एनपीएलमा बदलिँदो समीकरण, १३ खेलमा कसको प्रदर्शन कस्तो?

एनपीएलमा बदलिँदो समीकरण, १३ खेलमा कसको प्रदर्शन कस्तो?

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुरुवाती १३ खेल पूरा भइसकेको छ। प्रतियोगिताको सुरुवातदेखि अहिलेसम्मका खेलले कुनै टोलीको बलियो पक्ष उजागर गरेका छन् भने कुनै टोलीको कमजोरी पनि प्रस्ट पारेका छन्।

१३ खेल सकिँदा केहीले पुरानै लय कायम राखेको छन् भने, केही टोलीको नयाँ अध्याय सुरु भएको जस्तो देखिन्छ।

कात्तिक ९ मा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलबाट सुरु भएको प्रतियोगितामा कात्तिक १७ सम्म १३ खेल सम्पन्न भएका छन्। तीमध्ये १२ खेलको नतिजा आएको छ भने अक्टोबर ३१ –कात्तिक १४ शनिबार) मा लुम्बिनी लायन्स  र चितवन राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको थियो।

सुरुवाती खेलमा कम योगफलको रक्षा, लक्ष्य पछ्याउँदा देखिएको आक्रमक ब्याटिङ अन्तिम ओभरसम्म पुगेका प्रतिस्पर्धा र मौसमका कारण छोट्याइएको खेलले प्रतियोगितालाई फरक फरक मोड दिएका छन्। अहिलेसम्मको प्रदर्शन हेर्दा लुम्बिनी लायन्स सबैभन्दा प्रभावशाली देखिएको छ। अंक तालिकामा ३ खेलमा २ जित र १ खेलमा अंक बाँड्दा साविक विजेताले आफ्नो छबि बचाइराखेको छ।

विराटनगर किङ्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स पनि प्रतिस्पर्धामा छन्। अर्कोतर्फ पोखरा एभेन्जर्सले भने जितको खाता खोल्न सकेको छैन।

उद्घाटनमै लुम्बिनीको प्रभाव, सुदूरपश्चिमलाई धक्का
प्रतियोगिताको उद्घाटन खेलमै लुम्बिनी लायन्सले आफ्नो बलियो पक्ष देखायो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा ८७ रनमै समेटियो। लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै तीन विकेट गुमाएर पूरा गर्‍यो। ७ विकेटको जितसँगै लुम्बिनीले प्रतियोगितामा सुखद सुरुवात गर्‍यो।

सुदूरपश्चिमका लागि भने उद्घाटन खेल निराशाजनक रह्यो। अघिल्लो संस्करणको उपविजेता यस टोलीले पहिलो खेलमा कमजोर ब्याटिङ गर्यो। लुम्बिनीका बलरले सुरुदेखि नै दबाब सिर्जना गर्दा सुदूरपश्चिमले ठूलो साझेदारी बनाउन सकेन।

दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। जवाफमा विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। प्रतिस्पर्धात्मक योगफल बनाएर त्यसलाई रक्षा गर्न सफल चितवनले प्रतियोगितामा विजयी सुरुवात गर्‍यो।

तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्‍यो। कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो। जवाफमा जनकपुर लक्ष्यसम्म पुग्न सकेन। कम योगफलको खेलमा कर्णालीले अनुशासित बलिङ गर्दै पहिलो जित निकाल्यो।

सुरुवाती तीन खेलले नै एनपीएलमा ब्याटिङको आक्रामकता मात्र नभई बलिङमा अनुशासन भएका टिमले जिते। ब्याटिङमा त्रिवी पिच र साँझको खेलमा शितको प्रभाव पनि देखियो।

सुदूरपश्चिमको पुनरागमन, जनकपुरको सहज जित
चौथो खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनायो। जवाफमा सुदूरपश्चिमले १६.५ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ६ विकेटको जितसँगै सुदूरपश्चिमले पहिलो खेलको हारबाट पुनरागमन गर्‍यो।

पाँचौँ खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले हरायो। काठमाडौंले १९.३ ओभरमा ११५ रन बनाएको थियो। जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। लक्ष्य पछ्याउँदा जनकपुरले देखाएको संयम र सहजता उसको सकारात्मक पक्ष बन्यो। ब्याटिङमा इङ्ल्यान्डका अनुुभवी ब्याटर मोइन अलिले राम्रो ब्याटिङ गरे।

छैटौँ खेल भने प्रतियोगिताकै रोमाञ्चक प्रतिस्पर्धामध्ये एक बन्यो। विराटनगर किङ्सले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। जवाफमा कर्णाली याक्सले १९.५ ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाउँदै एक बल बाँकी छँदै चार विकेटको जित निकाल्यो।

बलियो योगफल बनाएर पनि विराटनगरले जित जोगाउन सकेन। बलिङमा विराटनगरले फितलो प्रदर्शन गर्यो। कर्णालीले दबाबमा लक्ष्य पछ्याउने क्षमता देखायो। प्रतियोगिताको सुरुवाती चरणमै कर्णालीले आफ्नो ब्याटिङको गहिराइ र अन्तिमसम्म संघर्ष गर्ने क्षमता प्रमाणित गर्‍यो।

वर्षाले रोक्यो एउटा खेल, पाँच ओभरमा विराटनगरको आक्रमक ब्याटिङ
कात्तिक १४ मा लुम्बिनी र चितवनबीचको खेल वर्षाका कारण टस समेत नभई रद्द भयो। दुवै टोलीले १-१अंक बाँडे। प्रतियोगितामा मौसमले नतिजालाई प्रभावित पारेको यो पहिलो घटना बन्यो।

सोही दिन भएको विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल भने भिजेको आउटफिल्डका कारण पाँच ओभरमा सीमित भयो। विराटनगरले पाँच ओभरमा २ विकेट गुमाएर १०५ रन बनायो। जवाफमा सुदूरपश्चिमले ३ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो। विराटनगरले ३५ रनको जित निकाल्यो।

सामान्य अवस्थामा २० ओभर खेल्ने टोलीले पाँच ओभरमै आक्रामक ब्याटिङ गर्नुपर्ने परिस्थितिले खेलको रणनीति नै परिवर्तन गरिदियो। विराटनगरले छोटो समयमा ठूलो योगफल बनाउँदै आफ्नो आक्रामक क्षमता देखायो।यसमा विराटनगरका हार्डहिटर आन्द्रे रसेल र लोकेश बमले उत्कृष्ट पारी खेले।

जनकपुरको जित, काठमाडौंको अन्तिम क्षणको सफलता
कात्तिक १५ मा भएको नवौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्‍यो। जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। जवाफमा पोखराले ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो।

जनकपुरले आफ्नो बलिङमार्फत मध्यम योगफल पनि रक्षा गर्न सकिने देखायो। पोखराका लागि भने लक्ष्य पछ्याउने क्रममा आवश्यकता अनुसारको ब्याटिङ  देखाउन नसक्नु अर्को समस्या बन्यो।

नोभेम्बर २ मा भएको दशौँ खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हरायो। कर्णालीले २० ओभरमा १८० रन बनाएको थियो। काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। दुई बल बाँकी छँदै प्राप्त जितले काठमाडौंलाई प्रतियोगितामा पुनरागमनको आधार दियो।

त्यस दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गर्‍यो। चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। सुदूरपश्चिमले १६.४ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। लगातारको जितले सुदूरपश्चिमलाई अंकतालिकाको प्रतिस्पर्धामा फर्कायो।

दुई रनको जितले विराटनगरको आत्मविश्वास
कात्तिक १६ मा भएको १२औं खेलले प्रतियोगितालाई अर्को रोमाञ्चक मोड दियो। विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनायो। जवाफमा जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो।

विराटनगरका लागि यो जित केवल दुई अंक प्राप्त गर्ने विषय थिएन। प्रतिस्पर्धात्मक खेलमा दबाब सम्हाल्दै नतिजा आफ्नो पक्षमा पार्ने क्षमता पनि यसले देखायो। जनकपुर भने लक्ष्यको निकै नजिक पुगेर पनि जितबाट वञ्चित भयो। विराटनगरका लागि ३ ब्याटरले अर्धशतक बनाए पनि जनकपुरका सैफ हसनले अन्तिम बलसम्म प्रयास गरे। तर अन्तिम बलमा उनी क्याच भए।

लुम्बिनीको दबदबा, पोखराको निरन्तर निराशा
तेह्रौँ खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन मात्रै बनाउन सक्यो। पोखराले ब्याटिङमा निकै निराशाजनक प्रदर्शन गर्यो।

लुम्बिनीले ९८ रनको लक्ष्य ११.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। ५० बल बाँकी छँदै प्राप्त जितले लुम्बिनीको प्रभावशाली प्रदर्शनलाई थप बलियो बनायो।

३ खेलमा २ जित र १ नतिजाविहीन खेलसहित ५ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ। अर्कोतर्फ पोखराले लगातार तेस्रो हार बेहोर्‍यो। ब्याटिङमा ठूलो साझेदारी बनाउन नसक्नु, सुरुवातमै विकेट गुमाउनु र मध्यक्रममा इनिङ्स सम्हाल्न नसक्नु पोखराका लागि मुख्य चुनौती बनिरहेका छन्। एनपीएलमा सबैभन्दा महंगो टिम भनेर चिनिएको पोखराले आफ्नो छवि सुर्धान सकेको छैन। अब ४ खेलमा पोखराले जितको रणनिती ल्याउनुपर्ने हुन्छ।

आठ टोलीको फरकफरक चुनौती
अहिलेसम्मको प्रदर्शनलाई हेर्दा आठै टोलीको चुनौती फरक देखिन्छ। लुम्बिनी लायन्स प्रतियोगिताको सबैभन्दा सन्तुलित टोलीका रूपमा देखिएको छ। ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेको लुम्बिनीले अहिलेसम्म कुनै खेल हारेको छैन। अब टोलीका लागि मुख्य चुनौती यही लयलाई निरन्तरता दिनु हो।

विराटनगर किंग्सले सुरुवाती हारपछि पुनरागमन गरेको छ। आक्रमक ब्याटिङ उसको बलियो पक्ष बनेको छ। तर, कर्णालीसँगको खेलमा बलियो योगफल बनाएर पनि हार्नुले बलिङमा थप सुधार आवश्यक देखाउँछ।

कर्णाली याक्सले कम योगफलको खेलदेखि ठूलो लक्ष्य पछ्याउने खेलसम्म आफ्नो क्षमता देखाएको छ। जनकपुर र विराटनगरविरुद्धको जितले टोलीलाई आत्मविश्वास दिएको छ। तर, काठमाडौंसँगको हारले लक्ष्य रक्षा गर्ने पक्षमा सुधार आवश्यक रहेको देखाएको छ।

जनकपुर बोल्ट्सको ब्याटिङमा क्षमता देखिए पनि निरन्तरता चुनौती बनेको छ। विराटनगरसँग २ रनले पराजित हुनुले अन्तिम ओभरको दबाब सम्हाल्ने पक्षमा कमजोरी देखाएको छ। नयाँ कप्तानको रणनीतीमा खेलिरहेको जनकपुरमा एक आशा भने छ। यो टिममा युवा खेलाडी राहुल यादवले सुरुवाती २ खेलमा ‘म्याच विनर’ को खेल देखाए।

सुदूरपश्चिम रोयल्सले सुरुवाती हारपछि लगातार दुई जित निकालेर आफूलाई प्रतिस्पर्धामा फर्काएको छ। तर विराटनगरसँगको पाँच ओभरको खेलमा ठूलो अन्तरले पराजित हुनु टोलीका लागि कमजोर पक्ष बन्यो।

चितवन राइनोजले विराटनगरविरुद्धको जितमा आफ्नो क्षमता देखाएको थियो। तर सुदूरपश्चिमसँगको हारपछि टोलीले आफ्नो प्रदर्शनमा निरन्तरता खोज्नुपर्ने देखिएको छ।

काठमाडौं गोर्खाजले कम खेल खेले पनि कर्णालीविरुद्धको जितले आफ्नो सम्भावना देखाएको छ। बलियो लक्ष्य पछ्याएर जित निकाल्नु टोलीका लागि सकारात्मक पक्ष हो। आगामी खेलमा यही प्रदर्शनलाई निरन्तरता दिन सके काठमाडौंले अंकतालिकामा सुधार गर्न सक्छ।

पोखरा एभेन्जर्सका लागि भने अहिलेसम्मको यात्रा निराशाजनक छ। लगातार तीन हारले टोलीलाई अंकतालिकाको पुछारमा पु¥याएको छ। ब्याटिङमा साझेदारी बनाउन नसक्नु र विपक्षीलाई दबाबमा राख्न नसक्नु पोखराका मुख्य समस्या देखिएका छन्। टिममा अनुबन्ध रहेका श्रीलंकन ब्याटर चमिका करुणारत्नेले पनि टिमले बेहोरेको लगातार हारको बारेमा लुम्बिनीसँगको हारपछि भनेका थिए, ‘अब टिममा खेलाउन बाँकी कोही खेलाडी छैनन। मैले करिअरमा अहिलेसम्म ३ वटा लगातार हार बेहोरेको थिइन। तर अहिले टिममा के भइरहेको छ मलाई नै थाहा छैन।’

प्लेअफको दौडमा अझै खुला प्रतिस्पर्धा
१३ खेलपछि अंकतालिकामा लुम्बिनी लायन्स ५ अंकसहित शीर्ष स्थानमा छ। विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिम समान ४-४ अंकसहित प्रतिस्पर्धामा छन्। चितवन ३ अंकसहित छैटौँ स्थानमा छ भने काठमाडौं २ अंकसहित सातौँ स्थानमा छ। पोखरा भने जितविहीन रहँदै पुछारमा छ।

लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्ने भएकाले अहिलेसम्मको नतिजाले प्लेअफ वा शिर्ष ४ को टुंगो लगाउने बेला भने भएको छैन। अझै धेरै खेल बाँकी छन् र अंकतालिकामा ठूलो परिवर्तन आउन सक्छ।

लुम्बिनीले अहिलेसम्मको लय कायम राख्न सके शीर्ष चारमा स्थान बनाउने सम्भावना बलियो देखिन्छ। विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिमबीचको प्रतिस्पर्धा भने अझ रोचक बन्नेछ। चितवन र काठमाडौंले पनि बाँकी खेलबाट आफ्नो स्थिति सुधार्न सक्छन्। पोखराका लागि भने अबको प्रत्येक खेल महत्वपूर्ण हुनेछ।

एनपीएलको सुरुवाती १३ खेलले नेपाली खेलाडीको क्षमता स्पष्ट देखाएको छ।  टी-२० क्रिकेटमा स्टार खेलाडीको उपस्थिति मात्रै जितको ग्यारेन्टी होइन। टोलीको सन्तुलन, नेपाली खेलाडीको योगदान, विदेशी खेलाडीको प्रभाव, दबाबमा निर्णय लिन सक्ने क्षमता र खेलअनुसार रणनीति बदल्न सक्ने खुबीले नतिजा निर्धारण गर्छ।

प्रतियोगिताको यात्रा अझै बाँकी छ। अहिलेसम्म लुम्बिनीले अग्रता लिएको छ, विराटनगर र कर्णालीले चुनौती दिएका छन् भने जनकपुर र सुदूरपश्चिमले प्रतिस्पर्धा कायम राखेका छन्। तर उपाधिको दौडमा अन्तिमसम्म को टिक्छ भन्ने प्रश्नको जवाफ आगामी खेलहरूले नै दिनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.