मृत्यु : पद र सत्ताले रोकिँदैन

मृत्यु : पद र सत्ताले रोकिँदैन
सुन्नुहोस्

जीवनको अन्तिम उपलब्धि धेरै पदमा पुग्नु होइन, धेरै सम्पत्ति जम्मा गर्नु होइन, धेरै शक्तिशाली बन्नु होइन।

मानिसको जीवनमा पद, प्रतिष्ठा, सम्पत्ति, शक्ति र जनताको अनुमोदनको चाहना हुनु स्वाभाविक हुन्छ। यो स्वाभाविक चाहना कतिपय अवस्थामा असाधारण लोभ, मोह र अहंकारमा बदलिएको देखिन्छ। मानिस ठूलो पदमा पुग्न, प्रतिष्ठा कमाउन, सम्पत्ति जोड्न र शक्तिको केन्द्रमा रहन यति व्यस्त हुन्छ कि उसले आफ्नै अगाडि उभिएको मृत्युको सत्यलाई समेत बिर्सन्छ। अरूको सफलता देखेर ईष्र्या गर्छ, आफूभन्दा अगाडि बढेको कसैलाई देख्न चाहँदैन र आफूले प्राप्त गरेको पद, प्रतिष्ठा र शक्तिलाई स्थायी उपलब्धि ठान्न पुग्छ।

मानिसको जीवनको सबैभन्दा कठोर विडम्बना यही हो। मानिस संसार जित्ने दौडमा लाग्छ, तर अन्ततः मृत्युसँग सबैले हार्नैपर्छ। मानिसले पद, प्रतिष्ठा, सम्पत्ति र शक्ति हासिल गर्‍यो भनेर गर्भ गर्नुभन्दा ती उपलब्धिलाई केका र कसका लागि प्रयोग गर्‍यो भन्ने कुराले मापन हुन्छ। जीवनको वास्तविक मूल्य उपलब्धिको परिमाणमा होइन, त्यसबाट समाजले के पायो उसको योगदानमा के रह्यो भन्ने विषय महत्त्वपूर्ण हुन्छ। मृत्युपछि पद रहँदैन, सत्ता रहँदैन, सम्पत्ति रहँदैन, बाँकी त मानिसले गरेको कर्म, उसले निर्माण गरेको विचार, उसले अरूको जीवनमा पारेको प्रभाव र समाजले सम्झने उसको मानवीय योगदान मात्र जीवित रहन्छ।

मृत्यु जीवनको शाश्वत सत्य हो। यसबाट कोही पनि भाग्न सक्दैन। मानिसले मृत्युलाई बिर्सन सक्छ, त्यसबारे कुरा गर्न नचाहन सक्छ र आफूभन्दा धेरै टाढाको विषय ठान्न सक्छ। तर मानिसले स्वीकार गरे पनि नगरे पनि मृत्यु जीवनसँगै हिँडिरहेको हुन्छ। जन्मपछि मृत्यु आउँछ भन्ने कुरा हामीलाई थाहा छ, तर मृत्यु कहिले, कहाँ र कुन कारणले आउँछ भन्ने कुरा थाहा हुँदैन। यही निश्चितता र अनिश्चितता नै मृत्युको सबैभन्दा गहिरो सत्य हो। विज्ञानले मानिसलाई धेरै रोगबाट बचाएको छ, आयु बढाएको छ र जीवनको गुणस्तरमा अभूतपूर्व सुधार ल्याएको छ। अहिलेसम्म मृत्युको अन्तिम जैविक सीमालाई पार लगाऊने उपाय विज्ञानले पत्ता लगाएको छैन। जीवित जैविक प्रणालीको अन्तिम रूपमा मृत्यु मानव शरीरको संरचना र कार्यप्रणालीसँगै जोडिएको छ। जहाँ जीवन छ, त्यहाँ जीवनको अन्त्य अनिवार्य हुन्छ।

मृत्युलाई बुझ्न मस्तिष्कको भूमिका हुनुपर्छ। चेतना, स्मृति, अनुभूति, निर्णय, भाषा र व्यक्तित्वसँग सम्बन्धित जटिल गतिविधिहरू मस्तिष्कमा भइरहने विद्युतीय तथा रासायनिक प्रक्रियासँग सम्बन्धित छन्। मुटु बन्द हुँदा मस्तिष्कमा रगत र अक्सिजनको आपूर्ति रोकिन्छ। पर्याप्त समयसम्म आपूर्ति पुनस्र्थापित हुन नसके मस्तिष्कका कोषिकामा गम्भीर र अपरिवर्तनीय क्षति हुन सक्छ। आधुनिक चिकित्साशास्त्रमा मृत्यु निर्धारण गर्दा मुटुको धड्कनमात्र होइन, परिस्थितिअनुसार मस्तिष्कको अपरिवर्तनीय कार्यविहीनतालाई पनि महत्त्वपूर्ण आधार मानिन्छ।

मृत्यु वृद्धावस्थाको विषयमात्र होइन। मानिस जन्मँदै मर्न सक्छ, बाल्यावस्थामै मृत्यु हुन सक्छ, युवावस्थामा पनि मृत्यु हुन्छ र वृद्धावस्थामा पनि। यसको कारण एउटै हुँदैन। गर्भावस्थाका जटिलता, जन्मजात समस्या, आनुवंशिक अवस्था, संक्रमण, दुर्घटना, आकस्मिक अंग विफलता तथा विभिन्न रोगले जीवनको जुनसुकै चरणमा मृत्यु निम्त्याउन सक्छन्। वृद्धावस्थामा भने शरीरका विभिन्न प्रणालीमा लामो समयदेखि जम्मा हुँदै आएको जैविक क्षति र कार्यक्षमताको ह्रासले मृत्युको सम्भावना बढाउँछ। यसको महत्त्वपूर्ण वैज्ञानिक तथ्य मृत्युको निश्चितता र मृत्युको समय एउटै कुरा होइन। मृत्यु सबै जीवित मानिसका लागि अनिवार्य छ, तर कहिले र कुन कारणले हुन्छ भन्ने कुरा निश्चित छैन।

उमेर बढ्दै जाँदा शरीरमा भएको क्षति मर्मत गर्ने क्षमता क्रमशः कमजोर हुँदै जान्छ। डीएनएमा हुने क्षति, कोषिकीय कार्यक्षमतामा परिवर्तन, प्रोटिनको असन्तुलन, माइटोकन्ड्रियाको कार्यमा आउने ह्रास, प्रतिरक्षा प्रणालीमा हुने परिवर्तनलगायत धेरै जैविक प्रक्रियाहरू वृद्धावस्थासँग सम्बन्धित छन्। आधुनिक विज्ञानले वृद्धावस्थालाई एउटै कारणले व्याख्या गर्दैन, यो धेरै जैविक प्रक्रियाको अन्तरसम्बन्धबाट विकसित हुने अवस्था हो। समयसँगै शरीरमा हुने क्षति र त्यसलाई मर्मत गर्ने क्षमताबीचको सन्तुलन परिवर्तन हुँदै जान्छ र अन्ततः जीवन कायम राख्ने जैविक प्रणालीहरू असफल हुन सक्छन्।

मृत्युबारे मानव समाजमा आध्यात्मिक र भौतिकवादी दुई प्रमुख दृष्टिकोण पाइन्छन्। आध्यात्मबादी हिन्दु दर्शनले मृत्युलाई शरीरको अन्त्यका रूपमा मात्र हेर्दैन। शरीर नश्वर र आत्मा अविनाशी मानिन्छ। मानिसले पुरानो वस्त्र त्यागेर नयाँ वस्त्र धारण गरेझैं आत्माले एउटा शरीर त्यागेर अर्को शरीर धारण गर्छ भन्ने विश्वास छ। बौद्ध दर्शनले स्थायी आत्माको अवधारणाभन्दा कर्म, चेतना र पुनर्जन्मको निरन्तरतामा जोड दिन्छ। यस दृष्टिमा मृत्यु शून्यमा विलय हुनुमात्र होइन, कर्म र चेतनाको प्रवाहमा आउने परिवर्तन हो। विभिन्न आध्यात्मिक परम्पराका व्याख्या फरक भए पनि तिनमा एउटा साझा मान्यता देखिन्छ। शरीर नश्वर छ, जीवन अस्थायी छ र मानिसले आफ्नो कर्म तथा आचरणप्रति सचेत हुनुपर्छ।

भौतिकवादी दृष्टिले मृत्यु जीवित प्रणालीले आफ्नो आन्तरिक सन्तुलन र आवश्यक जैविक कार्यहरू कायम राख्न नसक्ने अवस्थाको अन्तिम परिणाम हो। मानव शरीर करोडौं–खर्बौं कोषिकाले बनेको जटिल जैविक योग हो। जीवन यी असंख्य जैविक प्रक्रियाबीच कायम रहेको गतिशील सन्तुलन हो। जब अत्यावश्यक प्रणालीहरूले त्यो सन्तुलन कायम राख्न सक्दैनन्, जीवनको जैविक संगठन क्रमशः विघटन हुन्छ। आध्यात्मिक व्याख्याले मृत्युपछिको अस्तित्वबारे विश्वास र अर्थ खोज्छ भने विज्ञानले शरीरमा हुने जैविक प्रक्रियाको अन्त्यलाई व्याख्या गर्छ। यी दुई दृष्टिकोणको क्षेत्र फरक भए पनि दुवैले एउटा गम्भीर बोधतर्फ संकेत गर्छन्, मानव जीवन सीमित छ। यही वैज्ञानिक र मानवीय सत्यको अगाडि मानिसको सामाजिक व्यवहार हेर्दा गम्भीर विरोधाभास देखिन्छ। मृत्यु निश्चित छ भन्ने कुरा थाहा हुँदाहुँदै मानिस किन सत्ता, पद, सम्पत्ति, शक्ति र प्रतिष्ठाको अतिरिक्त लोभमा फसिरहन्छ ? 

अन्ततः हामीसँग भएको पद, सत्ता, धन र प्रतिष्ठा लिएर मृत्युको ढोकासम्म पुग्दा हामीसँग के बाँकी रहन्छ ? पद रहँदैन। सत्ता रहँदैन। सम्पत्तिा रहँदैन। शरीरसमेत रहँदैन। तर मानिसले गरेको राम्रो कर्मको प्रभाव उसको मृत्युसँगै समाप्त हुँदैन। 

मानिस सामाजिक प्राणी हो। उसलाई सुरक्षा, सम्मान, समूहमा आफ्नो स्थान, स्रोतमा पहुँच र अरूबाट प्राप्त स्वीकृतिको आवश्यकता हुन्छ। त्यसैले शक्ति, प्रतिष्ठा र सम्पत्तिको खोज मानव व्यवहारको स्वाभाविक पक्ष बन्न सक्छ। समस्या चाहना राख्नुमा मात्र होइन, समस्या त्यतिबेला सुरु हुन्छ जब मानिसले अस्थायी उपलब्धिलाई आफ्नो अस्तित्वको स्थायी विस्तार ठान्न थाल्छ। पदमा पुगेपछि आफूलाई अरूभन्दा माथि ठान्नु, सत्तामा पुगेपछि निर्णयलाई अन्तिम सत्य ठान्नु, सम्पत्ति बढेपछि आफूलाई सुरक्षित र शक्तिशाली ठान्नु र प्रतिष्ठालाई स्थायी बनाउन अरूलाई पछाडि पार्न खोज्नु यही भ्रमका अभिव्यक्ति हुन्। तर पद समयसँगै परिवर्तन हुन्छ, सत्ता हस्तान्तरण हुन्छ, सम्पत्ति अरूको स्वामित्वमा जान्छ र प्रतिष्ठा पनि समयको मूल्यांकनसँग बदलिन सक्छ। शरीर भने आफ्नै जैविक नियमअनुसार क्षयतर्फ गइरहेको हुन्छ। मृत्युको क्षणमा मानिसले आफूले जम्मा गरेको पद 
र सम्पत्तिलाई साथ लैजान सक्दैन।

इतिहासमा असंख्य शक्तिशाली शासक, राजा, मन्त्री, सेनापति, धनाढ्य र प्रभावशाली मानिस आए र गए। उनीहरूले दरबार बनाए, साम्राज्य विस्तार गरे, सम्पत्ति जम्मा गरे र आफ्नो नाम अमर बनाउन खोजे। तर उनीहरू पनि त्यही जैविक नियमअन्तर्गत बाँच्नुपर्‍यो, जसअन्तर्गत सामान्य मानिस बाँच्छ। कसैको पदले उसको मुटुलाई अनन्तसम्म धड्काइराख्न सकेन। कसैको सम्पत्तिले उसको शरीरलाई मृत्युबाट मुक्त गर्न सकेन। कसैको सत्ताले उसको कोषिकालाई जैविक क्षयबाट बचाउन सकेन।

त्यसैले मानिसको वास्तविक मूल्य उसले जीवनमा कति जम्मा गर्‍यो भन्नेभन्दा उसले समाज र राष्ट्रको पक्षमा कति खर्च गर्‍यो भन्ने कुरामा खोजिनुपर्छ। उसले कति मानिसलाई दबायो भन्नेभन्दा कति मानिसलाई उठायो भन्ने कुरामा जाँचिनु पर्छ। उसले कति समय सत्ता सम्हाल्यो भन्नेभन्दा उसले सत्ताको उपयोग कति न्यायपूर्ण ढंगले गर्‍यो भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। धन आफैंमा अन्तिम उपलब्धि होइन, धनको उपयोगले मानिसको चरित्र र सामाजिक योगदानको अर्थ देखाउँछ। पद आफैंमा महान् होइन, पदमा बसेर गरिने कर्मले त्यसलाई अर्थ दिन्छ। प्रतिष्ठा मागेर प्राप्त हुँदैन, कर्मबाट निर्माण हुन्छ र समाजको स्मृतिमा टिक्छ।

यही कारण मृत्युको वैज्ञानिक सत्य केवल चिकित्साशास्त्रको विषय होइन, यो सामाजिक र नैतिक चेतनाको पनि विषय हो। यदि जीवन सीमित छ भने मानिसले आफ्नो समय, शक्ति र क्षमता कसरी प्रयोग गर्ने भन्ने प्रश्न अझ महत्त्वपूर्ण हुन्छ। मृत्युको बोधले मानिसलाई पद र सत्ताबाट विमुख हुनुपर्ने होइन। बरु पद र सत्ताको उपयोगको उद्देश्यबारे सचेत हुनुपर्ने शिक्षा दिन्छ। सत्ता जनताको सेवा र न्यायका लागि प्रयोग भयो भने त्यसको अर्थ हुन्छ, व्यक्तिगत अहंकार, प्रतिशोध र स्वार्थका लागि प्रयोग भयो भने पद समाप्त भएसँगै त्यसको चमक पनि समाप्त हुन्छ।

विज्ञानले नैतिक उपदेश दिँदैन। उसले तथ्य देखाउँछ। मानव जीवन सीमित छ, शरीर परिवर्तनशील छ, जैविक क्षति अपरिहार्य छ र अन्ततः जीवन कायम राख्ने प्रणालीहरू रोकिन्छन्। त्यस तथ्यबाट मानिसले कस्तो जीवन बाँच्ने भन्ने निर्णय सामाजिक, नैतिक र मानवीय प्रश्न हो। तर मृत्युको बोधले एउटा कुरा अवश्य सम्झाउँछ समय सीमित भएकाले जीवनको उपयोग महत्त्वपूर्ण हुन्छ। मानव सभ्यताको महान् उपलब्धि मृत्युलाई समाप्त गर्नु होइन, मृत्युलाई बुझ्दै जीवनलाई अझ अर्थपूर्ण बनाउने क्षमता विकास गर्नु हो। चिकित्सा विज्ञानले आयु बढाउन सक्छ, रोगसँग लड्न सक्छ र जीवनको गुणस्तर सुधार्न सक्छ। तर अहिलेसम्म विज्ञानले मानव जीवनलाई अमर बनाएको छैन। त्यसैले प्रश्न केवल ‘कति लामो बाँच्ने ?’ भन्ने होइन— ‘जति समय बाँचिन्छ, त्यसलाई कस्तो जीवन बनाउने ? ’ भन्ने पनि हो।

हाम्रो प्रत्येक श्वासले दुईवटा सत्य एकैपटक बोकेको हुन्छ– हामी जीवित छौं र हामी सीमित छौं। प्रत्येक धड्कन जीवनको प्रमाण हो, तर कुनै पनि धड्कन अनन्त छैन। प्रत्येक कोषिका जीवनको निरन्तरतामा योगदान गरिरहेको हुन्छ, तर कुनै पनि कोशिका अमर छैन। त्यसैले मृत्यु जीवनको शत्रु मात्र होइन। यो जीवनको सीमा निर्धारण गर्ने वैज्ञानिक सत्य हो। मृत्युको बोधले जीवनलाई निरर्थक बनाउँदैन, बरु जीवनको मूल्य अझ गहिरो बनाउँछ। जीवन सीमित भएकै कारण प्रत्येक क्षण, प्रत्येक सम्बन्ध, प्रत्येक कर्म र प्रत्येकनिर्णयको महत्त्व हुन्छ।

अन्ततः हामीसँग भएको पद, सत्ता, धन र प्रतिष्ठा लिएर मृत्युको ढोकासम्म पुग्दा हामीसँग के बाँकी रहन्छ ? पद रहँदैन। सत्ता रहँदैन। सम्पत्ति रहँदैन। शरीरसमेत रहँदैन। तर मानिसले गरेको राम्रो कर्मको प्रभाव उसको मृत्युसँगै समाप्त हुँदैन। उसले दिएको ज्ञान अर्को पुस्तामा पुग्न सक्छ। उसले गरेको न्यायपूर्ण काम कसैको जीवन बदल्न सक्छ। उसले निर्माण गरेको संस्था समाजमा बाँच्न सक्छ। उसले देखाएको मानवीय बाटो अरूले पछ्याउन सक्छ। उसले गरेको प्रेम, सहयोग, त्याग र सद्कर्म मानिसहरूको स्मृतिमा रहन सक्छ। त्यसको विपरीत, अन्याय, अत्याचार, भ्रष्ट आचरण, अहंकार र स्वार्थबाट निर्माण गरिएको शक्ति मानिससँगै समाप्त भए पनि त्यसले छोडेको नकारात्मक प्रभाव समाजको स्मृतिमा रहन सक्छ। त्यसैले मृत्युले शरीरलाई समाप्त गर्छ। कर्मको सामाजिक अर्थ र त्यसले छोडेको प्रभावलाई भने अनिवार्य रूपमा समाप्त गर्दैन। यहीँ जीवनको वास्तविक सार भेटिन्छ।

मानिसले मृत्यु जित्न सक्दैन। पदले मृत्यु जित्दैन। सत्ताले मृत्यु जित्दैन। धनले मृत्यु जित्दैन। प्रतिष्ठाले मृत्यु जित्दैन। तर मानिसले आफ्नो सीमित जीवनलाई यति अर्थपूर्ण बनाउन सक्छ कि उसको राम्रो कर्म उसको जीवनभन्दा लामो समयसम्म बाँचिरहोस्। मृत्यु अनिवार्य छ, तर जीवनलाई सार्थक बनाउने अवसर पनि त्यत्तिकै वास्तविक छ। त्यसैले जीवनको अन्तिम उपलब्धि धेरै पदमा पुग्नु होइन, धेरै सम्पत्ति जम्मा गर्नु होइन, धेरै शक्तिशाली बन्नु होइन। अन्तिम प्रश्न हो– हामी गएपछि हाम्रो नामसँग के सम्झिइनेछ ? यदि राम्रो कर्म सम्झिइन्छ भने जीवनले आफ्नो अर्थ पाएको छ। यदि ज्ञान, सेवा, न्याय, करुणा र मानवीय योगदान सम्झिइन्छ भने मृत्युले शरीरमात्र लिएर गएको हुन्छ; मानिसको राम्रो प्रभाव अझै जीवित हुन्छ।

मृत्यु जीवनको अन्त्य हो। राम्रो कर्मको प्रभावको अन्ततसम्म रहिरहन्छ। त्यसैले मृत्यु निश्चित छ भन्ने जान्दाजान्दै पनि जीवनलाई लोभ, अहंकार र सत्ताको घमण्डमा होइन, राम्रो कर्म, मानवीयता र समाजप्रतिको उत्तरदायित्वमा लगाउनु नै जीवनको सबैभन्दा ठूलो सार्थकता हुनेछ। चेतना भए।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.