किसानलाई अनुदानमा उन्नत जातका बोका वितरण
पोखरा : पोखराको अर्मलाका पशुपालक कृषकलाई ५० प्रतिशत अनुदानमा अन्नत जातका बोका वितरण गरिएको छ। अर्मला साना किसान कृषि सहकारी संस्थाको पहलमा पोखरा महानगरपालिकाले व्यवसायिकरूपमा बाख्रापालिरहेका १३ जना किसानलाई अन्नत जातका बोका अनुदानमा उपलब्ध गराएको हो।
अर्मला साना किसान कृषि सहकारी संस्थाले किसानलाई वितरण गरेको बोकाको बीमा गराउन र ढुवानीमा सघाएको छ। पशुको विमाका लागि नेपाल सरकारले ८० प्रतिशत विमामा सघाउँछ। बाँकी २० प्रतिशत बीमा सहकारीले उपलब्ध गराएको हो। पोखरा महानगरपालिकाले ३ लाख बराबरको १३ बोकाका लागि ५० प्रतिशत अनुदान दिएको हो। किसानले ५० प्रतिशत अनुदानमा उन्नत जातका बोका पाएका हुन्।
अर्मलाका व्यवसायिक किसानलाई थप हौसला प्रदान गर्न सहकारीको पहलमा उन्नत जातका बोका उपलब्ध गराइएको अर्मला साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष शोभा आचार्यले बताइन्। किसानलाई बोयर र जामुनापारी जातका बोका वितरण गरिएको हो।
किसानलाई आर्थिकरूपमा आत्मनिर्भर बन्न सघाउन सहकारीले सहयोग गर्दै आएको पनि अध्यक्ष आचार्यले बताइन्। अर्मला दुध, जेठो बुढो धान र बाख्रा पालनका लागि पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने पनि उनले बताइन्। गाउँका धेरै पुरुष सदस्य वैदेशीक रोजगारका लागि विदेश गएकाले महिलाले नै कृषि पेसा गर्दै आएको पनि उनले सुनाइन्।
प्रतिक्रिया दिनुहोस !
