भोटेकोशी बाढी : रसुवाका १ सय ६१ विद्यार्थी र १७ शिक्षक बेपत्ता
रसुवा : भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी रसुवाका १ सय ५० विद्यार्थी तथा १७ जना शिक्षक बेपत्ता छन्। सबैभन्दा धेरै नीलकण्ठ माविमा अध्यनरत ७१ जना बालबालिका बेपत्ता भएका छन् ।
बाढीका कारण उत्तरगया गाउँपालिका–४ मा रहेको मालिकादेवी आधारभूत विद्यालयमा ११ जना विद्यार्थी बेपत्ता छन् । उत्तरगया गाउँपालिका–५ मा रहेको नीलकण्ठ माविमा ७१ जना, मोर्डन ट्रिनिटी इङलिस स्कुलका ८ जना विद्यार्थीको बेपत्ता रहेको जिल्ला शिक्षा समन्वय इकाइका सूचना अधिकारी जीवन दाहालले बताए ।
हाइल्याण्ड आवासिय माविका ९,गोसाइकुण्ड आवासिय विद्यालय स्याफ्रुका १९,डाडागाउँमाविका २,भीमसेन आधारभूत विद्यालय भार्खुका २, कोमिन स्यामेवाङफले माविका ७, रसुवा माविका ३, शुन्धरा माविका १ जना विद्यार्थी अझै बेपत्ता रहका छन् ।
तथ्यांक अनुसार ६१ जना बालबालिका बाबुआमाविहीन भएका छन् । यस्तै,२ सय ६८ जना बालबालिकाले आफ्ना एक जना अभिभावक गुमाएका छन् । जिल्ला भरका १७ शिक्षक र १ सय ६१ जना विद्यार्थी बेपत्ता भएको सूचना अधिकारी दाहालले बताए ।
बाढी प्रभावित केही बालबालिकाले आधारभूत राहत समेत प्राप्त गर्न सकेका छैनन् । राहतबाट वञ्चित बालबालिकाको खोजी गरी उनीहरूको आवश्यकता पहिचान गरेर आवश्यक राहत तथा सहयोगको व्यवस्था गर्नुपर्ने भनाइ छ ।
बाढीमा परेर धेरै विद्यार्थीहरू बचेका अभिभावकहरूसँग अन्यत्र गएका छन् । नजिकै रहेका वा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको अध्ययापन सुरु गरिएको छ । उनीहरूलाई खेल्ने, आवश्यकताको आधारमा मनोसामाजिक परामर्श दिने र नियमित अध्ययनमा फर्काउने प्रयास भइरहेको छ ।
उत्तरगया गाउँपालिकाले सूचना प्रकाशन गरेर विद्यालय खुला गरेको छ । मोर्डन ट्रिनिटी स्कुल बगेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू नीलकण्ठ,शिवालय आविमा लगायतनजिकका विद्यालयमा पढ्न थालेका छन् ।
गोसाइँकुण्ड गाउँपालिका–२ मा नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा २५ जना विद्यार्थी बेपत्ता छन् । गोसाइँकुण्ड गाउँपालिका–२ मा विद्यालयका धेरै संरचना ध्वस्त भएका छन् । चीन सरकारले बनाइदिएको नयाँ सुविधायुक्त भवन पूर्णरूपमा क्षति भएपछि त्यहाँ पठनपाठन गराउन कठिन भएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाहेक अरूमा पठनपाठन सुरु भएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख दुर्गा सिलवालले बताए ।
नेपाल राष्ट्रिय आवि टमुरेका प्रधानाध्यापक फुर्पु दोर्जे घलेले भने,‘विद्यालयका २५ जना विद्यार्थी,३ शिक्षक र ३ शिक्षिका बाढीमा बेपत्ता भएका छन् । धेरै आफन्त गुमे बचेकाहरू ५ सेकेन्डले मात्रै बचेका थिए । बाढी प्रभावित नागरिकहरू पुरानै ठाउँमा फर्कन चाहेका छन्,तर त्यसका लागि सरकारले उचित वातावरण बनाउनुपर्छ ।’
नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फुर्पुदोर्जे घलेका अनुसार गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे गाउँबस्ती र बजार पुरै ध्वस्त भएको छ । गाउँका ७७ महिला र ६८ पुरुष गरी १४५ जना र विभिन्न समयमा बसाइसराइ गरेर आएका ५८ जना समेत गरी २०३ जना बेपत्ता छन् ।
बाढीका कारण गोसाइकुण्ड गाउँपालिकामा सरकारी कर्मचारीहरू,जनप्रतिनिधि शिक्षक तथा स्थानीय धेरै बेपत्ता छन् । विदेशी नागरिक २ सय ९०,रसुवाका २६७४,जिल्ला बाहिरका २८३४, कर्मचारी,सुरक्षाकर्मी गरी ३७९८ जना बेपत्ता रहेका छन् । हालसम्म १४६१ जनाको उद्धार भएको छ ।
जिल्लाको उत्तरगया स्थित सिड्स भवनमा ४२,भीमसेन आविमा ३६, गणेश आवि १० जना, नीलकण्ठ माविमा ७९,कोमिन स्यामेवाङफल माविमा ३५ र लिङलिङ आविमा १६ जना गरी रहेका ६ वटा होल्डिङ सेन्टरमा २ सय १८ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
बाढीका कारण जिल्लाभर पक्कीपुल ६,झोलुङ्गे पुल १०,आर्च पुल १,बेली/ट्रस ब्रिज ८ वटा पूर्णरुपमा क्षति भएको छ । विद्यालय,वडा कार्यालय,गाउँ बगर बनेको छ । नदीमा वारपार गर्ने कतै पुल छैन,सडक छैन । २०७८ सालको जनगणना अनुसार टिमुरे गाउँमा १६३ घरमा ५५० जनसंख्या थियो ।
प्रतिक्रिया दिनुहोस !