ छ। जुन, देशकै सबैभन्दा कम जनघनत्व र जनसंख्या भएको जिल्ला हो। जसका कारण यहाँका गाउँहरू क्रमशः रित्तिँदै जाने जोखिम बढेको छ। वार्षिक–१.३९ प्रतिशतको ऋणात्मक जनसंख्या वृद्धिदरले यहाँबाट युवा जनशक्ति र सक्रिय श्रमशक्ति निरन्तर बाहिरिरहेको देखाएको छ, जसले स्थानीय सामाजिक गतिशीलतालाई पूर्णतः ठप्प बनाएको छ।
अत्यधिक चिसोका कारण जाडो याममा बेंसीतर्फ बसाइँ सर्ने परम्परागत मौसमी स्थानान्तरणले शैक्षिक सत्र, स्थानीय प्रशासनिक कामकाज र सरकारी सेवा प्रवाहलाई पटक–पटक प्रभावित पार्दै आएको छ। त्यसमाथि पछिल्ला वर्षहरूमा गुणस्तरीय शिक्षा, आधुनिक स्वास्थ्य सेवा र रोजगारीका नयाँ अवसरहरूको खोजीमा काठमाडौं, चितवन, बेंसीशहर तथा पोखराजस्ता सहरहरूमा स्थायी पलायन हुने प्रवृत्ति तीव्र रूपमा बढेको छ। नागरिकको स्थायी पलायनका कारण खेतीयोग्य जमिन बाँझो हुने, परम्परागत पशुपालन छोड्दै जाने र स्थानीय अर्थतन्त्र खस्किने क्रम सुरु भएको छ। सबैभन्दा दुःखद् पक्ष त के छ भने, युवा पिँढीको अभावमा शताब्दीऔं पुराना हिमाली गुम्बा, सांस्कृतिक पर्व र रीतिरिवाज व्यवस्थापनमा ठूलो कठिनाइ उत्पन्न भएको छ, जसका कारण मौलिक मनाङे भाषा, हिमाली बौद्ध संस्कृति, कला र परम्परा नै लोप हुने गम्भीर संकट खडा भएको छ।
कूटनीतिक र रणनीतिक समाधानका उपायहरू :
मनाङको यो संकटलाई केवल बजेट विनियोजन वा साधारण प्रशासनिक निर्णयहरूले मात्र सम्बोधन गर्न सकिँदैन। यसका लागि त्रि–स्तरीय सरकार, अन्तर्राष्ट्रिय साझेदार, गैरसरकारी क्षेत्र र स्थानीय समुदायबीच उच्चस्तरीय कूटनीतिक र नीतिगत सहकार्य अपरिहार्य छः
१. जलवायु कूटनीति, जलवायु न्याय र कोषको परिचालन
नेपालले अन्तर्राष्ट्रिय जलवायु मञ्चहरूमा हिमाली क्षेत्रको क्षति र जलवायु न्यायको मुद्दालाई अझ सशक्त रूपमा उठाउनुपर्छ।
हानि र नोक्सानी कोषः प्रदूषण नगरिकन पनि जलवायु परिवर्तनको प्रत्यक्ष मार झेलिरहेका मनाङजस्ता हिमाली क्षेत्रका बासिन्दालाई जलवायु न्यायको सिद्धान्तका आधारमा क्षतिपूर्ति दिनुपर्छ। अन्तर्राष्ट्रिय हरित जलवायु कोष र हानि–नोक्सानी कोषको अनुदान सोझै मनाङको पुनर्निर्माण, पूर्वसूचना प्रणाली र अनुकूलन कार्यक्रममा परिचालन गरिनुपर्छ।
हिमाली कूटनीतिको नेतृत्वः नेपालले चीन र भारतजस्ता छिमेकी तथा अन्य हिमाली राष्ट्रहरूलाई समेटेर हिमाली पारिस्थितिक प्रणाली जोगाउन र जलवायु न्याय प्राप्त गर्न एकीकृत कूटनीतिक पहलकदमी लिनुपर्छ।
२. हरित पूर्वाधार, परम्परागत ज्ञान र वैकल्पिक पर्यटनको मोडेल परम्परागत ज्ञान र प्रविधिको समायोजनः मनाङको विकास गर्दा बाह्य प्रविधिमा मात्र पूर्णतया निर्भर नभई स्थानीय बासिन्दाले पुर्खादेखि अपनाउँदै आएको जलवायु अनुकूलित ज्ञान, स्थानीय वास्तुकला र बाढी–पहिरो प्रतिरोधी निर्माण शैलीलाई नीतिगत रूपमै आत्मसात् गरिनुपर्छ। स्थानीय समुदायलाई सहभागिता नगराई गरिने विकास दीर्घकालीन हुँदैन।
हरित ऊर्जा र पर्यावरणमैत्री सडकः जथाभावी इन्धन र डोजरको प्रयोग गरी सडक विस्तार गर्नुको सट्टा ‘बायो–इन्जिनियरिङ’ प्रविधि अपनाउनुका साथै सौर्य ऊर्जा, साना जलविद्युत् र स्थानीय जैविक ऊर्जाको प्रयोगमार्फत मनाङलाई ‘हरित क्षेत्र’ का रूपमा विकास गरिनुपर्छ।
नयाँ पदमार्गको पहिचानः मुख्य मोटरबाटोभन्दा अलग रहेर पर्यटकीय पदमार्गहरूको पुनरुत्थान गरिनुपर्छ। यसले पर्यटनको पुरानो साख फर्काउन सहयोग पुर्याउनेछ।
उच्च मूल्यका कृषि र जडीबुटी उद्योगः मनाङको अर्गानिक स्याउ, यार्सागुम्बा, कुट्की र पाँचऔंलेजस्ता बहुमूल्य जडीबुटीहरूको स्थानीय स्तरमै प्रशोधन, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार पहुँचका लागि सरकारी सहयोग आवश्यक छ।
३. जनसाङ्ख्यिकी स्थायित्वका लागि विशेष हिमाली प्याकेज गुणस्तरीय शिक्षा र टेलिमेडिसिनः बालबालिका र परिवारलाई जिल्लामै टिकाउन आधुनिक प्रविधिसहितका आवासीय विद्यालय र बाह्रैमहिना सञ्चालन हुने प्रादेशिक स्तरका अस्पताल तथा टेलिमेडिसिन सेवा उपलब्ध गराइनुपर्छ।
डिजिटल नोम्याड र उच्च हिमाली खेलकुदः हिमाली जलवायु र शान्त वातावरणलाई उपयोग गर्दै प्रविधिमा आधारित दूर–कार्य गर्ने अन्तर्राष्ट्रिय ‘डिजिटल नोम्याड’ हरूका लागि पूर्वाधार बनाउन सकिन्छ। साथै, उच्च हिमाली खेलकुद र साहसिक पर्यटनमा स्थानीय युवाहरूलाई उद्यमी बनाउने विशेष प्रोत्साहन प्याकेज ल्याइनुपर्छ।
निष्कर्ष
मनाङको ‘त्रिवेणी संकट’ प्राकृतिक प्रतिकूलता, विश्वव्यापी जलवायु अन्याय र मानव सिर्जित अदूरदर्शी नीतिहरूको संयुक्त परिणाम हो। हिमाली क्षेत्र नेपालको जलस्रोतको मुहान, जैविक विविधताको भण्डार र राष्ट्रिय स्वाभिमानको प्रतीक हो। तसर्थ, मनाङका बासिन्दालाई जलवायु न्याय दिलाउँदै यहाँको संरक्षण र विकासलाई एउटै कूटनीतिक र रणनीतिक ढाँचामा ढाल्नु आजको प्राथमिक आवश्यकता हो।
यदि राज्यले बेलैमा ध्यान दिएर विकास, वातावरण र जनसंख्याबीचको सन्तुलन कायम गर्न सक्यो भने मनाङको यो संकट एउटा ठूलो अवसरमा परिणत हुन सक्छ। मनाङमा लागू गरिने सफल दिगो विकास र जलवायु अनुकूलनको मोडल नेपालका अन्य हिमाली जिल्लाहरू र विश्वका उस्तै संवेदनशील भूगोल भएका क्षेत्रका लागि समेत अनुकरणीय मार्गचित्र बन्न सक्नेछ।
प्रतिक्रिया दिनुहोस !