पोखरामा स्कुल बस भीरबाट खस्दा ५ जनाको मृत्यु
पोखरा : पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ बालिका रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर २८ को माझठानाबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो। ग २ ख १४१७ नम्बरको उक्त बस ओख्लेमा सडकबाट करिब १५० देखि २०० मिटर तल भीरमा खसेको थियो।
सुरुमा दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि भएको थियो। गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले २ विद्यार्थी र १ गाडी स्टाफको मृत्यु भएको जानकारी दिएका थिए। पछि थप २ बालिकाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ पुगेको हो।
दुर्घटनामा घाइते भएकामध्ये १८ जनाको उद्धार गरिएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले बताए। उनीहरूलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका अस्पतालमा पठाइएको छ।
पासवानका अनुसार उद्धार गरिएकामध्ये १६ जना अस्पताल पुगिसकेका छन्। बाँकी २ जनालाई पनि अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए।
दुर्घटनास्थल विजयपुर सैनिक ब्यारेकबाट केही उत्तरतर्फ माझठाना नजिक पर्छ। बस सडकबाट तल भीरमा खसेपछि प्रहरी र स्थानीय बासिन्दा तत्काल उद्धारमा खटिएका थिए।
दुर्घटनामा परेको बस नराम्ररी क्षतिग्रस्त भएको छ। बसमा कति विद्यार्थी सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त भएको छैन। घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। मृत्यु भएका पाँचै जनाको पहिचान खुल्न बाँकी छ। उद्धार कार्य सम्पन्न भएपछि मात्रै मृतकको सनाखत प्रक्रिया अघि बढाइने एसपी कार्कीले बताए। दुर्घटनामा घाइते भएका अन्यको उद्धार र उपचारसमेत जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !