जाजरकोट भूकम्प : पीडितहरू ३ वर्षदेखि टहरामै

पुनर्निर्माण अलमलमै

जाजरकोट भूकम्प : पीडितहरू ३ वर्षदेखि टहरामै
३ वर्षदेखि टिनको टहरामा गुजारा चलाइरहेका जाजरकोट भेरी नगरपालिका–१ रिम्नाका भूकम्पपीडित। तस्बिर : राजेन्द्र कार्की

जाजरकोट : भेरी नगरपालिका–२ जाजरकोटकी बागमती सिंह टिनको टहरामा सकसपूर्ण तरिकाले गुजरा चलाउन थालेको ३ वर्ष बितिसक्यो। ठीक ३ वर्षअघि (आजकै दिन) २०८० कात्तिक १७ गते आएको भूकम्पले घर भत्किएपछि केही समय त्रिपाल र त्यसपछि टिनको टहरामा बस्दै आएको उनको ५ जनाको परिवार छिट्टै पक्की घरमा बस्न पाउने आशामा थिए। तर, तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणका लागि सरकारले दिने भनेको अनुदान नदिएपछि उनको परिवार यतिबेला निराश छ। हरेक सरकारले घर बनाइदिने आश्वासन दिए। 

चुनावमा भोट माग्दा पनि सबै दलका उम्मेदवारले पुनर्निर्माणमा विशेष पहल गर्ने आश्वासन दिए। चुनाव भएर नयाँ सरकार समेत बनिसक्यो तर बागमतीको घर भने बन्न सकेन। आफैंले घर बनाउने पैसा छैन। सरकारले रकम देला र घर बनाउँलाभन्दा भन्दै तीन वर्ष बितिसक्यो उनले भनिन्, ‘हामीजस्ता गरिबको समस्या कसले सुनिदेला ? ’

भेरी नगरपालिका–२ कै गणेश तिरुवाको घर भूकम्पले भत्किएपछि टहरामा बस्दै आएका थिए। पुनर्निर्माणको आशामै रहेको उनको ६ जनाको परिवार गत साउन ३० गते आएको पहिरोले उक्त टहरासमेत बगाई दिएपछि यतिबेला बिचल्लीमा परेको छ। भूकम्पपीडितको निजी आवासका लागि सरकारले प्रतिपरिवार चार लाख रुपैयाँ दिने निर्णय गरेको भए पनि रकम निकासामा प्रक्रियागत ढिलाई गर्दा भूकम्पपीडितहरू निकै समस्यामा छन्। 

हावाहुरीले कैयांैका अस्थायी टिनका टहरा उडाइदिएको छ भने हिउँदमा चिसोले शीत चुहिने र गर्मीमा टिनको रापले पीडितहरू निकै सकसपूर्ण तरिकाले गुजरा गरिरहेका छन्। सरकारको अनुदान कुरेर बसेका पीडितहरूको बिजोग भएको छ। पुनर्निर्माणमा भइरहेको ढिलाइले आफूहरू निकै समस्यामा परिरहेको तिरुवाले बताए। 

सरकारले पुनर्निर्माणका लागि पहिलो चरणको क्षतिको विस्तृत आकलन (डीडीए) सम्पन्न गरकै एक वर्ष पुग्न लागिसक्यो तर अहिलेसम्म एउटा पनि निजी आवास बन्न सकेको छैन। डीडीएकै रिपोर्टका आधारमा पुनर्निर्माण, प्रबलीकरण र सामान्य मर्मत गर्नुपर्ने गरी रिपोर्ट तयार गरिएको छ। तर, उक्त प्रतिवेदनमा धेरै लाभग्राही छुटेको गुनासो आएको छ। जसका कारण पनि पुनर्निर्माण प्रक्रियामा समस्या आएको छ। डीडीए रिपोर्टमै असन्तुष्टि आएको, प्रक्रियागत झन्झट, सम्झौता र प्रमाणीकरणमा ढिलाइलगायतका कारण जाजरकोट भूकम्पको पुनर्निर्माणले गति लिन नसकेको हो। 

पुनर्निर्माणका लागि लाभग्राही कायम भई प्रमाणीकरण गर्न आवश्यक प्राविधिक नहुँदा ढिलाइ भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। धेरै पीडितहरू डीडीएमा छुटेको हुँदा पुनः डीडीए गर्ने गत चैतमै निर्णय गरेर सम्बन्धित निकायमा पढाइएको हो तर अहिलेसम्म छुटेकाको पुनः डीडीएको प्रक्रिया अघि बढाइएको छैन उनले भने ‘स्थानिय सरकारले गर्नुपर्ने सबै प्रक्रिया गरेर पठाउँदा पनि संघीय सरकारले अनावश्यक रुपमा ढिलासुस्ती गरिरहेको छ। 

सरकारले पुनर्निर्माण कार्यविधि संशोधन गरेर भए पनि पुनर्निर्माण प्रक्रिया अघि बढाउने भने पनि अहिलेसम्म प्रक्रियाअघि बढेको छैन। जसले गर्दा तीन वर्षदेखि पीडितहरूको बिजोग भएको छ।’ स्थानीय प्रशासनको उदासीनता, पालिकाहरूको ढिलासुस्ती र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ढिलासुस्तीले गर्दा पुनर्निर्माण अलपत्र परेको पीडितहरूको गुनासो छ।

२०८० कात्तिक १७ गते मध्यरातमा गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति गरेको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार जाजरकोटका १ सय १ र रुकुमपश्चिमका ५३ गरी १ सय ५४ जनाको ज्यान गएको थियो। २६ हजार ५ सय ५७ घर पूर्ण र ३५ हजार ४ सय ५५ घर आंशिक क्षति भएका छन्। ३ सय ६४ घाइते भएका थिए। 

जाजरकोटमा मात्र अस्थायी आवासका लागि ४८ हजार ५ सय १६ लाभग्राही कायम गरिएकोमा ३५ हजार ५ सय ८३ परिवारले अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले वितरण गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटको तथ्यांकमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयका अनुसार प्राधिकरणले गरेको डीडीए रिपोर्टले जाजरकोटमा १४ हजार २ सय ४५ निजी घरको पुनर्निर्माण र १२ हजार ७ सय ४४ घरको मर्मत (प्रबलीकरण) गर्ने प्रतिवेदन सार्वजनिक गरेको छ। पुनर्निर्माणमा परेका लाभग्राहीले प्रतिपरिवार ४ लाख रुपैयाँ पाउनेछन्। प्रबलीकरणमा परेका परिवारले बढीमा ३ लाख रुपैयाँ पाउनेछन्। 

जाजरकोटबाट हालसम्म सबै प्रक्रिया पूरा गरेर १ हजार ३ सय ४४ लाभग्राही कायम गरी गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। सम्झौता भएको एक वर्षपछि १ सय ८८ परिवारको पुनर्निर्माणका लागि ५० हजारका दरले पहिलो किस्ता निकासा भएको प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए। अब पुनर्निर्माणले गति लिन्छ। 

तिहार लगत्तै पुनर्निर्माण प्राधिकरणको जाजरकोट कार्यालयमा ५० बढी प्राविधिक इन्जिनियर आउँदैछन्। डीडीएमा छुटेकाको पनि तिहार लगत्तै प्रक्रिया अघि बढ्छ प्रजिअ बरालले भने, ‘पुनर्निर्माण कार्याविधिका कारण पुनर्निर्माणमा केही अलमल परेकोमा कार्यविधिसमेत छिट्टै संशोधन हुने जानकारी पाएका छौं। कार्यविधि संसोधन भयो भने पुनर्निर्माणका केही अफ्ठ्याराहरू हट्ने र पुनर्निर्माणले गति लिने छ।’ सरकारले ६ महिनाभित्र स्थायी आवास बनाइदिने आश्वासन दिएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.