मेयर हर्क साम्पाङको हङकङ भ्रमण विवादित
हङकङ : धरानका मेयर हर्क साम्पाङ राईको हङकङ भ्रमण विवादित बनेको छ। राई नेपाल फेस्ट २०२५ का लागि प्रमुख अतिथि बनेर हङकङ आउने तय भएको थियो। उनले फेसबुकमार्फत, सुम्निमा पारुहाङको प्रतिमा स्थापनाका लागि आर्थिक सहयोगको कार्यक्रम हुने भएमात्र आफू हङकङ आउने जानकारी दिए। त्यसपश्चात् किराया हङकङ तथा भाषिक संस्थाहरूले संयुक्त रूपमा एक कार्यक्रमको तय गरेका थिए। जानकारी भेलाको आयोजना गदै ‘मिट एन्ड ग्रिट हर्क साम्पाङ’ कार्यक्रमको रूपरेखा सार्वजनिक गरिएको थियो।
सार्वजनिक कार्यक्रममा चुला दर्शनढोग, साक्षात्कार, सम्मान, अल्ट्रा ट्रेल भिजिट तथा विदाइ लगायतका कार्यक्रम राखिएका थिए। आयोजक संस्थाले सहयोग रकम बोलकबोल र कार्यक्रमको व्यापक तयारीलगायतका बारेमा अन्तर्वार्ता, सूचनालगायतका प्रचारप्रसारका सामग्रीसमेत सार्वजनिक गरिसकेको थियो।
विवाद के हो ?
आइतबार हङकङ एकीकृत नेपाली समाज (हिन्स)ले फेसबुकमा मेयर हर्क साम्पाङको भिसा र तस्बिर राख्दै आफ्नो धारणा सार्वजनिक गर्यो। हिन्सले नेपाल फेस्टका अन्य कलाकार र मेयर साम्पाङको भिसा आफ्नो संस्थामार्फत (ईम्प्लोइमेन्ट) भिसा लगाइएकाले नेपाल फेस्टबाहेक अन्य कार्यक्रममा सहभागी हुनु हङकङ अध्यागमन विभागको दृष्टिकोणमा गैह्रकानुनी हुने भएकाले, मेयर साम्पाङलाई राखेर गरिने कार्यक्रमहरूका बारेमा हिन्ससँग सम्पर्क राख्न अनुरोध गरिएको थियो।
घटनाक्रम अनुरूप सामाजिक संञ्जालमा व्यक्त विचार र सार्वजनिक धारणाअनुसार मेयर साम्पाङले आफूलाई गलत भिसा अप्लाई गरिदिएको र सही समन्वय नभएकाले सुम्निमा पारुहाङको सहयोग संकलन अभियान अनिश्चित हुने भएको धारणा फेसबुकमार्फत नै सार्वजनिक गरे।
तत्कालै हिन्सले सामाजिक संञ्जालमार्फत मेयर साम्पाङको भिसा उपयुक्त भएको र कार्यक्रममा बाधा अड्चन गर्ने मनसाय नभइ हङकङको नियम र भविष्यमा पर्न सक्ने व्यवधानका बारेमा जानकारी मात्र गराइएको धारणा सार्वजनिक गर्यो। हिन्सले कार्यक्रम गर्न लागेका संस्थाहरूलाई समन्वय गर्नका लागि मात्र आग्रह गरेको हो, तर मेयरसमक्ष यही कुरालाई गलत तरिकाले सायद प्रस्तुत गरियो, हिन्सको सार्वजनिक धारणामा भनिएको छ।
मेयर साम्पाङले आफू राजनैतिक खिचातानीको शिकार भएको र गलत भिसा नै अप्लाई गरिदिएको कारण आफू हङकङ भ्रमणमा नआउने आधिकारिक धारणा भिडियोमार्फत सार्वजनिक गरिसकेका छन्।
यस विषयमा कार्यक्रम आयोजनाका संयोजक शशिमदन राई भन्छन् ‘जे हुन्छ राम्रो कै लागि हुन्छ। हामी र हाम्रो संस्था आफैंले हर्क साम्पाङका लागि चाँडै भिसा अप्लाई गर्नेछौं। सुम्निमा पारुहाङको प्रतिमा स्थापनाका लागि आर्थिक संकलनको कार्यक्रमलाई निरन्तरता दिनेछौं। यो विषयमा थप छलफल गर्नुभन्दा हाम्रो निर्धारित कार्यक्रमलाई सफल बनाउनका लागि लागि पर्नेछौं। अर्को मिति र कार्यक्रमको रूपरेखा चाँडै सार्वजनिक गर्नेछौं।’
के हो, भिसाको वास्तविकता ?
हङकङमा कलाकारहरू स्टेज कार्यक्रमका लागि आउँदा होस् या अन्य सहभागितामूलक कार्यक्रमका लागि आउँदा इम्प्लोमेन्ट भिसा लिएको हुनुपर्छ। इम्प्लोमेन्ट भिसा भन्नाले हङकङमा काम गर्न पाउने अनुमतिको भिसा नभई कार्यक्रममा प्रस्तुति दिन भन्ने बुझिन्छ। लक्ष्मी एन्ड लक्ष्मी लेजिगेसन एण्ड ईमिग्रेसन कन्सल्टेन्सका सीईओ गौरव बम ठकुरी भन्छन्, ‘यदी कोही भिजिट भिसामा आएको छ भने उसले कार्यक्रम हेर्न पाउँछ तर कार्यक्रममा आफ्नो प्रस्तुति र अन्य कुनैपनि आर्थिक प्रयोजनका कार्यक्रममा सहभागिता जनाउन सक्दैन। मेयर साम्पाङको कार्यक्रम र सहभागितााको दृष्टिकोणले ईम्प्लोइमेन्ट भिसा सहज र उपयुक्त हो। तर, कसले स्पोन्सर गरेको, कुन कार्यक्रमका लागि भिसा निकालिएको त्यो महत्वपूर्ण हुन्छ।’
प्रतिक्रिया दिनुहोस !