बूढानीलकण्ठबाट २१ किलो सुन बरामद प्रकरण

चीनमै बसेर मुख्य योजनाकारले वीच्याटबाट दिन्थे निर्देशन

चीनमै बसेर मुख्य योजनाकारले वीच्याटबाट दिन्थे निर्देशन

काठमाडौं : बूढानीलकण्ठस्थित भंगालमा चिनियाँ नागरिकहरूले घर भाडामा लिएर सुनको कारोबार गर्दै आएको रहस्य खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी चीनको ग्वान्झाउमा बसेर एक मुख्य योजनाकारले वीच्याट एपमार्फत निर्देशन दिने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी गराएको हो।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले नेपालमा सुन कहाँ, कसरी, कसलाई पुर्‍याउने भन्ने सम्पूर्ण निर्देशन उनै योजनाकारले वीच्याटमार्फत दिने गरेको अनुसन्धानका क्रममा पाइएको बताए। प्रहरीका अनुसार जेन्जिया ल नामका ती व्यक्तिले नै नेपालमा हुने अवैध सुन तस्करीको निर्देशन दिन्थे।

अपराध अनुसन्धान कार्यालयको टोलीले बूढानिलकण्ठबाट २१ किलो ७५०.६११ ग्राम बढी सुन बरामद गरेको हो। अवैध रूपमा सुनको कारोबार भइरहेको सूचनाका आधारमा निगरानी गर्दै आएको प्रहरीले बिहीबार एक घरमा छापा मारेर तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हान फेई,  झोउ लङछिङ र सु क्यान छन्।

कार्यालयका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले भंगालस्थित एक घर भाडामा लिएर सुनको अवैध कारोबार गर्दै आएका थिए। उनीहरूलाई अवैध सुन, नगद, सुन ओसारपसारमा प्रयोग गरिने गाडी तथा सुन प्रशोधनमा प्रयोग हुने सामग्रीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विभिन्न बिस्कुट आकारमा रहेको सुनको तौल परीक्षण गर्दा २१ किलो ७५०.६११ ग्राम रहेको पाइएको हो। बिहीबारको बजार मूल्यअनुसार बरामद सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको कार्यालयले जनाएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका चिनियाँ नागरिकहरूले उक्त घरमा सुन प्रशोधन तथा तयारी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। उक्त घरको मासिक भाडा ३ लाख ३० हजार रुपैयाँ तिर्ने गरी चार महिनाको १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरिएकोसमेत अनुसन्धानबाट खुलेको छ।

प्रहरीले केही समयअघि प्राप्त गरेको गोप्य सूचनाका आधारमा लामो समयदेखि निगरानी गरिरहेको र सोही क्रममा बिहीबार उक्त घरमा छापा मारिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.