फुयाँल बिदामा, इनम भेट्ने अरू न्यायाधीश दबाबमा
काठमाडौं : बिचौलिया इनम सापकोटासँगको सम्पर्कका कारण विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल बिदामा बसेसँगै भेटघाट गर्न गएको भनिएका अन्य न्यायाधीश पनि ‘दबाब’ मा परेका छन्।
न्यायाधीश फुयाँल व्यक्तिगत कारण देखाउँदै मंगलबारदेखि बिदामा बसेका हुन्। फुयाँलले होटलमा आफूले भेटेको खुलासा गरे पनि सापकोटासँग भेट्न गएका भनिएका अन्य न्यायाधीशको नाम सार्वजनिक भएको छैन।
फुयाँल मंगलबारदेखि कात्तिक २० गतेसम्म बिदामा बसेको सर्वोच्च अदालत स्रोतले बतायो। फुयाँल बिदामा बसेसँगै सापकोटालाई भेट्न गएका अन्य ६ जना न्यायाधीशमाथि दबाब बढेको हो। सर्वोच्च अदालतको सोमबार बसेको फुलकोर्ट बैठकले पनि संविधान र कानुनबमोजिम छानबिन गरी सत्य, तथ्यसहितको निकर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ।
फुयाँलले यसअघि हिमालय होटलमा आफूमात्र नभई केही अन्य न्यायाधीश पनि सापकोटालाई भेट्न गएको बताएका थिए। तर, अन्य न्यायाधीशहरूको नाम भने खुलाएका छैनन्। फुयाँल तत्कालका लागि ४ दिन बिदामा बसेपछि भेटघाटमा संलग्न भनिएका अन्य न्यायाधीशको भूमिकाबारे प्रश्न उठ्न थालेको छ। भेट्न गएको भनिएका न्यायाधीशले न आफ्नो संलग्नता स्वीकार गरेका छन्, न फुयाँलको दाबीको खण्डन नै गरेका छन्।
यसले न्यायपालिका भित्रै अन्योल र दबाबको अवस्था सिर्जना गरेको एक न्यायाधीशले बताए। न्यायाधीश फुयाँलले कात्तिक १२ गते विज्ञप्ति जारी गर्दै न्यायपालिका र आफ्ना सम्बन्धमा सार्वजनिक भएका विवरण र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै न्याय क्षेत्रको शुद्धीकरण र बिचलनका सम्बन्धमा भइरहेको महत्वपूर्ण अनुसन्धानप्रति मेरो पूर्ण समर्थन र सहयोग रहने बताएका थिए।
भेटघाट गर्ने न्यायाधीश किंकर्तव्यविमूढ
होटलमा भेटघाट गरेका सबै न्यायाधीशको नाम सार्वजनिक नभएकाले अन्यौलता रहेको एक न्यायाधीशले बताए। ‘फुयाँल (श्रीमान्)ले इमान्दार भएरै आफ्नो नाम भने पनि अन्य न्यायाधीशहरू स्वयं भेट्न गएको बताउन तयार देखिँदैनन्,’ ती न्यायाधीशले भने, ‘श्रीमान् (फुयाँल)ले आफ्नो तर्फबाट अन्य न्यायाधीश पनि भेट गर्न गएको जानकारी दिएको अस्वीकार गर्न वा सार्वजनिक हुन कोही चाहनु भएको छैन। नाम नखुलाएको हुनाले तैं चुप मैं चुपको अवस्था छ। आफ्नै खुट्टामा आफैं बन्चरो हान्ने काम गर्ने मुडमा कोही देखिनु भएको छैन। नाम बाहिर सार्वजनिक नभएकाले आफैं अघि सरेर बिदामा बस्न पनि मिलेन।’
न्यायाधीश फुयाँलले विज्ञप्तिका बारेमा आएका तथ्य र समाचारलाई देश र न्यायक्षेत्रको अस्थिरताभन्दा बाहिरबाट नहेर्न र समग्र न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आमसञ्चार माध्यमलाई अनुरोध गरेका थिए। उनले विज्ञप्तिमा भनेका छन्, ‘मबाट न्यायिक बिचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य भएको छैन। यस परिस्थितिमा मप्रति सिर्जना गरिएको भ्रम, अर्धसत्य र चलिरहेको अनुसन्धानलाई प्रभाव पार्ने गरी भएका कार्यहरूप्रति दुःख व्यक्त गर्दछु।’
न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र फुयाँललाई राजीनामा गर्न दबाब दिइएको र राजीनामा दिन अस्वीकार गरे महाभियोगको धम्की दिइएको रिपोर्ट प्राप्त भएको अन्तर्राष्ट्रिय संस्थाहरूले दाबी गरेका थिए। महाभियोगको चर्चाबीच केही न्यायाधीशहरूले इनमसँग भेटघाट गरेका थिए। कुन–कुन न्यायाधीश भेट्न गएका थिए भन्नेबारे सार्वजनिक भइसकेको छैन। सापकोटाले आफूलाई प्रधानमन्त्री वालेन्द्र शाहको निकट व्यक्ति बताउँदै महाभियोग रोक्न सहयोग गर्ने आश्वासन दिएको न्यायाधीश फुयाँलको भनाइ छ। सापकोटाले न्यायाधीशहरूसँग सम्पर्क र भेटघाटपछि दबाबसमेत दिएका थिए।
महानिरीक्षक र प्रधानसेनापतिसम्म आफ्नो पहुँच रहेको दाबी गर्ने गरेको फुयाँलको भनाइ छ। सुरुमा उनको दाबी पुष्टि नगरेको र पछि शंका लागेपछि सम्बन्धित निकायमा जानकारी गराई इनमलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन आफूले पहल गरेको न्यायाधीश फुयाँलको भनाइ छ। इनम र न्यायाधीश फुयालबीच विचाराधीन मुद्दाको विषयमा समेत ह्वाट्सएप कुराकानी हुने गरेको र होटलमा भेट्ने योजना बनेको विवरण सार्वजनिक भएपछि छानबिनको माग बढेको हो। गत असोज ११ गते पक्राउ परेका इनम हाल प्रहरी हिरासतमा छन्।
भेटघाट गर्ने सबै न्यायाधीशमाथि छानबिन माग
पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह बिचौलिया इनमसँग भेटघाट गरेका सबै न्यायाधीशमाथि छानबिन अगाडि बढाउनु पर्ने बताउँछन्। ‘विवादमा परेका न्यायाधीशहरूले निकास दिनुपर्छ,’ सर्वोच्चका पूर्वन्यायाधीश सिंह भन्छन्, ‘पदमा रहिरहेको अवस्थामा स्वतन्त्र छानबिन हुन सक्दैन।’ यस विषयमा धारणा सार्वजनिक गर्न फोरमको बुधबार बस्ने बैठक बस्ने अध्यक्ष सिंहले बताए।
न्यायपालिकाको अस्तित्व संकटमा : बार
नेपाल बार एसोसिएसनले पनि यस विषयमा निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ। बारका महासचिव केदारप्रसाद कोइरालाले जुनसुकै ओहोदा र दर्जाको भए पनि वर्तमान र भूतपूर्व पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याइनुपर्ने बताए।
बारको केन्द्रीय कार्यसमिति र सल्लाहकार समिति समेतको संयुक्त बैठकले सत्ताको कार्यकारी छायाँ न्यायपालिकामा पार्ने प्रयत्न क्रमशः हुँदै गएको निष्कर्ष निकालेको छ। सोमबार बसेको बैठकले न्यायपालिकाको स्वतन्त्र अस्तित्व गम्भीर संकटमा परेको अनुभूति गरेको महासचिव कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बिचौलिया सापकोटासँग सम्पर्क रहेको भन्दै समाचार सार्वजनिक भएको आपत्ति जनाउँदै प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश श्रीकान्त पौडेल पौडेलले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी आफूहरूको कुनै पनि भेटघाट नभएको जनाएका छन्।
सापकोटाको मोबाइलबाट प्रधानन्यायाधीश डा. शर्मा, रास्वपा सांसद विश्वराज पोखरेल र प्रहरी अधिकारीहरूको नाममा रकम जम्मा गर्ने भनिएको विवरणसमेत बाहिरिए पछि चौतर्फि छानबिनको माग बढेको छ। गत असोज ११ गते पक्राउ परेका इनम प्रहरी हिरासतमा छन्।
प्रतिक्रिया दिनुहोस !