बाहा परब

बाहा परब

बाहा पर्वको तेस्रो दिनलाई ‘बाहा बास्की वा दाग् दुल’ भनिन्छ। जसको अर्थ ‘बाहा पर्वको अन्त्य वा पानीले छ्यापेर भिजाउने’ दिन हो। सहयोगी युवकले पानी झर्किदिन्छन्।

‘बाहा’ को अर्थ ‘फूल’ हो। ‘बाहा परब’ अर्थात् ‘फूलको पर्व’ सन्थाल जातिको सबैभन्दा ठूलो पर्व ‘सोहराय’ पछिको दोस्रो हो। यो पर्व सन्थालहरूको सबैभन्दा पवित्र पर्व मानिन्छ। यो पर्वमा विशेष गरेर जाहेरथानमा जाहेर आयो (जाहेर माता) देवतालाई अगाडि मानी क्रमश: माराङबुरु, मडे कु तुरुय कु, पिल्चुहाडाम पिल्चुबुढी, गोसाइएरा गाउँअनुसार फरकफरक अरू देवताहरू पूजा गरिन्छन्। गीतहरू पनि त्यही सेरोफेरोमा आधारित भएर गाउने गरिन्छ। सन्थाल जाति नेपाल सुदूरपूर्व झापा, मोरङ र सुनसरी जिल्लामा खास बसोबास गर्दै आएका छन्। कामको सिलसिलामा नेपालका विभिन्न जिल्ला वा ठाउँमा बसोबास गर्दै आइरहेका छन्। जसको छुट्टै भाषालिपि, धर्म, संस्कार, संस्कृति, परम्परा र रीतिरिवाज छ।

सन्थालहरूको तिथीअनुसार फागुन मडेदेखि कुनामी (पूर्णिमा) सम्म मनाइन्छ। नेपाली तिथिअनुसार फागु पूर्णिमामा प्रत्येक वर्ष मनाइन्छ। नेपालको परिप्रेक्ष्यमा प्राय: प्रत्येक वर्ष यो पर्व तराई होलीको दिन पर्ने गरेको पाइन्छ। बाहा पर्व तीन दिन मनाउने गरिन्छ। मुख्यत: सन्थाल समुदायको पर्व देशैभर एकैपटक हुँदैन। सन्थालहरूको स्थानीय स्वायत्त शासन प्रणालीअनुसार प्रत्येक चाडपर्व अथवा रीतिरिवाजहरूको आयोजना त्यहीँको गाउँको प्रमुख ‘माझी हाडाम’ले तय गरेअनुसारको दिनमा मनाइन्छ। जसका कारण यो पर्व पनि भिन्नाभिन्नै गाउँमा भिन्नाभिन्नै दिनमा मनाइन्छ। बसन्त ऋतुको आगमनसँगै सन्थाल बस्तीहरूमा यो पर्वको तयारी सुरुआत हुन्छ।

नायकीका साथीले काँधमा बोकेको पानी महिलालाई खन्याइदिने परम्परा छ। फूल पाएपछि महिलाहरूले यसलाई आफ्नो कपालमा र पुरुषहरूले कानमा सिउरिने गर्छन्। बाँकी फूलहरू उनीहरूले छानामा राख्ने गर्छन्। छानामा राखिएका फूलले त्यस गाउँमा बाहा मनाएको संकेत गर्छ।

यो पर्व सन्थालहरूको जीवनका लागि अत्यन्त महत्त्वपूर्ण छ। उनीहरू ‘प्रकृतिपूजक’ रहेको हँुदा धेरैजसो पर्व प्रकृतिमा निहित रहेर मनाइन्छ। यो पर्व नमनाइकन सन्थालहरूले आफ्नो छाना र प्राकृतिक गहना (फूल) लगाउन पाउँदैनन्। सन्थाल समुदायले आफ्नो घरको छाना बाहा परब मनाइसकेपछि मात्र नयाँ पराल तथा काँसले छाउने गर्छन्। सन्थाल समुदायले प्रयोग गर्ने गहनामध्ये फूल पनि एउटा महत्त्वपूर्ण गहना हो। सन्थाल पुरुषहरूले फूललाई कान र शिरमा लाउँछन् भने महिलाहरूले आफ्नो चुल्ठो र कपालमा सजाएर सिउरिने गर्छन्। सोहरायपछि बाहा पर्वको सुरुआत नभएसम्म सन्थालहरूले काठदाउरा काट्ने र बाहा (फूल)को प्रयोग गर्दैनन्।

सन्थालहरूले अधिकांश चाडपर्व प्रकृतिसँग मानवको सहभागितामा मनाउँछन्। बाहा पर्व प्रकृतिसँग झन् नजिक भएर मनाइन्छ। यो गाउँबाट केही टाढा रहेको जंगल अथवा सालको रूख भएको जाहेरथानमा सहभागी भएर मनाइन्छ। बाहा पर्व मनाउने समयमा पीपल, नीम, महुवा, सालजस्ता सबैभन्दा सामान्य रूखहरूले नयाँ पात, फूल वा फलहरू फलाउँछन्। जब रूखहरूको प्रजनन प्रक्रिया अगाडि बढेको हुन्छ, त्यस बखत कोपिला, फूल, पात र हाँगा काटेर तिनको शरीर र आत्मालाई विचलित गर्न हुँदैन भन्ने विश्वास छ।

त्यसकारण, सन्थालहरूले कहिले पनि आँपको रूखका फूलहरू वा फलहरू टिप्दैनन् र खाँदैनन्। बाहा मनाउनुअघि पीपल र नीमको रूखका पातहरू कहिल्यै झार्दैनन् वा च्यात्दैनन्। महिलाहरूले सजावटका लागि कपालमा सालका फूल प्रयोग गर्दैनन्। यस समयमा काठका लागि रूखसमेत काट्दैनन्। यदि यसरी रूखहरू काटिएका छन् भने दाउरा गाउँमा ल्याइँदैन। गाउँभन्दा परै राखिन्छ। नियमहरू उल्लंघन गर्नेको परिवारलाई नायकी (पुजारी)ले भेट्दैनन्। उनीहरूको घरमा फूल सांस्कृतिक र धार्मिक रूपमा भित्त्याइँदैन।

पहिलो दिन : बाहा पर्वको पहिलो दिनलाई ‘उम बाहा’ वा ‘जाहेर दाब्’ भनिन्छ। नुहाएर सरसफाइ हुनु र जाहेरथान छाना छाउनु भन्ने हो। यो दिन प्रत्येक गाउँका घरआँगन गोबरपानीले सरसफाइ गरिन्छ। नायकी वा गाउँका पुजारी शारीरिक र मानसिक रूपमा तयार हुने दिन हो। यस दिन, नायकी नुहाएर, नयाँ लुगा लगाएर र उपवास बस्ने चलन छ। त्यस रात नायकी श्रीमतीबाट पर हनुपर्छ । अलग्गै ओछ्यानमा सुत्नुपर्ने हुन्छ। अविवाहित युवा भए पनि चोखोनितो गरी अलग्गै सुत्नुपर्छ। साथीको काम पर्वभरि नायकीलाई सहयोग गर्नु हुन्छ।

बाहाको मुख्य पूजा गाउँ बाहिर पवित्र स्थान ‘जाहेर थान’ मा गरिन्छ। नायकी र गाउँका मुख्य व्यक्तित्वहरू जस्तै ‘माझी हाडाम (गाउँ प्रमुख), जगमाझी (सहायक प्रमुख), प्राणीनिक (न्यायमूर्ति), गोडेत (संयोजक), कुडाम नायकी (सहायक पुजारी) र अन्य गाउँले युवा ‘जाहेर थान’मा गएर सफा गर्ने कार्य गरिन्छ। अर्को दिनको पूजा कार्यक्रमका लागि त्यहाँ छानोसहितको सानो छहारी बनाइन्छ। नायकीले धेरै संख्यामा ‘पिन्ड (खण्ड)हरू’ (भगवान्लाई वेदी चढाउने ठाउँ) निर्माण गर्नु हुन्छ, जहाँ गोबरले लिप्नु हुन्छ। पिण्डहरूको संख्या गाउँअनुसार फरक संख्यामा हुने गर्छ। प्रत्येक ‘पिण्ड’ गाउँको विभिन्न ठाउँमा अवस्थित ‘बङ्गा’ (परोपकारी आत्मा) मध्ये एकको नामबाट राखिन्छ। ‘बङ्गा’हरू विशेषगरी गाउँ स्थापना गर्ने पूर्खाहरूले पत्ता लगाएका हुन्छन्, त्यही आधारमा पिण्डहरूको स्थापना गरिन्छ।

जब पुर्खाहरूले नयाँ गाउँ निर्माण गर्न स्थान छनौट गरे, त्यही समयमा गाउँको सीमा निर्धारण गरिएको थियो भने त्यही सिमानाभित्र मात्र घरहरू बनाउने नियम बनाइयो। यो सीमाभित्र, फरक नाम बोकेका विभिन्न बङ्गाहरूको पूजा हुने गर्छ। यी बङ्गाहरू त्यस स्थानका मूल निवासीहरू हुन्। तिनीहरूले त्यस ठाउँलाई सुरक्षित गर्दै आएको र बङ्गाहरूसँग मिलेर बसेमा मात्र गाउँका मानिस खुसी तथा समृद्ध हुन सक्छन् भन्ने जनविश्वास छ। यसैदिन नै नायकीले बाँसको नाङ्लो, कुचो, तिर, कापी, धनुष, बञ्चरो र सिकार गर्ने भाला आदि हतियार वस्त्रशस्त्रहरू सबै सफा गरेर तेल र मेथीको धुलोले दल्ने गरिन्छ। र सबै गाउँले स्नान गरेर पबित्र भएर बेलुकीपख नायकीको घरआँगनमा गोडेतले पुरुष समूह र महिला समूह बोलाएर भेला गर्छन्।

पहिले पहिले साँझपख छुट्टै प्रकारले महोत्सव मनाउने चलन थियो। कतिपय चलन हराइसकेका छन्। सामान्यत: गोडेतले गाउँबाट बटुलेर ल्याएका तीनवटा कुखुरा नायकीलाई दिन्छन्। नायकीले जाहेर आयो, मडेकु तुरुयकु र माराङबुरुलाई बली दिन्छ। अरू सहभागी पुरुष र महिलाको खुट्टाहरू धोइदिन्छन्। त्यसपछि पाट्योमा विपरीत दिशा भएर नायकी बाबा र नायकी बुढी नेतृत्वमा बस्छन्। महिला समूहले फुडुग (सखुवाको पातबाट बनेको गिलास) बनाउँछन्। दुई अविवाहित पुरुषलाई जाँड छान्न लगाई सबै बाँड्न लगाइन्छ। जुन सबैले पिउँछन्। बाजागाजा तुम्दाग, टामाक साथै बाहा लोकसंगीत गाउने र नाच्ने चलन छ 

देवताहरूसँग पुकार गर्ने खालका गीतहरू गाइन्छ। जसमा तीनजना युवक जाहेरका लागि आउँछन्। उनीहरू माराङबुरु र मडेकु तुरुयकु बनेर काम्दै काम्दै आउँछन्। तीनमध्ये एकजना जाहेरआयो बन्ने ब्यक्ति (जाहेरआयोको आत्मा चढेको हुन्छ) पुरोहितको छाप्रोमा पस्छन्। महिलाको गहनाहरू लगाएर टाउकोमा टोकरी र हातमा कुचो लिएर निस्कन्छन्। अर्को व्यक्ति माराङबुरु बनेर बन्चरो लिएर निस्कन्छन्। तेस्रो व्यक्ति मडेकु तुरुयकु बनेर हातमा तीर र धनुष लिएर निस्कन्छन्। तीनैजना युवक जाहेरथानमा काम्दै भेला हुन्छन्। उनीहरूसँगै गाउँका सम्पूर्ण सहभागी महिला, पुरुष गीत गाउँदै नाच्दै भेला हुन्छन्।

जाहेरथानमा तीन युवक त्यस वरिपरि जाहेर पिण्डहरू सुम्सुम्याउँदै कराउँदै र काम्दै लड्छन् पनि। पुन: नायकी घर फर्किएर आउँछन्। नायकीलाई ती तीन देवताका रूपमा रहेका युवकले जाहेरथानमा के के कमीकमजोरी भएको छ भन्ने बताउँछन्। त्यो गल्तीलाई नायकीले सुधार गर्नुपर्ने हुन्छ। एक मुठी चामल छर्केर विभिन्न अरू प्रश्न सोध्छन्, जसमा आउँदो वर्षमा के–के हुन्छ ? के के सावधानी अपनाउनु पर्छ ? भनेर।

तीन युवा देवताकै रूपमा जवाफ फर्काउन कोसिस गर्छन्। त्यस्तो गलत गतिविधि हुने सम्भावना भयो भने पहिले नै सफा ढंगले पूजा गरेर कामना गर्छन्। नायकी बूढीले ती तीन युवकको खुट्टा धुने परम्परा छ। जतिबेला गाउँले सबै खुसीले कराउँछन्। जाहेरएरा भन्ने व्यक्तिले दुई माराङबुरु र मडेकु तुरुयकुको खुट्टा पुन: धोइदिन्छन्। गाउँको माझीहाडाम फैसलाअनुसार तिनीहरूबाट बङ्गा वा देवता छुटेर घर जान्छन्। यससँगै सबै गाउँले पनि घर फर्किन्छन्। खानपिन नाच गरेर यो दिन समापन हुन्छ।

अर्को दिनको पूजा कार्यक्रमका लागि छानोसहितको सानो छहारी बनाइन्छ। नायकीले धेरै संख्यामा ‘पिन्ड (खण्ड)हरू’ (भगवान्लाई वेदी चढाउने ठाउँ) निर्माण गर्नु हुन्छ, जहाँ गोबरले लिप्नु हुन्छ। पिण्डहरूको संख्या गाउँअनुसार फरक संख्यामा 
हुने गर्छ।

दोस्रो दिन : बाहा पर्वको दोस्रो दिनलाई ‘बाहा पूजा वा बाहा आदेर’ भनिन्छ। जसको अर्थ फूल पूजा गर्नु वा फूल भित्त्याउने दिन हो। यो दिन गोडेतले गाउँको हरेक घरबाट चामल, कुखुरा, नुन, तेल, बेसार, मसला दाउरा बटुलेर ल्याउँछन्। नायकी बुढी (नायकीको पत्नी)ले चामलको पिठो कुट्छिन् र गाउँघरका छोरीचेली भेला गर्ने काम गर्छिन्। पहिलेपहिले जंगलनजिक अथवा जंगलको सखुवाको रूखको तलपट्टि जाहेरथान बनाइने गरिन्थ्यो। अहिले जंगल टाढा भएकाले प्रायजसो सखुवा (साल) रुखको तल जाहेरथान बनाएको पाइँदैन।

सखुवा फूल पनि सजिलैसँग पाउन सकिँदैन। त्यसैले यो दिन बिहानै माझी हाडामले गाउँका युवालाई सखुवाका फूलहरू जम्मा गर्न जंगलमा पठाउँछन्। साल फूल ल्याएपछि नायकीले नयाँ नाङ्लोमा राख्छन्। त्यसपछि नायकीलाई आवश्यक पर्ने सिन्दुर, पिसेको मेथी, पिन्डबराबरका कुखुराका बच्चाहरू र गाउँलेसँगै ‘जाहेरथान’तिर प्रस्थान गरिन्छ। जाहेरथानमा एक पवित्र ठाउँमा बनाएको हुन्छ। उक्त ठाउँमा नायकीले पहिले जाहेरआयो पिण्ड (खण्ड)हरू बायाँबाट दायाँतिर बनाउँछन्। माराङबुरु, मडेकु तुरुयकु आर गोसायबाबा गोसायगग गाउँको अलगअलग खण्ड बनाई बोङ्गा (देवता)हरूलाई बली पूजा गर्छन्।

पूजा गर्दा विशेषगरी जाँड चढाउने गरिन्छ। नायकीले सबै गाउँलेहरू, बालबालिका र युवालाई प्रार्थना गराउँछन्। प्रार्थनामा भनिन्छ, ‘जोहार... बाहा पर्वको नाममा हामीले वली दिएका छौं। कुनै प्रकारको नराम्रो नहोस्। हात, खुट्टा, टाउको, पेट केही पनि नदुखोस्। माटोमा कसैलाई नि मुच्र्छा पर्नु नपरोस्, हाम्रो स्वास्थ अवस्था ठिक रहोस्, कसैको आँखा नलागोस्’ आदि इत्यादि। जुन मन्त्रहरूबाट देवताप्रति प्रार्थना गरिन्छ। सोहीनुसार माझीथानमा फूल राखी प्रार्थना गर्छन्।

पूजा सकिएपछि नायकी र गाउँलेहरूले बली दिएको कुखुराको मासुसँग खिचडी तयार पारिन्छ। जसलाई ‘सुढो’ भनिन्छ। यो गाउँबाहिर जाहेरथान भएको स्थानमै खाने चलन हुन्छ। दिउँसो नायकी साथीसँगै सबै परिवारको भ्रमण गर्छन् र सालको फूल वितरण गर्छन्। प्रत्येक घरको एक महिलाले नायकीको सहयोगी साथी बनेर माझीहाडामको खुट्टामा तेल लगाएर धोइदिएपछि नायकीले घरको महिलालाई उनको साडी अथवा पञ्चिमा फूलहरू दिन्छन्।

यसैगरी, नायकीका साथीले काँधमा पानी बोकेर हिँड्ने गर्छन्। निजले प्रत्येक घरको महिलासँग ढोगभेट गर्नुपर्छ। त्यसबेला काँधमा बोकेको पानी महिलालाई खन्याइदिने परम्परा छ। फूल पाएपछि महिलाहरूले यसलाई आफ्नो कपालमा र पुरुषहरूले कानमा सिउरिने गर्छन्। बाँकी फूलहरू उनीहरूले छानामा राख्ने गर्छन्। छानामा राखिएका फूलले त्यस गाउँमा बाहा मनाएको संकेत गर्छ। यो क्रम गाउँभर सम्पन्न भएपछि पुरुष र महिलाले गाउने, नाच्ने, पिउने र आनन्द लिने गर्छन्।

तेस्रो दिन : बाहा पर्वको तेस्रो दिनलाई ‘बाहा बास्की वा दाग् दुल’ भनिन्छ। जसको अर्थ ‘बाहा पर्वको अन्त्य वा पानीले छ्यापेर भिजाउने’ दिन हो। यो दिन नायकी र उनका साथीहरू गाउँको प्रमुख माझीहाडामको घर जान्छन्। माझीहाडाम घरको कुनै महिलाले नायकीको खुट्टा धोन्छिन् र अर्को सहयोगी युवकले पानी झर्किदिन्छन्। नायकीले एक अञ्जुली फूल महिलाको हातमा दिँदै शुभकामना व्यक्त गर्छन्। नायकी साथै सबैले सम्बन्धअनुसार ढोक्छन्। यसरी नायकी घर बिदा हुन्छन्। पाहुनासँग रमाइलो गर्दै गाउँलेहरू हाँसीमजाक गर्न मिल्ने साइनो भएका व्यक्तिसँग पानी छ्यापाछ्याप गर्दै हर्सोल्लासका साथ बाहा पर्व मनाउँछन्। हाँसीमजाक गर्न मिल्ने साइनो भनेका सोल्टा–सोल्टि, साली–भिनाजु, नन्द–भाउजू, फुपाजु, हजुरबा–हजुरआमा हुन्छन्। तर, जेठान, जेठाजु, जेठानी दिदी, सासू, ससुरालगायत साइनो पर्नेसँग चाहिँ बाहामा पानी छ्यापाछ्याप गर्ने चलन रहेको पाइँदैन। नायकी आफ्नो घर फर्किएपछि आफ्नो छानामा पनि पानी छर्किन्छन्।

यसरी नै सन्थालहरूको फूलको पर्व बाहा हर्षोल्लासका साथ मनाउने चलन चल्दै आएको छ :

बाहा पर्वमा गाइने लोकगीत 
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
नायकी बाबा चालाग् ताबुन मादारबुरु बाहा बाजिज...२
नायकी बाबा आगुय ताबुन सरी सार्जम बाहा 
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
नायकी बाबा पुजाय ताबुन जाहेरथान रे...२

जाहेरथान रे हाले, माझीथान रे 
माझीथान रे हाले, जाहेरथान रे 
जाहेरथान रे सागुन ताबुन सरी सार्जम बाहा 
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
ताहा रिता नाना त्राना, नाहा ना ना हो 

नायकी बाबा आसेन दायना आतु–मा अन्डा अन्डा
नाइकी बाबा एम दायना सरी सार्जम बाहा 
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
देन सेना ना दायना काठ–मा गाडु...२
नायकी बाबा जाङगा दायना जाङगा दागेया 
नायकी बाबा एम दायना सरी सार्जम बाहा...२
सरी सार्जम बाहा दु दाय तुका रिलाङ आताङ 
सरी सार्जम बाहा दु दाय गुछा रिलाङ आताङ 
गुछा रिलाङ आताङ दाय बह रिलाङ बाहाय 
बह रिलाङ बाहाय लदब बेलदब
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
ताहा रिता नाना त्राना, नाहा ना ना हो 

नायकी बाबा चाला ताबुन मादारबुरु बाहा बानिज...२
नाइकी बाबा आगुय ताबुन सरी सार्जम बाहा 

भावानुवाद :

ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
नायकी बाबा जानु हुन्छ ठुलो पहाड फूल बानिज 
नायकी बाबाले ल्याउनुहुन्छ सगुन सखुवाको फूल
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
ताहा रिता नाना त्राना, नाहा ना ना हो 

नायकी बाबाले पुजा गर्नु हुन्छ जाहेरथान रे..२
जाहेरथानमा पनि, माझीथानमा
माझीथानमा पनि जाहेरथानमा
जाहेरथान सगुन गर्नुहुन्छ सगुन सखुवाको फूल
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
ताहा रिता नाना त्राना, नाहा ना ना हो 

नायकी बाबा डुलाउनु हुन्छ गाउँको घर घर 
नायकी बाबा दिनु हुन्छ सगुन सखुवाको फूल 
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
ताहा रिता नाना त्राना, नाहा ना ना हो 

दिनु है दिदी काठको पिरा...२
नायकी बाबाको खुट्टा धोइदिउ 
नायकी बाबा दिनु हुन्छ सगुन सखुवाको फूल 
सगुन सखुवा फूल दिदी केमा थाप्नु हामी 
सगुन सखुवा फूल दिदी कपडामा अञ्जुली
शिर लगाउ हामी
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, ताहा रिता नाना
ताहा रिता नाना त्राना, नाहा ना ना हो 
ताहा रिता नाना त्राना, नाहा ना ना होे 

नायकी बाबा जानुहुन्छ ठूलो पहाड फूल बानिज 
नायकी बाबाले ल्याउनु हुन्छ सगुन सखुवाको फूल

सन्दर्भ सामग्री

माझी मुर्मुको कुराकानीबाट
विश्वदीप बेश्राको सामाजिक सञ्जालबाट
हपनमाई हास्दाको लोकगीत

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.