जर्ज माइकलले ‘फेथ’ म्युजिक भिडियोमा प्रयोग गरेको गिटार १ लाख ८० हजार पाउन्डमा बिक्री

जर्ज माइकलले ‘फेथ’ म्युजिक भिडियोमा प्रयोग गरेको गिटार १ लाख ८० हजार पाउन्डमा बिक्री
सुन्नुहोस्

काठमाडौं : बेलायती गायक जर्ज माइकलले सन् १९८७ मा ‘फेथ’ म्युजिक भिडियोमा प्रयोग गरेको गिटार लिलामीमा १ लाख ८० हजार पाउन्डमा बिक्री भएको छ । तर, गायकसँग सम्बन्धित व्यक्तिगत सामग्री लिलामीमा राखिएको विषयलाई लिएर विवादसमेत भएको छ ।

लिलामी संस्था स्वोर्डर्सले माइकलकी लामो समयकी व्यक्तिगत सहायक सिओभान बेलीको सङ्ग्रहमा रहेका ३० भन्दा बढी सामग्री बिक्री गरेको बिबिसिले जनाएको छ । ती सामग्रीबाट खरिदकर्ताले तिर्नुपर्ने अतिरिक्त शुल्कबाहेक कुल २ लाख ३८ हजार पाउन्ड प्राप्त भएको छ ।

सन् २०१४ मा बेलीको निधन भएपछि उनका अलग्गिएका पति इयान बेल्चरले कानुनी रूपमा प्राप्त सामग्री लिलामीमा राखेका हुन् । बेलीका भाइ जेरार्ड बेलीले भने आफ्नी बहिनीले आफ्ना प्रिय व्यक्तिगत सामग्री यसरी बिक्री गरिएको देखेमा दुःखी हुने बताएका छन् ।

उनले लिलामीलाई बहिनीको निजी जीवनमाथिको हस्तक्षेप भन्दै रोक्न वा बेल्चरकै नाममा सञ्चालन गर्न आग्रह गरेका थिए । यद्यपि, बेलीले इच्छापत्र नछाडेका कारण उनको सम्पत्ति कानुनी रूपमा पतिमा गएको र सामग्री बिक्री गर्ने अधिकार बेल्चरसँग रहेको स्वीकार गरेका छन् ।

लिलामीमा गिटारबाहेक हस्ताक्षर गरिएका तस्बिर, सांगीतिक कार्यक्रमका निमन्त्रणा, प्रमाणपत्रसहितका सीडी तथा डिस्क पनि बिक्री भएका छन् । क्विनको ‘फाइभ लाइभ’ ईपीको हस्ताक्षरित आवरण ७ हजार पाउन्ड, माइकलको ‘ओल्डर’ एल्बमको प्रस्तुति सीडी ४ हजार ८०० पाउन्ड र ह्वाम! को ‘वेक मी अप बिफोर यू गो-गो’ को गोल्ड डिस्क ४ हजार ५०० पाउन्डमा बिक्री भएको छ ।

सिओभान बेलीले सन् १९८४ देखि करिब २० वर्षसम्म जर्ज माइकलको व्यक्तिगत सहायकका रूपमा काम गरेकी थिइन् । उनका भाइका अनुसार माइकलले बेलीलाई उपहारस्वरूप उक्त गिटार दिएका थिए । ‘फेथ’ म्युजिक भिडियोमा प्रयोग भएपछि गिटार गायकको एकल सांगीतिक पहिचानसँग जोडिएको चर्चित सामग्री बनेको थियो ।

‘फेथ’, ‘केयरलेस विस्पर’, ‘फादर फिगर’ र ‘फास्टलभ’ जस्ता गीतबाट चर्चित माइकलको सन् २०१६ मा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.