अनुसन्धान विभागका पूर्व कर्मचारीहरूले प्रधानमन्त्री राहत कोषमा जम्मा गरे राहत
काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका पूर्व कर्मचारीहरूले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोग तथा पुनर्स्थापनाका लागि चार लाख २८ हजार पाँच सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
राष्ट्रिय अनुसन्धान विभाग पूर्व कर्मचारी संघ परिवारले संकलन गरेको उक्त रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई हस्तान्तरण गरिएको हो।
२०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको संघले जनाएको छ।
विभागीय प्रमुख टेकेन्द्र कार्कीको सहभागितामा संघका ९५ वर्षीय पूर्व उपप्रमुख अधिकृत चन्द्रध्वज गुरुङ, कार्यवाहक अध्यक्ष देवीराम शर्मा तथा उपाध्यक्षद्वय यादवप्रसाद रेग्मी र बसन्तकुमार राई सम्मिलित प्रतिनिधिमण्डलले मुख्य सचिव कार्कीलाई चेक हस्तान्तरण गरेको हो।
प्रतिक्रिया दिनुहोस !