बिर्तामोडमा आगलागी : दुई तले घरसहित ६ करोडको सामान जलेर नष्ट
झापा : झापाको बिर्तामोडमा बुधबार बिहान भएको भीषण आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट दुई तले घरसहित इलेक्ट्रोनिक्स पसल, गोदाम र फार्मेसीमा रहेका सामान जलेर पूर्णरूपमा नष्ट भएका छन्।
बिर्तामोड नगरपालिका-४ स्थित सिद्धार्थ होटल नजिकै राजेश मण्डलको दुई तले घरमा बिहान १०:४० बजे आगलागी भएको हो। उक्त घरमा सागर घोषले सञ्चालन गरेको शुभलाभ इलेक्ट्रोनिक्स पसलको गोदाम राखिएको थियो। गोदाममा अचानक विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
आगलागीबाट गोदाममा भण्डारण गरिएका सम्पूर्ण इलेक्ट्रोनिक सामान जलेर नष्ट भएका छन्। आगो नियन्त्रणमा लिन करिब पाँच घण्टा लागेको थियो। दिउँसो साढे ४ बजेतिर सातवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादह नगरपालिकाका दमकल परिचालन गरिएको थियो। स्थानीय बासिन्दा तथा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत घटनास्थलमा खटिएका थिए। आगो नियन्त्रणमा लिन जेसीबीसमेत प्रयोग गरिएको थियो।
प्रहरीका अनुसार आगलागीबाट शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदाममा रहेका इलेक्ट्रोनिक सामान करिब ३ करोड रुपैयाँ बराबरका जलेर नष्ट भएका छन्। त्यसैगरी सञ्चालक राजेश खतिवडाको निरिका फर्माको फार्मेसी तथा गोदाममा भण्डारण गरिएका औषधिमा करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, घरधनी राजेश मण्डलको दुई तले घर पूर्णरूपमा जलेर नष्ट हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
यसरी आगलागीबाट घर, इलेक्ट्रोनिक सामान तथा औषधिसहित कुल करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !