बिचौलियाको माखेसाङ्लो
अझ खतरानक पक्ष त बिचौलियाहरू दलहरूका सजिला जस्केलाबाट पसेर विधायक र मन्त्री नै बनी शासनसत्तामै समेत हाबी भएको विगतका कटु उदाहरणबाट यो सरकार र सत्तारूढ रास्वपाले धेरै शिक्षा लिन जरुरी छ।
सरकार जसको भए पनि काठमाडौं सीमित वर्गलाई खास फरक पर्दैन, किनभने राज्य तिनकै पकडमा हुन्छ भनेर कुनै बेला मानिस कुराकानी गर्थे। त्यसको मतलव एउटा त्यसको वर्ग जसले बिचौलियामार्फत जसको सरकार आउँदा पनि राज्यको नीति निर्माणमै प्रभाव पारेर आफू अनुकूल बनाउन सक्छ भन्ने हो। बिचौलियाको पहुँच जसको सरकार आउँदा पनि रहन्थ्यो।
कर्मचारीतन्त्रमा पहुँच भएपछि सरकार जसको बने पनि बिचौलियाले काम फत्ते गथ्र्याे। अझ नेपाली कांग्रेसका नेता गगन थापाले त बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म हुन्छ भनेर ठोकुवै गरेका थिए। दीपक भट्टजस्ता व्यवसायी आवरणका बिचौलियाको पक्राउ र खुलेका तथ्यले त्यस्ता भनाइलाई सत्य सावित गरेको थियो। अहिले पनि त्यही बिचौलियाराज अन्त्य गर्दे सुशासन दिन्छु भनेर बनेको सरकारकै पहुँच दुरुपयोग गर्दै राज्यका अंगअंगलाई खोक्रो बनाउन उद्यत् झापा दमकका ३१ वर्षीय इनम सापकोटाको प्रकरणले फेरि उही बिचौलियाराजको पटाक्षेप गरेको छ। इनम काण्डले हाम्रो राज्य संयन्त्रमा कसरी बिचौलिया प्रवेश गर्छ र त्यसले बहालवाला न्यायाधीशलाई एक कल फोनकै भरमा होटलमा बोलाउन सक्छ, प्रधानमन्त्रीको नाम बेचेर सबैलाई थर्कमान पार्न सक्छ भन्ने तथ्य उदांगो पारेको छ।
बिचौलियाको त कामै हो, दलाली गर्ने, मोलाहिजा गर्ने, मोलमोलाइ गर्ने र आफू र आफ्नाका लागि स्वार्थपूर्ति गर्ने। तर राज्यका प्रमुख अंगकै व्यक्तिचाहिँ किन बिचौलियाको फन्दामा सजिलै पर्छ, त्योचाहिँ गम्भीर प्रश्न हो। न्यायाधीशको सामान्य आचारसंहिता हो कि मुद्दाका विषयमा पक्ष, विपक्ष वा कसैसँग पनि भेटघाट गर्नु हुँदैन। कसैबाट प्रभावित हुनु हुँदैन। प्रधानमन्त्रीको नाम लिएकै भरमा जोकसैसँग पनि भेटघाट जहाँ भए पनि त्यो अव्यावसायिक, अमर्यादित र आचारसंहिता विपरीत हो। नैतिकता विपरीतको कार्य हो। मुद्दाको विषयमा न्यायाधीशले कुनै मूक, अमूक व्यक्तिलाई व्यक्तिगत रूपमा जानकारी गराउने होइन, जे हो त्यो आदेशमा बोल्ने हो, फैसलामा बताउने हो। न्यायाधीश, सुरक्षा अधिकारी, प्रशासकदेखि मन्त्री र प्रधानमन्त्री नै पनि बिचौलियाको इशारामा चल्छन् भने त्यो व्यक्तिगत, गुटगत वा पार्टीगत शुभलाभको स्वार्थबिना हुनै सक्दैन।
प्रधानमन्त्री बालेन्द्र शाह जोकसैलाई पहुँच त परै भेटसमेत नदिने स्वभावका छन्। जहाँ कहीँ जाँदैनन् मात्रै होइनन्, सार्वजनिक रूपमा समेत खास उपलब्ध नै छैनन्। यिनको नामसमेत बेच्ने दुस्साहस इनमले गर्नुका पछाडि हाम्रो राज्यसंयन्त्रमा सेटिङ धन्दाको माखेसाङ्लो कति बलियो छ भन्ने देखाउँछ। दीपक भट्ट कुनै पार्टीहरू एकता गरिदिने सूत्रधार पनि बन्न सक्ने, सत्तालाई सजिलै मुठीमा लिने र प्रतिपक्षलाई पनि खुसी पार्न सक्ने पात्रका रूपमा देखिए। त्यस्तो बिचौलियातन्त्रको पञ्जाबाट फुत्काउने भनेर सुशासनको डन्डा चलाउँदा चलाउँदै वालेन्द्र शाह सरकारको पालामा पनि राज्य किन फेरि उही दलदलमा फस्न सक्यो ? यो गम्भीर प्रश्न हो।
बिचौलियातन्त्रको माखे साङ्लो तोड्न सक्ने भनेको सरकार प्रमुख अर्थात् प्रधानमन्त्रीले नै हो। सत्ताको आडमा होस् या पहुँचका भरमा नीति नियम हेरफेरि गर्नेदेखि न्यायकै खरिदबिक्री गरिदिनेहरूको जरो नै निर्मूल पार्न जरुरी छ। होइन भने जनताले चुनेका प्रतिनिधि केवल देखावटीमात्रै रहन्छन् र देश भने फेरि पनि बिचौलियाकै हातमा हुन्छ। शासन, प्रशासन भुत्ते बनाउने र अर्थतन्त्र डामाडोल पार्दै मुठ्ठीभरलाई धनी बनाउने दलालीतन्त्र हाबी हुन्छ। बिचौलियाको पासेबाट राज्यलाई मुक्त गर्न कठोर राजनीतिक इच्छाशक्ति र निर्मम कानुनी डन्डा नै चाहिन्छ।
इनम सापकोटा त एक पात्र हो, यो घातक प्रवृत्तिका अनुहार सरकारपिच्छे फेरिन सक्छ। अब न पात्र फेरिने र न कुनै कथा दोहोरिने स्थिति हुनुहुन्छ। दुवै अन्त्य हुनुपर्छ। जहाँ विधि कमजोर छ, त्यहीं बिचौलिया हाबी हुने हो। इनम प्रकरणले हाम्रो राज्यलाई फेरि पनि प्रणाली बलियो बनाउने र कानुनीराजको जरोकिलो अझै मजबुद गरी गाड्नुपर्ने खाँचो औंल्याइदिएको छ। अझ खतरानक पक्ष त बिचौलियाहरू दलहरूका सजिला जस्केलाबाट पसेर विधायक र मन्त्री नै बनी शासनसत्तामै समेत हाबी भएको विगतका कटु उदाहरणबाट यो सरकार र सत्तारूढ रास्वपाले धेरै शिक्षा लिन जरुरी छ।
प्रतिक्रिया दिनुहोस !