दसैं फिल्म भिडन्त: स्टारडम र सिक्वेलले मात्रै चलेनन् हल

दसैं फिल्म भिडन्त: स्टारडम र सिक्वेलले मात्रै चलेनन् हल
सुन्नुहोस्

काठमाडौं : दसैं नेपाली फिल्मको सबैभन्दा महत्वपूर्ण व्यावसायिक सिजन हो। अधिकांश प्रोड्युसरहरू दसैंंमा नै फिल्म चलाउन बल लगाउँछन्। बेलाबेला दसैंमा फिल्म चलाउने विषयमा निर्माण पक्षबीच रस्साकस्सी हुने गरेको छ।

भर्खैरै बिदा भएको दसैंमा ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ जस्ता सिक्वेल फिल्म चले। तीमध्ये ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले करोडौंको कारोबार गरेका छन् । तर, विगतदेखि नै बक्स अफिसमा देखिएको प्रतिस्पर्धासँगै फिल्मको गुणस्तर, कमजोर कथावस्तु, अस्वस्थ प्रचार प्रतिस्पर्धा र दर्शकको बदलिँदो रुचिबारे प्रश्न उठ्ने गरेका छन्। सिक्वेलको ब्रान्ड र स्टारडमले दर्शकलाई हलसम्म ताने पनि यस वर्ष चलेका फिल्म सरदरमै गनिए।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक ८ गतेसम्मको बक्स अफिस विवरणअनुसार ‘आ बाट आमा २’ ले ४ करोड ११ लाख ४६ हजार रुपैयाँभन्दा बढी कुल कारोबार गरेको छ। 

फिल्मका १ लाख ३१ हजार ४ सय ९१ टिकट बिक्री भएका छन्। यो फिल्मले हालसम्म ५ करोड कमाइसकेको छ। ‘छ माया छपक्कै २’ ले २ करोड ७६ लाख ३९ हजार रुपैयाँभन्दा बढीको कुल कारोबार गर्दा करिब ८२ हजार ७ सय टिकट बिक्री भएका छन्। 

त्यस्तै, ‘१२ गाउँ २’ ले १ करोड ८३ लाख ९४ हजार रुपैयाँभन्दा बढी कमाउँदा ५७ हजार ९ सय ८३ टिकट बिक्री भएका छन्।
तीन फिल्मको सार्वजनिक ग्रस कारोबार जोड्दा ८ करोड ७१ लाख रुपैयाँभन्दा बढी हुन्छ। यसबाहेक दसैं सकिनै लाग्दा कात्तिक ६ देखि प्रदर्शनमा आएको ‘कबड्डी ५ आफ्टर द फाइनल म्याच’ ले पनि बजारमा राम्रो व्यापार गरिरहेको छ। फिल्मका निर्माता मणिराम पोखरेलका अनुसार फिल्मले हालसम्म ७ करोड रुपैयाँको हाराहारीमा कुल कारोबार गरेको छ।

तर, बक्स अफिसमा देखिएको कारोबारलाई नै नाफा मान्न मिल्दैन। पोखरेलका अनुसार टिकट बिक्रीबाट आएको सबै रकम निर्माता वा निर्माण पक्षले प्राप्त गर्दैनन्। हलसँग रकम बाँडफाँट हुने भएकाले निर्माताको वास्तविक आम्दानी र नाफा यकिन गर्न खर्च तथा अन्य हिसाबसमेत हेर्नुपर्छ। ‘त्यसैले ग्रस कारोबारका आधारमा मात्रै फिल्मको लगानी सुरक्षित भएको निष्कर्ष निकाल्न सकिँदैन,’ उनी भन्छन्।

सिक्वेलको ब्रान्ड बलियो, तर व्यापारमा अन्तर

यस वर्ष दसैंमा प्रदर्शनमा आएका फिल्मका शैली र लक्षित दर्शक फरक–फरक छन्। ‘आ बाट आमा २’ पारिवारिक भावनामा आधारित छ भने ‘छ माया छपक्कै २’ सामाजिक विषयवस्तुमा केन्द्रित छ। ‘१२ गाउँ २’ ले एक्सनप्रधान फिल्म रुचाउने दर्शकलाई लक्षित गरेको छ। तीनवटै फिल्मको नाम अघिल्लो भागसँग जोडिएकाले सिक्वेलको ब्रान्डले दर्शकमाझ प्रारम्भिक चासो सिर्जना गर्न मद्त गरेको देखिन्छ। कातिक ८ गतेसम्मको सार्वजनिक बक्स अफिस विवरणमा फिल्महरूबीच कारोबारको अन्तर देखिन्छ। ‘आ बाट आमा २’ को ग्रस कारोबार ‘छ माया छपक्कै २’ को भन्दा करिब १ करोड ३५ लाख रुपैयाँ बढी छ। त्यस्तै, ‘छ माया छपक्कै २’ को कारोबार ‘१२ गाउँ २’ को भन्दा करिब ९२ लाख रुपैयाँ बढी छ। तर, हाल निर्मताहरूको भनाएअनुसार यो रकममा आकाश पतालको फरक रेहको छ। यसले एउटै सिजनमा प्रदर्शन भएका फिल्मको टिकट बिक्री र व्यावसायिक परिणाम समान नभएको देखाउँछ।

निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार नेपाली फिल्म क्षेत्रमा दसैंमा फिल्म प्रदर्शन गरेपछि स्वतः व्यापार हुने र मुनाफा कमाउने पुरानो प्रवृत्तिमा परिवर्तन आएको छ। पछिल्लो समय दर्शकको रुचि र प्रतिक्रिया बदलिँदै गएको उनको भनाइ छ। ‘सामाजिक सञ्जालमा फिल्मका दृश्य भाइरल हुने प्रवृत्तिले दर्शकको हलसम्म पुग्ने बानीमा असर पार्न सक्ने भए पनि फिल्म हलमा हेर्दाको वास्तविक आनन्द मोबाइलमा पाइँदेन,’ उनी भन्छन्।

गिरीका अनुसार कलाकारको स्टारडममा मात्रै निर्भर भएर फिल्म चलाउने सोचले पनि काम गर्दैन। कमजोर कथावस्तु र गुणस्तरमा पर्याप्त ध्यान नदिँदा दर्शकले अपेक्षाअनुसारको अनुभव नपाउन सक्छन्। त्यसैले, फिल्मको व्यापार बढाउन अस्वस्थ प्रतिस्पर्धाभन्दा गुणस्तरीय कथावस्तु र दर्शकको अनुभवमा ध्यान दिनुपर्ने उनको धारणा छ।

शो बाँडफाँटमा प्रतिस्पर्धा 

बक्स अफिसमा कुल कारोबारसँगै फिल्मले कति शो पायो भन्ने विषय पनि महत्वपूर्ण हुन्छ। एउटै समयमा धेरै फिल्म प्रदर्शनमा आउँदा हलहरूले उपलब्ध स्क्रिन र समय विभाजन गर्नुपर्छ। शोको संख्या र समयले फिल्मको दर्शकसम्मको पहुँच तथा सम्भावित टिकट बिक्रीमा असर पार्न सक्छ।

कात्तिक ४ गते सार्वजनिक टीकाको दिनको शो विवरणअनुसार ‘छ माया छपक्कै २’ ले देशभर ८० शो पाएको थियो। ‘आ बाट आमा २’ ले ७७ र ‘१२ गाउँ २’ ले ५३ शो पाएका थिए। सोही दिन ‘बा एक योद्धा’ ले सात, ‘पेन्सन पट्टा’ ले चार र ‘गौंथली’ ले दुई शो पाएका थिए।

कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले पनि उल्लेख्य संख्यामा शो पाउँदै आएको छ। प्रदर्शनअघि सार्वजनिक विवरणअनुसार फिल्मले शुक्रबारका लागि १ सय १३ शो पाएको थियो भने ३० भन्दा बढी शोमा ५० प्रतिशतभन्दा बढी अकुपेन्सी देखिएको थियो। निर्माता मणिराम पोखरेलका अनुसार फिल्मको ग्रस कारोबार ६ देखि ७ करोड रुपैयाँको हाराहारीमा पुगेको छ।

फिल्म निर्देशक चन्द्र पन्तले नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा र सामाजिक सञ्जालमार्फत हुने नकारात्मक प्रचारप्रति चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार ‘आ बाट आमा २’ ले सुरुमा करिब १५० शो पाएकोमा पछि शो संख्या घटेर ९० पुगेको थियो। यद्यपि, अहिले शो संख्या क्रमशः बढ्ने क्रममा रहेको उनले बताएका छन्।

सामाजिक सञ्जालमा फिल्मले ४०–५० शो मात्रै पाएको भन्ने विवरण गलत भएको पन्तको दाबी छ। आफ्नो फिल्मलाई असफल देखाउने उद्देश्यले नयाँ फेसबुक पेजमार्फत पुरानो भिडियो क्लिप प्रयोग गरेर प्रचार गरिएको उनको आरोप छ। उक्त भिडियोमा कलाकार शोभित बस्नेतको पुरानो क्लिप प्रयोग गरिएको र धेरै दर्शक भएको ठाउँलाई लक्षित गरी प्रचार सामग्री बुस्ट गरिएको उनको भनाइ छ।

पन्तका अनुसार पुराना वा नयाँ भिडियो क्लिप जोडेर, तोडमोड गरेर तथा सामाजिक सञ्जालमा प्रचार गरी कलाकार र फिल्मविरुद्ध नकारात्मक धारणा फैलाउने प्रवृत्तिले समग्र फिल्म क्षेत्रलाई असर गर्न सक्छ। 

दर्शकको रुचि बदलिएको हो कि प्रचारको प्रभाव

समीक्षक रामजी ज्ञवालीका अनुसार केही फिल्ममा कलाकार वा निर्माण टोलीले स्टारडममा अत्यधिक निर्भरता देखाउँदा दर्शकको प्रतिक्रियामा असर पर्न सक्छ। दर्शकले कलाकारको नामका आधारमा मात्रै नभई कथावस्तु र प्रस्तुतिको गुणस्तरका आधारमा फिल्म रोज्न थालेको उनको विश्लेषण छ। कलाकार तथा निर्माता दीपकराज गिरीले पनि अहिलेका अश्लील तथा नकारात्मक विषयवस्तु तथा फिल्महरूले गर्दा दर्शकको मनोबल घटेको बताए। ‘दर्शकको मनोबल गिराउन कलाकार र निर्मता स्वयम्को कमजोरी छ,’ उनी भन्छन्।

गिरीका अनुसार तीनवटा सिक्वेलको बक्स अफिस क्रमलाई मात्रै आधार बनाएर नेपाली दर्शकको रुचि पूर्णरूपमा बदलिएको निष्कर्ष निकाल्न सकिँदैन। त्यसका लागि दर्शकसँगका अन्तर्वार्ता, फिल्म हेरेपछि उनीहरूले दिएका प्रतिक्रिया, टिकट बिक्रीको समयगत विवरण र फिल्मको विषयवस्तुप्रतिको धारणासमेत अध्ययन गर्न आवश्यक हुन्छ।

दसैंको बक्स अफिसले फिल्म क्षेत्रमा करोडौं रुपैयाँको कारोबार सम्भव रहेको देखाए पनि वास्तविक व्यावसायिक सफलता मापन गर्न ग्रस कारोबारमात्रै पर्याप्त छैन। निर्माण लागत, हलसँगको रकम बाँडफाँट, प्रचार खर्च, लगानी फिर्ता हुने अवस्था र दर्शकको सन्तुष्टिलाई समेत मूल्यांकन गर्नुपर्ने निर्माताहरूको भनाइ छ। ‘सिक्वेलको नामले दर्शकलाई हलसम्म तान्न सक्छ, तर दीर्घकालीन सफलता भने फिल्मको विषयवस्तु, गुणस्तर र दर्शकसँगको सम्बन्धमा निर्भर रहने देखिन्छ,’ पन्त भन्छन्।


ग्रस कारोबारका आधारमा मात्रै फिल्मको लगानी सुरक्षित भएको निष्कर्ष निकाल्न सकिँदैन । 

null
मणिराम पोखरेल,
निर्माता

नेपाली फिल्म दसैंमा फिल्म प्रदर्शन गरेपछि स्वतः व्यापार हुने र मुनाफा कमाउने पुरानो प्रवृत्तिमा परिवर्तन आएको छ । 

null
दीपकराज गिरी,
निर्माता तथा कलाकार

दर्शकले कलाकारको नामका आधारमा मात्रै नभई कथावस्तु र प्रस्तुतिको गुणस्तरका आधारमा फिल्म रोज्न थालेका छन् । 

null
रामजी ज्ञवाली,
समीक्षक


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.