सामाजिक सञ्जालले घटाउँदै नेपाली नायिकाको ‘स्टारडम’
सामाजिक सञ्जालमा भाइरल हुने १५ सेकेन्डका रिल्स र टिकटक भिडियोहरूले नेपाली रजतपटलाई निकै गाँजेको छ । सामाजिक सञ्जालमा सहजै उपलब्ध हुने छोटो चर्चा र भाइरल अनुहारहरूलाई नै छानेर चलचित्र बनाउने होडबाजीले अभिनेत्रीहरूको वास्तविक ‘स्टारडम’ भने खस्किएको छ ।
काठमाडौं : कुनै समय थियो— नायिकाहरू निरुता सिंह, रेखा थापा, करिश्मा मानन्धर, मौसमी मल्ल, कृष्टि मैनालीहरूको पोस्टर हेरेर दर्शक हलसम्म पुग्थे । हलको काउन्टरमा टिकट पाउनै धौ–धौ हुन्थ्यो, नायिकाहरूको नाम हरेक दर्शकको जिब्रोमा कण्ठै हुन्थ्यो ।
उनीहरूको ‘स्टारडम’ र ‘हिरोइज्म’ त कुरै नगरौं। तर, समय फेरिएको छ । अहिले टिकटक, इन्स्टाग्राम र फेसबुकका १५ देखि २० सेकेन्डका भाइरल रिल्सहरूले फिल्म उद्योगको नक्सा नै बदलिदिएका छन् ।
सामाजिक सञ्जालमा रातारात हिट भएका अनुहारहरूलाई छानेर फिल्ममा प्रवेश गराउने ‘सजिलो बाटो’ अपनाउँदा नयाँ नायिकाहरूको भित्रिने क्रम त रोकिएको छैन, तर पर्दामा उनीहरूको त्यो साख र स्टारडम भने निरन्तर खस्किँदै गएको छ । हिजोका नायिकाहरू पहुँचभन्दा टाढा हुँदा उनीहरूमा जुन रहस्य र आकर्षण थियो, आजका कलाकारहरू सामाजिक सञ्जालमा हरपल सहजै उपलब्ध भइदिँदा दर्शकमाझ त्यो साख र उत्साह भने क्रमशः फिक्का बन्दै गएको देखिन्छ ।
अभिनेत्री मिथिला शर्माका अनुसार नेपाली फिल्मप्रतिको दर्शकको क्रेज घटेको होइन, फिल्म प्रदर्शनको संख्या बढ्दा दर्शकको ध्यान विभाजित भएको हो। पहिले नेपाली फिल्म प्रदर्शन हुनु उत्सवजस्तै हुने गरेको स्मरण गर्दै उनले अहिले हप्तामै चारदेखि पाँचवटा फिल्म प्रदर्शन हुँदा दर्शकको आकर्षण बाँडिएको उनको अनुभव छ। ‘नेपाली फिल्मले अन्तर्राष्ट्रिय स्तरमा अवार्ड जित्नु र विश्वमाझ पहिचान बनाउनु उद्योगका लागि गर्वको विषय हो,’ उनले बताइन्। अहिलेका निर्माता, निर्देशक तथा कलाकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै उनले नेपाली फिल्मले हासिल गरेको उपलब्धिलाई निरन्तरता दिन थप मेहनत, साधना र गुणस्तरीय काम आवश्यक रहेको बताइन्।
पछिल्लो समय नेपाली कलाकारहरूप्रतिको दर्शकको आकर्षण अर्थात् ‘स्टारडम’ घट्दै गएको नायिका तथा निर्देशक रेखा थापाको बुझाइ छ। ‘अहिले सामाजिक सञ्जाल र टिकटकका कारण कलाकारहरू सहजै उपलब्ध हुन थालेका छन्,’ पहिले कलाकारलाई देख्दा दर्शकमा छुट्टै उत्साह र क्रेज हुने गरेको स्मरण गर्दै उनले भनिन्, ‘जसका कारण उनीहरूप्रतिको रहस्यमय आकर्षण कम हुँदै गएको छ।’
अभिनयलाई अन्य पेसाजस्तै गम्भीरतापूर्वक नलिनु, आवश्यक तयारी र साधनाबिना पारिवारिक सम्बन्ध वा पहुँचका आधारमा फिल्ममा अवसर पाउने प्रवृत्तिले पनि कलाकारप्रतिको विश्वास र आकर्षण घटेको उनको भनाइ छ। उनका अनुसार कलाकार बन्न प्रतिभा, मेहनत, समर्पण र निरन्तर अभ्यास आवश्यक छ।
पर्दामा देखिएका नयाँ अनुहार
मलिका महत
मलिका महत नेपाली फिल्म क्षेत्रकी अभिनेत्री तथा मोडल हुन्। सन् १९९९ नोभेम्बर २ मा काठमाडौंमा जन्मिएकी उनले सानै उमेरदेखि अभिनयमा रुचि राख्दै आएकी थिइन्। उनले सन् २०१६ मा मिस एसएलसी सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउँदै मोडलिङ तथा मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाउन सुरु गरेकी थिइन्। त्यसपछि विभिन्न म्युजिक भिडियोमा अभिनय गरेर दर्शकमाझ परिचित भएकी उनले सन् २०१९ मा प्रदर्शनमा आएको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ बाट नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीका रूपमा डेब्यु गरिन्।
त्यसपछि उनले ‘पानीफोटो’, ‘अगस्त्य: च्याप्टर १’, ‘सतीदेवी’, ‘महाभोज’ र ‘आ बाट आमा २’ लगायतका फिल्ममा अभिनय गरेकी छन्। विशेषगरी फिल्म ‘सतीदेवी’ मा गरेको अभिनयका लागि उनले राष्ट्रिय फिल्म पुरस्कारसमेत प्राप्त गरेकी छन्। फिल्मसँगै उनले ‘फुलबुट्टे सारी’, ‘म तिम्रो’ र ‘फ्रोजन गाई’ लगायतका लोकप्रिय म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्।
पहिले नेपाली फिल्म प्रदर्शन हुनु उत्सवजस्तै हुन्थ्यो। अहिले हप्तामै चारदेखि पाँचवटा फिल्म प्रदर्शन हुँदा दर्शकको आकर्षण बाँडिएको पक्कै हो।
मिथिला शर्मा, अभिनेत्री
पछिल्लो समय नेपाली कलाकारहरूको ‘स्टारडम’ घट्दै गएको छ। अहिले सामाजिक सञ्जाल र टिकटकका कारण कलाकारहरू सहजै उपलब्ध हुन थालेका छन्। अहिले कलाकारप्रति दर्शकको क्रेज छैन।
रेखा थापा,अभिनेत्री/निर्देशक
उपासना सिंह ठकुरी
उपासना सिंह ठकुरी नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री हुन्। सन् १९९८ सेप्टेम्बर २० मा नेपालको दार्चुलामा जन्मिएकी उनले बाल्यकालको केही समय दार्चुलामै बिताएकी थिइन् भने पछि काठमाडौं आएर आफ्नो विद्यालय तथा उच्च शिक्षा पूरा गरिन्। उनले काठमाडौंस्थित एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातक तहको अध्ययन पूरा गरेकी छन्।
सानैदेखि नाटक, नृत्य तथा कार्यक्रम सञ्चालनमा रुचि राख्ने उपासनाले सन् २०१९ मा अनमोल केसीसँग अभिनय गरेको फिल्म ‘क्याप्टेन’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्। सोही वर्ष प्रदर्शनमा आएको ‘कबड्डी कबड्डी कबड्डी’ बाट उनले दर्शकको राम्रो साथ र चर्चा पाइन्। त्यसपछि उनले ‘डिसेम्बर फल्स’, ‘दुई नम्बरी’, ‘हात्तीछाप’ र ‘खुस्मा’ लगायतका फिल्ममा अभिनय गरेकी छन्। विशेषगरी फिल्म ‘खुस्मा’ मा निर्वाह गरेको भूमिकाका लागि उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय फिल्म पुरस्कारसमेत प्राप्त गरेकी छन्।
सुहाना थापा
सुहाना थापा नेपाली फिल्म क्षेत्रकी अभिनेत्री तथा फिल्म निर्मात्री हुन्। सन् १९९८ मे ८ मा काठमाडौंमा जन्मिएकी उनी अभिनेत्री तथा निर्देशक झरना थापा र फिल्म निर्माता सुनीलकुमार थापाकी छोरी हुन्। फिल्म क्षेत्रसँग सम्बन्धित परिवारमा जन्मिएकी उनले सानै उमेरदेखि नै अभिनय र फिल्म निर्माणबारे अनुभव प्राप्त गर्ने अवसर पाएकी थिइन्। उनले फिल्म ‘ए मेरो हजुर’ मा बालकलाकारका रूपमा पहिलोपटक अभिनय गरेकी थिइन्।
त्यसपछि प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ बाट मुख्य अभिनेत्रीका रूपमा डेब्यु गर्दै दर्शकमाझ लोकप्रियता हासिल गरिन्। उक्त फिल्मबाट उनले कामना फिल्म अवार्डअन्तर्गत उत्कृष्ट नवअभिनेत्रीको पुरस्कारसमेत प्राप्त गरेकी थिइन्। त्यसपछि उनले ‘ए मेरो हजुर ४’ र ‘एक भागवत् र एक गीता’ लगायतका फिल्ममा अभिनय गरेकी छन्। अभिनयसँगै फिल्म निर्माणमा समेत संलग्न सुहानाले ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ निर्माणमा योगदान दिएकी छन्।
मिरुना मगर
मिरुना मगर नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री तथा मोडल हुन्। सन् १९९४ जुलाई १८ मा हङकङमा जन्मिएकी उनको बाल्यकालको केही समय धरानमा बितेको थियो। उनले सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘लालपुर्जा’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्।
त्यसपछि ‘रोज’, ‘साइनो’, ‘चा चा हुई’ लगायतका फिल्ममा अभिनय गरेकी उनले सन् २०२२ मा प्रदर्शनमा आएको ‘कबड्डी ४ ः द फाइनल म्याच’ बाट व्यापक लोकप्रियता हासिल गरिन्। त्यसपछि उनले ‘जारी’, ‘नांगो गाउँ’, ‘रंगेली’, ‘घरज्वाइँ’, ‘ऊनको स्विटर’, ‘मैझारो’, ‘जारी २’ र ‘जनै हराएको मान्छे’ लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छन्।
नीति शाह
नीति शाह नेपाली अभिनेत्री, मोडल तथा सौन्दर्य प्रतियोगिताकी विजेता हुन्। सन् १९९६ फेब्रुअरी २ मा जन्मिएकी उनले सन् २०१३ मा आयोजित फेस हाउस अफ फेसन प्रतियोगितामा पहिलो उपविजेता बनेर चर्चा कमाएकी थिइन्। मोडलिङबाट मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी नीतिले सन् २०२४ मा प्रदर्शनमा आएको फिल्म ‘खजुरे ब्रो’ बाट नेपाली फिल्ममा अभिनय यात्रा अघि बढाएकी हुन्। उनका ‘खजुरे ब्रो’, ‘ज्वाइँ साब’ लगायतका फिल्ममा अभिनय रहेकी छिन्। उनी इनभोगकी लोकप्रिय अनुहारका रूपमा समेत परिचित छिन्।
अञ्जना बराइली
अञ्जना बराइली नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री हुन्। विविध चरित्रलाई जीवन्त रूपमा प्रस्तुत गर्ने अभिनय क्षमताका कारण उनले छोटो समयमै नेपाली सिनेमामा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी छन्। हालै उनले गन्धर्व समुदायको संघर्ष र जीवनयात्रामा आधारित पारिवारिक फिल्म ‘पूर्णबहादुरको सारंगी’, ‘पुजार सार्की’ मा अभिनय गरेकी छन्, जसले दर्शकबाट व्यापक प्रशंसा पाएको थियो। यसैगरी बहुप्रतीक्षित फिल्म ‘महाभोज’ मा पनि उनी प्रमुख भूमिकामा छिन्।
दिव्या रायमाझी
दिव्या रायमाझी नेपाली फिल्म क्षेत्रकी नयाँ अनुहार हुन्। सन् २००० जुलाई ४ मा जन्मिएकी उनी नेपाली फिल्मका चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्। कलाकार परिवारमा जन्मिएकी दिव्याले नेपाली फिल्म क्षेत्रमा आफ्नो अभिनय यात्रा फिल्म ‘एक्टरः टेक वन’बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनी ‘पीताम्बर’मा देखिएकी थिइन् भने ‘राम नाम सत्य’ मा समेत उनले अभिनय गरेकी छन्। पारिवारिक पृष्ठभूमिका कारण पनि चर्चामा रहेकी दिव्या पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने प्रयासमा छिन्।
मिस पवी (पवित्रा साकी)
मिस पवी (पवित्रा साकी) नेपाली मोडल, अभिनेत्री तथा सामाजिक सञ्जालमा चर्चित कन्टेन्ट क्रिएटर हुन्। सुदूरपश्चिम प्रदेशको डडेल्धुरास्थित अमरगढी नगरपालिका–८, लटौलीमा जन्मिएकी उनी डोटेली भाषामा बनाएका छोटा भिडियोमार्फत चर्चा बटुलेपछि नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्।
कोरोना महामारीका कारण भएको लकडाउनको समयमा टिकटक बनाउन सुरु गरेकी उनको डोटेली भाषामा बोलिएको करिब २० सेकेन्डको एउटा भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा लोकप्रियता बढेको थियो। उनले ‘जुम्ला’, ‘आहा कति राम्री’, ‘सँगसँगै’ लगायतका गीतका म्युजिक भिडियोमा अभिनय गरेकी छन्। त्यस्तै, ‘मेरी बास्सै’, ‘ख्याल ठट्टा’ र ‘कमेडी दरबार’ जस्ता टेलिभिजन कार्यक्रममा आबद्ध भएकी छन्। उनले सन् २०२५ मा प्रदर्शनमा आएको ‘माग्ने राजा’ बाट नेपाली फिल्ममा अभिनय यात्रा सुरु गरेकी हुन्। त्यसपछि ‘मोहोर’, ‘विरल गोर्खे’ लगायतका फिल्ममा पनि देखिएकी छन्।
प्रतिक्रिया दिनुहोस !