मार्फा गाउँको विविधता, सांस्कृतिक सम्पदा

मार्फा गाउँको विविधता, सांस्कृतिक सम्पदा
सुन्नुहोस्

जोमसोम : मुस्ताङको मार्फा भन्नेबित्तिकै त्यहाँ स्याउको बगान। पुराना प्राचीन घरहरू। गाउँभित्र साँघुरो गल्ली र त्यसभित्रको दर्जनौं शाखा गल्लीगल्ली। त्यही जैविक तथा सांस्कृतिक विशेषताले भरिएको छ मुस्ताङको मार्फा गाउँ।

यही गाउँको पृष्ठभूमिलाई समेट्दै त्यही गाउँ जन्मिएकी एक महिला सर्जक स्वर्गीय बसन्ती लालचनले तीन दशकअघि एउटा गीत रचना गरेकी थिइन् ‘क्या राम्रो स्याउ बारी मार्फा गावैँमा’ गायिका ज्योति गुरुङको स्वर रहेको त्यही गीत हो, जसले मुस्ताङको मार्फालाई चिनायो। मुस्ताङको मार्फा नघुमेकाहरूलाई पनि यही गीतले परिचित गराइदिने गरेको छ।

क्या राम्रो स्याउबारी मार्फा गावैँमा गीतले भने जस्तै अहिले मार्फा गाउँको स्याउ बगानहरूमा स्याउ देख्न पाइँदैन। पुस र माघ महिनामा स्याउ बगैंचा व्यवस्थापन गरिएका यहाँका स्याउ बगानहरूमा स्याउको फूल फुल्ने तयारीमा छ। बर्सेनि असोज कात्तिकमा स्याउ बगानहरू पोस्ट हार्भेस्ट गरिसकेपछि यहाँ स्याउ बगान उजाडमय हुन्छन्। बर्सेनि भदौदेखि असोज र कात्तिक महिनामा मुस्ताङ आउने पर्यटकले मुस्ताङको मार्फा स्याउ बगानमा लटरम्म स्याउ फलेको देख्न सक्छन्।

हिउँदयाम सकिँदै गर्दा र वसन्त ऋतुको आगमनसँगै मुस्ताङको मार्फा गाउँमा आन्तरिक पर्यटकको उपस्थिति थेगिनसक्नु छ। राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडक नजिकै पर्ने मार्फा गाउँमा त्यहाँको पुरानो मौलिक कलासंस्कृति र त्यहाँका प्राचीन घरहरूको बनोट र त्यही घर भित्रभित्र रहेको साँघुरो गोरेटो गल्ली त्यहाँ पुग्ने पर्यटकका लागि मुख्य आकर्षक केन्द्रबिन्दु बनेको छ। मुख्य सडकमार्गदेखि पश्चिम करिब २ सय मिटरको भिरालो सतहमा अवस्थित मुस्ताङको मार्फा गाउँमा प्रत्येक दिन दिउँसोदेखि साँझसम्मै पर्यटकको निकै बाक्लो भीडभाड रहन्छ। सडकमार्ग स्तरोन्नति र विस्तारले मुस्ताङको मार्फा गाउँको पर्यटकीय गतिविधिलाई झनै चलायमान बनाइदिएको छ। मुक्तिनाथ दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटक एकपटक मार्फा गाउँको अवलोकन गर्न छुटाउँदैनन्।

सूर्य विनायक नगरपालिका भक्तपुरबाट मुक्तिनाथ दर्शन गर्न परिवारका सदस्यहरूसहित मुस्ताङ आएका बलराम गौतमले मुस्ताङको मार्फा गाउँको संस्कृतिक सम्पदा देखेर मोहित भए। पहिलोपटक मुस्ताङ आएका गौतमले मार्फा गाउँको परम्परागत सदियौं वर्ष पुराना ढुंगा र माटोले बनेका घरहरू, प्रत्येक घरका छतमाथि पाँजिएका दाउराको चाङ र अनि गाउँभित्रको साँघुरो गोरेटो गल्ली चहार्दा निकै आनन्दित तुल्याएको अनुभूति सुनाए। ‘मार्फा गाउँको मुख्य विशेषता भनेको यहाँको प्राचीन घर र साँघुरो गल्ली रहेछ,’ उनले भने, ‘साँघुरो गल्लीभित्र होटल र पसलहरू रहेछन्, सडकमार्गमै पर्ने भएकाले यहाँ घुम्न निकै सजिलो पनि रहेछ।’

मुस्ताङको मार्फा गाउँमा करिब एक सयभन्दा बढी घरधुरी छन्। जहाँका स्थानीयले कृषि र पर्यटन व्यवसाय अपनाएको पाइन्छ। स्याउलगायतका अन्नबाली उत्पादन गरेर मनग्ये आम्दानी गर्ने मार्फाली समुदायले पर्यटन व्यवसायलाई पनि मुख्य आम्दानीका रूपमा व्यवसाय चलाउँदै आइरहेका छन्। बर्सेनि पर्यटक आगमन बढेसँगै पछिल्लो समय बेनी–जोमसोम मुख्य सडकमा स्याउ बगैंचा मासेर कंक्रिट होटलहरू निर्माण गर्नेसमेत होडबाजी चलेको छ। 

मार्फा गाउँको पुरानो भौतिक संरचना मासिन नहुने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बताउँछन्। सडकमार्गमा कंक्रिट घरहरू बने पनि मार्फाको प्राचीन बस्तीको भौतिक तथा सास्ंकृतिक संरचना मासिएमा मार्फा गाउँको अस्तित्व संकटमा पर्ने गाउँपालिका अध्यक्ष लालचनको भनाइ छ।

मुस्ताङको पर्यटकीय गाउँ मार्फाको मुख्य सडकमार्गबाट अलग्गिएर गाउँतर्फ मोडिएर करिब ५ सय मिटर बढी साँघुरो गल्लीमा पैदलयात्रा गरेपछि उत्तरतर्फको मुख्य राजमार्ग सडकमा निस्किन सकिन्छ। त्यहाँको भिरालो सतहमा एकआपसमा लस्करै जोडिएका प्राचीन घरहरूभित्र दर्जनौं शाखा गल्लीहरू छन्। मार्फा र यहाँको साँघुरो गल्लीभित्र छायांकन भएका दर्जनौं स्वदेशी तथा विदेशी चलचित्र र म्युजिक भिडियो सार्वजनिक भइसकेको छ। यहाँ छायांकन भइसकेका चलचित्र, म्युजिक भिडियो र सामाजिक सञ्जालमा पोस्ट भएका दृश्यहरूले मार्फा गाउँको पर्यटनलाई थप उचाइमा पुर्‍याएको छ।

पोखराबाट पहिलोपटक मुस्ताङ आएका सुरज कुँवरले मार्फा गाउँको सांस्कृतिक सौन्दर्यता अद्भुत भएको बताए। ‘हामीले बजारमा यस प्रकार सांस्कृतिक विविधता देख्न पाएका थिएनौं, जुन यहाँ प्रत्यक्ष साक्षात्कार गर्न पाइयो,’ कुँवरले थपे, ‘साँच्चै मुस्ताङको मार्फा गाउँ पुरानो सांस्कृतिक विविधतायुक्त पुरानो नेपाल देख्न पाइयो।’ उनले मार्फा गाउँसम्बन्धीको ‘क्या राम्रो स्याउ बारी’ भन्ने गीत सानै छँदा सुने पनि बेमौसममा आएकाले स्याउ फलेको दृश्य देख्न नपाइएको जनाए। 

मार्फा गाउँभित्र एक दर्जन बढी साँघुरा शाखा गल्लीहरू छन्। मार्फा गाउँलाई थप पर्यटन प्रवद्र्धन गर्नका लागि पछिल्लो समय त्यहाँका गल्लीहरूलाई विभिन्न नामकरण गरिएको छ। त्यहाँका शाखा गल्लीहरूमा कतिपयलाई चलचित्रको नामसँग जोडिएको छ। मार्फा गाउँभित्र जेरी गल्ली, कबड्डी गल्ली, टिकटक गल्ली र झाँक्री गल्लीलगायतका नामले परिचय खुल्ने गरी स्याउ आकृतिका साइनबोर्डहरू टाँसिएका छन्।

मार्फा गाउँभित्र चाहार्ने पर्यटकका लागि स्थानीय थकाली, गुरुङ र तिब्बतीय संस्कृति झल्किने मौलिक पोसाकहरू लगाएर फोटो भिडियो खिच्न पाइने व्यवस्था मिलाइएको छ। मार्फा गाउँमा साँझपख स्थानीय मौलिक पोसाक लगाएर फोटो खिच्न पर्यटकहरू लालायित हुने गर्छन्। साँघुरो गल्लीमा पर्यटकको गुल्जार हुँदा एकआपसमा ठोक्किन पुग्छन्।

मुस्ताङको मार्फा गाउँभित्र एक बौद्ध धार्मिक गुम्बा छ। गाउँभित्रै जापानिज भिक्षु इकाइ कावागुची बसेको पाँच सय वर्ष पुरानो घर छ। गाउँ नजिकैको एक थुम्कोमा घरपझोङ गाउँपालिकाले एप्पल पार्कसमेत निर्माण गरिसकेको छ। साँझपखको समयमा सडकबत्तीको उज्यालोले मार्फा गाउँको सौन्दर्यतालाई थप उजागर गरिदिन्छ। मार्फा गाउँ माथिको अग्लो पहाडसँगै जोडिएको गुफामा पुगेर त्यहाँको परिदृश्य अवलोकन गर्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.