राजविराजमा पहिलो लिटिल आइकन
राजविराज : बालबालिकाको क्षमता विकास र अभिवृद्धिका लागि सप्तरीको राजविराजमा हुन लागेको पहिलो लिटिल आइकनको शनिबार अडिशन भएको छ।
अडिसनबाट छानिएका प्रतिस्पर्धीलाई कोरियोग्राफर रजनी केसीलगायत विभिन्न क्षेत्रका विज्ञले एक महिनासम्म व्यक्तित्व विकास, सामाजिक रहन सहन, नैतिक जिम्मेवारी बारेमा प्रशिक्षित गरेपछि उनीहरुबीच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।
सहआयोजक युवा सचेतना अभियानका निर्देशक भुवन राउतका अनुसार प्रतिस्पर्धीलाई सामाजिक उत्तरदायित्व, जीवनशैली, कलासंस्कृति, बोलीचाली, मानवअधिकार, ट्राफिक नियम, क्याटवाकका विषयमा समेत विशेषज्ञबाट प्रशिक्षित गराइने छ।
प्रतियोगिताका बालक र बालिकातर्फ विजेताहरुलाई ताजसहित क्राउन, प्रमाण–पत्रलगायत नगद पुरस्कारसहित राजविराज लिटिल आइकन घोषणा गरिने छ।
राजविराज जेसीज भवनमा पहिलो अडिसन सम्पन्न भएको र दोस्रो अडिशन आउने शनिबार हुने राजविराज जेसीजका अध्यक्ष सिद्धार्थ तातेडले बताए। राजविराज लिटिल आइकनको ग्राण्ड फाइनल राजविराजमा आगामी चैत ३१ गते गरिने राजविराज जेसीजले जनाएको छ। राजविराज लिटील आइकन २०२० कोभिड–१९ का कारण रोकिएको थियो।
प्रतियोगिताको सहआयोजकमा युवा सचेतना अभियान तथा सुखी समाज, समृद्ध नेपाल रहेको छ।
प्रतिक्रिया दिनुहोस !