घट्दै ऋणको ब्याजदर : बचतको न्यूनतम ब्याजदर ६ प्रतिशतमा सीमित

काठमाडौं : समग्रमा वाणिज्य बैंकहरूले साधारण बचत ब्याजदर घटाएका छन्। आगामी चैत्रदेखि बैंकको निक्षेपको ब्याजदर न्यूनतम ०.४२ प्रतिशत बिन्दुले घटाएर ६ प्रतिशत मात्रै कायम गर्नुपर्ने भएको छ।
हाल बैंकमा साधारण बचतको ब्याज दर न्यूनतम ६.४२ देखि अधिकतम ८.४ प्रतिशतसम्म कायम छ। अब भने न्यूनतम ६ देखि ८ प्रतिशतसम्म हुने छ।
नेपाल बैंकर्स संघमा बिहीबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको बैठकले हालसम्म कायम भएको साधारण बचतको ब्याजदरमा पुनरावलोकन गर्दै घटाउने भद्र सहमती भएको हो।
यो दर चैत्र १ गतेदेखि लागू हुने छ। तर बैंकहरूले मुद्दति निक्षेपको ब्याज दर भने यथावत राख्ने निर्णय गरेका छन्।
सो दरले बचतको ब्याज घटेपछि बैंकहरूको आधार दर पनि केही नियन्त्रण हुने देखिन्छ। किनभने आधार दरको गणना विधिमा यसको महत्वपूर्ण भुमिका हुन्छ।
कुल निक्षेपमा बचतको हिस्सा २८ प्रतिशत भएकाले आधार दर पनि केहि घट्छ। यसो हुँदा अर्को त्रैमासमा कर्जाको ब्याजदर केहि कम हुने अनुमान गर्न सकिन्छ।
संघका कार्यकारी निर्देशक अनिल शर्मा बैंकहरूले अहिले मध्यमार्गी बाटो अपनाएको बताउछन्। ‘यो निर्णयले निक्षेपकर्ताहरूलाई पनि नोक्सानी छैन। किनभने मुद्दती निक्षेपको ब्याजदरलाई यथावत राखीएको छ। यता ऋणीको हकमा पनि केहि राहात होस भनेर यो बाटो अपनाएको हो। सहज हुने अवस्था भैसकेको छैन,’ उनले अन्नपूर्णसँग भने।
संघले अब नयाँ ऋणीसँग आधार दरमा बढीमा ५ प्रतिशतभन्दा माथी नलिने सहमती गरेको छ। यसअघि विभिन्न बैंकहरूले आधार दरमा प्रिमियम नै थप ६ प्रतिशतसम्म लीएर ब्याजदर निर्धारण गर्दै आएका थिए।
कतिपयले योभन्दा बढी लिएको भन्दै व्यवसायीहरूले गुनासो गर्दै आएका थिए। अहिले प्रिमियम १ प्रतिशत बिन्दुले घटाइए पनि कर्जाको ब्याजदर भने वैशाखपछि मात्रै घट्ने उनले बताए।
यसअघि गत माघमा १२.१३ प्रतिशतको निक्षेपको ब्याज दर घटाएर बैंकहरूले ११ प्रतिशतमा सीमित पारेका थिए। तर यसको प्रभाव कर्जाको ब्याजदर तत्कालै घट्नुपर्ने आम जनमानसको बुझाइ छ।
तर प्राविधिक रूपमा बैंकहरूले कर्जाको ब्याजदर हरेक त्रैमासको प्रतिवेदनअनुसार मात्रै लागू गर्नुपर्ने भएकाले महिनैपिच्छे निक्षेपको ब्याजदर घटबढ भए पनि कर्जाको हुदैन।
यसर्थ यसअघिको महिना बैंकहरूले निक्षेपको ब्याज घटाए पनि आधार दरमा समायोजन नभएको हो।
यसर्थ अब माघ, फागुन र चैतको एकैपटक समायोजन भएर वैशाखदेखि मात्रै घटेको दरमा कर्जाको ब्याजदर निर्धारण हुने छ।
यसअनुसार अब ऋणको ब्याज दर अहिले भइरहेकोमा करीब १.५ प्रतिशत बिन्दुसम्म घट्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
