के सैफ अली खान पाँचौँ सन्तानको योजनामा छन्? पत्नी करिनाले खुलाइन् यस्तो कुरा
काठमाडौं : बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुर आफ्नो वैवाहिक जीवन र रमाइला प्रसंगका कारण चर्चामा आएका छन्। कपिल शर्माको कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’मा सहभागी भएका उनीहरूले आफ्नो प्रेम सम्बन्ध र पारिवारिक जीवनका विभिन्न प्रसंग सुनाएका छन्।
कार्यक्रममा कपिलले विवाहको १४ वर्षपछि पनि दुवै युवा र ताजा देखिनुको रहस्य सोधेका थिए। जवाफमा सैफले आफ्नो घरमा घिउको प्रयोग धेरै हुने बताए। करिनाले पनि आफूहरू र बच्चाहरूले घिउ खाने गरेको बताइन्। सैफले करिनाले राति सुत्नुअघि खुट्टामा घिउ दल्ने गरेको खुलासा गरेपछि कार्यक्रम हाँसोमय बनेको थियो। करिनाले त्यसले आफूलाई राम्रोसँग निदाउन सहयोग गर्ने बताइन्।
कार्यक्रममा करिनाले सैफले आफूलाई तीनपटक विवाहको प्रस्ताव राखेको पनि बताइन्। सैफले मुम्बई, ग्रिस र पेरिसमा प्रस्ताव राखेपछि मात्र आफू विवाहका लागि राजी भएको उनको भनाइ थियो। यसमा सैफले मुम्बईमै प्रस्ताव स्वीकार गरेको भए आफ्नो खर्च जोगिने भन्दै ठट्टा गरेका थिए।
त्यस्तै कपिलले सैफले हरेक दशकमा एक सन्तान जन्माएको भन्दै पाँचौं सन्तानको सम्भावनाबारे जिज्ञासा राखेका थिए। सैफका चार सन्तान छन्। करिनाले पनि ठट्टामै सैफलाई अर्को दशकको योजनाबारे प्रश्न गरिन्। तर, पाँचौं सन्तानको प्रसंगमा उनले आफूबाट भने अर्को सन्तान नहुने आशयको जवाफ दिइन्। उनको प्रतिक्रियापछि सैफ लजाएका थिए र कार्यक्रममा उपस्थित सबै हाँसेका थिए।
प्रतिक्रिया दिनुहोस !