सुरुमै क्यान्सर पत्ता लागे पूरै स्तन काट्नु पर्दैन
महिलामा हुने विभिन्न क्यान्सरमध्ये पहिलो नम्बरमा स्तन क्यान्सर देखिएको छ, किन ?
विगतमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा थियो। त्यतिबेला स्तन क्यान्सर प्रायः ६० वर्ष आसपासका महिलामा देखिन्थ्यो। स्तन क्यान्सरको सुरुवाती चरणमा स्पष्ट लक्षण नदेखिने हुँदा धेरै महिला ढिलो गरी उपचारका लागि अस्पताल पुग्थे। अहिले जनचेतना बढेसँगै नियमित स्वास्थ्य परीक्षण गर्न थालेका छन्। २० देखि ३० वर्ष उमेर समूहका युवतीमा समेत स्तन क्यान्सर देखिने गरेको छ। महिलामा स्तन क्यान्सरको डाइग्नोसिस बढ्नु र परीक्षण गराउनेको संख्या वृद्धि हुनुले यो रोग बढी देखिएको हो, जसका कारण पहिलो नम्बरमा स्तन क्यान्सर देखिएको छ।
महिला र पुरुषमा स्तन क्यान्सरको जोखिम कस्तो छ ?
महिला र पुरुष दुवैलाई स्तन क्यान्सर हुन सक्छ। १ सय जना महिलामा स्तन क्यान्सर देखिँदा एक जना पुरुषमा पनि हुने गरेको पाइएको छ। ४० वर्षमुनिका पुरुषमा समेत स्तन क्यान्सर पाइएको छ। पुरुषमा हुने स्तन क्यान्सर महिलामा भन्दा बढी आक्रमक हुन्छ र छिटो पनि फैलिन्छ। त्यसैले पुरुषले पनि आफ्नो स्तनमा गाँठो वा असामान्य परिवर्तन देखिएमा बेवास्ता गर्नुहुँदैन।
के कारणले स्तन क्यान्सर हुन्छ ?
स्तन क्यान्सर हुनुका कारण विभिन्न छन्। अहिले जीवनशैलीमा परिवर्तन भएको छ। आधुनिक र अप्राकृतिक जीवनशैलीले मोटोपना बढाएको छ। व्यायामको कमी छ। प्याकेट र जंकफुडको सेवन बढ्दो छ। ढिलो उमेरमा विवाह गर्ने र सन्तान पनि ढिलै जन्माउने चलन बढेको छ। हर्मोन प्रभावले पनि नेपालमा स्तन क्यान्सर तीव्र रूपमा बढेको छ।
यसबाहेक स्तन क्यान्सरको मुख्य कारण वंशाणुगत पनि हो। यदि आमा, दिदीबहिनी, अन्टीलाई स्तन क्यान्सर भएको छ भने विशेष सजगता अपनाउनुपर्छ। त्यस्तै, रसायन तथा मिसावटयुक्त खानपान, वातावरणीय प्रदूषण र व्यक्तिगत तनाव पनि स्तन क्यान्सर निम्त्याउन सक्ने जोखिम उत्तिकै छन्।
- विश्वमा करिब ६० प्रतिशत महिलालाई आफ्नो जीवनकालमा स्तनसम्बन्धी समस्या हुने गरेको पाइएको छ। नेपालमा वार्षिक १७ सयदेखि २ हजारसम्म स्तन क्यान्सरका नयाँ बिरामी पत्ताा लाग्ने गरेको अनुमान छ।
- नेपालमा करिब ५० देखि ६० प्रतिशत बिरामी स्तन क्यान्सर तेस्रो वा चौथो चरणमा पुगेपछि बल्ल सजग भएको पाइन्छ। त्यसपछि मात्र उपचार गर्न अस्पताल आउने गरेका छन्।
लक्षण सुरुआतमा नै देखिन्छ ?
सुरुवाती अवस्थामा कुनै पनि लक्षण हुँदैन। त्यसैले सबै महिलाले नियमित रूपमा आफ्नो स्तनको जाँच गर्नुपर्छ। शंका लागेमा विशेषज्ञ चिकित्सककहाँ उपचारका लागि जानुपर्छ। जब स्तन क्यान्सर बढ्दै जान्छ, तब क्रमशः लक्षण देखापर्न थाल्छन्।
स्तनमा गाँठो वा गिर्खा आउने, काखीमुनि गिर्खा आउने हुन थाल्छ। स्तनको मुन्टोबाट रगत वा तरल पदार्थ आउँछ। स्तनको मुन्टा (निप्पल) भित्र छिर्न थाल्ने हुन्छ। स्तनको छालामा परिवर्तन आउँछ। पटकपटक स्तन पाक्ने हुन्छ। अकस्मात् तौल घट्ने लगायतका लक्षणहरू देखिन सक्छन्। लक्षण देखिनेबित्तिकै स्तन क्यान्सर रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ।
स्तन छाम्दा गाँठो भेटियो भने क्यान्सर भइहाल्छ भन्ने बुझाइ पनि छ नि ?
त्यो सत्य होइन। ४० वर्षभन्दा कम उमेरका महिलाको स्तनमा भेटिने करिब ८० प्रतिशत गाँठाहरू क्यान्सर नहुने (बेनाइन) साधारण पानीको फोका अर्थात् सिस्ट वा फाइब्रोएडेनोमा हुन्छन्। त्यसैले गाँठो भेटिँदैमा आत्तिहाल्नु हुँदैन। तर, क्यान्सर हो कि होइन भनेर सम्बन्धित विशेषज्ञसमक्ष गएर यकिन गर्दा ढुक्क हुन सकिन्छ। नदुख्ने गाँठो सबैभन्दा ठूलो धोका हो। यदि क्यान्सर भएको रहेछ भने पनि सुरुवातमै जँचाएर उपचार गरे स्तन नकाटेरै उपचार गर्न सकिन्छ, पूरै निको पार्न सकिन्छ। उपचारका लागि विदेश जानुपर्दैन।
स्तन क्यान्सरको लक्षण नदेखिँदै पूर्वसतर्कता अपनाउन सकिन्छ ?
लक्षण नदेखिएका व्यक्तिहरूले सतर्कता अपनाउन जरुरी छ। त्यसका लागि स्तन क्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ। स्क्रिनिङले सुरुवाती अवस्थामै क्यान्सर पत्ता लगाउन सहयोग गर्दछ। सुरुवाती अवस्थामै उपचार गराउँदा खर्च पनि बचत हुन्छ, स्तन पनि फाल्नु पर्दैन। त्यस्तै जीवनको आयु पनि घट्दैन, बाँच्ने दर एक सय प्रतिशत नै रहन्छ।
स्क्रिनिङ कसरी गर्ने ?
आफ्नो स्तनको परीक्षण आफैं गर्न सकिन्छ। २० वर्षभन्दा माथिका महिलाले आफ्नो स्तनको परीक्षण स्वयं गर्न सक्छन्। महिनावारी भएको ५ देखि ७ दिनभित्र आफैंले गर्ने हो। महिनावारी नहुने र रोकिएका महिलाले महिनाको कुनै एक दिन तोकेर त्यही दिन सधैं स्तन परीक्षण गर्न सक्छन्।
विशेषज्ञबाट पनि स्तन परीक्षण गराउन सकिन्छ। ४० वर्षभन्दा माथिका महिलाले हरेक वर्षमा एकपटक विशेषज्ञबाट परीक्षण गराउनुपर्छ। ४० वर्षभन्दा मुनिका महिलाले दुई वा तीन वर्षमा एकपटक विशेषज्ञबाट स्तन जाँच गराउँदा राम्रो हुन्छ। क्यान्सरको जोखिम भएका महिलाले विशेषज्ञको सल्लाहअनुसार समय–समयमा जाँच गरिरहनुपर्छ।
रेडियोलजिकल परीक्षण पनि त छ नि ?
४० वर्षभन्दा कम उमेर भएकालाई अल्ट्रासाउन्ड परीक्षण गराउनुपर्छ। ४० वर्षभन्दा बढी उमेरकालाई वर्षमा म्यामोग्राम परीक्षण गराउनुपर्छ। म्यामोग्रामले धानको गेडाजस्तो गिर्खा (जुन हातले छामेर पत्ता लाग्ने क्यान्सर होइन) लाई पनि पत्ता लगाउन सक्छ। यो अवस्थामा क्यान्सर पत्ता लागेमा पूरा स्तन फाल्नु पर्दैन, किमोथेरापी पनि चाहिँदैन र महिलाहरू लामो समयसम्म बाँच्न सक्छन्।
म्यामोग्राम गर्दा निस्कने विकिरणले उल्टै क्यान्सर गराउँछ भन्ने भ्रम पनि छ नि ?
कतिपयमा यो भ्रम छ। म्यामोग्राममा प्रयोग गरिने विकिरणको मात्रा अत्यन्तै न्यून (एकपटक हवाई जहाज यात्रा गर्दा वातावरणबाट पाइने विकिरणजत्तिकै) हुन्छ। ४० वर्ष नाघेका महिलाले वर्षमा एकपटक म्यामोग्राम गराउँदा हातले छामेर थाहा हुनुभन्दा दुई वर्ष अगावै क्यान्सर पत्ता लाग्न सक्छ।
स्तन क्यान्सर हुनु भनेकै स्तन काटेर फाल्ने वा मृत्यु नै भोग्नुपर्छ भन्ने भ्रम कत्तिको फैलिँदो छ ?
घरपरिवारमा मात्र होइन, सामाजिक सञ्जालमा पनि यस्ता भ्रमहरू देखिन्छन्। क्यान्सर भएको पहिलो वा दोस्रो चरणमै पहिचान भएमा स्तन काटेर फाल्नु पर्दैन। केवल गाँठोमात्र (ब्रेस्ट कन्जर्भिङ सर्जरी) निकालेर स्तनको प्राकृतिक बनावट जोगाउन सकिन्छ। पूर्णरूपमा निको भएर सामान्य जीवन बाँच्न सकिन्छ।
स्तन क्यान्सरका सम्बन्धमा अन्य भ्रमहरू के कस्ता छन् ?
मुख्य रूपमा तीन किसिमका भ्रमहरू पाइएका छन् :
- गाँठो दुखेको छैन भने क्यान्सर हुँदैन भन्ने भ्रम।
- बायोप्सी (सुई जाँच) गर्दा शरीरभरि क्यान्सर फैलिन्छ भन्ने भ्रम।
- स्तन क्यान्सर हुनु भनेको पूरै स्तन काटेर फाल्नुपर्ने वा मृत्यु हुनु हो भन्ने भ्रम र चरम निराशा।
नियमित जाँच गर्न सकिने र सुरुवाती अवस्थामै रोग पहिचान भएमा निको पनि हुन्छ। किन यही रोगकै कारण अकालमा जीवन गुमाउनु परिरहेको छ ?
ज्यान गुमाउने अवस्थामा पुग्नुको मुख्य कारण हेलचेक्याइँ नै हो। नेपालमा करिब ५० देखि ६० प्रतिशत बिरामी रोग तेस्रो वा चौथो चरण (स्टेज ३÷४) पुगेपछि मात्र अस्पताल पुग्छन्। सुरुमै विशेषज्ञको परामर्श नलिंदा रोग बढ्दै जान्छ। स्तन क्यान्सरको स्क्रिनिङ सेवा उपलब्ध छ, तर पनि जाँच गराउँदैनन्। कतिपय घरपरिवारमा आर्थिक समस्या पनि होला। यसका साथै अन्धविश्वास, चिकित्सकमाथि विश्वास नगरी धामीझाँक्रीमा विश्वास गर्ने प्रवृत्ति पनि जिम्मेवार छन्। समयमै पहिचान गर्न र उपचारबाट पछि हट्ने बानी छ। यी र यस्ता कारणले गर्दा स्तन क्यान्सरबाट ज्यान गुमाउनेको संख्या बढेको छ। त्यसैले सबैले आफ्नो स्तनको परीक्षण आफैँ गर्नुपर्छ। समयमै विशेषज्ञ चिकित्सकहरूबाट सल्लाह लिएर उपचार गराउँदा रोग निको पार्न सकिन्छ, जीवन गुमाउनुपर्दैन।
स्तन क्यान्सरको अवस्था नेपाल र विश्वमा कस्तो छ ?
नेपालको सन्दर्भमा यकिन तथ्यांक छैन। वार्षिक १७ सयदेखि २ हजारसम्म नयाँ बिरामी पत्ता लाग्ने गरेको अनुमान छ। विकसित मुलुकमा ६० वर्ष नाघेका महिलामा स्तन क्यान्सर बढी देखिएको छ। नेपालमा भने अधिकांश बिरामी ४० देखि ५० वर्ष उमेर समूहका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र ग्लोबोक्यानको तथ्यांक हेर्दा पनि हरेक वर्ष २३ लाख स्तन क्यान्सरका बिरामी थपिन्छन्। डब्लूएचओ (२०२१) को तथ्यांकअनुसार सन् २०२० मा मात्र ६ लाख ८४ हजार ९ सय ९६ जनाको स्तन क्यान्सरबाट ज्यान गयो। पश्चिमी मुलुकमा प्रत्येक ८ मध्ये १ जना र एसियामा प्रत्येक २२ मध्ये १ जना महिलामा स्तन क्यान्सर हुने गरेको तथ्यांक छ। विश्वमा हरेक १५ मिनेटमा एक महिलाले स्तन क्यान्सरबाट जीवन गुमाइरहेका छन्। करिब ६० प्रतिशत महिलालाई आफ्नो जीवनकालमा स्तनसम्बन्धी समस्या हुने गरेको पाइएको छ।
प्रस्तुतिः दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !