यति फुर्सद अवश्य मिलोस्
समय होस् नहोस्,
यति फुर्सद अवश्य मिलोस्
घरको आँगनमा हाँसिरहेको घडीफूलको यौवन देख्न सकूँ ।
मौका पाऊँ या नपाऊँ,
यति अवसर अवश्य जुरोस्
आमाले स्याहारेको गाईले ब्याउँदा एउटा खुसी चाख्न सकूँ ।
यात्रा सुरु नगरुन्जेल हो एक्लोपन महसुस हुने,
हिँड्दै जाँदा बाटो आफैँले डोहोर्याउँछ,
उकालो लाग्दै गर्दा कुहिरोले बाटो देखाउँछ,
ओरालो झर्नुको आनन्द झरनाले सिकाउँछ ।
खैर, बाल्यकाल पनि ऋतु जस्तै रहेछ,
जीवनका अनेकौँ याम अनुभूतिको सँगालो,
ऋतु परिवर्तन भएर गएको पत्तै हुँदैन,
तर फेरि नयाँ रङमा भेटिने अठोट लिएर जान्छ ।
बैँस बाल्यकाल बितेर गएको विडम्बनामा नअल्झियोस्,
किनकि भोलि बैँस पनि बितेर जान्छ,
मान्छेले पालेको विडम्बनाले मान्छे खान्छ ।
सुजन विश्वकर्मा
हेटौँडा - मकवानपुर

प्रतिक्रिया दिनुहोस !