बागमती प्रदेशको भ्रमण वर्ष २०२४ सुरु
हेटौंडा : अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै बागमती प्रदेशको भ्रमण वर्ष २०२४ सोमबारदेखि सुरु भएको छ। बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले हेटौंडा पत्रकार सम्मेलन गरी भ्रमण वर्ष सुरु भएको जानकारी दिएको हो।
प्रदेशभित्रका नयाँ पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटक आवागमन वृद्धिका लागि भ्रमण वर्ष शुभारम्भ गरिएको मन्त्रालयले जनाएको छ। भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रम भने केही समयपछि गरिने संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले बताए।
भ्रमण वर्ष २०२४ को प्रचार र प्रवर्द्धनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘बजेट पर्याप्त त छैन। तर हामीले निर्धारित कार्यक्रमलाई प्रभावकारी बनाउने, विदेशी पर्यटकहरूको बसाई लम्ब्याउने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रवर्द्धनात्मक कामलाई प्राथमिकता दिएका छौं’, उनले भने।
संघीय सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेपछि बागमती प्रदेश सरकारले पनि प्रदेश पर्यटन दशक २०२०–२०३० घोषणा गरेको थियो। कोभिड–१९ महामारीको जोखिम लम्बिँदै गएपछि प्रदेश पर्यटन दशकको घोषणा कार्यान्वयन हुन सकेन।
हवाई मार्गबाट आउने अधिकांश विदेशी पर्यटक संघीय राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका कारण पर्यकटलाई स्वागत र आकर्षित गर्ने पहिलो अवसर बागमती प्रदेशलाई छ।
विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० मध्ये आठ सम्पदा यसै प्रदेशमा छ। सबैभन्दा बढी पर्यटक आउने मुख्य गन्तव्य काठमाडौं उपत्यकाका साथै देशकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा पनि यसै प्रदेशमा पर्छ।
यी बाहेक बागमती प्रदेशमा सिन्धुपाल्चोक र रामेछापको सिमानामा रहेको सैलुङ, दोलखाको जिरी र कालिञ्चोक, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, काभ्रेको धुलिखेल, नगरकोट, मकवानपुरको दामन चित्लाङ, इन्द्रसरोवर, धादिङको रुबिभ्याली, नुवाकोटको साततले दरबार, सिन्धुलीको सिन्धुलीगढी, चितवनको देवघाट लगायत क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन्।
प्रतिक्रिया दिनुहोस !