३४ बोरा शालिग्राम बरामद
जोमसोम : मुस्ताङमा ठूलो परिमाणमा शालिग्राम शीला प्रहरीले बरामद गरेको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ स्थित ईलाका प्रहरी कार्यालय छुसाङ चेकपोष्टले ३४ वटा सेतो बोरामा प्याकिङ गरिएको ८९४ केजी शालिग्राम शीला बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—३ घमीबाट जोमसोमतर्फ आउँदै गरेको ग ३ च ८१५२ नम्बरको बोलेरो जीप चेकजाँच गर्दा अवैध शालिग्राम फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए।
मुस्ताङको लोघेकर दामोदरकुण्ड—५ सुर्खाङ बस्ने ४१ वर्षीय कुनसाङ रेन्जिङ गुरुङले बोलेरो जीपमा लोड गरेर अवैध रुपमा शालिग्राम जोमसोमतर्फ ल्याउँदै गर्दा ईलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको प्रहरी निरीक्षण अधिकारीको भनाई छ। शालीग्रामसहित जीप ,चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
यता एक्याप जोमसोमले शालिग्राम शीलासहित जीप,चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका लागि पठाइसकेको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए।
मुस्ताङको दामोदरकुण्ड हुँदै कालिगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दू धर्मशास्त्रमा विष्णु भगवानको प्रतिकको रुपमा पुज्ने गरिन्छ। व्यावसायिक रुपमा ठूलो परिमाणमा शालिग्राम ओसोरपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन,प्रहरी र एक्यापले कडान निगरानी गर्ने गरेको छ। तर, व्यक्तिगत रुपमा फुटकर शालिग्राम शीला खरिद गरेर जिल्ला बाहिर लैजानका लागि प्रशासन,प्रहरी र एक्यापले छुट दिएको छ।
प्रतिक्रिया दिनुहोस !