भोट माग्न खुट्टै ढोग्थे, दुःख पर्दा छेवै परेनन्

भोट माग्न खुट्टै ढोग्थे, दुःख पर्दा छेवै परेनन्

जनकपुरधाम : गत वर्ष शिक्षण पेसाबाट अवकाश पाए। गाउँका हजारौं विद्यार्थीको भविष्य बनाउन सकेकामा गर्व गर्थे। छोरा इन्जिनियर बनेकामा आफ्नो र परिवारको भविष्य सुरक्षित भएको महसुस गर्थे। तर, ६१ वर्षीय हरिनारायण यादवको सपना चकनाचुर पार्‍यो, भदौ १० को भोटेकोशी बाढीले। छोरालाई मात्र बाढीले बगाएन, हरिनारायणको सर्वस्व नै खोस्यो।

सप्तरीको विष्णुपुर गाउँपालिका—१ खुरुरियाका हरिनारायण पेसाले शिक्षक थिए। रातदिन विद्यार्थीलाई असल नागरिक बन्न प्रेरणा दिन्थे। आफूले दुःखबाट आर्जेको कमाइलाई छोरा अजय यादवको शिक्षादीक्षामा खर्चे। छोरा अजय इन्जिनियर बने। हरिनारायण पेसाबाट अवकाश भए। हरिनारायणलाई लागेको थियो– अब त छोराले नै कमाउने छन्, बुढेसकालको सहारा बन्ने छन्। तर विडम्बना, कमाउन गएका छोरा अजय भोटेकोशी बाढीमा विलीन भए। वृद्ध हरिनारायणका काँध फेरि पारिवारिक दायित्व र जिम्मेवारीको भारीले थिचिन पुगे।

रसुवाको उत्तरगया गाउँपालिका - ५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा कार्यरत छोरा अजय बाढीमा बेपत्ता भएदेखि हरिनारायणका सपना आँधीले बगेका छन्। ‘मैले जीवनमा कसैको केही बिगारिनँ। गाउँका छोराछोरीलाई इमानदार र परिश्रमी बन्न शिक्षा दिएँ,’ हरिनारायणले भने, ‘दुःख गरेर जेनतेन छोरालाई पढाएँ, सक्षम पनि बनाएँ। तर, यो महाविपद्ले सबै बर्बाद पार्‍यो।’ बेपत्ता अजयका दुई सन्तान छन्। ‘बुहारी पनि छिन् तर, म बुढाले अब फेरि बुहारी र नातिनातिनाको पालनपोषण कसरी गर्ने होला ? ’ हरिनारायण भक्कानिँदै भन्छन्, ‘सरकार कहाँ छ ? हामीलाई कहीँबाट कसैले कुनै सरकारले सहानुभूतिका दुई शब्दमात्रै दिए पनि मन थामिन्थ्यो होला। कसैले त हात समातिदिनुपर्ने हो नि।’

हरिनारायण शिक्षक हुँदा गाउँका साना/ठूला सबै नेता हालखबर सोध्ने गर्थे। भोट माग्ने बेला त ‘आकाशको तारै झारेर हातमै दिउँला झैं’ गर्थे। तर, आज अवकाश प्राप्त शिक्षक हरिनारायणको दुःख बुझ्ने फुर्सद यतिबेला न स्थानीय सरकारका प्रतिनिधिलाई छ, न त प्रदेश र संघ सरकारले नै वास्ता गरेका छन्। हरिनारायण भन्दैछन्– ‘सुखके सब साथी, दुःखमे न कोई’ (सुखको बेला सबै साथी हुन्छन् तर, दुःख पर्दा कोही हुँदैनन्)।

डेढ महिनासम्म स्थानीय सरकार नै बेखबर
हरिनारायणका छोरा अजय बाढीमा बेपत्ता भएको डेढ महिना बितिसकेको छ। तर, हरिनारायणको परिवारको अवस्था बुझ्न न त स्थानीय तहको सरकारले कुनै चासो देखाएको छ, न त प्रदेश वा संघकोले नै। ‘पीडित परिवारका सदस्यको अवस्था के छ ? घरमा चुलो बलेको छ कि छैन ?  ,’ अजयका दाजु श्यामसुन्दर यादव भन्छन्, ‘पीडितहरूको आर्थिक अवस्था के छ ? सामान्य सहानुभूति वा सोधखोजको लागि समेत तीन तहका सरकारलाई फुर्सद नहुनुले पीडितका लागि राज्यविहीनताको अनुभव हुन थालेको छ।’

  •  भोटेकोशी बाढीमा इन्जिनियर छोरा अजय यादव बेपत्ताा भएपछि ६१ वर्षीय पूर्वशिक्षक हरिनारायण यादवको परिवार ठूलो पारिवारिक र आर्थिक संकटमा परेको छ। चुनावका बेला भोट माग्न दैलोमा पुगेर ठूला वाचा गर्ने र गोडा ढोग्ने कुनै पनि जनप्रतिनिधि वा नेताहरू डेढ महिना बितिसक्दा पनि सान्त्वना दिनसम्म नपुग्दा पीडित परिवारले उपेक्षा महसुस गरेका छन्।
  •     भोटेकोशी बाढीपहिरोमा परी मधेस प्रदेशका आठै जिल्लाका १ सय ६९ जना नागरिक सम्पर्कविहीन भएका छन् भने कतिपय परिवारले आशा मारेर कुशको शव बनाएर अन्तिम संस्कार गर्न बाध्य भएका छन्। भयानक विपत्तिा र चाडपर्वको समयमा पनि प्रदेश सरकारका प्रतिनिधिहरू घरदैलोमा नपुग्नु र गृहमन्त्रीले ‘नबोलाएकाले नगएको’ जस्ता गैरजिम्मेवार अभिव्यक्तिप्रति पीडितले चित्ता दुखाएका छन्।

चुनावको बेला जनताको घरदैलोमा सर्वसाधारणको खुट्टा ढोग्दै हिँड्ने जनप्रतिनिधिसमेत देखा नपर्दा मन दुःखेको श्यामसुन्दर बताउँछन्। ‘पार्टीका नेताहरू समेत पीडित परिवारका लागि चुइँक्क बोल्दैनन्।’, सञ्चारकर्मीसमेत रहेका यादव भन्छन्, ‘प्रदेश सरकारको त कुरै नगरौं। प्रदेश सरकार पनि छ भन्ने कुरा कुनै पनि पीडित परिवारले अनुभूति गर्न पाएका छैनन्। आफ्नै गाउँठाउँ वा प्रदेशमा रोजगारी नपाएर देशका विभिन्न प्रदेशमा गएका आफ्ना नागरिक बेपत्ता हुँदा उनीहरूको खोजी तथा उद्धारका लागि प्रदेश सरकारका मुख्यमन्त्रीसम्मले न त कुनै पहल गरे, न त पीडितको परिवारलाई मलम लगाउन अगाडि नै आए।’

स्थानीय सरकारले समेत आफन्तजन गुमाएका परिवारहरूको विषयमा चासो वा चिन्ता देखाएका छैनन्। ‘हिजोसम्म लाग्थ्यो, हामी एक्लै छैनौं, हाम्रो साथमा धेरै छन्। तर, अब बल्ल बुझ्दै छौं कि विपत्तिको समयमा हामी कति एक्ला रहेछौं,’ श्यामसुन्दरले भने।

दसैं आयो तर, तिमी आएनौं
‘यसपटक त दुई दिनअघि नै दसैंमा बिदा लिएर घर आउँछु,’ बेपत्ता अजयले  श्रीमती पूजालाई भनेका थिए, ‘छोरीसँग मज्जाले खेलेर सँगै रमाइलो गर्नुपर्छ। १० दिन कुनै पनि काम नगरी परिवारसँग मात्रै रमाइलो गरी बस्ने हो।’ तर दसैं त आउनै लाग्यो, तर अजय भने सदाका लागि घर नआउने गरी अनन्त यात्रामा निस्किसके। ‘दसैं त आउन लाग्यो तर, अजय किन फर्केनन् ?,’ घर आउने जोकोहीसँग पूजाले प्रश्न गर्ने गर्छिन्। भोटेकोशीको बाढीले अजयलाई सम्पर्कविहीन बनाएदेखि पूजाका लागि चाडबाड र तिहार दुःख र पीडा बल्झाउने समय बनेका छन्।

डोसान हाइड्रोपावरको अप्पर त्रिशूली—१ (२१६ मेगावाट) मा कार्यरत अजय भदौ १० को भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। सोही दिन बिहान ८ बजेतिर पूजाको पति अजयसँग टेलिफोनमा कुराकानी भएको थियो। एक वर्षअघि मात्रै वैवाहिक बन्धनमा बाँधिएका अजय र पूजाकी दुई महिनाकी काखे छोरी छिन्।

‘मेरा त सबै खुसी सकिए,’ पूजाले भनिन्, ‘छोरीले अब बुवा भेट्ने छिन् वा छैनन् केही थाहा छैन। तर, यस्तो विपद्मा पनि प्रदेश सरकारका कोही कसैले हालचाल सोध्न पनि आएनन्।’ आँसु र पीडाले मर्माहत हुँदै पूजा भन्छिन्, ‘म आफैं स्थानीय पालिकामा कार्यरत भएकाले घटना भएको केही दिनपछि पालिकाका सरहरू आउनुभयो। तर, प्रदेश वा संघ सरकारबाट कसैले पनि हालखबर सोध्न आएनन्। यो दुःख मेरोमात्रै हो र म भोग्दै छु। कसैले त मेरो  श्रीमान्का बारेमा केही खबर ल्याउला, केही त पत्तो लाग्ला, यही आशामा बाँचेकी छु।’

मधेस प्रदेशका १६९ बेपत्ता
विनाशकारी बाढीमा सम्पर्कविहीन भएका महोत्तरीको मटिहानीका गंगाराम मण्डलको परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरे। कुशको प्रतीकात्मक शवलाई १७ वर्षीय छोरा आदित्यराज मण्डलले दागबत्ती दिए। परिवारले उनको अन्तिम संस्कार गरे पनि अन्तिम पटक उनको अनुहारसमेत हेर्न नपाएको पीडा अकल्पनीय भयो।

एक महिनाभन्दा बढी समय बित्दासमेत बाढीमा बेपत्ता रौतहटका नेपाली सेनाका जवान अभिषेक गुप्ताको पत्तो नलागेपछि उनको पनि कुशको शव बनाएर अन्तिम संस्कार गरियो। मौलापुर नगरपालिका—७ सगैयाका वैद्यनाथ साह कानूका २२ वर्षीय छोरा गुप्ता नेपाली सेनाको  श्री शेरगण कार्यालय, रसुवामा जवान पदमा कार्यरत थिए। एक महिनाभन्दा बढी समयसम्म छोराको सकुशल फिर्तीको प्रतीक्षा गरेका परिवारले अन्ततः धार्मिक विधिअनुसार उनलाई अन्तिम बिदाइ गरे।

भोटेकोशीको बाढीपहिरोमा मधेस प्रदेशका आठै जिल्लाका १ सय ६९ जना सम्पर्कविहीन भए। बेपत्ता हुनेमा सबैभन्दा बढी सप्तरीका ४८ जना, पर्साका ४१, बाराका २२, रौतहटका २२, सर्लाहीका २०, महोत्तरीका ९, धनुषाका ७ र सिरहाका १० जना छन्। बाढीपछि सप्तरी र बाराका एक–एक जनाको शव फेला परेको थियो। बाढी गएको डेढ महिना बित्दा पनि सम्पर्कमा नआएपछि परिवारले आफन्त भेटिने आशा मार्न थालेका छन्।

पीडित परिवारसम्म पुग्न सकेन प्रदेश सरकार

बाढीपहिरोले आफन्त गुमाएका परिवार प्रत्येक दिन दुःख, शोक र पीडामा डुब्दा पनि पीडितका दुःखमा मलम लगाउन प्रदेश सरकारको उपस्थिति देखिएको छैन। मधेस प्रदेश सरकारका कुनै पनि मन्त्री र सरकारसँग सम्बद्ध व्यक्तिले सोधखोज नगरेको पीडित परिवारका सदस्यहरूको गुनासो छ। ‘प्रदेशका सबै जिल्लाका बासिन्दा सम्पर्कविहीन हुनुहुन्छ भनेर हामीलाई थाहा छ,’ मधेस प्रदेशका गृहमन्त्री फकिरा महतो भन्छन्, ‘हामीले राहतको पनि घोषणा गरेका छौं तर, पीडित परिवारबाट हामीलाई कसैले खोजेकै छैनन्। त्यसैले अहिलेसम्म भेट्न गएका छैनौं। उहाँहरूले खोजेका बेला म आफैँ पनि घरसम्मै जान्छु। हामीलाई बोलाउनुभयो भने हामी जान्छौं।’

तर, पीडित परिवारका सदस्यलाई भेट्न समेत नजानुले प्रदेश सरकारको निकम्मापन देखिएको बताउँछन्– राजविराजका विष्णु मण्डल। ‘तीनै तहका सरकार आ–आफ्ना स्वार्थ पूरा गर्नमा व्यस्त देखिन्छन्,’ उनले भने, ‘विपत्को घडीमा मौन रहेका सरकार निकम्मा मात्रै नभई निर्लज्ज हुन् भन्दा अतिशयोक्ति नहोला। सरकारले यस विषयमा चासो समेत नलिनु भनेको कर्तव्यबाट विमुख हुनुझैं हो।’

मधेस प्रदेश सरकारले बाढीबाट प्रभावित मधेस प्रदेशका नागरिकका परिवारलाई राहत दिने र घाइतेलाई प्रदेश सरकार मातहतका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। भोटेकोशीमा मधेस प्रदेशका मृत्यु भएका नागरिकका परिवार वा कानुनबमोजिमका नजिकका हकवालालाई प्रतिमृतक एक लाख रुपैयाँ पारिवारिक राहत उपलब्ध गराउने निर्णय सरकारको छ। बाढीका कारण घाइते भएका प्रदेशका नागरिकलाई मधेस प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने र प्रदेशका स्वास्थ्य संस्थामा उपलब्ध हुन नसक्ने विशेषज्ञ सेवा वा अत्यावश्यक उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी उपचारको व्यवस्था मिलाउने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.