धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत १८ मा हुने

बागलुङ : बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन समय तोकिएको छ।
क्याम्पस प्रमुख र विद्यार्थी संगठनको सोमबारको बैठकले चैत १८ गते निर्वाचन गर्ने निर्णय गरेको हो। चैत ५ गते हुने निर्वाचन विद्यार्थी संगठनहरूले क्याम्पसमा ताला लगाएपछि स्थगित भएको थियो।
सोमबारको बैठकमा पाँच बामपन्थी विद्यार्थी संगठनहरूले विरोध गरेपनि अन्य विद्यार्थी संगठन र क्याम्पस प्रशासनले निर्वाचन गर्ने निर्णय गरेका हुन्।
क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायले निर्वाचन स्थगित गर्ने बेलामा चैत १८ गते भित्र निर्वाचन गर्ने सूचना जारी गरेको र सोही अनुरुप विद्यार्थी संगठनहरूसँगको बैठकले निर्वाचन मिति तोकेको बताए।
उनले बैठकमा केही विद्यार्थी संगठनहरूले आफ्नो धारणा राखेर बाहिरिएपनि अन्य विद्यार्थी संगठनहरूसँग चैत ११ गते मनोनयन दर्ता र १८ गते निर्वाचन गर्ने समय निर्धारण गरिएको बताए।
‘हामीले १ गते निर्वाचन स्थगित गर्दा १८ गतेभित्र निर्वाचन गर्नेगरी सूचना जारी गरेका थियौं,’ प्रा.डा. उपाध्यायले भने,‘सोमबारको बैठकमा केहि विद्यार्थी संगठनहरू बाहिरिए पनि अन्य संगठनहरूसँगको सहमतिले १८ गते निर्वाचन गर्ने र त्यसको लागि ११ गते मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ।’ निर्वाचन समितिले निर्वाचनको प्रक्रिया अगाडि बढाउने प्राडा उपाध्यायको भनाइ छ।
नेपाल विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष दिनेश पन्तले संगठनहरू र क्याम्पस प्रशासनको बैठकले निर्वाचन मिति तोकेको र उम्मेदवारी फिर्ता, दाबी विरोधका समयहरूका बारेमा निर्वाचन समितिले निर्णय गर्ने सहमति भएको बताए।
यता, पाँच बामपन्थी विद्यार्थी संगठनहरूले भने निर्वाचन सम्बन्धी सूचना तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्।
अनेरास्ववियुका अनिल शर्मा, अखिल क्रान्तिकारीका खिमानन्द कंडेल, अखिल क्रान्तिकारी विप्लवका सुधन विक, अखिल क्रान्तिकारी बहुमतका दिवस खड्का र अखिल संयुक्त प्यानलका प्रविण सापकोटाद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमार्फत निर्वाचन सम्बन्धी सूचना खारेज गर्न माग गरिएको छ।
पाँच विद्यार्थी संगठनले असहमतिका बाबजुत जारी गरिएको निर्वाचनको सूचना खारेज गर्न तथा यसअघी विभिन्न माग राखेर गरेको तालाबन्दी फोड्ने विद्यार्थीको पहिचान गरी कारवाही गर्न माग गरेका छन्।
उनीहरूले यसअघि फागुन २५ गते क्याम्पसमा विद्यार्थीको फर्जी परिचयपत्र भेटिएको भन्दै तालाबन्दी गरेका थिए।
बामपन्थी विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीहरूका विषयमा छानविन गरिनुपर्ने, निर्वाचन निष्पक्ष र शान्तिपुर्ण ढंगले सम्पन्न गर्नको लागि क्याम्पस प्रशासनले फर्जि परिचयपत्रको छानविन गरी असम्बन्धित विद्यार्थीहरूलाई मतदाता सूचीबाट हटाउनुपर्ने, क्याम्पस प्रशासनले निर्वाचन प्रयोजन लागि सहायक क्याम्पस प्रमुखको एकल हस्ताक्षर भएको अस्थायी परिचयपत्र जारी गर्नुपर्ने र स्ववियु समितिले पछिल्लो ६ वर्षको आर्थिक प्रतिवेदन देखाउनुपर्ने माग राखेका थिए।
विद्यार्थी संगठन र क्याम्पस प्रशासनको पटक पटकको वार्ता र छलफलबाट समस्या समाधान नभएपछि नेपाल विद्यार्थी संघले ताला फुटाएको थियो।
पाँच विद्यार्थी संगठनका तर्फबाट सोमबार जारी गरिएको विज्ञप्तिमा क्याम्पस प्रशासनसँग राखिएको विभिन्न माग पूरा नभएपछि गरिएको तालाबन्दी अराजनीतिक तरिकाले फोडिएकाले उक्त घटनामा संलग्नलाई अबिलम्ब कार्वाही गर्न माग गरिएको छ।
बामपन्थी विद्यार्थी संगठनहरूले सोमबारको बैठकमा सहमतिमा निर्वाचन गराउने विषयमा छलफल हुँदै गरेको समयमा समेत क्याम्पस प्रशासनमा तालाबन्दी गर्ने, निर्वाचन विरोधी क्रियाकलाप गर्ने कार्यको विरोध गर्दै विज्ञप्ति मार्फत आफ्ना माग पूरा नभएसम्म निर्वाचनको प्रक्रिया अगाडि नबढाउन माग गरिएको छ।
अनेरास्ववियु धवलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष अनिल शर्माले अनेरास्ववियु निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा भएपनि आफुहरूले राखेका मागहरू पुरा गरिनुपर्ने बताए।
उनले सोमबारको बैठक चलिरहेको समयमा बैठक कक्षमा बन्दी गर्ने गरी तालाबन्दीको गोप्य सूचना प्राप्त भएपछि बैठकमा आफ्ना असहमति दर्ज गरी बाहिर निस्किसकेपछि तालाबन्दी गरेर क्याम्पस प्रशासनलाई बन्दी बनाई, दबाब सिर्जना गरी जबरजस्ती पाँच विद्यार्थी संगठनको असहमतिका बाबजुत निर्वाचनको सूचना तोकिएकोले तत्काल खारेज गर्नुपर्ने बताए।
पाँच विद्यार्थी संगठनले सोमबार तालाबन्दी गर्ने विद्यार्थीहरूलाई समेत पहिचान गरी तत्काल कारवाही गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
