election background

प्रतिनिधि सभा निर्वाचन २०८२

बतासे झर्ना पदमार्गमा जोडिँदा पर्यटकलाई सहज

बतासे झर्ना पदमार्गमा जोडिँदा पर्यटकलाई सहज

कञ्चनपुर : गतिलो पदमार्ग नहुँदा विगतमा पर्यटकले घाँसका बोट समातर पहाड उक्लिदै शुक्लाफाँटा नगरपालिका–८ स्थित बतासे झर्ना पुग्ने गर्दथे। अहिले यस क्षेत्रमा पदमार्ग निर्माण गरिएपछि पर्यटकलाई गन्तव्यमा पुग्न निकै सहज भएको छ। ढुंगा विच्छ्याएर पदर्माग निर्माण गरिएको छ।

पहाडमाथि उक्लिने ठाउँमा ढुंगाका खुट्किला निर्माण गरिएका छन्। तेर्सो बाटोमा सहज रुपमा हिँड्न मिल्ने गरी ढुंगालाई एक नासले मिलाएर विच्छ्याइएको नगरपालिकाका प्राविधिक धीरज ऐरले बताए। खोलाखल्सीमा कल्भर्टका लागि ठाउँ छाडिएको बताउँदै उक्त स्थानमा पर्यटन बोर्डको १० लाख लागतमा कल्भर्ट निर्माण गरिने उनले जानकारी दिए।

नगरपालिका र जीविकोपाजर्न पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटिएलआरटी) बीच भएको लागत साझेदारी कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण गरिएको ऐरले बताए। परियोजनाको कूल लागत ३० लाख ५० हजार रहेकामा सम्झौता अनुसार १५ लाख ५० हजार नगरपालिका र १५ लाख एसटिएलआरटीले व्यहोर्ने उनले जानकारी दिए।

२१ लाख ९० हजारको लागतमा उपभोक्ता समितिमार्फत तीन किलोमिटर पदमार्ग निर्माण पूरा गरिएको प्राविधिक ऐरले बताए। तीन लाख ५० हजारको लागतमा होमस्टे तथा उद्यम सिर्जना गर्ने तालिम, होमस्टे नम्बरिङ र सूचना बोर्ड निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए।

ऐरका अनुसार बतासे झर्ना क्षेत्रमा एक लाख ५० हजारमा ‘थ्रि डि भिजेवल बोर्ड’ जडान गरिएको छ। झर्ना क्षेत्र पुग्ने मार्गका ५० ठाउँमा एक लाख ५० हजारमा पर्यटकीय संकेत चिह्न राखिएका छन्। पर्यटकीय क्षेत्रअन्तर्गत ठाउँठाउँमा ५० वटा फोहर विन्स जडान गरिएका उनको भनाइ थियो। 'पर्यटकीय क्षेत्रमा पुग्न यसअघि पदमार्ग नहुँदा निकै सास्ती हुने गरेको थियो। अहिले पदमार्ग निर्माणसँगै ठाउँठाउँमा संकेत चिह्न राखेका छौँ', उनले भने।

पदमार्गमा पर्यटकीय संकेत चिह्न, फोहर संकलनका लागि विन्सका साथै होमस्टे नम्बरिङ र सूचना बोर्ड राखेपछि पर्यटकलाई यात्रा गर्न सहज भएको शुक्लाफाँटा–८ का वडाध्यक्ष बहादुर सिंह महराले बताए। 'पर्यटकले ल्याउने खानेकुराका प्याकेट तथा प्लास्टिक, प्लेटलगायत सामग्रीले पर्यटकीय क्षेत्रको सौन्दर्यता बिग्रने भएकाले ठाउँठाउँमा फोहर संकलनका लागि विन्स जडान गरेका छौँ', उनले भने, 'पदमार्गमा राखिएका सूचना बोर्डले पर्यटकलाई गन्तव्यमा पुग्न थप मद्दत गरेको छ।'

पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकलाई फाइदा पुग्नुका साथै यहीँ मार्ग हुँदै सामान पिठ्यूँमा बोकेर डडेल्धुराको पर्शुराम नगरपालिकातर्फ जानेलाई पनि सहज भएको छ। पिठ्यूँमा पसलको सामान भरियामार्फत बोकाएर हिड्ने गरेकामा पदमार्ग निर्माणले आवतजावतमा सहजता थपेको व्यापरी धनबहादुर विष्टले बताए। 'गतिलो बाटो नहुँदा विगतमा पहाड उक्लिन निकै कठिन थियो' उनले भने, 'चिप्लेर चोटपटक लाग्दथ्यो।

थोरै मात्रै समान बोक्न सकिन्थ्यो। अहिले पदमार्ग निर्माण हुँदा ३० देखि ५० किलो सामान पिठ्यूँमा राखेर बोक्दै आएका छौँ।' उनका अनुसार डडेल्धुराको पर्शुराम नगरपालिकाका अधिकांश बासिन्दाको घरायसी सामान खरिद गर्ने, बिरामी हुँदा उपचारका लागि अस्पताल पुग्ने ठाउँ झलारी बजार हो।

मोहन महरका अनुसार पर्यटकीय गन्तव्यका रुपमा झर्ना खोला पार गर्दै पहाडका बासिन्दाले हिँडडुल गर्दै आएका छन्। 'पहिले बाटो नहुँदा खोला खोला भएर हिँड्थ्यौँ', उनले भने, 'अहिले पदमार्ग निर्माण भएपछि चिप्लिँदै लड्ने डर पनि छैन, सहज रुपमा हिँडेर गन्तव्यमा जाँदैछौँ।'

तीन किलोमिटरको पदमार्ग निर्माण गर्न ४५ दिन लागेको निर्माण समितिका अध्यक्ष कमल सिंह महराले जानकारी दिए। उनका अनुसार पदमार्ग निर्माणमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

निर्माणमा संलग्न मजदुर रामसिंह महराले घरव्यवहार चलाउनका यसअघि भारत जाने गरेकामा गाउँमै रोजगारी पाइएपछि जीविकोपार्जनमा सहज भएको बताए। 'गाउँमै काम पायौँ', उनले भने, 'एक महिना काम गरेर ३० हजार कमाइ भएको छ। यसले अबको ६ महिनासम्म परिवारको खर्च धान्न सकिन्छ।'

उपभोक्ता समितिमार्फत कार्य हुँदा स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर काम गराइएको समितिका अध्यक्ष महराले बताए। उनका अनुसार प्रविधिकतर्फका कामदारलाई प्रति दिन एक हजार र मजदुरी गर्ने कामदारलाई छ सयका दरले ज्याला दिइएको हो।

पर्यटकीय पदमार्ग निर्माण भएसँगै झर्ना जाने विश्रामस्थलका रुपमा रहेको धारापानी गाउँका बासिन्दाले पनि रोजगारी पाएका छन्। गाउँ घरमा उत्पादन हुने तरकारी, फलफूल, दूध, दही, ध्यू, कुखुरा, खसी, बोकालगायत कृषि उपज बिक्री हुन थालेका छन्। युवाहरूले गाउँमै पसल खोलेर आम्दानी लिन थालेका छन्।

पहिले भारत तथा अन्य जिल्लामा मजदुरीका लागि जाने धारापानीका साइम धामीले पसल सञ्चालन गरेपछि आम्दानी बढन थालेको बताए। 'सिजनमा निकै आम्दानी हुन्छ', उनले भने, 'सिजन सकिएपछि थोरै हुन्छ। त्यसले घर चलाउन सहज भएको छ।' पदमार्ग निर्माणले पर्यटकको आगमनमा बढोत्तरी भएको उनको भनाइ थियो। डडेल्धुराको पलगडी, सुवाखान, जमिर खाली, बरे गडा, पातली, सिमलबण्ड, गैरेपातल, सल्लेगुडी गायत क्षेत्रका बासिन्दा यसै मार्ग भएर तराई पुग्नका लागि ओहोरदोहोर गर्ने गर्दछन्।

'पहिला पसल तथा होमस्टे नहुँदा स्थानीयवासीको घरमा बास माग्न पर्यटक आउँथे। अहिले बतासे झर्ना पुग्ने पदमार्गको सहजताले पर्यटक बढन थालेका छन्। पर्यटकलाई लक्षित गरी खोलिएका होटलमा पहाडबाट झर्ने र उक्ले यात्रुले बास पाउन थालेका छन्', धारापानीका स्थानीय भुवन गौतमले भने। धारापानीको दक्षिणतर्फको सडक भने प्रत्येक वर्ष वर्षामा पहिरोका कारण भाँसिने गरेको उनले बताए।

सडक मार्गको पानी चुहिने ठाउँमा पक्की नाली निर्माण गरी पहिरो रोक्नुपर्ने स्थानीयवासीको माग छ। अहिले धारापानी गाउँसम्म पर्यटकले मोटरसाइकल, जीप, बस लगायतका साधनबाट पुग्ने गरेका छन। धारापानीबाट उत्तरतर्फको क्षेत्रमा बनाइएका पदमार्ग भएर झर्ना पुगिन्छ। कलकल गर्दै पहाडको माथिबाट बग्दै गरेको झर्नाको मनमोहक दृश्य नियाल्नका लागि गर्मी मौसममा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन्।

झर्नालाई गाउँका बासिन्दाले छेकुवा भन्ने गर्दथे। नगरपालिका गठनसँगै जनप्रतिनिधि आएपछि पर्यटकीय क्षेत्रको खोज गर्ने क्रममा भेटिएको झर्नाको नाम बतासे राखेका हो। दुई सय फिट माथिको पहाडबाट बग्ने झर्ना भूइँमा खस्दा त्यसका छिटा चिसो हावासँगै चारैतिर फैलिने भएकाले यसको नाम बतासे राखिएको पदमार्ग निर्माण समितिका अध्यक्ष महराले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.