पछिल्ला ३५ वर्षमा नेपालमा केही भएन भन्नु, भएका सकारात्मक परिवर्तनलाई अस्वीकार गर्नु हो।
उपलब्धि अस्वीकार गर्ने, निराशा र कमजोरी पनि स्वीकार्न नसक्ने आत्मरक्षाबीच नेपालको वास्तविक अवस्था। ‘३५ वर्षमा के भयो ? केही भएन। देश जहाँको त्यहीँ छ। नेताले देश लुटे, सबै भ्रष्ट भए।’
नेपालमा पछिल्लो समय यो भाष्य यति धेरै दोहोरिएको छ कि कतिपय अवस्थामा यो प्रश्नभन्दा बढी निष्कर्षजस्तो सुनिन्छ। सामाजिक सञ्जालमा होस् वा चिया पसलमा, राजनीतिक बहसमा होस् वा सार्वजनिक भाषणमा, सदनमा होस् या सडकमा र युवापुस्ताको असन्तुष्टिमा पछिल्ला ३५ वर्षलाई एउटै शब्दमा परिभाषित गर्ने प्रयास भइरहेको छ त्यो हो असफलता।
विगततिर फर्केर हेर्ने हो भने यति मात्रै भन्नु उचित हुँदैन
पछिल्ला ३५ वर्षमा नेपालमा केही भएन भन्नु भएका सकारात्मक परिवर्तनलाई अस्वीकार गर्नु हो। सबै कुरा राम्रो भयो भन्नु पनि त्यत्तिकै ठूलो भ्रम हो। विगत ३५ वर्षको अवधिमा नेपालले राजनीतिक परिवर्तन देख्यो, द्वन्द्व भोग्यो, शान्ति प्रक्रिया पार गर्यो, संविधान पायो, संघीयतामा प्रवेश गर्यो, पूर्वाधार विस्तार गर्यो, सञ्चार र प्रविधिमा छलाङ मार्यो। त्यसैबीच भ्रष्टाचार, राजनीतिक अस्थिरता, कमजोर सुशासन, बेरोजगारी, सेवा प्रवाहको कमजोरी र अवसरको अभाव पनि निरन्तर रह्यो र रहिरहेको छ। त्यसैले प्रश्न ‘३५ वर्षमा के भयो ?’ मात्र होइन ‘३५ वर्षमा के–के भयो, के हुन सकेन र अब बाँकी काम कसले कसरी पूरा गर्ने ?’ भन्ने प्रश्न र बहस हुन आवश्यक छ।
२०४६ पछिको नेपाललाई आजको आँखाले मात्र नहेरौं। ३५ वर्षको कुरा गर्दा हामीले २०४६ सालपछिको नेपाल सम्झनुपर्छ। त्यसबेला र आजको नेपालबीचको दूरी बुझ्न केही दशक पछाडि फर्केर हेनुपर्छ। यो अवधिका हरेक परिवर्तनका साक्षी, हरेक सफल प्रयास र असफलताका साक्षी बनेका पुस्ता जीवित छौ। आज गाउँमा मोबाइल फोन सामान्य छ। इन्टरनेट सहज र सस्तो छ। सडक सञ्जाजले यात्रालाई सहज बनाएको छ। बिजुली सहज उपलब्ध छ। तर केही दशकअघि यीमध्ये धेरै कुरा सामान्य नागरिकका लागि विलासिताजस्तै थिए।
२०५० को दशक र अझै अगाडिको समय सम्झने हाम्रो पुस्तालाई सोधौं गाउँमा टेलिफोन गर्न कहाँ जानुपथ्र्यो ? कतिपय ठाउँमा एउटा फोन गर्नसमेत घण्टौं हिँड्नुपथ्र्यो। मोबाइल त कल्पना बाहिरको कुरा थियो। इन्टरनेट त थाहै थिएन। आज एउटै मोबाइल फोनबाट संसारको सूचना लिन सकिन्छ। विदेशमा रहेका परिवारका सदस्यसँग भिडियो कल गर्न सकिन्छ। गाउँमा बसेर अनलाइन शिक्षा लिन सकिन्छ। डिजिटल बैंकिङ गर्न सकिन्छ। सूचना र सञ्चारको यो परिवर्तन कुनै सानो उपलब्धि होइन।
त्यसैगरी सडकको विस्तारलाई हेरौं। कुनै समय सदरमुकाम पुग्न दिनौं हिँड्नुपर्ने ठाउँमा आज सडक पुगेको छ। कर्णालीका दुर्गम भूभागमा सडक सञ्जाल विस्तार भएको छ। तुइन विस्थापन गरेर झोलुंगे पुल निर्माण भएका छन्। गाउँ र बजारबीचको दूरी घटेको छ तर यी सबै काम पूर्ण छन् भनेर भन्न सकिँदैन। सडक बनेको ठाउँमा गुणस्तरको प्रश्न उठ्छ। पुल बनेको ठाउँमा मर्मतको प्रश्न उठ्छ तर ‘केही भएन’ भनेर यी सबै परिवर्तनलाई शून्यमा झारिदिनु पनि न्यायोचित हुँदैन। देशले आजको अवस्थासम्म आइपुग्न त्यति सहज यात्रा पार गरेको कदापि थिएन । नेपालको पछिल्लो ३५ वर्ष शान्त र राजनीतिक रूपमा स्थिर समय थिएन।
दसवर्षे माओवादी द्वन्द्वले देशको विकासको गतिमा गहिरो असर पार्यो। विद्यालयदेखि सरकारी कार्यालयसम्म, सडकदेखि सामाजिक सम्बन्धसम्म द्वन्द्वको प्रभाव परेको थियो। साँच्चै भन्नुपर्दा एउटा पुस्ताले अस्थिरता र हिंसाबीच हुर्किनुपर्यो। द्वन्द्व सकिएपछि पनि राजनीतिक संक्रमण तत्काल सकिएन।
संविधान निर्माण, राज्य पुनर्संरचना र संघीयताको कार्यान्वयन आफैंमा लामो र जटिल प्रक्रिया थियो त्यसलाई पनि हाम्रै पुस्ताले देख्न भोग्न पायौं। द्वन्द्वपछि देश उठ्ने कोसिस गर्दागर्दै त्यसपछि विनाशकारी भूकम्प आयो। हजारौं परिवार प्रभावित भए, भौतिक संरचना ध्वस्त भए, जनधनको ठूलो क्षति देशले भोग्न पर्यो। पुनर्निर्माणको ठूलो चुनौती देशसामु आयो। नाकाबन्दीले जनजीवन र अर्थतन्त्रलाई अर्को झट्का दियो। त्यसपछि कोभिड–१९ महामारी आयो। विश्वव्यापी रूपमा आएको महामारीले हाम्रोजस्तो सानो अर्थतन्त्र भएको देशमा ठूलो असर गर्यो। हरेक वर्ष बाढी, पहिरो, आगलागी र अन्य विपत्तिले देशलाई थप कमजोर बनाउँदै आयो। यसको अर्थ सरकारका कमजोरीलाई संकटको नाममा माफी दिनुपर्छ भन्ने पनि होइन तर इतिहासको मूल्यांकन गर्दा परिस्थिति पनि मूल्यांकनको हिस्सा हुनुपर्छ।
नराम्रो देख्ने चस्माले राम्रो भएको पनि देख्नुपर्छ।
विकास भयो, तर विकासको गुणस्तर कमजोर भयो
नेपालको समस्या विकास हुँदै भएन भन्ने मात्र होइन, धेरै ठाउँमा कस्तो विकास भयो भन्ने हो। अस्पताल बने तर अस्पतालमा आवश्यक जनशक्ति र उपकरण पुगेन। विद्यालयका भवन बने तर शिक्षाको गुणस्तर अपेक्षाअनुसार सुधार हुन सकेन। सडक पुगे तर कतिपय सडक वर्षायाममा चल्न नसक्ने भए। कृषिमा अनुदान गयो तर किसानको आम्दानी र बजारको समस्या समाधान हुन सकेन। स्थानीय तहमा सरकार पुगे तर कतिपय ठाउँमा सेवा प्रवाह अझै प्रभावकारी बन्न सकेन। यसले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकायो, पूर्वाधार विकास आफैंमा विकासको अन्तिम बिन्दु होइन भन्ने। भवन बनाएर अस्पताल बन्दैन, अस्पतालले नियमित र गुणस्तरीय उपचार दिएपछि मात्र स्वास्थ्य सेवा बलियो हुन्छ। विद्यालयको भवन बनाएर शिक्षा सुध्रिँदैन, कक्षाकोठाभित्र गुणस्तरीय सिकाइ भएपछि मात्र शिक्षा बलियो हुन्छ। सडक खनेर मात्र समृद्धि आउँदैन, त्यो सडकले उत्पादनलाई बजारसम्म पुर्याएपछि मात्र त्यसको अर्थ रहन्छ। त्यसैले अब ‘कति बनायौं’ भन्दा पनि ‘बनाएको संरचनाले नागरिकको जीवनमा कति परिवर्तन ल्यायो’ भनेर लेखाजोखा गर्नुपर्ने बेला आएको छ।
सबै नेता एउटै हुन् ?
राजनीतिक असन्तुष्टिको सबैभन्दा लोकप्रिय वाक्य अहिले सायद यही हो ‘सबै नेता खराब हुन्।’तर के साँच्चै विगतका सबै नेता, सबै राजनीतिक पार्टी भ्रष्ट, कामै नलाग्ने मात्रै थिए त ? राजनीतिमा भ्रष्टाचार छैन भन्न सकिँदैन। सार्वजनिक पदको दुरुपयोग प्रसस्तै भएका उदहारण छन्। राज्यको स्रोतमा अनियमितता भएका छन्। भ्रष्टाचारका आरोप लागेका र पुष्टि भएका घटना पनि छन्। कतिपय यस्ता घटनामा राजनीतिक संरक्षणको प्रश्न पनि उठेको छ। यी विषयमा कठोर छानबिन र जवाफदेहिता आवश्यक छ।
अनुमानमा भन्दा पनि तथ्यमा आधारित छानबिन हुन आवश्यक छ। तर त्यसैका आधारमा वर्षौं सार्वजनिक जीवनमा सामान्य जीवन बिताइरहेका सबै राजनीतिकर्मीलाई एउटै डालोमा हाल्नु कति न्यायोचित हुन्छ ? नेपालमा आज पनि वर्षौं राजनीति गरेर सामान्य जीवन बिताइरहेका नेता र कार्यकर्ता छन्। व्यक्तिगत विलासिताभन्दा सार्वजनिक जिम्मेवारीलाई प्राथमिकता दिनेहरू पनि छन्। त्यस्तै राजनीतिमा लागेर या सार्वजनिक जिम्मेवारीमा पुगेको छोटो समयमै अस्वाभाविक सम्पत्ति र जीवनशैली बनाएका व्यक्तिहरूमाथि प्रश्न उठाउनुपर्ने अवस्था पनि छ। त्यसैले अब राजनीतिक मूल्यांकन दलको झण्डाले होइन, काम र आचरणले हुनुपर्छ।
कसले के भन्यो भन्दा कसले के गर्यो ? कसले कति वर्ष राजनीति गर्योभन्दा पनि पदमा हुँदा कस्तो निर्णय गर्यो ? कसको भाषण राम्रो थियो भन्दा उसको निर्णयले नागरिकको जीवनमा के परिवर्तन ल्यायो ? मूल्यांकनको यही मापदण्ड अब स्थापित हुनुपर्छ।
सामाजिक सुरक्षादेखि समावेशीतासम्म पछिल्ला दशकमा नेपालले सामाजिक नीतिमा पनि केही महत्वपूर्ण आधार तयार गरेको छ। ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा विपन्न वर्गका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था भएको छ। स्वास्थ्य बिमाको सुरुवात भएको छ। गम्भीर रोगका बिरामीलाई राज्यले केही हदसम्म उपचार सहयोग उपलब्ध गराउँदै आएको छ। तर यी व्यवस्था पूर्ण छैनन्, रकम पर्याप्त छैन, वितरण प्रणालीमा समस्या छन् तर कुनै व्यवस्था नै नभएको अवस्थाबाट केही व्यवस्था भएको अवस्थामा पुग्नु परिवर्तन होइन भन्न मिल्दैन।
समावेशीताको क्षेत्रमा पनि नेपालले महत्वपूर्ण फड्को मारेको छ
महिला तथा विभिन्न समुदायको राजनीतिक प्रतिनिधित्व बढेको छ। राज्यका महत्वपूर्ण पदमा महिलाको उपस्थिति स्थापित भएको छ। संघीयता र स्थानीय सरकारमार्फत राज्यको पहुँच नागरिकको नजिक पुगेको छ तर यति हुनु मात्रै पर्याप्त भने छैन। अझै धेरै गर्न बाँकी छ तर परिवर्तनको सुरुवात नै भएको छैन भन्नु गलत हुन्छ।
अहिलेको विपत्तिले अर्को कमजोरी देखाइरहेको छ
यद्यपि विकासको अर्को महत्वपूर्ण पक्षमा हामी अझै कमजोर छौं त्यो हो, पूर्वतयारी। जलवायु परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रमा बाढी, पहिरो, हिमताल विस्फोट र अन्य प्राकृतिक विपत्तिको जोखिम बढिरहेको छ। विपत्ति आएपछि राहत बाँड्ने संस्कारबाट अब बाहिर निस्कनुपर्छ।
बस्ती जोखिममा छ ? कुन नदीको बहाव बढ्दा कुन क्षेत्र प्रभावित हुन्छ ? कहाँ सुरक्षित स्थान छ ? पूर्वसूचना कसरी नागरिकसम्म पुग्छ ? स्थानीय तहसँग उद्धारका लागि कति स्रोत छ ? यी सबै तयारी विपत् आउनु अघिनै हुनुपर्ने हो। भूकम्पपछि पुनर्निर्माणमा नेपालले ठूलो काम गरेर देखाएको छ तर विपत्तिपूर्व तयारीमा भने अझै धेरै कमजोरी छन्। यसलाई स्वीकार गर्नै पर्छ।
समृद्धि आएको छैन तर समृद्धिको आधार भने बनेको छ
नेपाल समृद्ध भइसकेको छैन, नागरिकले चाहेजस्तो रोजगारी छैन, ठूलो संख्यामा युवा बिदेसिन बाध्य छन्। देशभित्र पर्याप्त उत्पादन र उद्योग विस्तार हुन सकेको छैन। लगानीको वातावरण अझै कमजोर छ। यो हाम्रो सबैभन्दा ठूलो चुनौती हो। तर यही चुनौतीका कारण विगतका सबै उपलब्धि अस्वीकार गर्न मिल्दैन।
आज विद्युत् उत्पादन र प्रसारणको क्षमता विस्तार हुँदैछ। सडक सञ्जाल फैलिएको छ। सञ्चारको पहुँच व्यापक छ। डिजिटल प्रविधिको प्रयोग बढेको छ। स्थानीय सरकारको संरचना बनेको छ। शिक्षा र स्वास्थ्यका आधारभूत संरचना विस्तार भएका छन्। अब यी आधारलाई उत्पादन, रोजगारी र आर्थिक वृद्धिसँग जोड्ने जिम्मेवारी वर्तमान पुस्ताको हो।
जेन–जीको प्रश्नलाई गम्भीरतापूर्वक सुनौं
नयाँ पुस्ताको असन्तुष्टिलाई केवल ‘उनीहरूलाई इतिहास थाहा छैन’ भनेर खारेज गर्न मिल्दैन। उनीहरूले प्रश्न गरिरहेका छन् हामीले पढेपछि के गर्ने ? देशमै रोजगारी किन छैन ? काम गर्न किन यति धेरै झन्झट छ ?
सरकारी कार्यालयमा सेवा लिन किन समस्या हुन्छ ? भ्रष्टाचार किन नियन्त्रण हुँदैन ? राजनीतिमा नयाँ पुस्ताको स्थान कहाँ छ ? यी प्रश्नहरू स्वाभाविक पनि छन्। आन्दोलनले प्रश्न उठाउन सक्छ। परिवर्तनको माग गर्न सक्छ तर सार्वजनिक सम्पत्ति नष्ट गर्नु, व्यवसायीमा त्रास सिर्जना गर्नु र लगानीको वातावरण असुरक्षित बनाउनु दीर्घकालीन समाधान हुन सक्दैन। नयाँ पुस्ताको ऊर्जा विध्वंसमा होइन, सुधारमा प्रयोग हुनुपर्छ। त्यसको लागि सरकारले नयाँ पुस्ताले उठाएको विषयमा गम्भीर हुनुपर्छ।
अब ३५ वर्षको बहस होइन, अब अर्को १० वर्षको योजना चाहिन्छ
विगतमा के भयो भन्ने बहस आवश्यक छ तर त्यही बहसमा सधैं अल्झिरहनु आवश्यक छैन। अबको सरकारले स्पष्ट रूपमा भन्न सक्नुपर्छ अस्पताल बनेका छन्, अब गुणस्तरीय स्वास्थ्य सेवा दिन्छौं। विद्यालय बनेका छन्, अब शिक्षाको गुणस्तर सुधार्छौं। सडक बनेका छन्, अब उत्पादन र बजार जोड्छौं। बिजुली पुगेको छ, अब उद्योग चलाउँछौं। इन्टरनेट पुगेको छ, अब डिजिटल अर्थतन्त्र विस्तार गर्छौं। कृषिमा अनुदान दिइएको छ, अब किसानलाई बजार र प्रविधिसँग जोड्छौं। युवालाई विदेश जान रोक्ने भाषण होइन, अब देशमै बस्न सक्ने अवसर सिर्जना गर्छौं। यही नै अबको वास्तविक राजनीति हुनुपर्छ।
विगतलाई न देवत्वकरण गरौं, न दानवीकरण
नेपालको पछिल्लो ३५ वर्ष न स्वर्णिम युग थियो, न अँध्यारो सुरुङ। यो परिवर्तन, संघर्ष, उपलब्धि, कमजोरी र अधुरा सपनाहरूको मिश्रित यात्रा थियो। त्यस अवधिमा धेरै काम भए, केही काम गलत भए, गलतबाट पाठ सिकियो, केही काम हुनै सकेनन्, कतिपय काम ढिलो भए। जे जति उपलब्धि भए उपलब्धिको श्रेय एउटै दल वा नेताले लिन मिल्दैन, किनकि ती धेरै सरकार, कर्मचारी, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकको संयुक्त प्रयासका परिणाम हुन्। त्यसैगरी असफलताको जिम्मेवारी पनि एउटै व्यक्तिको टाउकोमा राखेर उम्कन मिल्दैन।
अब राजनीतिक दलले पनि एउटा परिपक्व राजनीतिक संस्कार विकास गर्नुपर्छ त्यो हो राम्रो कामको श्रेय स्वीकार गर्ने र गलत कामको जिम्मेवारी लिने। विगतमा भएको राम्रो कामलाई नयाँ पुस्ताले निरन्तरता दिनुपर्छ। विगतमा भएका गल्ती सच्याउनुपर्छ। अहिलेको सरकारले विगतका कमजोरी देखाएर छुट पाउने अवस्था छैन।
उसले विगतले तयार गरेको आधारमाथि अझ राम्रो परिणाम दिनुपर्छ। किनकि विगतको मूल्यांकन नाराले होइन, तथ्यले हुन्छ। ‘३५ वर्षमा केही भएन’ भन्नु जति गलत हो, ‘३५ वर्षमा सबै ठीक भयो’ भन्नु पनि त्यति नै गलत हो। वास्तविकतामा यी दुई अतिवादको बीचमा छ। नेपाल बनेको छ तर पर्याप्त बनेको छैन। धेरै काम भएको छ तर अझै धेरै काम बाँकी छ। आधार तयार भएको छ तर त्यस आधारमाथि समृद्धिको भवन बनाउन बाँकी छ। अबको प्रश्न विगतलाई कसले धेरै गाली गर्ने भन्ने हुनुहुँदैन अबको प्रश्न बाँकी रहेको काम कसले, कति इमानदारीका साथ र कति छिटो पूरा गर्ने ? भन्ने हुनुपर्छ र त्यसको उत्तर कुराले होइन, परिणामले दिनुपर्छ।
ढकाल, काठमाडौं उपत्यका विकास प्राधिकरणको पूर्वविकास आयुक्त हुन्।
प्रतिक्रिया दिनुहोस !