जनकपुरधाममा रामायण काँन्क्लेव
जनकपुरधाम : नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बढि प्रगाढ बनाउने उद्देश्यले जनकपुरमा रामायण काँन्क्लेवको आयोजना गरिएको छ । हिन्दुधर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा राम र मिथिलाको राजधानी जनकपुरका राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो । सोही सम्बन्धलाई आधार मानेर वर्तमानमा पनि जनकपुर र अयोध्याबीच सांस्कृतिक सम्बन्ध रहेको छ ।
सोही सम्बन्धलाई पुर्नताजगी दिन र अझ बढि बलियो बनाउने उद्देश्यले दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी गराएका छन् ।
भारतको उत्तर प्रदेश पर्यटन विभाग,अन्तर्राष्ट्रय रामायण एवं वैदिक शोध संस्थान,अयोध्या (संस्कृति विभाग,उत्तर प्रदेश) तथा जानकी मन्दिर जनकपुरधाम तथा जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा शनिबार बाट मन्दिरकै प्रांगनमा कार्यक्रम सुरु भएको हो ।
रामायण काँन्क्लेवको पहिलो सत्रमा हुने रामायण समागम अन्तर्गत भारतका जगतगुरु विद्या भाष्कर महाराज, सन्त सुखदेव दास, बालक दास र नेपालका धर्मगुरु डा. पुरुषोत्तम आचार्य, रामानन्द महाराजसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले रामायणकालदेखि जुडेको सांस्कृतिक सम्बन्धका विषयमा चर्चापरिचर्चा गरेका थिए।
जनकपुर र अयोध्याबीच प्रेम र सद्भावको सम्बन्ध छ । रामको महत्व सीतासँग छ । जनकपुरले विश्वलाईनै प्रेम र मिलनको सन्देश दिन्छ यो अलौकिक भूमिलाई अन्तर्राष्टिय पहिचानको आवश्यकता छ,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास वैष्णव भन्छन्,'जनकपुरले वर्तमान युगसम्म पनि रामायणको महत्वलाई जिउँदो राखेको छ । यहाँ सीतालाई बहिनी मानेर घरघरमा पुजा गरिन्छ । यो भूमिलाई छोरीको महिमाले चिनिन्छ त्यसैले जनकपुर छोरीहरुको महत्वलाई विश्वसामु अग्रणी रुपमा अघि सार्दछ ।’
काँन्क्लेवमा रामायणको झझल्को दिने तथा भारत नेपाल बिचको लोक सांस्कृति नृत्यहरु प्रर्दशन गरिएको थियो । जसमा भारत र नेपालका कलाकारहरुले प्रस्तुती देखाएका थिए । भारतको मथुराबाट आएका कलाकारहरुले प्रस्तुत गरेको बमर सिया र धोबिया नृत्य तथा जनकपुरको मिथिला नाट्यकला परिषद्द्धारा आयोजना गरिएको जानकी लीला प्रर्दशनले दर्शकहरूलाई भावविभोर गरेको थियो ।
त्यसैगरी भारतका मात्र नभई अन्तर्राष्टिय रुपमै ख्याती प्राप्त गरेका भजन सम्राट पद्मश्री पुरस्कारबाट सम्मानित अनुप जलोटाको भजन सन्ध्याले कार्यक्रमलाई अझ बढि मनोरम र भव्य बनाएको थियो । काँन्क्लेवको दोस्रो दिन आइतबार रामार्चन काव्य संध्याको आयोजन गरिएको छ । जसमा भारत लखनऊकी निकै प्रसिद्ध गायिका मालिनी अवस्थी, चिराग जैन, अनिल चौबे, अभय निर्भीक, सुफलता त्रिपाठी, सौरभ जायसवाल लगायतका कविहरुको सहभागिता रह्नेछ । त्यसैगरी जनकपुरधाको मैथिली विकास कोशको आयोजनामा झिझिया एवं क्षरी क्षरी नृत्य प्रस्तुत गरिने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस !