टेलुन टेनिस ओपनमा नौ उपाधिको टुंगो
काठमाडौं : टेलुन टेनिस ओपन २०२६ अन्तर्गत शुक्रबार नौ विधाका उपाधिको टुंगो लागेको छ। ६५ वर्षमाथिको एकल र युगल दुवै उपाधि जित्दै कमल थापाले दोहोरो सफलता हात पारे। थापाले एकल फाइनलमा ध्रुव गुरुङलाई ४–१, ४–२ ले पराजित गरे। युगलमा चम्बा धोंधुपसँग मिलेर प्रकाश बोगटी र भिक्टर रानाको जोडीलाई ४–०, ४–० ले हराए।
पुरुष युगलतर्फ प्रदीप खड्का र निहालजंग थापाको जोडीले शाश्वत बज्राचार्य र करणबहादुर थापाको जोडीलाई ६–१, ६–१ ले पराजित गर्दै उपाधि जित्यो। पुरुष एकलमा प्रदीपले निहालजंगलाई ६–२, ६–४ ले हराउँदै फाइनलमा स्थान बनाए। उनले उपाधिका लागि राजवीर प्रधानसँग प्रतिस्पर्धा गर्नेछन्। राजवीरले निशान श्रेष्ठलाई ६–१, ६–३ ले पराजित गरेका थिए।
महिला एकलको फाइनलमा प्रकृति श्रेष्ठ र स्वस्तिका बिस्ट पुगेका छन्। प्रकृतिले एनी माथेमालाई ६–४, ६–३ ले हराउँदा स्वस्तिकाले प्रज्ञा मानन्धरलाई ६–७, ६–२, ६–४ को सेटमा पराजित गरिन्।
अन्य विधामा आर्यश राज पौडेलले यू–१४ ब्वाइज, एरा खत्रीले यू–१६ गल्र्स, आशिष सिग्देलले ५५ वर्षमाथिको एकल, एलुम दीक्षित र जितेन्द्र परियारले ३५ वर्षमाथिको युगल, कमल भण्डारी र दुर्गा केसीले ४५ वर्षमाथिको युगल तथा देगेन्द्र श्रेष्ठ र चन्द्र शाहीले ५५ वर्षमाथिको युगल उपाधि जिते।
यू–१४ ब्वाइजको फाइनलमा आर्यशले विश्वविशेष दल्लाकोटीलाई ७–५, १–६, ६–४ ले पराजित गरे। यू–१६ गल्र्सको फाइनलमा एराले कर्मिष्ठा एन। श्रेष्ठलाई ६–४, ६–३ ले हराइन्।
बिहिबार भएको उमेरसमूहको खेलमा यू-१२ गल्र्समा आरती मल्लले जितेकी थिइन्। यू-१६ ब्वाइजतर्फ विश्व बिशेष डल्लाकोटीले उपाधी जितेका थिए।
प्रतिक्रिया दिनुहोस !