चैते दसैंमा मन्दिर भक्तजनमय

बागलुङ : यस वर्षको अन्तिम चाड चैत्राष्टमी सुरु भएसँगै बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ।
चैते दसैंसमेत भनिने नवरात्र पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ। आश्विन शुक्लपक्षमा पर्ने दसैं अर्थात् बडादशैं जति भव्य रुपमा नमनाइए पनि चैते दसैंमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुन्छ।
गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिकामा पूजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ देशभरका हिन्दु धर्मावलम्बीहरू मन्दिरमा आउने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।
खड्काले चैत्राष्टमीमा मन्दिरमा भक्तजनहरूको भीड लाग्ने भएकोले व्यवस्थापन चुस्त पारिएको बताए। ‘चैत्राष्टमीमा मन्दिरमा भक्तजनहरूको भीड लाग्छ,’ अध्यक्ष खड्काले भने, ‘अघिपछि एउटा ढोकाबाट मात्र पूजाअर्चना गर्ने गरिए पनि चैत्राष्टमीमा तीनवटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ।’ मन्दिरमा भक्तजनहरूको सुरक्षा र व्यवस्थापनको लागि ३५ जनाभन्दा बढी कर्मचारी खटाइएको छ।
मन्दिरमा चैत्राष्टीमा नवरात्रभर बिहान ४ बजेदेखि नै भक्तजनहरू मन्दिरमा दर्शनको लागि पुग्ने गरेका छन्। मन्दिरमा काठमाडौं, पोखरादेखि विभिन्न ठाउँबाट मन्दिर दर्शनका लागि बर्सेनि भक्तजन आउने गरेका छन्।
पछिल्लो समय चैत्राष्टमीका बेला १०–१५ प्रतिशत भारतीय पनि बढेको अध्यक्ष खड्काले बताए। महाष्टमी र महानवमीका दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ। मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगासमेतको बलि दिइन्छ। पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ।
मन्दिरमा दर्शन गर्न गएका शेषकान्त रिजालले मानिस शान्ति र प्रगति एक अर्काका परिपुरक रहेकाले आत्माको शान्तिका लागि मन्दिर आउने गरेको बताए। रिजालले शक्तिपीठको दर्शनले आँटेको कामको गन्तव्यमा पुर्याउन मानसिक तनावहरू कम गर्दै एकीकृत रुपमा अगाडि बढ्न प्रेरित गर्ने बताए।
यस्तै, गीता कुमारी उप्रेतिले कालिकाको दर्शन गरेमा आँटेको मनोकांक्षा पूरा हुने जनविश्वास रहेकोले दर्शनको लागि आएको बताइन्।
परम्परागत रुपमा हरेक वर्ष हुँदै आएको चैत्राष्टमी मेला यस वर्ष पनि गुठीले सञ्चालन गर्ने तयारी गरेको छ। चैत्र १३ गतेदेखि १७ गतेसम्म हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष खड्काले बताए।
कालिका भगवती मन्दिर क्षेत्रमा हरेक वर्ष लाग्दै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए।
पर्यटन प्रवर्द्धन संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्परालाई निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष खड्काको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
