गुनासोरहित वीर अस्पतालको परिकल्पना
विश्वासको धरोहर वीर अस्पताल भवनमात्र नभई नेपालीहरूको पीडाको संगम हो, अन्य स्थानबाट टाढिएका पाइलाहरू अन्तत वीर अस्पतालमै आएर रोकिन्छन्, जसरी नदीहरू अन्ततः सागरमै मिल्दछ।
वीर अस्पतालमा आएका बिरामी फिर्ता भएर जाने अर्काे ठाउँ छैन, जसरी पनि उपचार गर्नुपर्छ। त्यसैले आकस्मिक कक्षमा एक बेडमा ४, ५ जना राखेर भए पनि र बहिरंगमा बिहान साढे ७ देखि बेलुका ४ बजेसम्म जति हजार बिरामी आउँछन् सबैको परीक्षण हुने गरेको छ। विश्वास र भरपर्दाे सेवाकै कारण दिनप्रतिदिन बिरामीको संख्या बढेको बढ्यै छ। विश्वासको धरोहर वीर अस्पताल भवनमात्र नभई नेपालीहरूको पीडाको संगम हो, अन्य स्थानबाट टाढिएका पाइलाहरू अन्तत वीर अस्पतालमै आएर रोकिन्छन्, जसरी नदीहरू अन्ततः सागरमै मिल्दछ।
स्वास्थ्य बिमाले आम सेवाग्राहीको अपेक्षा बढाएको छ, समयक्रमसँगै सेवाग्राहीले छरितोपना खोजेको छ। बजेट, जनशक्ति,, पूर्वाधार र प्रविधिमा खासै उल्लेखनीय वृद्धि र विस्तार हुन सकेको छैन। साप्ताहिक दुई दिन बिदा हुँदा झनै सेवाग्राहीको संख्यामा दोब्बर नै भएको छ। १९४६ साल साउन १२ गते १५ शय्याबाट सुरु भएकोमा हाल स्वीकृत क्षमता ९ सय ६० छ। २०६३ मा न्याम्सअन्तर्गत सञ्चालनमा आयो। २०७८ असार ११ मा स्वतन्त्र कोभिड युनिफाइड केन्द्रीय अस्पताल बनेको थियो। हाल न्याम्सअन्तर्गत नै सबै खालका आधारभूत, विशेषज्ञ र विशिष्टीकृत तथा अति विशिष्टीकृत सेवा प्रदान गर्दे आएको छ।
वीरको इतिहास
वीरशमशेरकी जेठी महारानी दिव्यश्वरीले सुसारेका रूपमा आएकी अति सुन्दरी खञ्जमाया पछि कान्छी महारानी तोपकुमारीका अनुहारमा महाराज आशक्त भएपछि रिसले एसिड हालिदिँदा अनेकन देशबाट विज्ञ बोलाई उपचार गराएका थिए। तत्पश्चात् नेपालमा एक अस्पतालको अत्यन्तै खाँचो रहेको महसुस गरी रानीपोखरीको पश्चिमतर्फ १९४४ सालमा शिलान्यास गरेका थिए।
हाल राष्ट्रिय नाचघर भएको ठाउँमा एउटा टहरो बनाई तत्कालीन राजा श्री ५ पृथ्वीवीर विक्रम र आफ्नो नाम जोडेर १५ शय्याको पृथ्वी—वीर अस्पताल १९४६ साल साउन १२ मा शुभारम्भ गरेका थिए। उपचारमा आएका गोपालचन्द्र गांगुलीलगायतका डाक्टर, स्वास्थ्यकर्मीबाट नै सेवा सुरु भयो। आम्दानीका लागी उपत्यकाबाहिर पाँच स्थानमा जग्गा लिइदिएको र त्यहीबाट वीर अस्पतालमा निःशुल्क सेवा प्रदान गर्ने थियो तर ती जग्गाबारे आजसम्म खोजीनीति छैन।
वीर अस्पतालमा स्थान अभाव भएसँगै सन् १९५९ मा वीरको प्रसूति विभाग थापाथलीमा सारी इन्द्रराज्य लक्ष्मीदेवी शाह प्रसूति गृह बनाइयो। वीरको मानसिक सेवा सन् १९८५ मा मानसिक अस्पतालका रूपमा लगनखेलमा सारिएको हो। बालरोग विभाग ७ जनवरी १९६३ मा कान्ति बाल अस्पतालमा स्थानान्तरण, सरुवा रोग इकाइ २०३४ सालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु भएका हुन् तथापि मानसिक, आँखा, स्त्रीरोग सेवा इकाइका रूपमा हाल वीर अस्पतालमा पुनः सुरु भएका छन्।
नेपालमा दक्ष स्वास्थ्य जनशक्ति एवं पीजी अध्ययनको कमीलाई सम्बोधन गर्न २०५९ सालमा अध्यादेशमार्फत स्थापित भई २०६३ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन संसद्बाट पास भयोे। देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको जगमा भएको न्याम्सको मुख्य उद्देश्यमा स्वास्थ्य क्षेत्रमा दक्ष तथा उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने, सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्ने रहेको छ। मन्त्रालय, चिकित्सा शिक्षा आयोगलगायतका खोजले सुझाएका थप नया विषय र मात्रामा अध्ययन अध्यापन गराउने विषयमा समेत सक्रिय छ।
व्यवस्थापनको अस्थिरता, पटकपटकको विभिन्न सेवा अवरुद्धलगायतका अनगिन्ती समस्याहरूका बीच गत आव २०८२/८३ मा ५ सय ४२ शय्या, ५८ क्याबिन र १ सय ३ आईसीयू तथा एचडीयू मार्फत ६ लाख ७२ हजार ६ सय ८९ लाई बहिरंग जस्मा बिमाका ३० प्रतिशत बढी, आकस्मिक ३४ हजार ६ सय ७, शल्यक्रिया २२ हजार ९ सय ७ र अन्तरंग २२ हजार ३ सय ९९ सेवा दिएको छ। त्यस्तै ७ हजार ४ सय २७ बढी एमआरआई, १४ हजार ५९ बढी सिटी स्क्यान, ६१ हजार ३ सय ६३ बढी अल्ट्रासाउन्ड, १२ लाख ९५ हजार ७ सय ११ प्रयोगशाला परीक्षण गरिएको थियो। त्यस्तै विपन्नका लागि ५ करोड ६४ लाख ४५ हजार ८ सय ९५ रुपैयाँबराबरको सेवा, भर्नारत बिरामीहरूलाई करिब ३ करोडबराबरको निःशुल्क खाना, खाजाको सेवा दिएको छ।
सधैं चर्चामा रहने दुवाकोट परियोजना
भक्तपुरको दुवाकोटमा रहेको ५ सय ७० रोपनी जग्गामा एक हजार शय्याको अस्पताल निर्माण सबै सरकारले प्राथमिकतामा पारे पनि फरक फरक योजना अघि सारेपछि काम हुन सकेको छैन। दुवाकोटमा १५ सय बेडको सुपर स्पेसियालिटी अस्पताल, मेडिकल, नर्सिङ तथा अन्य एलाइड कलेजहरू र आवासगृह बनाउने गुरुयोजना छ। गुरुयोजनालाई तीन चरणमा पूरा गर्ने गरी पहिलो चरणमा पाँच सय बेडको अस्पताल र मेडिकल कलेज तत्काल बनाउने योजना त्यत्तिकै छ।
आव २०७५/७६ सालदेखि विनियोजित बजेट केही खर्च र बाँकी फ्रिज भएको छ। २०७८/७९ मा राष्ट्रिय गौरवको आयोजना भन्दै तीन वर्षभित्र अस्पताल निर्माण गर्ने र सञ्चालन गर्ने गरी बजेट विनियोजन भयो। वीर अस्पतालकै जगमा न्याम्स स्थापित भएकाले छोटो समयमा उल्लेखनीय धेरै काम गर्न सकेको छ र अबका दिनमा समेत तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउँदै विश्वकै उत्कृष्ट अध्ययन र स्वास्थ्य संस्था बनाउन सबै लाग्न जरुरी छ।
अस्पतालकै शल्यक्रिया जरुरी
अस्पतालले अति गरिब, अपांग, बेवारिसे, हिंसापीडित महिला, ज्येष्ठ नागरिक, जनआन्दोलनका घाइतेजस्ता वर्गका लागि गुणस्तरीय निःशुल्क सेवा निरन्तर उपलब्ध गराउँदै आएको छ तर प्रविधिमैत्री र पारदर्शिता जरुरी छ। अहिले पनि भुइँमान्छे वा सर्वसाधारणको उपचारको भरोसा भनेको वीर अस्पताल नै हो। देशकै स्वास्थ्य क्षेत्रको मुहार र आम मानिसको आकांक्षा जस्तै हाटा, बैठकमा व्यस्त, बानी व्यवहार बिरामीमैत्री नभएको, अस्पतालभित्रको किचलो, प्रयोगशाला र फार्मेसीमा नहुने सेवा, उपकरण बिग्रने, कन्सल्टेन्ट नभेटिने, बहिरंग तथा शल्यक्रियामा लामो लाइन र कुर्नपर्ने, राजनीतीकरणलगायतका गुनासो र उजुरीमा कमी आएका छैनन्। तथापि हालैको नेतृत्व गुनासोरहित वीर अस्पताल बनाउन लागिपरेको छ।
सबै भवन जोड्ने गरी आकाशेपुलको जरुरी छ। त्यसैगरी कुरुवा घर र बहिरंगमा प्रतीक्षालयको अत्यावश्यक छ। भुइँमान्छेको भिड लाग्ने र देखिने वीर अस्पतालमा अति विशिष्ट व्यक्तिको छुट्ट्याइएको क्याबिन र शय्याको सदुपयोगको जरुरी छ। अस्पतालका सबै गतिविधि र क्रियाकलाप पारदर्शिता र प्रविधिमैत्री बनाउनैपर्छ।बढ्दो बिरामीको संख्या, प्रकार र रोगहरूको सम्बोधन गर्न सचेतनासहितका कार्यक्रमहरू सञ्चालनमा ल्याउनु छ। करिब २५ सय जनशक्ति, रहेकोमा सूक्ष्म योजनासहित प्रविधिमैत्री बनाउँदै स्मार्ट बनाउनुछ भिड व्यवस्थापनका अनेकन उपायहरू कार्यान्वयन गर्नुछ।
सेवासुविधा तथा बजेट व्यवस्थापनमा नजिरले होइन नियमले प्रत्याभूत गर्नुछ। जनशक्तिको आवश्यक र वैज्ञानिक व्यवस्थापन र कामकाजको अन्त गर्न जरुरी छ। शौचालय, पार्किङ, फोहोर व्यवस्थापन प्रविधिमैत्री र वैज्ञानिक बनाउनु छ। दुवाकोट परियोजना सपनाको रूपमा रहिरहेकाले विपना बनाउँदै वीर अस्पताललाई सेन्टर अफ इक्सिलेन्सका रूपमा केन्द्रीय रिफरल अस्पताल बनाउन नयाँ प्रविधिको अवलम्बन हरेक क्षेत्रमा गर्न धेरै ढिलो भइसकेको छ।
अन्तमा, स्वास्थ्य क्षेत्रमा फराकिलो छाती राखेर लगानी गर्नपर्छ किनभने रोगी जनता र जनशक्तिले मुलुक उँभो लाग्न सक्दैन। त्यसैले आफ्ना जनतालाई रोगी हुनबाट बचाउन अस्पताललाई स्वस्थ राख्नु पहिलो प्राथमिकता हुनुपर्छ। वीर अस्पतालले पनि आफ्नो सफलता र समस्याहरूका फेहरिस्त प्रचारप्रसारमा ल्याउँदै तालुकवाला निकायका साथै आम मानिसमा ल्याउनुपर्छ। नयाँ नेतृत्वमा स्मार्टनेस र व्यवस्थापकीय क्षमताको जतिको जरुरी छ त्यत्तिकै तपाईं हामी सबैको चासो र सहयोग रहन जरुरी छ।
प्रतिक्रिया दिनुहोस !