चैत १५ को घटनाले ‘लेसन–लर्न’ भो
चैत १५ गते तीनकुने क्षेत्र हिंसात्मक हुन पुग्यो। सो दिनको प्रदर्शन राजनीतिक हो कि आपराधिक ?
अब प्रहरी कसरी अघि बढ्छ ?
पुनः विभिन्न भेला, प्रदर्शन गरिने घोषणाहरू भएका छन्। के छ, योजना ?
विभिन्न किसिमका धर्ना, जुलुस, कोणसभा इत्यादिमा सुरक्षा दिन्छौं। तर, यदि कुनै पनि आपराधिक कर्म वा उच्छृंखल गतिविधि हुन्छ भने निस्तेज पार्छौं। प्रहरी परिचालन गर्छौं। सबै सुरक्षा निकाय समन्वयात्मक ढंगले अघि बढ्छौं।
घटनामा दुई जनाको ज्यान गयो। आगजनी, तोडफोड, लुटपाट भइरहँदा पनि सुरक्षा निकायबीचको समन्वय र प्रभावकारी भएको त देखिएन ?
हाम्रो समन्वय राम्रो छ। केन्द्रीय, प्रदेश, जिल्लागत रूपमा हुने हाम्रो समन्वय राम्रो छ। केही ग्याप होलान्। कहिलेकाहीँ कुनै कमान्डर फिल्डमा खटिँदाखेरि अथवा नखटिँदाखेरि समन्वय नभएको रहेछ भने त्यसलाई फिडब्याकको रूपमा लिन्छौं। हाम्रो समन्वयमा कुनै समस्या छैन।
घटना परिस्थितिको पूर्वआकलन गर्न त चुक्नु भयो। हैन त ?
त्यस्तो चुकेको अवस्था होइन। यो रुटबाट यसरी शान्तपूर्वक कार्यक्रम गर्छौं भनेर आयोजकले भनेको अवस्था थियो। प्रदर्शनमा आउनेले रुट पालना त गरेकै थिए। तर, त्यसको नेतृत्व गर्ने दुर्गा प्रसाईंको निर्देशन र उनका केही व्यक्तिहरूले स्थिति भड्काए। अराजक बनाएको पाइयो।
प्रहरीले कर्डन गरेर बसिरहेको अवस्थामा गाडी चलाउँदै दुर्गा बुलेट जसरी आए। त्यो आकलन नगरेको विषय थियो। नेतृत्वकर्ता नै अराजक मानसिकतामा त्यसरी आउँलान् भन्ने लागेको थिएन। त्यो चाहिँ आकलनभन्दा बाहिर हो। अरु त हामीले आकलन गरेकै विषय थिए। तोडफोड, आगजनी गर्न सक्छन् भन्ने आधारमा सबै सुरक्षा संयन्त्र तैनाथ गरिएको थियो। झुन्डझुन्डमा, स–सानो टुक्रा—टुक्रा भएर विभिन्न ठाउँमा गएर हिंसात्मक कार्य गरी नहाल्लान् कि भन्ने थियो।
इन्टेलिजेन्स त हेरेको हेर्यै भयो जस्तो लाग्दैन, तपाईंलाई ?
हैन, यसमा कमजोरी त भन्दैनौं। केही ग्याप छन्। यो ग्याप पूर्ति गर्न आउने दिनमा लेसन–लर्न गरेर जाने विषय बन्यो।
दुर्गा प्रसाईंको पृष्ठभूमि विवादित पनि छ। उद्दण्ड र चलाख छन्। उनको पलपलको निगरानी गर्नुपर्ने होइन ? यसमा त चुकेको हो नि ?
अहिले पनि उनलाई पक्राउ गर्न कन्टिनियस रूपमा लागेका छौं। हाम्रा टोली परिचालित छन्।
चैत १५ को प्रदर्शनीमा प्रहरीको पहिलो सुरक्षा घेरा सामुन्ने बुलेट जसरी आफैं गाडी हाँकेर आएका प्रसाईंलाई तत्कालै पक्राउ गर्नुपर्ने थियो भन्ने अहिले महसुस भएको छैन ?
त्यो बेलाको परिस्थिति अवस्थालाई ट्याकल गर्नुपर्ने थियो। किनभने त्यहीं बेला आगजनी, तोडफोड भएको थियो। तोडफोड, आगजनीलाई नियन्त्रण गर्नुपर्ने पहिलो चुनौती थियो। व्यक्ति पक्राउ भन्ने त दोस्रो सिफ्टको कुरा हो। अहिले जहाँ पुगेको भए पनि प्रसाईंलाई पक्राउ गरी कानुनी दायरामा ल्याउँछौं।
टार्गेट एरिया (लक्षित गरिएका संवेदनशील क्षेत्र) को निगरानी त शून्य नै रह्यो नि ?
के भनुँ ? शून्य नै रहेको त होइन। भृकुटीमण्डपमा अर्को ठूलो आमसभा थियो। समाजवादी मोर्चाको आन्दोलनमा पनि प्रहरी परिचालन हुने नै भए। एकैदिन दुईतिर प्रदर्शन हुँदा जनशक्ति, स्रोतसाधनका हिसाबले सुरक्षामा केही पातलोपन भएको महसुस भएको छ। समग्रतामा सबै ठाउँमा सुरक्षा प्रवाह गर्नमा केही त्रुटि भएको अनुभूति भएको छ।
उसो भए जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट एकैदिन दुई स्थान अर्थात् समाजवादी मोर्चालाई भृकुटीमण्डप र राजावादी समूहलाई तीनकुनेमा प्रदर्शन गर्न दिनु उचित थिएन, होइन त ?
एकैदिन दुई ठाउँमा प्रदर्शनको अनुमति दिनु उचित थियो वा थिएन भन्न मिलेन। जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर शान्तपूर्वक यो – यो रुटबाट यसरी कार्यक्रम गर्छांै भनेर आयोजकले भनेको देखिन्छ। एकैदिन दुईतिर सुरक्षाकर्मी परिचालन हुँदा ड्युटीमा केही पातलोपन भएको महसुस भएको छ।
प्रदर्शनकारीले रुट पालना गरेका थिए त ?
रुट पालना त गरेका थिए। तर, त्यसको नेतृत्व गर्ने दुर्गा प्रसाईं र उनको निर्देशन, प्रसाईं निकट केही व्यक्तिहरूले स्थिति अराजक बनाए। स्थिति भड्काएको पाइयो।
फागुन ७ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले जुन किसिमले आह्वान गरे। त्यसको विश्लेषण गर्दै नवराज सुवेदीदेखि दुर्गा प्रसाईंसम्मका व्यक्तिको पलपल गतिविधिको निगरानी र सूचना संकलन गर्नुपर्ने होइन र ?
निगरानी भएकै हो। राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतबाट सूचना संकलन भएको हो। विश्लेषण गरिएको पनि हो। यस्तो घटना नघट्नु पर्ने थियो। घटिहाल्यो। तोडफोडलगायत केही न केही हुन सक्छ भन्ने आकलन त थियो।
ए... त्यसो भए प्रदर्शनकारीबाट हुन सक्ने जनधनको क्षतिलाई कम आकलन गरिएको थियो, होइन ?
त्यस्तो व्यापक ढंगले हिंसात्मक कार्यहरू गर्लान् भन्ने बुझिएको थिएन। लेसन लर्न गर्दै आगामी दिनमा मजबुत भएर जाने गरि लागेका छौं।
रिजर्ब फोर्स पनि त हुन्छ। त्यसको पनि उपयोग गर्न सकिएन है ?
रिजर्ब फोर्स पनि उपयोगकै लागि ठाउँठाउँमा राखिएका त थिए। तर, रिजर्ब फोर्सलाई त्यस ठाउँमा तान्नका लागि त्यसदिन सबैतिर रुटहरू अस्तव्यस्त थिए। रुटहरू अस्तव्यस्त भएकोले कुनै ठाउँमा हिँडेर जानुपर्ने पनि भयो। रिजर्ब फोर्सको व्यवस्था त पर्याप्त नै थियो। निषेधित क्षेत्र छोड्न पनि भएन। मास फेरि निषेधित क्षेत्रमा प्रवेश गर्न पनि सक्थ्यो। त्यसकारण प्रहरी कहीँ ढिलो पुगेको पनि होला। कहीँ ५ मिनेटमा पुगेको होला। १० मिनेटमा पुगिने ठाउँमा २० मिनेट पनि लागेको हुन सक्छ। सबै ठाउँमा सवारी साधनबाट पठाउन सकिने अवस्था थिएन। हिँडेर पुग्नुपर्ने अवस्था पनि थियो।
त्रिभुवन विमानस्थलदेखि इन्धन डिपो, पेट्रोलपम्प, मिडिया हाउस, शैक्षिक प्रतिष्ठान भएको सिनामंगल, तीनकुने क्षेत्रजस्तो संवेदनशील ठाउँ हो। सुरक्षाको राडारभित्र पनि पर्छ। यो क्षेत्रमा स्थानीय रूपमै जुलुस प्रदर्शन निषेधित क्षेत्र घोषणा गर्नुपर्छ जस्तो लाग्दैन तपाईंलाई ?
जिल्ला प्रशासन कार्यालयले पुनर्विचार गरेर आगामी दिनमा लेसन लर्न गरेर प्रमुख जिल्ला अधिकारीले त्यहीँअनुसारको डिसिजन गर्नु होला।
फ्युचरको लागि पनि लेसन लर्न त गर्नु पर्यो नि। हैन र ? चैत १५ को घटनाबाट प्रहरीले के लेसन–लर्न गर्यो त ?
धेरै कुराहरू लेसन लर्न गरेका छौं। मानवीय, भौतिक, प्राविधिक, कोअर्डिनेसन, कोलाबोरेशन यी सबैमा लेसन लर्न गरेका छौं। सोही अनुसार, कमीकमजोरी नहुने गरी, सुरक्षा व्यवस्थापनलाई मजबुत गर्ने गरी सुरक्षा निकाय सबै एक ढिक्का भएर अगाडि बढ्ने लेसन लर्न गरेका छौं।
भोलि कुनै व्यक्ति वा समूहले सिंहदरबार, संसद्मै पनि आत्मघाती कदम चाल्न सक्ने जस्तो जोखिम रहन्न र ? हालसम्मका प्रवृत्तिहरू राम्रो देखिएका छैनन् नि ?
यी सबैको हामीले आकलन गरेका छौं। यस्ता घटना नहोलान् भन्न सक्ने भएन। हुन सक्ला भन्ने एजम्सनमा हामी काम गर्छौं।
चैत १५ को घटनामा राजावादी मात्र संलग्न छन् कि देशीविदेशी तत्वको पनि घुसपैठ छ ?
होला नि, त्यहाँ। एउटा मात्र समूह भए पो कुरा गर्नु ? त्यहाँ धेरै छन्।
भनेपछि राजावादीको नाममा घुसपैठ भएको छ ?
घुसपैठको कुरा त बेग्लै भो। त्यहाँ प्रदर्शन गर्ने भन्ने समूह पनि धेरै छन् त। झन्डै झन्डै ३९ प्लस समूह होलान् जस्तो लाग्छ।
गृहमन्त्रीसहितको बैठकमा यो घटनाको बारेमा समीक्षा भइरहेको छ ?
डे टु डे समीक्षा भइरहेको छ।
निष्कर्ष के निस्कियो ?
निष्कर्ष निस्किँदै छ। हामी निकाल्दै छौं।
आफैंले गाडी हाँकेर प्रहरीको सुरक्षा घेरा पेल्दै आएका कमान्डर दुर्गा प्रसाईंले चलाएको गाडीको टायरमा त गोली हान्नु भएन त ? किन ?
तपाईंले भनेको कुरा लास्ट इपिसोडको हो। हाम्रो एक्सन चाहिँ टायरमै गोली हान्ने हो। गाडी नरोकिँदाको अवस्थामा हो। प्रहरीलाई मार्ने उद्देश्यले नै गाडीमा आएको देखियो। तर, प्रहरीले गाडी रोकेको थियो। रोकिसके पछि गाडीको चालक बस्ने सिसा हातले फोडर चाबी लिइएको थियो। चाबी लिइसकेको अवस्थामा गोली हान्नै परेन। गाडी अडियो।
यदि गाडी नअडिएको भए तपाईंले भने जस्तै टायरमा मात्र होइन कहाँ कहाँ हान्नुपथ्र्यो, त्यहाँको कमान्डरले हानिहाल्थ्यो। हाम्रो उद्देश्य त कम क्षति गर्ने हो नि त। सिसामा मात्रै फोडेर साँचो निकाल्यौं त। मञ्चमा जाउ भनेर पठायौं नि त। हो हल्ला गर्दै मञ्चसम्म पुगेको अवस्था पनि हो। मञ्चमा कार्यक्रम गर्ने स्थानमा त पुर्याइदिएकै हो नि। कार्यक्रमै नगरी भीडलाई उत्तेजित बनाएर आपराधिक कार्य गर्नेतिर लाग्नु भयो।
भीड नियन्त्रणको लागि रबर अथवा अन्य स्रोतसाधन पर्याप्त छ कि छैन ?
पर्याप्त छैन भन्न त मिल्दैन। पर्याप्त नै छ। नेपाल सरकारले बेलाबेलामा बजेट दिएको अवस्था आफ्नो ठाउँमा रहे। जुलुस तथा भीड नियन्त्रणमा नेपाली अग्रस्थानमा खटिएकै अवस्था हो। अभावै छ भन्दाखेरि कसरी अभाव भन्नु ? परेको बेला निकालेकै छौं। वाटर च्यानल पनि छ। टियर ग्यास पनि छ। हवाई फायर गर्ने राउन्ड पनि छ। हतियार पनि छ। गोली चलेको छ।
भीडको मनस्थिति, मनोविज्ञान (साइकोलोजी) यी सबै हेर्दा अहिले हामीसँग भइरहेकोमा अझ एडभान्स र अझ राम्रो खालको ब्यारिगेट भेइकल, आधुनिक खालका स्रोतसाधन आवश्यक हुन् भन्ने लाग्छ। अहिले भइरहेका लाठा, डन्डा त हामीलाई पर्याप्त नै छन् नि।
आयोजकहरूले शान्तिपूर्ण प्रदर्शन भनेर अनुमति लिए पनि नियत शान्तिपूर्ण नै थियो त ?
भन्नलाई शान्तिपूर्ण प्रदर्शन नै भने। मञ्च पनि बनाएको अवस्था थियो। माइकिङ पनि गरेको अवस्था थियो। तर, मञ्चको प्रयोग भीड भड्काउनको लागि मात्र भयो। शान्तिपूर्ण रूपमा प्रयोग गर्न खोजे जस्तो मलाई लाग्दैन।
आयोजकले बनाएको मञ्चको संरचना अवलोकन गरेर पूर्वआकलन वा विश्लेषण गर्न सकिन्थ्यो होला नि ?
शान्तिपूर्वक आन्दोलन गर्छौं भन्नु भएको थियो। तर, उल्टो गर्नुभयो। अशान्ति गर्दिनु भयो। एक्सट्रिम टाइपको अशान्ति गर्दिनु भयो। आपराधिक कार्य गर्नु भयो।
आयोजकमाथि तपाईहरूले पूरै विश्वास गर्नुभयो। प्रदर्शन शान्तिपूर्ण हुनेमा फुल कन्फिडेन्स हुनु भयो। हैन ?
सानो मञ्च किन बनाएका होलान् ? भन्ने त लागेको थियो। तर, मञ्चमा थोरै नेता, अभियन्ता मात्र बस्ने र बोल्ने होलान् भन्ने पनि लाग्यो। तीनकुने चौरको ठूलो फिल्डमा अरू प्रदर्शनकारी उभिने होलान् भन्ने सोच्यौं। सानो मञ्च बनाउने तर पछि हिंसात्मक कार्य गर्न सक्छन् कि भन्ने आकलन गर्न सकेनौं। किनकि, आयोजकले शान्तिपूर्ण गर्छौं भन्नु भएको थियो। अशान्ति गर्नुभयो।
भीड नियन्त्रण गर्न अन्य सुरक्षा संयन्त्रसँग पनि सहयोग मागिएको थियो ?
अन्य सुरक्षा संयन्त्रसँग माग्ने भन्दा पनि सँगसँगै हुनुहुन्छ नि। पछि कफ्र्यु लागेपछि त नेपाली सेना पनि त आउनुपर्यो नि।
नेपाल एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड भएपछि अवलोकन गर्न जाँदा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्री रमेश लेखकलाई तपाईंको कमान्ड सुरक्षा निकायले मान्दैन ? भन्दै प्रश्न गर्नुभयो नि ! तपाईंकै सामुन्ने गर्नु भएको थियो। कमान्ड नमानेको हो ?
हैन। कहाँ होला त्यस्तो।
तपाईंकै सामुन्ने भन्नुभएको थियो नि ?
पार्टी कार्यालय तोडफोड भएको थियो। गृहमन्त्रीज्यूकै अगुवाइमा सबै ठाउँमा स्थलगत रूपमा गर्यौं। हेर्यौं। त्यसअनुसार आगामी रणनीति बनाउन पनि सजिलो भयो। पार्टी कार्यालयमा जाँदा उहाँले राख्नुभएको विषय हो, त्यो। तर, त्यस्तो होइन।
उसो भए गृहमन्त्रीको कमान्ड नमानेको होइन ?
होइन। होइन। होइन।
यस्तै खालको हिंसात्मक घटना हुन सक्ने केही सूचनाहरू प्राप्त भएको छ कि ?
यो त झुन्ड भयो नि त। यो त आपराधिक कार्य गर्ने झुन्डै भो नि। यो त देखियो नि। अब घटना हुन नदिनका लागि हामी सबै सुरक्षा निकाय त्यसमा पनि नेपाल प्रहरी जो अग्रपंक्तिमा रहन्छ, जनतासँग प्रत्यक्ष रहेर काम गर्छ। हामी अगाडि लाग्छौं। जनताको जीउधन, शान्ति सुरक्षा, अमनचयन कायम गराउनको लागि प्रतिबद्ध, कटिबद्ध भएर लाग्छौं। हामी घाइते भए पनि अर्को घाइतेलाई बचाउँछौं। तर, प्रहरीको काम एक्सन गर्ने पनि हुन्छ। एक्सन गर्दा हताहती पनि हुन्छ। मृत्यु पनि हुन सक्ने अर्को पाटो भयो।
सीमित स्रोतसाधनलाई अधिकतम प्रयोग गर्ने, अधिकतम धैर्यतामा काम गर्ने, आग्रह, पूर्वाग्रह नराखी काम गर्ने, नेपालको संविधान र प्रचलित कानुन तथा नेपाल सरकारले बनाएका अनेक ऐन, कानुनको परिधिभित्र रहेर काम गर्छौं। अधिकृतदेखि जवानसम्म सबै एक ढिक्का भएर लाग्छौं।
विश्लेषकहरूले नेपाल प्रहरी प्यारालाइज जस्तो देखियो भनेर टिप्पणी पनि गर्छन् नि ! त्यस्तो हो ?
नेपाल प्रहरी कुनै प्यारालाइज भएको छैन। हाई मोरलकासाथ हाम्रा जवानहरू, फिल्डमा खटिने कमान्डरहरू टोली अगाडि लागेकै छन्। त्यसमा कुनै शंका गर्नु पर्दैन। गर्नुपर्ने काममा लागेकै छन्। तर, आम नागरिकको अपेक्षा कस्तो हुँदो रहेछ भने यस्तो गर्दिएको भए हुन्थ्यो नि, उस्तो गरिदिएको भए हुन्थ्यो नि भन्ने हुँदो रहेछ। हामीले पनि सबै ऐन, कानुनभित्र रहेर बल प्रयोगका सिद्धान्तको पालना गरेर सिलसिलेबर प्रयोगमा लाग्नुपर्ने हुन्छ। सर्वसाधारणको अपेक्षा धेरै छन्। त्यो अपेक्षा मिट गर्नको लागि हामी लाग्ने हो।
हामीले भीडको मनस्थिति, मनोविज्ञान बुझेर अगाडि बढ्ने हो। प्रहरीको मनोबल गिरेको अवस्था छैन। आधुनिक खालका स्रोतसाधनको कमीका कारणले होला जस्तै ब्यारिकेट भेइकल, राइटकल भेइकलजस्ता साधन व्यवस्था गर्ने हो भने जनतालाई सुरक्षित गराउँछु र भीडबाट आफू सुरक्षित हुन्छु भन्ने आभास भएपछि मनोबल हाई भइहाल्छ नि !
फरक प्रसंगमा जाउँ, प्रदर्शनमा कमान्डर घोषित दुर्गा प्रसाईंलाई अहिलेसम्म किन पक्राउ गर्न नसकेको ?
म्यानुअल्ली त लाग्यौं। टेक्निकल्ली पनि लाग्यौं। अपराध गर्ने अथवा आपराधिक कार्यमा लागेको मान्छे एक स्टेप त अगाडि हुने भयो नि। हामीले नगरेको होइन। दुई युनिटका एसएसपीसहितको टोली लाग्यौं।
पहिल्यै किन पक्राउ गर्नु भएन ?
पहिला हामी हुल, भीड व्यवस्थापनतिर लाग्यौं। उद्धार गर्नेतिर लाग्यौं। तोडफोड नियन्त्रण गर्नेतिर लाग्यौं। त्यसपछि बल्ल हामी मान्छे पक्राउ गर्नेतिर लाग्यौं। हाम्रो फलो अप भएको थियो। अब उनी भागे। कति दिन भाग्ने हो ? भागेर कहाँ जाने होला र ? कानुनी दायरामा त आउनै पर्ला नि। हामी ल्याउँछौं।
कहिलेसम्म पक्राउ गर्नुहुन्छ ?
कहिलेसम्म भनेर टाइम त यकिन गर्न सक्दिनँ। जे होस कन्टिनियस हाम्रो टोलि लागेको छ। चाँडोभन्दा चाँडो उहाँ एरेस्ट हुनु हुनेछ। कताबाट एरेस्ट हुनुहुन्छ, त्यो थाहा छैन। तर, एरेस्ट हुनुहुन्छ।
उहाँ नेपालभित्रै हुनुहुन्छ कि बाहिरै पुगिसक्नु भयो ?
हामी त्यसमा हेर्दै छौं।
फेसबुकमा भिडियो दिइरहेका छन् त ?
त्यो मैले पनि हेरें। हाम्रो साइबर ब्युरोले हेरिरहेको छ। यहाँलाई सबैकुरा भन्न पनि मिलेन। उहाँलाई पक्राउ गर्न लागेका छौं।
चैत १५ को घटना त ट्रायल हो भन्छन् त कतिपय प्रदर्शनकारीहरू ?
हामी बिचलित नभई अघि बढ्छौं।
प्रदर्शनका केन्द्रीय संयोजक नवराज सुवेदीलाई अहिले नजरबन्दमा राखिएको हो ?
हामीले केही गरेका छैनौं। नजरबन्दमा राख्नुपर्ने आवश्यकता नै छैन। किन नजरबन्दमा राख्नु ?
त्यसो भए निगरानीमा राखिएको हो त ?
निगरानीमा चाहिँ होला। निगरानी त गर्छौं नि ! उहाँको मात्र होइन यस्ता गतिविधिमा लाग्ने समूहको निगरानी त प्रहरीले गरिहाल्छ नि। निगरानीमा राख्ने र नजरबन्दमा राख्ने कुरा फरक हुन्। नजरबन्दमा राख्दा त त्यसको लिगालिटी, प्रोसेस हुन्छ। नजरबन्दमा राखेको छैन।
नवराज सुवेदीले बेलाबखत भेटघाट गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि निगरानीमा राखिएको होला, हैन ?
अघि नै भनें नि ! आपराधिक क्रियाकलाप गर्ने व्यवस्था विरोधी समूहहरू, व्यक्तिहरू छन् भने त्यसको निगरानी गर्नु सुरक्षा निकायको, राज्यको त कर्तव्य नै हो नि त। त्यो काम त गर्नै पर्यो नि त।
निगरानी किन र केका लागि ?
आपराधिक क्रियाकलाप हुन्छ कि भनेर हो। संविधानका मौलिक हकको कार्यान्वयन गर्ने कुरामा त केही मतलब भएन। खालि, त्यस्तो व्यक्ति, समूहबाट उद्दण्डताका साथ आपराधिक क्रियाकलाप हुन्छ कि भनेर हामीले अलर्ट हुने, सर्भिलेन्स गर्ने विषय त प्रहरीको कामै हो। त्यो गर्छ।
भने पछि पूर्व राजाज्ञानेन्द्र शाहलाई उपलब्ध सुरक्षाकर्मीको कटौती गरिएको त हो नि, हैन र ?
सुरक्षाकर्मी कटौतीको कुरा थाहा भएन। नेपाल प्रहरीको कोही खटिँदैन। तर, पनि कुनै व्यक्ति, समूह जो आपराधिक क्रियाकलापमा लाग्छ, व्यवस्था विरोधी छ भने तिनको सूचना लिनु, निगरानी गर्नु प्रहरीको काम भित्रै पर्छ।
आमजनतालाई तपाईंको सन्देश के छ ?
आम जनताले सहयोग गरिरहनु भएको छ। नेपाल प्रहरी जनतासँगै हातेमालो गरेर अघि बढिरहेको छ। जनताको जीउधनको सुरक्षा र शान्ति सुरक्षाको अनुभूति गराउन, अपराध अनुसन्धान, नियन्त्रण गर्न प्रहरी लागिरहेको छ। सामाजिक सञ्जालमा आएका विभिन्न टीकाटिप्पणीहरू भ्रमपूर्ण छन्।
भ्रममा नपरिदिनुहुन र यस्ता आगजनी, तोडफोड, लुटपाटजस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिहरू आफ्नो घर, टोल, छिमेकमा लुकिछिपी बसेका छन् भने प्रहरीका मेकानिज्ममा सूचित गरिदिन पनि अनुरोध गर्दछु। नचाहिने अफवाह र भम्रमा नलाग्न तथा आपराधिक क्रियाकलाप गर्ने व्यक्ति पछाडि नलागिदिन हुन अनुरोध गर्दछु। सुन्दर, शान्त समाज बनाउन हामी लागेका छौं र लागिरहने छौं।
चैतको पहिलो साता प्रहरी महानिरीक्षकको रूपमा दज्र्यानी चिह्न ग्रहण पछि तपाईंले प्रहरीमा सुधार आवश्यक छ, साइत कुरेर बस्ने समय छैन भन्नु भएको थियो। अहिले मिडियामार्फत पहिलो पटक मातहतका प्रहरीलाई के भन्नुहुन्छ ?
अहिलेको समय चुनौतीपूर्ण छ। मातहतका अधिकृत तथा जवान जो फिल्डमा खटिएका छन्। अग्रसर भएर निडरताका साथ लाग्ने, टिम परिचालन गर्ने, मनोबल उच्च राखेर अगाडि बढ्ने, सीमित स्रोतसाधनको अधिकतम प्रयोग गर्ने र आफू सुरक्षित हुँदै आम नागरिकलाई सुरक्षा प्रदान गर्नु पर्छ।
आपराधिक क्रियाकलाप गर्ने जो कोही जुनसुकै तप्काको होस निर्ममताको साथ अघि बढ्ने निर्देश अधिकृतदेखि जवानसम्मलाई गर्ने गरेको छुँ। त्यो किसिमले अगाडी बढ्नुहोस्। जनताको जीउधनको सुरक्षा र अपराध नियन्त्रणको लागि कटिबद्ध भएर लाग्ने हाम्रो प्रतिबद्धता हो।
प्रस्तुति : दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !