पोखराको खराब ब्याटिङ, लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १३औं खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको विजयी लक्ष्य प्रस्तु गरेको छ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो।
आजको खेलमा लुम्बिनीको किफायती बलिङमा पोखराको ब्याटिङ ध्वस्त भयो। पोखरा एभेन्जर्सको लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। उनले १७ बलमा २ छक्का प्रहार गरे।
कप्तान कुशल भुर्तेलले १४ रन बनाए। मेहेदी हसनले १३ रन बनाउँदा, किरण ठगुन्नाले १२ रन बनाउँदै क्याच भए। विपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे।
लुम्बिनी लायन्सका लागि बलिङतर्फ रुबेन ट्रम्पलमेनले ३ , तिलक भण्डारीले २ विकेट लिँदा शेर मल्ल, अभिषेश गौतम र रोहित पौडेलले १-१ विकेट लिए।
लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। दोस्रो खेल भने लुम्बिनीले वर्षाको कारण अंक बाँड्दै १ अंक लिएको हो।
पोखरा एभेन्जर्सले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेट र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ९ रनले हारेको थियो।
प्रतिक्रिया दिनुहोस !