पीपीए मापदण्ड अभाव : अलमलमा १७ हजार मेगावाट आयोजना
काठमाडौं : जलविद्युत् क्षेत्रमा निजी लगानीको आकर्षण बढ्दै गए पनि विद्युत् खरिद बिक्री सम्झौता (पीपीए)को अनिश्चितताले नयाँ आयोजना निर्माणले गति लिन सकेको छैन। करिब तीन सय कम्पनीले १७ हजार मेगावाट बिजुली उत्पादन गर्न सरकारलाई पीपीएको निवेदन दिएका छन्। तर, सरकारले पीपीए प्रक्रिया अघि बढाउन आवश्यक नयाँ मापदण्ड बनाउन सकेको छैन।
भदौ ४ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीएको मापदण्ड बनाउन उपसमिति गठन गरेको थियो। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उक्त उपसमितिलाई सात दिनभित्र मापदण्ड तयार गरी सञ्चालक समितिमा पेस गर्ने जिम्मेवारी तोकिएको थियो। तर, करिब दुई महिना बित्न लाग्दासमेत उपसमितिको मापदण्डसार्वजनिक भएको छैन।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सीडीई तथा सहायक प्रवक्ता शालिग्राम भण्डारीका अनुसार पीपीएसम्बन्धी मापदण्ड लगभग तयार भइसकेको छ। मन्त्रीसँग पनि यस विषयमा छलफल भइसकेको र मन्त्रालयले त्यसलाई अन्तिम रूप दिने तयारी गरिरहेको भण्डारीले बताए। ‘पीपीएको मापदण्ड लगभग तयार भइसकेको छ। मन्त्रीज्यूसँग पनि यस विषयमा कुराकानी भइसकेको छ। मापदण्डअनुसार नै अब लाइसेन्स र पीपीएका काम अगाडि बढ्छन्। मन्त्रालयका तर्फबाट यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ।’
मन्त्रालय स्रोतका अनुसार मन्त्री विराजभक्त श्रेष्ठ थाइल्यान्डको भ्रमणमा भएको हुनाले मापदण्ड सार्वजनिक हुन नसकेको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षसँग सम्पर्क गर्दा यस विषयमा धारणा सार्वजनिक गर्न मानेनन्। इप्पान स्रोतका अनुसार व्यापारी, पत्रकार तथा न्यायाधीश को कहिले पक्राउ पर्ने हो भन्ने डरले सरकारका विषयमा कोही पनि बोल्न मानेका छैनन्। तर इप्पानका कार्यकारी अधिकृत भीम गौतमले पीपीएका लागि आवेदन दिएका आयोजनाको संख्या २ सय ६७ भन्दा बढी रहेको बताए। उनले ती आयोजनाको कुल क्षमता करिब १७ हजार मेगावाट रहेको अनुमान छ। पहिले कुल क्षमता १६ हजार १ सय ४४ मेगावाट रहेकोमा त्यसयता थप आयोजनाहरू पनि आवेदनको प्रक्रियामा आएका छन्। अहिले करिब तीन सय कम्पनीले पीपीएका लागि आवेदन दिएका छन्।
इप्पानका अनुसार २०७२ सालपछि नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको पीपीए नियमित हुन सकेको छैन। बीचमा एकपटक १५ सय मेगावाट क्षमताका आयोजनाको पीपीए भएको थियो। त्यसपछि १० मेगावाटसम्मका आयोजनाको पीपीए गर्ने व्यवस्था भए पनि पछिल्लो समय त्यो प्रक्रिया पनि रोकिएको छ। गत वर्षको बजेटपछि १० मेगावाट क्षमताका आयोजनाको समेत पीपीए हुन नसकेको इप्पानको भनाइ छ।
जलाशययुक्त (स्टोरेज) आयोजनाको पीपीए भने रोकिएको छैन। अर्धजलाशययुक्त (पीआरओआर) आयोजनाको पीपीए प्रक्रिया पनि केही समय सञ्चालनमा रहेर पछि स्थगित भएको थियो। निजी क्षेत्रले मुख्यतः नदी प्रवाहमा आधारित आयोजना निर्माण गर्दै आएको अवस्थामा आरओआर आयोजनाको पीपीए रोकिँदा नयाँ आयोजना विकास तथा लगानी विस्तारमा समस्या परेको ऊर्जा उत्पादकहरूको भनाइ छ।
४ दिनमा कागजात, ४०० दिनसम्म निर्णयको प्रतीक्षा
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले २०८१ चैत १२ गतेसम्म ग्रिड कनेक्सन सम्झौता गरेका ५४ आयोजनाका ४ हजार ९ सय ६६ मेगावाट विद्युत्को पीपीए गर्ने निर्णय गरेको थियो। निर्णयपछि २०८२ साल जेट २५ गते प्राधिकरणले आवश्यक कागजात बुझाउन सूचना जारी गर्दै सम्बन्धित आयोजनालाई प्रक्रिया अघि बढ्ने संकेत दिएको थियो।
तर, ऊर्जा उत्पादकहरूका अनुसार आवश्यक विवरण तथा कागजात बुझाउन चार दिनको मात्र समय दिइएको थियो। छोटो समयमै आयोजनाहरूले आवश्यक कागजात बुझाए पनि त्यसपछि पीपीए प्रक्रिया अघि बढ्न सकेन। ती आयोजनाका लगानीकर्ता पनि अन्योलमा रहेका छन्।
सरकार परिवर्तनसँगै नीतिगत अन्योल
पीपीएमा देखिएको ढिलाइसँगै सरकार परिवर्तन हुँदा ऊर्जा क्षेत्रका नीति तथा प्राथमिकता पनि फेरिने प्रवृत्तिले निजी लगानीकर्ताको विश्वास कमजोर बनाएको छ। एउटा सरकारले घोषणा गर्ने, अर्को सरकारले नयाँ मापदण्ड बनाउने र फेरि प्रक्रिया सुरु हुने अवस्थाले जलविद्युत् आयोजनाको विकासचक्र नै प्रभावित भएको ऊर्जा क्षेत्रका सरोकारवालाको गुनासो छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत ‘टेक एन्ड पे’ नीतिमा जलप्रवाही आयोजनाको पीपीए गर्ने घोषणा गरेका थिए। तर, घोषणाअनुसार प्रक्रिया अघि बढ्न नसकेको ऊर्जा उत्पादकहरूको गुनासो छ। पीपीएमा नीतिगत स्पष्टता नहुँदा आयोजना निर्माणका लागि आवश्यक बैंक वित्तीय व्यवस्थापन, लगानी जुटाउने प्रक्रिया र निर्माणसम्बन्धी निर्णयसमेत प्रभावित हुने उनीहरूको भनाइ छ।
जलविद्युत् आयोजना निर्माणका लागि ठूलो पुँजी, लामो समय र उत्पादित विद्युत्को बजार सुनिश्चितता आवश्यक हुन्छ। पीपीए नभई बैंकबाट ऋण जुटाउन र वित्तीय व्यवस्थापन गर्न कठिन हुने भएकाले आयोजना विकासको प्रारम्भिक चरणदेखि नै निजी क्षेत्र प्रभावित हुने अवस्था छ।
३० हजार मेगावाटको लक्ष्य, पीपीएमै अन्योल
सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, करिब १५ हजार मेगावाट स्वदेशमै खपत गर्ने र बाँकी विद्युत् निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। यसअघि सरकारले सोही अवधिसम्म करिब २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत अघि सारेको थियो।
तर, उत्पादनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण मानिएका निजी क्षेत्रका आयोजना नै पीपीएको अनिश्चिततामा परेका छन्। एकातिर विद्युत् उत्पादन बढाउने र आन्तरिक खपत विस्तार गर्ने लक्ष्य राखिएको छ भने अर्कोतिर उत्पादनमा आउन सक्ने आयोजनाले नै विद्युत् बिक्रीको सुनिश्चितता पाउन सकेका छैनन्।
नयाँ मापदण्डले यसअघि प्रक्रिया पूरा गरिसकेका आयोजनाको लगानी र कानुनी सुनिश्चिततालाई समेत सम्बोधन गर्नुपर्ने ऊर्जा क्षेत्रका सरोकारवालाको अपेक्षा छ।
प्रतिक्रिया दिनुहोस !