अर्थमन्त्रीसमक्ष व्यापारीको करुण क्रन्दन
माननीय अर्थमन्त्रीज्यू,
म एक सूचना प्रविधि व्यवसायी हुँ। प्रविधिले देशलाई आधुनिक, पारदर्शी र उत्पादनशील बनाउँछ भन्ने विश्वासका साथ केही युवालाई रोजगारी दिँदै, कानुनले तोकेको कर समयमै तिर्दै र प्रत्येक कारोबारको व्यवस्थित लेखा राख्दै आएको एक सामान्य नागरिक हुँ। म सेवा दिन्छु, बिल जारी गर्छु, भ्याट बुझाउँछु र लेखापरीक्षण गराउँछु; तर आफ्नै कमाइबाट काटिएको कर आफ्नै खातामा दाखिला गराइदिन क्रेतालाई पटक–पटक फोन, इमेल र बिन्ती गर्नुपर्छ। केही समयअघि ‘कर प्रक्रियामा सरलीकरण’ शीर्षकको लेखमा पनि यही पीडा उठाएको थिएँ। फेरि लेख्न बाध्य छु, किनकि यो कर नतिर्ने आग्रह होइन; कर तिर्दातिर्दै प्रक्रियाबाट अपमानित असंख्य व्यवसायीको करुण पुकार हो।
नेपालमा सेवाको भुक्तानी गर्दा क्रेताले अग्रिम करकट्टी गरी सरकारी खातामा जम्मा गर्ने वर्तमान व्यवस्थाले बिक्रेतालाई आफ्नै कर अभिलेखका लागि अरूको तत्परतामा निर्भर बनाएको छ। क्रेताले रकम काटेपछि समयमै दाखिला नगरे, गलत प्यान उल्लेख गरे वा विवरण बिगारे पनि त्यसको पीडा निर्दोष बिक्रेताले सहनुपर्छ। सेवा पूरा गरेर बिल जारी गरिसकेको र आफ्नो हिसाब दुरुस्त राखेको व्यवसायीले समेत आफ्नै नाममा काटिएको कर देखाइदिन विभिन्न ढोका चहार्नुपर्छ। यो केवल प्रशासनिक झन्झट होइन; इमानदार करदाताको आत्मसम्मानमा लागेको गहिरो चोट हो।
डिजिटल भनिएको प्रणालीले पनि यो पीडा घटाउन सकेको छैन। अनुसूची १० मा रकम देखिए पनि क्रेताको भ्याट नम्बर वा सम्बन्धित बिलसँग सहज मिलान नहुँदा प्रत्येक प्रविष्टि हातैले खोज्नुपर्छ। कम्प्युटरको पर्दामा अंक देखिन्छ, तर त्यस अंकभित्र व्यवसायीले निद्राविहीन भएर बिताएका रात, गरेका फोन र पर्खिएको उत्तर देखिँदैन। सरकारी सफ्टवेयरले सहारा दिनुपर्ने ठाउँमा करदातालाई अझ एक्लो बनाएको छ।
धेरै व्यवसायी साउनमै लेखापरीक्षणको तयारी पूरा गर्न सक्षम छन्; तर क्रेताले काटेको कर खातामा दाखिला हुने प्रतीक्षा गर्दागर्दै मंसिर आइपुग्छ। भदौ, असोज र कात्तिक कागज मिलाउन होइन, अरूलाई सम्झाउनमै बित्छन्। कर हामीले लुकाएका हुँदैनौं, विवरण हामीले रोकेका हुँदैनौं; तैपनि अरूको ढिलाइले हाम्रो फाइल थुनिन्छ। समयमै आफ्नो कर्तव्य पूरा गरेको व्यक्ति निर्दोष हुँदाहुँदै सजाय पाए झैं प्रतीक्षा गर्न बाध्य हुन्छ।
आर्थिक वर्षको अन्तिम घडीसम्म पनि कतिपय क्रेताले काटेको अग्रिम कर न सरकारी खातामा दाखिला गर्छन्, न प्रणालीमा प्रविष्ट गरिदिन्छन्। गत आर्थिक वर्षमा परराष्ट्र मन्त्रालयले हाम्रो भुक्तानीबाट कट्टी गरेको कर दाखिला गरेन; चालु आर्थिक वर्षमा पनि अहिलेसम्म गरेको छैन, फोन गरौं फोन उठ्दैन, सिंहदरबार जाउँ गेटपास कसले बनाइदिने ? गत आवमा नेपाल खुला विश्वविद्यालयले समेत काटेको कर नबुझाएपछि विवश भएर सेवा नै बन्द गर्नुपर्यो। यस्ता सरकारी र निजी कार्यालयहरूको फेहरिस्त खोजियो भने अर्बौं रकम राजस्व गुमेको अभिलेख राज्यले पाउनेछ, तर ऊ खोज्दैन किनकि ती सरकारी कार्यालयबाट व्यापारीको कर काटी जम्मा गरेको रकमान्तरमा आसेपासे सबैको मिलेमतो पो छ कि भनी डराउँछ वा जानाजानी बुझ पचाउँछ।
कतिपय अवस्थामा बिल जारी गराएर सेवा वा वस्तु खरिद गरिन्छ तर रकम भुक्तानी नगरी विश्वासघात गरेर क्रेताहरू भागिदिन्छन्; भुक्तानीबाट कर काटिन्छ, तर सरकारलाई बुझाइँदैन। यस्तो अन्यायको सुनुवाइ न कर कार्यालयले गर्छ, न प्रहरीले; उजुरी गर्ने निकायसमेत छैन। हामी कसलाई भन्ने, कहाँ जाने र कसलाई आफ्नो पीडा सुनाउने ? राज्यका निकायका ढोका चहार्दाचहार्दै हामी अभिभावकविहीन टुहुराजस्ता भएका छौं। यस्तो अवस्थामा सरकारले बारम्बार उच्चारण गर्ने ‘सुशासन’ पीडित करदाताका लागि आश्वासन होइन, आफ्नै दुःखमाथिको उपहास र जग हँसाइ बनेको छ।
अन्तमा, दुवै हात दसैऔंला जोडेर बिन्ती छ– आफ्नै कमाइ, आफ्नै बिल र आफ्नै करका लागि पराइको ढोका धाउनुपर्ने विवशता हटाइदिनुहोस्। यो सुधार केवल कर प्रणालीको परिवर्तन हुने छैन; अपमान र घृणाले निहुरिएको शिर फेरि उठाउने अवसर हुनेछ।
बुझाउन खोजिएको के हो भने व्यापारिक अनिश्चितताले साना व्यवसायको नगद प्रवाहमै प्रहार गर्छ। कर्मचारीको तलब, घरभाडा, बैंकको किस्ता, आपूर्तिकर्ताको भुक्तानी र परिवारको दैनिकी त रोकिँदैनन्; तर कर अभिलेख नमिल्दा योजना रोकिन्छ, ऋणको किस्ता चुक्ने डर बढ्छ र व्यवसायीको निद्रा हराउँछ। एउटा कर प्रविष्टिको पछाडि केवल रकम हुँदैन; कसैको रोजगारी, कसैको औषधि, कसैको विद्यालय शुल्क र एउटा परिवारको आशा जोडिएको हुन्छ।
यस व्यवस्थाले व्यवसायीमात्र होइन, देशभरिका लाखौं कर अधिकृत र कार्यालयका कर्मचारीलाई समेत अनुत्पादक चक्रमा बाँधेको छ। विकास, नवप्रवर्तन र वास्तविक कर परीक्षणमा लगाउनुपर्ने समय फोन गर्न, प्रमाण खोज्न र विवरण सच्याउन खर्च हुन्छ। भाषणमा निजी क्षेत्रलाई विकासको साझेदार भनिन्छ; व्यवहारमा भने उसलाई आफ्नै विवरण र कर क्रेडिटका लागि याचक बनाइन्छ। यो नियमले काम पाइनस् बुहारी भन्ने पुरानो भनाइलाइ आत्मसात् गर्छ। यतिमात्र हैन, नियमित रूपमा कर तिर्ने नागरिकलाई सधैं शंकाको घेरामा राख्नु राज्य र नागरिकबीचको विश्वासमा लागेको गम्भीर चोट पनि हो।
समाधान स्पष्ट छ– क्रेताले विक्रेताको भुक्तानीबाट टीडीएस काटी छुट्टै जम्मा गर्ने व्यवस्था हटाइयोस्। विक्रेताले जारी गरेको बिल, प्राप्त भुक्तानी र मासिक भ्याट विवरणका आधारमा भ्याट तथा लागू हुने कर स्वयं घोषणा गरी प्रत्येक महिना बुझाओस्। किटानै गरी भन्नु पर्दा प्रत्येक बिक्रीमा १.५ प्रतिशत अग्रिम कर स्वयं दाखिला गर्न पाउने स्पष्ट व्यवस्था गरियोस्। सरकारलाइ कर चाहिएको हो, करको नामकरण परिवर्तन गर्दा पनि खासै फरक नपर्ला। यसबाट कर दायित्व एउटै करदाताको विवरण, बैंक भुक्तानी र बिक्री अभिलेखसँग जोडिनेछ तथा क्रेताको ढिलाइ वा त्रुटिका कारण बिक्रेताको हिसाब रोकिने अन्याय अन्त्य हुनेछ।
यस स्वघोषणा प्रणालीलाई सुरक्षित बनाउन ई–इनभ्वाइस, बैंक भुक्तानी, मासिक भ्याट विवरण र आयकर अभिलेखबीच स्वचालित मिलान गरियोस्। करदाताले बुझाएको रकम तत्काल सम्बन्धित प्यान खातामा देखियोस्, त्रुटि सच्याउन निश्चित समयसीमा तोकियोस् र लेखा सफ्टवेयरका लागि सुरक्षित एपीआई उपलब्ध गराइयोस्। असामान्य कारोबारमा लक्षित जाँच र कडा कारबाही होस्; तर केहीको गल्तीको आशंकामा हजारौं इमानदार व्यवसायीलाई दैनिक रूपमा शंकाको कठघरामा नराखियोस्। कर प्रशासनको शक्ति वास्तविक करछली पहिचान गर्न प्रयोग होस्, सामान्य कारोबारमा सानातिना रकम अड्काउन होइन। व्यवसाय बाँचे रोजगारी बाँच्छ, परिवारको चुलो बल्छ र राज्यको राजस्वको आधार फराकिलो हुन्छ। व्यापारी राज्यको शत्रु होइन; ऊ जोखिम बोकेर काम गर्ने, अरूलाई रोजगारी दिने र कठिन घडीमा पनि कर तिर्ने नागरिक हो। उसलाई सम्मान दिनु दया होइन; स्वस्थ अर्थतन्त्रप्रति राज्यको कर्तव्य हो।
माननीय अर्थमन्त्रीज्यू, आगामी आर्थिक ऐन वा आवश्यक संशोधनमार्फत क्रेताले टीडीएस काटी जम्मा गर्ने व्यवस्था अन्त्य गरी विक्रेताले मासिक भ्याट विवरणसँगै आफ्नो कर स्वयं बुझाउने प्रबन्ध गरिदिनुहोस्। निजी क्षेत्रलाई भाषणमा दिइने सम्मान होइन, व्यवहारमा देखिने भरोसा चाहिएको छ। सरकार अभिभावक हो भने उसले थाकेको नागरिकको काँधमा हात राखोस्, घाँटीमा अविश्वासको डोरी नकसोस्। हामीले राज्यसँग कर छुट मागेका छैनौं; केवल आफ्नो दायित्व आफैं पूरा गर्न पाउने सरल र न्यायपूर्ण व्यवस्था मागेका हौं।
अन्तमा, दुवै हात दसै औंला जोडेर बिन्ती छ– आफ्नै कमाइ, आफ्नै बिल र आफ्नै करका लागि पराइको ढोका धाउनुपर्ने विवशता हटाइदिनुहोस्। यो सुधार केवल कर प्रणालीको परिवर्तन हुनेछैन; अपमान र घृणाले निहुरिएको शिर फेरि उठाउने अवसर हुनेछ। हामीले पहाड मागेका छैनौं; पाइलापाइलामा रगत बगाउने एउटा काँडा मात्र हटाइदिन आग्रह गरेका छौं। यो करुण क्रन्दन मेरो एक्लो होइन; देशभरिका करदाताको हो। हामी कर छल्न होइन, कर तिरेर पनि नझुक्न पाउने अधिकार मागिरहेका छौं। हाम्रो पुकार सुनियो भने राज्यप्रतिको विश्वास फेरि जाग्नेछ। बाँकी हजुरको आज्ञा। अस्तु।
प्रतिक्रिया दिनुहोस !