अपिहिमाललाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ
अपिहिमाल पर्यटन महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
अपिहिमाल प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले परिपूर्ण क्षेत्र हो। तर यहाँको सम्भावना अझै पर्याप्त रूपमा बाहिर चिनिन सकेको छैन। यही सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने, पर्यटकको आगमन बढाउने र पर्यटनबाट स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन विकासको अभियानका रूपमा अघि बढाउन चाहन्छौं।
अपिहिमालमा पर्यटनको सम्भावना कति छ ?
उद्गम क्षेत्र र मौलिक संस्कृति छन्। यहाँ साहसिक पर्यटन, धार्मिक पर्यटन, पदयात्रा र प्रकृतिमा आधारित पर्यटनको सम्भावना छ। यी सबै सम्पदाको पहिचान, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके अपिहिमाल महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ।
चालु आर्थिक वर्षमा १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। यो कसरी सम्भव हुन्छ ?
यसअघि पनि अपिहिमाल क्षेत्रमा पर्यटक आउने गरेका छन्। अब त्यसलाई व्यवस्थित र विस्तार गर्ने हाम्रो योजना छ। महोत्सवमार्फत प्रचारप्रसार गर्ने, पर्यटकीय गन्तव्यको जानकारी उपलब्ध गराउने, भ्रमण प्याकेज बनाउने र होमस्टे तथा स्थानीय सेवाको विकास गर्ने काम अघि बढाउनुपर्छ। लक्ष्य पूरा गर्न सरकारी निकाय, निजी क्षेत्र र स्थानीय समुदाय सबैको सहकार्य आवश्यक छ।
पर्यटनबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ कसरी पाउँछन् ?
पर्यटनको वास्तविक सफलता स्थानीय बासिन्दाको जीवनमा परिवर्तन आउनु हो। पर्यटक आएपछि स्थानीय उत्पादन बिक्री हुने, होमस्टे सञ्चालन हुने, गाइड तथा यातायात सेवामा रोजगारी सिर्जना हुने वातावरण बनाउनुपर्छ। स्थानीय कृषि उपज, परम्परागत परिकार, हस्तकला र संस्कृतिलाई पर्यटनसँग जोड्ने हाम्रो सोच छ। यसमा महिला, युवा र उद्यमीको सहभागिता बढाउन आवश्यक छ।
पर्यटकको स्वास्थ्य, सुरक्षा र उद्धारका लागि के तयारी गरिएको छ ?
हिमाली क्षेत्रमा पर्यटकको सुरक्षा अत्यन्त संवेदनशील विषय हो। त्यसैले स्वास्थ्य सहायता, प्राथमिक उपचार, आवश्यक औषधि तथा अक्सिजनको व्यवस्था महत्त्वपूर्ण हुन्छ। मकरीगाड, घुसा र सिती क्षेत्रमा सहायता केन्द्रको व्यवस्था तथा धौलिओडार र आधार शिविर क्षेत्रमा स्वास्थ्य सहायता पुर्याउने तयारी गरिएको छ। स्वास्थ्यकर्मीसँगै आवश्यक समन्वय र उद्धार व्यवस्थापनलाई पनि प्रभावकारी बनाउनुपर्छ।
सडक, सञ्चार र आवासका चुनौती कसरी समाधान गर्नुहुन्छ ?
अपिहिमालको भौगोलिक अवस्था कठिन छ। त्यसैले पर्यटकका लागि सहज पहुँच, सुरक्षित पदमार्ग, भरपर्दो सञ्चार र व्यवस्थित आवास आवश्यक छन्। यी काम एकैपटक सम्पन्न गर्न कठिन भए पनि प्राथमिकताका आधारमा अघि बढाउनुपर्छ। प्रदेश र संघीय सरकार, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरेर पूर्वाधार विकासमा जोड दिनेछौं।
जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरलाई कसरी लिनुभएको छ ?
हिमाली क्षेत्र जलवायु परिवर्तनको असरबाट अछुतो छैन। हिमाल, ताल, जलस्रोत र जैविक विविधताको संरक्षण पर्यटन विकाससँगै जोडिनुपर्छ। महोत्सवमा जलवायु परिवर्तनसम्बन्धी संवाद राख्नुको उद्देश्य पनि यस विषयमा ध्यानाकर्षण गराउनु हो। फोहोर व्यवस्थापन, प्राकृतिक सम्पदाको संरक्षण र वातावरणमैत्री पर्यटनलाई प्राथमिकता दिनुपर्छ।
महोत्सवपछि पर्यटन विकासलाई कसरी निरन्तरता दिनुहुन्छ ?
महोत्सव तीन दिनको भए पनि यसको प्रभाव दीर्घकालीन हुनुपर्छ। पर्यटकीय गन्तव्यको प्रचारप्रसार, सूचना केन्द्र, होमस्टे, गाइड व्यवस्थापन, भ्रमण प्याकेज र स्थानीय उत्पादनको बजारीकरणलाई निरन्तरता दिनुपर्छ। हाम्रो लक्ष्य अपि हिमाललाई एकपटक आउने गन्तव्यमात्र होइन, पर्यटकले बारम्बार भ्रमण गर्न चाहने क्षेत्र बनाउनु हो।
अन्त्यमा, अपिहिमालको भविष्यबारे तपाईंको सपना के छ ?
अपिहिमालको पहिचान देशभित्र मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा स्थापित होस् भन्ने हाम्रो चाहना छ। पर्यटनबाट स्थानीय युवाले रोजगारी पाऊन्, बासिन्दाको आयआर्जन बढोस् र यहाँका प्राकृतिक तथा सांस्कृतिक सम्पदा सुरक्षित रहून्। यसका लागि सबैको साथ र सहकार्य आवश्यक छ। देश–विदेशका पर्यटकलाई अपिहिमाल भ्रमणका लागि आमन्त्रण गर्न चाहन्छु।
त्यस्तै, अपिहिमाल गाउँपालिकाको पर्यटन प्रवद्र्धन तथा समग्र विकासका लागि सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। गाउँपालिकाको तर्फबाट मिडिया पार्टनरका रूपमा सहकार्य गरेको अन्नपूर्ण मिडिया हाउसप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु।
त्यसैगरी, दार्चुला जिल्लामा क्रियाशील सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा पनि अपि हिमालको पर्यटन, विकास र सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन यहाँहरूको साथ, सहयोग र सकारात्मक पत्रकारिताको अपेक्षा गरेको छु। सञ्चारमाध्यमसँगको सहकार्यलाई गाउँपालिकाले आगामी दिनमा पनि निरन्तरता दिनेछ।

प्रतिक्रिया दिनुहोस !