विराट एक्स्पोमा २५ हजार विद्यार्थी र २ हजार युवालाई जोड्ने लक्ष्य
विराटनगर: विराटनगरको उद्योग व्यापार प्रवर्धनका साथै विद्यार्थीलाई करियरको बाटो देखाउने, युवालाई रोजगारीसँग जोड्ने र नयाँ उद्यमलाई लगानीको अवसर उपलब्ध गराउने लक्ष्यसहित विराटनगरमा नवौँ विराट एक्स्पो आयोजना हुने भएको छ।
उद्योग संगठन मोरङले पुस २ देखि ११ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको मैदानमा एक्स्पो सञ्चालन गर्ने तयारी गरेको छ। एक्स्पोमा २७५ भन्दा बढी स्टल रहनेछन्। आयोजकले १० दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा २ लाख ५० हजारभन्दा बढी दर्शक सहभागी गराउने लक्ष्य राखेको छ। तर, यसपटकको एक्स्पोको विशेषता व्यापारिक प्रदर्शनीमा मात्र सीमित नरही सिप, शिक्षा, रोजगारी, लगानी र उद्यमशीलतालाई एउटै मञ्चमा जोड्नु रहनेछ।
उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरी एक्स्पोको अवधारणा र तयारीबारे जानकारी गराएको छ। संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग व्यवसायको विकासका लागि बजार विस्तारसँगै दक्ष जनशक्ति, नयाँ प्रविधि र लगानीको वातावरण आवश्यक रहेको बताए। उनका अनुसार उद्योगीले दक्ष जनशक्ति खोजिरहेका छन्, स्टार्टअपलाई लगानी आवश्यक छ, युवाले रोजगारीको अवसर खोजिरहेका छन् भने विद्यार्थीलाई अध्ययनपछि कुन क्षेत्रमा अघि बढ्ने भन्ने मार्गदर्शन चाहिएको छ। यिनै आवश्यकता सम्बोधन गर्ने गरी एक्स्पोलाई साझा अवसरको केन्द्र बनाउन खोजिएको उनले बताए।
‘द इकोसिस्टम अफ अपरच्युनिटिज’ अर्थात् अवसरहरूको पारिस्थितिक प्रणाली भन्ने नाराका साथ आयोजना हुने एक्स्पोमा विद्यार्थी र युवालाई लक्षित विशेष कार्यक्रम राखिएका छन्। ‘लर्न फर द फ्युचर’ कार्यक्रममार्फत विद्यार्थीलाई औद्योगिक स्वचालन, फेसन डिजाइन, कृषि, आतिथ्य सेवा, सौन्दर्य तथा वेलनेस र स्वास्थ्यलगायत आठ क्षेत्रमा सिप तथा तालिमका अवसरसँग परिचित गराइनेछ। एक्स्पोमा २५ हजार विद्यार्थी सहभागी गराउने आयोजकको लक्ष्य छ। विद्यार्थीलाई स्थानीय उद्योगको अवस्था, आवश्यक जनशक्ति, रोजगारीको सम्भावना र भविष्यमा रोज्न सकिने पेसाबारे जानकारी दिने कार्यक्रम पनि समेटिनेछन्।
युवालाई जागिर खोज्ने मात्र नभई आफैं उद्यम सुरु गर्न प्रेरित गर्ने उद्देश्यले स्टार्टअप तथा उद्यमशीलता प्याभिलियन सञ्चालन गरिनेछ। नयाँ व्यवसायका अवधारणा, नवप्रवर्तन र उद्यमको विकासका लागि मेकर स्पेस, डिजाइन थिंकिङ तथा बुट क्याम्प आयोजना हुनेछन्। यसमा नयाँ र विस्तारको चरणमा रहेका उद्यमले आफ्ना उत्पादन तथा सेवा प्रस्तुत गर्नेछन्। एक्स्पोबाट २ हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने र लगानीयोग्य सम्भावना भएका २० वटा स्टार्टअप प्रस्तुत गर्ने लक्ष्य राखिएको संयोजक विपिन काबराले जानकारी दिए।
व्यवसाय सुरु गर्न वा विस्तार गर्न चाहनेहरूका लागि पनि एक्स्पोमा छुट्टै व्यवस्था गरिएको छ। व्यवसाय दर्तादेखि कानुनी परामर्श, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण, प्रमाणीकरण, लजिस्टिक्स र बजार पहुँचसम्मका सेवा उपलब्ध गराउने उद्देश्यले ‘बिजनेस डेभलपमेन्ट सर्भिसेज कनेक्ट’ प्लेटफर्म सञ्चालन हुनेछ।
यसैगरी, उद्योगी तथा लगानीकर्ताबीच व्यावसायिक सम्बन्ध विस्तार गर्न तीनदिने ‘विराट बिजनेस समिट २०२६–अपरच्युनिटी कनेक्ट’ आयोजना हुनेछ। समिटमा लगानी, व्यवसाय विस्तार र आर्थिक सम्भावनाका विषयमा छलफल गरिनेछ। कोशी प्रदेशका १४ जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधिले आफ्नो क्षेत्रका लगानी तथा व्यावसायिक सम्भावना प्रस्तुत गर्नेछन्।
नेपाल–भारत तथा नेपाल–बंगलादेश बिजनेस फोरम, व्यवसायीबीच बीटुबी बैठक र विषयगत छलफल पनि समिटका कार्यक्रम हुनेछन्। ‘इन्भेस्ट एन्ड बिल्ड’, ‘कनेक्ट एन्ड एक्सपान्ड’ तथा ‘इन्फ्लुएन्स एन्ड ग्रो’ विषयमा केन्द्रित अन्तरक्रियामार्फत लगानीकर्ता र व्यवसायीबीच सहकार्यको वातावरण बनाउने आयोजकको अपेक्षा छ। जिल्ला र स्थानीय तहमा रहेका सम्भावित लगानीका क्षेत्रलाई चिनाउन ‘अपरच्युनिटी वाल’ राखिनेछ। यसमा स्थानीय उत्पादन, कच्चा पदार्थ, पूर्वाधार, प्रविधि, बजार र साझेदारीका अवसरबारे जानकारी दिइनेछ।
एक्स्पोमा उद्योग, कर्पोरेट, कृषि, घरेलु तथा साना उद्योग, अटोमोबाइल, खाद्य सामग्री र तालिम प्रदायक संस्थाका २७५ भन्दा बढी स्टल रहनेछन्। कोशीका १४ जिल्लाका कृषि उत्पादन, महिला उद्यमी तथा साना व्यवसायीका उत्पादनलाई प्राथमिकता दिइनेछ। सुनसरी–मोरङ औद्योगिक करिडोरमा उत्पादित वस्तु पनि प्रदर्शनीमा रहनेछन्।
आयोजकले ३ सयभन्दा बढी कम्पनीको सहभागिता, १ हजार ५ सयभन्दा बढी व्यावसायिक सम्पर्क स्थापना र २ लाख ५० हजारभन्दा बढी दर्शकको सहभागिता अपेक्षा गरेको छ। एक्स्पोमा व्यावसायिक गतिविधिसँगै राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति पनि रहनेछन्।
उद्योग संगठन मोरङले यसपटकको एक्स्पोलाई उत्पादनको प्रदर्शनीका साथै ज्ञान, सिप, रोजगारी र लगानीको सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा अघि सारेको छ। आयोजकका अनुसार एक्स्पोमा हुने व्यावसायिक सम्पर्क र सहकार्यले प्रदर्शनी सकिएपछि पनि उद्योग तथा उद्यम क्षेत्रलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !