माटोभित्रको जीवन–दर्शन

माटोभित्रको जीवन–दर्शन
सुन्नुहोस्

माटो स्वस्थ रहेमात्र कृषि, प्रकृति र मानव सभ्यताको निरन्तरता सुरक्षित रहन्छ। माटोलाई जोगाउनु भनेको आफ्नो जीवन जोगाउनु हो, माटोलाई सम्मान गर्नु भनेको आफ्नै अस्तित्वलाई सम्मान गर्नु हो।

गाउँको पुरानो घर पुग्दा वृद्ध किसान खेतको डिलमा बसेर माटो हातमा माडिरहेका थिए। जीवनका धेरै वसन्त र शिशिर देखिसकेका उनका हातमै उमेरका रेखा प्रस्ट देखिन्थे। जीवनको ठूलो हिस्सा उनले त्यही माटोमा बिताएका थिए। त्यही माटोले उनको परिवार पालेको थियो, छोराछोरी हुर्काएको थियो र जीवनका अनेक सुखदुःखमा साथ दिएको थियो।

छेउमा उभिएको एक युवकले सोध्यो, ‘बुबा, अहिले यो खेतमा घर बनाएर बेच्ने हो भने धेरै पैसा आउँछ। किन अझै खेती गरेर दुःख गर्नुहुन्छ ? ’ वृद्धले केहीबेर हातमा रहेको माटोतिर हेरे। त्यसपछि शान्त स्वरमा भने, ‘पैसाको मूल्य मलाई पनि थाहा छ बाबु। तर यो खेतले मलाई पैसामात्रै दिएको छैन, जीवन दिएको छ।’ यो संवाद काल्पनिक हुन सक्छ, तर यसले उठाएको प्रश्न भने हाम्रो समाजको वास्तविक प्रश्न हो भन्दा अत्युक्ति नहोला। मानिसको जीवन माटोबाट सुरु हुन्छ र अन्ततः माटोमै पुगेर टुंगिन्छ। हामी माटोमा खेल्दै हुर्कन्छौं, माटोबाट उब्जिएको अन्न खाएर बाँच्छौं, माटोमै घर बनाएर जीवन बिताउँछौं र एक दिन यही माटोमा विलीन हुन्छौं पनि। तर विडम्बना, हाम्रो जीवनको यति महत्वपूर्ण आधारलाई हामीले कति सम्मान गरेका छौं भन्ने प्रश्न आज गम्भीर बनेको छ।

माटो केवल जमिन होइन, जीवनको आधार हो। यसले अन्नमात्र उब्जाउँदैन; वनस्पति, जीवजन्तु र समग्र पारिस्थितिक प्रणालीलाई धानेको हुन्छ। माटोमा असंख्य सूक्ष्मजीवले काम गरिरहेका हुन्छन्। 

तिनले जैविक पदार्थ विघटन गर्न, पोषक तत्वको चक्र चलाउन र माटोको उर्वराशक्ति कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन्। स्वस्थ माटोबिना स्वस्थ वनस्पति, सुरक्षित खाद्य प्रणाली र सन्तुलित वातावरणको कल्पना गर्न सकिँदैन। पानी र हावाजस्तै माटो पनि जीवनका लागि अपरिहार्य छ। तर पानी र हावाको महत्वबारे जति चर्चा हुन्छ, माटोको संरक्षण र सम्मानबारे त्यति ध्यान दिइएको पाइँदैन।

विश्व बैंकमा प्रकाशित खाद्य तथा कृषि संगठनका तथ्यांकअनुसार सन् २०२४ मा नेपालको कुल क्षेत्रफलको करिब २६.१ प्रतिशत भूभाग कृषि भूमिमा परेको थियो। त्यसमध्ये खेतीयोग्य जमिनको हिस्सा करिब १२.६ प्रतिशत थियो। यी दुई तथ्यांकका अर्थ फरक छन्। कृषि भूमिमा खेतीयोग्य जमिनसँगै स्थायी बाली लगाइने क्षेत्र र स्थायी चरनभूमि पनि समावेश हुन्छन्। सीमित खेतीयोग्य जमिन भएको हाम्रो देशका लागि उपलब्ध माटोको संरक्षण गर्नु झन् आवश्यक छ। माटोको मूल्य र बजारको मूल्य एउटै होइन। एउटा जमिनको मूल्य कति पर्छ भनेर हामी सहजै हिसाब गर्न सक्छौं। तर त्यही जमिनले उत्पादन गरेको अन्न, सञ्चित गरेको कार्बन, छानेको पानी, संरक्षण गरेको जैविक विविधता र पुस्तौंदेखि धानेको मानव सभ्यताको मूल्य कसरी निर्धारण गर्ने ? बजारले जमिनको मूल्य तोक्न सक्छ, तर माटोले समाजलाई दिएको समग्र योगदानको मूल्य पैसाले मात्र मापन गर्न सकिँदैन।

आज विकासका नाममा खेतीयोग्य जमिन मासिँदै छ। जथाभावी सडक निर्माण, अव्यवस्थित सहरीकरण, वन विनाश, रासायनिक पदार्थको अनुचित प्रयोग र माटोको क्षयले प्राकृतिक सन्तुलनमा असर पु र्‍याइरहेका छन्। विश्वको माटो क्षयसम्बन्धी तथ्यांक सन् २०२४ को समीक्षात्मक वैज्ञानिक अध्ययनले विश्वका करिब ३३ प्रतिशत माटो मध्यमदेखि गम्भीर स्तरसम्म क्षयग्रस्त भएको अनुमान प्रस्तुत गरेको छ। यो तथ्यांकले माटोको समस्या कुनै एक देशको मात्र नभई विश्वव्यापी चुनौती भएको देखाउँछ। माटो बिग्रिनु भनेको केवल जमिनको उर्वराशक्ति घट्नु होइन। यसको असर खाद्य उत्पादन, पानीको गुणस्तर, जैविक विविधता, किसानको आम्दानी र भावी पुस्ताको जीवनसम्म पुग्छ।

माटो बन्न हजारौं वर्ष लाग्न सक्छ, तर गलत प्रयोगले त्यसलाई केही वर्षमै क्षति पु र्‍याउन सक्छ। त्यसैले माटोको संरक्षण भविष्यप्रतिको जिम्मेवारी पनि हो। यस सन्दर्भमा किसानको योगदानलाई बिर्सन मिल्दैन। बिहानैदेखि खेतबारीमा पसिना बगाउने किसानले हाम्रो भोजनको व्यवस्था गर्छन्। 

उनीहरूको श्रमबिना सहरका बजार भरिँदैनन् र भान्सामा खाना पाक्दैन। तर खाद्य उत्पादन गर्ने किसान स्वयं आर्थिक असुरक्षा, उत्पादन लागत, बजारको अनिश्चितता र जलवायु परिवर्तनका चुनौतीसँग जुधिरहेका हुन्छन्। माटोलाई सम्मान गर्नु भनेको माटोमा श्रम गर्ने हातलाई सम्मान गर्नु पनि हो। किसानको जीवनस्तर उकास्ने, उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने र दिगो कृषि प्रणालीलाई प्रोत्साहन गर्ने काम राज्य र समाज दुवैको जिम्मेवारी हो।

मानिस जति ठूलो पदमा पुगे पनि, जति सम्पत्ति कमाए पनि र जति प्रतिष्ठा हासिल गरे पनि ऊ प्रकृतिभन्दा माथि हुन सक्दैन। माटोले सबैलाई समान रूपमा धान्छ। यसले धनी र गरिब, शक्तिशाली र कमजोरबीच भेदभाव गर्दैन। अन्ततः सबैको शरीर यही माटोमै मिसिन्छ। र यही सत्यले हामीलाई जीवनको वास्तविक मूल्य बुझ्न प्रेरित गर्छ पनि। तर माटोप्रतिको सम्मान केवल दर्शनमा मात्र पनि सीमित हुनुहुँदैन। घरआँगन र खेतबारीमा वृक्षरोपण गर्ने, जैविक पदार्थको सदुपयोग गर्ने, माटो बगाएर लैजाने क्रियाकलाप घटाउने, रासायनिक मल तथा विषादीको विवेकपूर्ण प्रयोग गर्ने र खेतीयोग्य जमिनलाई अनावश्यक रूपमा मासिन नदिने काम आवश्यक छन्। विकासका योजना बनाउँदा माटो, पानी र वातावरणमा पर्ने प्रभावलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ। विद्यालयदेखि समुदायसम्म माटो संरक्षणसम्बन्धी चेतना फैलाउनु पनि उत्तिकै महत्वपूर्ण छ।

हामीले आफ्ना सन्तानलाई सम्पत्तिका रूपमा घरजग्गामात्र जोड्ने कि उर्वर माटो, स्वच्छ पानी र स्वस्थ वातावरण पनि छोड्ने ? यो प्रश्न आजैदेखि सोच्नुपर्ने भएको छ। प्रकृतिबाट लिने अधिकारसँगै त्यसको संरक्षण गर्ने दायित्व पनि हामीसँग छ। माटो हाम्रो विगतको साक्षी, वर्तमानको आधार र भविष्यको भरोसा हो। यसलाई केवल किनबेच गर्ने वस्तुका रूपमा होइन, जीवन धान्ने साझा सम्पदाका रूपमा बुझ्न आवश्यक छ। माटो स्वस्थ रहे मात्र कृषि, प्रकृति र मानव सभ्यताको निरन्तरता सुरक्षित रहन्छ। 

माटोलाई जोगाउनु भनेको आफ्नो जीवन जोगाउनु हो; माटोलाई सम्मान गर्नु भनेको आफ्नै अस्तित्वलाई सम्मान गर्नु हो। आज हामीले माटोका लागि गरेको सानो प्रयासले भोलिको पुस्तालाई ठूलो उपहार दिन सक्छ। माटोले केवल बाँच्न सिकाउँदैन कसरी बाँच्ने भन्ने प्रश्नमा पनि सोच्न प्रेरित गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.