गर्भमै शिशुको ज्यान जाला, ख्याल गरौं

गर्भमै शिशुको ज्यान जाला, ख्याल गरौं
सुन्नुहोस्

नियमित गर्भजाँच गरौं। शिशुको चालमा आएको कमीलाई बेवास्ता नगरौं।

संसारमा हरेक १६ सेकेन्डमा १ जना शिशु जन्मनुअघि नै मृत्युको मुखमा पुग्छ। विश्वव्यापी रूपमा ‘आईयूएफडी’ को भार लामो समयदेखि उपेक्षित छ। 

संयुक्त राष्ट्र संघको बाल मृत्यु अनुमान अन्तर–संस्था समूह (यूएन आईजीएमई) को तथ्यांकअनुसार सन् २०२३ मा विश्वभर करिब २० लाख ‘स्टीलबर्थ’ (मृत बच्चाको जन्म) भएका थिए। अर्थात् विश्वमा हरेक १६ सेकेन्डमा करिब १ शिशु मृत अवस्थामा जन्मिन्छ। यस्ता मृत बच्चा जन्मिनेहरूमध्ये करिब ८० प्रतिशत उपसहारा अफ्रिका र दक्षिण एसियामा केन्द्रित छन्। 

चिकित्साको प्राविधिक भाषामा ‘इन्ट्रायुटेरिन फेटल डेथ’ (आईयूएफडी) भनेको गर्भभित्रै भ्रुणको मृत्यु हुने अवस्था हो। जुनसुकै गर्भाधानको यो सबैभन्दा निराशाजनक र पीडादायी मोड हो। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को परिभाषाअनुसार गर्भावस्थाको निश्चित अवधि वा तौल पुगिसकेपछि आमाको गर्भमै शिशुको प्राण जानुलाई ‘आईयूएफडी’ भनिन्छ। नेपालको सन्दर्भमा निश्चित अवधि भनेको २८ हप्ता हो। सोभन्दा अगाडि नै भ्रुणको मृत्यु भए गर्भपतन भनिन्छ। यो परिभाषामा गर्भको अवधि देशको स्वास्थ्य सेवा र कानुनी व्यवस्थाका आधारमा राष्ट्रले नै तोक्ने हुन्छ। त्यस्तै मृत्यु भएको बच्चा जन्मिनुलाई ‘स्टीलबर्थ’ भनिन्छ। 

अध्ययन तथा तथ्यांकहरूले यो संसारमा हरेक वर्ष करिब २० लाखभन्दा बढी शिशुहरूको मृत्यु आमाको गर्भभित्र नै मृत्यु हुने गर्दछ। यीमध्ये अधिकांश नेपालजस्ता न्यून तथा मध्यम आय भएका विकासोन्मुख देशहरूमा घट्ने गर्छन्। नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्यका सूचकहरूमा सुधार आउँदै गएको छ। तर, अझै पनि गर्भभित्रै शिशुको मृत्यु हुने समस्या एउटा अदृश्य तर भयावह स्वास्थ्य चुनौतीका रूपमा खडा छ। 

आयूएफडी भए पछि ‘पेटभित्र मरेको बच्चालाई तुरुन्तै शल्यक्रिया (सिजेरियन सेक्सन) गरेर निकालियोस्’ भन्ने चाहना धेरैको हुने गर्छन्। तर, जनमानसमा रहेको यो बुझाइ र स्थापित अन्तर्राष्ट्रिय चिकित्सा निर्देशिका (गाईडलाईन) बीच आकाश–जमिनको फरक छ।

आयूएफडीको व्यवस्थापनमा रोयल कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (आरसीओजी, बेलायत), अमेरिकन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (एसीओजी, संयुक्त राज्य अमेरिका) र विश्व स्वास्थ्य संगठन जस्ता विश्वका सर्वोच्च चिकित्सा संस्थाहरूको एउटै मत र स्पष्ट गाईडलाइन छ। यदि आमाको स्वास्थ्य अवस्था स्थिर छ भने गर्भमै शिशुको मृत्यु भएको अवस्थामा सामान्य प्रसूति गराउनु (नर्मल डेलिभरि) नै पहिलो, सुरक्षित र वैज्ञानिक विकल्प हो। 

धेरैलाई यो कुरा सुन्दा अनौठो र कतिपय अवस्थामा क्रूर पनि लाग्न सक्छ। आखिर बच्चा मरिसक्दा पनि किन आमालाई व्यथा लाग्ने औषधि दिएर समान्य प्रसूति गराइन्छ ? तर, यसको पछाडि बलियो वैज्ञानिक कारण छ। सिजेरियन शल्यक्रिया आफैंमा एउटा ठूलो अप्रेसन भए पनि यसले मृत शिशुलाई त कुनै जीवन दान दिन सक्दैन। तर, यसले जीवित आमाको शरीरमा भने अत्यधिक रक्तस्राव, गम्भीर सङ्क्रमण, एनेस्थेसियाको जटिलता, र भविष्यमा बस्ने गर्भहरूमा साल टाँसिने (प्लासेन्टा एक्रेक्टा) वा पाठेघर फुट्ने जस्ता घातक जोखिमहरू बढाउँछ। ‘सियोले हुने काममा बन्चरो चलाउनु हुँदैन’ भनेझैं, चिकित्सा विज्ञानले आमाको पाठेघरमा थप चोट नपुगोस् र भविष्यमा उनले पुनः स्वस्थ सन्तानलाई जन्म दिन सकून् भन्नका लागि नै सामान्य प्रसूतिको बाटो रोज्ने गर्दछ। अर्थात पेटमा शिशुको मृत्यु हुनुलाई मात्रै सिजेरियन अप्रेसन गर्ने आधार बनाउन चिकत्सिकिय हिसाबले हुँदैन।

तर, गर्भवती महिलामा साल अगाडि बसेको अवस्था छ (प्लासेन्टा प्रिभिया), लामो समय व्यथा लाग्दा पनि बच्चा निस्कन नसक्ने अवस्था छ। पाठेघर फुट्ने उच्च जोखिम तथा अन्य जोखिमहरूका कारण आमाको स्वास्थ्य अवस्था निरन्तर बिग्रँदै गएको छ भनेमात्र बाध्य भएर शल्यक्रियाको सहारा लिनुपर्ने हुन्छ। पहिले सिजेरियन भएको अवस्थामा पनि स्वतः फेरि सिजेरियन गर्नुपर्छ भन्ने हुँदैन। पाठेघरमा भएको पुरानो दाग, गर्भको अवधि, प्रसूति गराउने विधि र आमाको अवस्थाअनुसार जोखिम मूल्यांकन गरेर निर्णय गरिन्छ। अर्थात् शल्यक्रिया गर्ने कि नगर्ने भन्ने निर्णय मृत शिशुको आधारमा होइन। आमाको जीवनको रक्षा गर्ने उद्देश्यले मात्र गरिन्छ।

यो सिंगो प्रक्रियामा सबैभन्दा ठूलो र अदृश्य सत्रु मृत शिशु होइन। बरु त्यसपछि आमाको शरीरमा आउन सक्ने आकस्मिक जटिलताहरू हुन्। नेपाल र समग्र विश्वमै मातृमृत्युको सबैभन्दा प्रमुख र डरलाग्दो कारण अत्यधिक रक्तस्राव (पीपीएच) नै हो। प्रसूतिपछि पाठेघर खुम्चिन नसक्दा, सालको केही अंशभित्रै रहँदा, वा यौनांगमा गम्भीर चोट लाग्दा रगतको भेल बग्न सक्छ। यसबाहेक ‘डिसेमिनेटेड इन्ट्राभास्कुलर कोगुलेसन’ (डीआईसी) मातृमृत्युको कारण बन्न सक्छ। 

यसले आमाको शरीरमा रगत जम्ने प्राकृतिक प्रणालीलाई नै पूर्ण रूपमा ध्वस्त पारिदिन्छ। फलस्वरूप, आमाको शरीरका सबै अंगहरूबाट निरन्तर रगत बग्न थाल्छ र त्यसलाई रोक्न असम्भव प्रायः हुन्छ। आधुनिक चिकित्सामा शिशुको मृत्यु पुष्टि हुनासाथ केही दिनभित्रै सुरक्षित रूपमा प्रसूति गराइने हुनाले डीआईसी को सम्भावना कम भएको छ। तर रक्तस्राव र सङ्क्रमणको जोखिम भने सधैं उच्च रहन्छ। यसका साथै, प्रसूति ढिलो हुँदा वा पटक–पटक असुरक्षित रूपमा भित्री जाँच गर्दा हुने सङ्क्रमणले आमालाई ‘सेप्टिक सक’ मा पु¥याउन सक्छ। 

आयूएफडीको व्यवस्थापनका लागि केवल एउटा डाक्टरको ज्ञान मात्र पर्याप्त हुँदैन। यसलाई व्यवस्थित शृंखला चाहिन्छ। पहिले अल्ट्रासाउन्डको माध्यमबाट शिशुको मुटुको धड्कन बन्द भएको सही निदान हुनुपर्छ। र सम्भव भएसम्म त्रुटि रोक्न अर्का चिकित्सकबाट पनि त्यसको पुष्टि गराइनुपर्छ। त्यसपछि परिवारसँगको सञ्चार वा काउन्सिलिङ महत्वपूर्ण हुन्छ। 

चिकित्सकले आमाको अवस्था, सामान्य प्रसूति गराउनु पर्ने वैज्ञानिक कारण, प्रसूति प्रक्रियामा लाग्न सक्ने समय र हुन सक्ने अत्यधिक रक्तस्राव जस्ता सम्भावित जोखिमहरूका बारेमा परिवारलाई स्पष्ट र सरल भाषामा बुझाउनुपर्छ। प्रसूति गराउनु अगावै अस्पतालमा व्यापक तयारी हुनु जरुरी छ। 

आमाको रगतको समूह पहिचान गरी पर्याप्त रगत र क्रस–म्याचिङको व्यवस्था मिलाउने, रगत रोक्ने औषधिहरू र आवश्यक परे आकस्मिक शल्यक्रिया कक्ष एवं विशेषज्ञ टोली तयारी अवस्थामा राख्नु पर्दछ। यदि प्रसूतिपछि रक्तस्राव भइहाले सोको तुरुन्त व्यवस्थापन गर्न सबै विकल्पहरू तयार गरिनुपर्छ। 

  •  नेपालको सन्दर्भमा निश्चित अवधि भनेको २८ हप्ता हो। सोभन्दा अगाडि नै भ्रुणको मृत्यु भए गर्भपतन भनिन्छ। यो परिभाषामा गर्भको अवधि देशको स्वास्थ्य सेवा र कानुनी व्यवस्थाका आधारमा राष्ट्रले नै तोक्ने हुन्छ। त्यस्तै मृत्यु भएको बच्चा जन्मिनुलाई ‘स्टीलबर्थ’ भनिन्छ।
  •  आमाको स्वास्थ्य अवस्था स्थिर छ भने गर्भमै शिशुको मृत्यु भएको अवस्थामा सामान्य प्रसूति गराउनु (नर्मल डेलिभरि) नै पहिलो, सुरक्षित र वैज्ञानिक विकल्प हो। धेरैलाई यो कुरा सुन्दा अनौठो र कतिपय अवस्थामा क्रूर पनि लाग्न सक्छ। आखिर बच्चा मरिसक्दा पनि किन आमालाई व्यथा लाग्ने औषधि दिएर समान्य प्रसूति गराइन्छ ? तर, यसको पछाडि बलियो वैज्ञानिक कारण छ।

नेपालको जनस्वास्थ्य प्रणाली गाइडलाइनको अभावले होइन, बरु आवश्यक भौतिक स्रोत, जनशक्ति र पूर्वाधारको चरम अभावले थला परेको छ। नेपालका ग्रामीण तथा अर्ध–सहरी क्षेत्रका धेरै अस्पतालहरूमा २४सै घण्टा सञ्चालन हुने व्यवस्थित ब्लड बैंक र ब्लड बैंकमा रगत नपाउने अवस्था छ। त्यस्तै, आवश्यक पर्दा तुरुन्तै आईसीयूमा बेड पाइँदैन, बेहोस पार्ने चिकित्सक (ऐनेस्थेसिया) वा स्त्रीरोग विशेषज्ञहरू चौबीसै घण्टा उपलब्ध हुँदैनन्। सिकिस्त बिरामीलाई सुविधासम्पन्न केन्द्रमा पु¥याउन भरपर्दो र द्रुत एम्बुलेन्स वा रेफरल प्रणालीको सर्वथा अभाव छ। यस्तो अवस्थामा चिकित्सकले सही निर्णय लिँदालिँदै पनि आवश्यक प्रणालीको अभावमा बिरामीको ज्यान जाने गर्दछ। तर त्यसको सजाय र अपजस भने कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीले मात्र भोग्नु परिरहेको छ।

नेपाल सरकारको स्वास्थ्य सेवा विभागअन्तर्गत मातृमृत्यु निगरानी तथा प्रतिकार्य (एमपिडिएसआर) कार्यक्रम सञ्चालनमा छ। यसको मुख्य उद्देश्य देशमा हुने प्रत्येक मातृमृत्युको गहिरो ‘मेडिकल अडिट’ को समीक्षा गर्नु हो। यस्ता मातृमृत्युमा चिकित्सकको व्यक्तिगत लापरवाही, ढिलाइ वा चिकित्सकीय आचारसंहिता विपरीतको कार्य भएको हो भने कानुनी अनुसन्धान र कारबाही हुनैपर्छ। तर, सीमित स्रोतसाधनका बीच भएको एउटा अकाट्य चिकित्सकीय जटिलतामात्रै हो भने, भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन के–के पूर्वाधारहरू थप्नुपर्ने हो भन्नेतर्फ राज्यको ध्यान जानु अनिवार्य छ। र ‘एमपिडिएसआर’ ले ती सबै कारणहरूको खोज गर्न योगदान गर्छ।

गर्भमा शिशुको मृत्यु हुनु आफैंमा परिवारका लागि असह्य पीडा हो। त्यसपछि आमाको ज्यान जोगाउनु स्वास्थ्यकर्मी, परिवार र स्वास्थ्य प्रणालीको साझा जिम्मेवारी हो। सही समयमा मृत्युको पुष्टि, संवेदनशील परामर्श, आमाको अवस्थाको निरन्तर मूल्यांकन, सुरक्षित प्रसूतिको योजना, पर्याप्त रगत, आवश्यक विशेषज्ञ टोली र समयमै रेफरल–यी सबै मिलेर मात्र सुरक्षित उपचार सम्भव हुन्छ। 

मृत शिशुलाई निकाल्ने हतारभन्दा जीवित आमालाई सुरक्षित राख्ने विवेक ठूलो कुरा हो। नियमित गर्भजाँच, शिशुको चालमा आएको कमीलाई बेवास्ता नगर्ने बानी र समयमा स्वास्थ्य संस्थामा पुग्ने निर्णयले धेरै जोखिम कम गर्न सक्छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.