हराउँदै संस्कृति, भित्रिँदै प्रविधि

हराउँदै संस्कृति, भित्रिँदै प्रविधि
सुन्नुहोस्

जोमसोम : पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा परम्परागत रूपमा पालन गरिएका गोरु–झोपाले खेतबारी जोत्ने हिमालको संस्कृति हराउँदै जान थालेको छ। यहाँ परम्परागत रूपमा गोरु झोपाले खेतबारी खनजोत गर्ने संस्कृति बिस्थापित हुँदै आधुनिक प्रविधिक कृषि प्रविधि भित्रिएको छ। अचेल कृषको खेतबारीमा परम्परागत गोरु झोपा देखिन छाडिसकेका छन्। 

सडक सञ्जाल नहुँदा र आधुनिक प्रविधिको विकास नहुँदा यहाँका किसानले परम्परागत रूपमा पालन गरिएका गोरु–झोपालाई नै कृषि कर्मको मुख्य सारथिका रूपमा लिने गर्थे। कृषकको खेतबारी खनजोत गर्नेदेखि जंगलबाट दाउरा ओसार्ने, मल बोकाउने, अन्य घरायसी कामकाज पर्दा सामान ओसारपोसार गर्ने गर्ने र गोरु–झोपाका मलमुत्रलाई मलका रूपमा प्रयोग गरेर कृषि कर्म चलाउने गर्थे। हिमाली संस्कृतिक गहनाका रूपमा स्थापित यहाँका गोरु–झोपा सांस्कृतिक धरोहरका रूपमा समेत लिने गरिन्थ्यो। तर, पछिल्लो ५ वर्षयता मुस्ताङका किसानले परम्परागत गोरु–झोपा पाल्ने प्रचलन विस्तारै त्याग्न थालिसकेका छन्।

मुस्ताङका किसानले सदियौंकालदेखि प्रचलनमा रहेको कृषि सारथि गोरु–झोपा पाल्न छोडेर कृषि आधुनिकीकरण प्रविधि पछ्याउन थालेका हुन्। कषि ज्ञान केन्द्र मुस्ताङ, प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना, परियोजना कार्यान्वयन एकाइ मुस्ताङ र जिल्लाका स्थानीय तहहरूले कृषकको लागत घटाउने, कृषि उत्पादन बढाउने र समयको किफायत गर्ने उद्देश्यले अनुदान सहुलियतमा कृषि यान्त्रिकीकरण प्रविधि हाते ट्र्याक्टर (मिनिटेलर) वितरण गर्न थालेसँगै यहाँ पालन गरिएका परम्परागत गोरु–झोपा विस्तारै विस्थापित हुन थालेका हुन्।

मुस्ताङमा सरकारी कार्यालयहरूको अनुदानमा खेतबारी जोत्ने कृषि प्रविधि हाते ट्र्याक्टर उपलब्ध हुन थालेपछि जिल्लाका ८५ प्रतिशत किसानले परम्परागत गोरु–झोपा पाल्न छोडेको घरपझोङ–५ ठिनीका कृषक मिलन विश्वकर्माले जानकारी दिए। गोरु–झोपाको सहयोगमा खेतबारी जोत्न धेरै समय र परिश्रम खर्चिनु पर्ने, स्याहार सुसारका साथै घाँस र दानपानी दिनुपर्ने झन्झट हुने भएकाले प्रविधिको उपयोग निकै नै सहज हुन पुगेका कृषक विश्वकर्माले बताए। 

कृषि यान्त्रिकीकरण उपकरण हाते ट्र्याक्टरबाट खेतबारी जोत्दा समयको बचत, थोरै खर्च, कम जनशक्ति, स्याउ बगैचामा जोत्दा स्याउ बोटलाई असर नपुग्ने र छिटोछरितो रूपमा खेतबारी जोत्न सकिने भएकाले गोरु–झोपाले खेतबारी जोत्न प्रचलन हराउन थालेको कृषक विश्वकर्माको भनाइ छ।

त्यसो त मुस्ताङमा परम्परागत रूपमा पालन गरिएका गोरु–झोपाले खेतबारी खनजोतको काम मात्रै होइन जंगलबाट दाउरा ल्याउने, मल ओसार्ने, घरायसी काम पर्दा मालसामान ओसार्ने र गोरु–झोपाको मलमुत्रलाई मलका रूपमा प्रयोग गर्ने सारथी हुँदाहुँदै पनि किसानले गोरु–झोपा पाल्न छोड्दा हिमाली परम्परा र संस्कृति समेत संकटमा पर्ने देखिएको छ।

घरपझोङ गाउँपालिका–४ जोमसोमका किसान भुपेन्द्र शेरचनले मुस्ताङबाट परम्परागत गोरु–झोपा लोपोन्मुख अवस्थामा रहेको बताए। पुराना पुस्ता उमेर कट्दै वृद्ध भएको र नयाँ पुस्ताले अध्ययन-अध्यापन, अन्य पेशा व्यवसायमा आबद्धता र कतिपय युवाहरू विदेश पलायन हुने क्रम बढेकाले गोरु–झोपाले खेतबारी जोत्ने प्रचलन लोप हुन थालेको जोमसोमका किसान शेरचनको भनाइ छ। 

किसानले शेरचनले मुस्ताङ किसानले अन्य व्यापार व्यवसाय चलाउने र जिल्लाबाहिरबाट मजदुरहरू भित्रिँदा आफैंले खेती गर्ने प्रचलन छोडेर अरूलाई जिम्मा लगाउने क्रम समेत बढेको जनाए। जोमसोमका किसान शेरचनले प्रविधिको विकाससँगै कृषि यान्त्रिकीकरण उपकरण हाते ट्र्याक्टरको अनुदान सुविधाले गर्दा गोरु–झोपा पाल्ने रहर कसैले पनि नगर्ने उल्लेख गरे। मुस्ताङमा परम्परागत पालन गरिएका गोरु–झोपा संरक्षणका लागि स्थानीय सरकार र सरोकारवाला कार्यालयहरूले त्यस्ता किसानहरूको खोजी गरी पुरस्कृत र प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको सुझाए। 

मुस्ताङमा कृषिसँग सम्बन्धित कार्यालयहरूले सूचीकरणमा परेका कृषि फार्म, समूह र सहकारीहरूलाई प्याकेजमै यसप्रकारका कृषि प्रविधिहरू अनुदान सहुलियतमा उपलब्ध गराउने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिए। सूचिकरणमा परेका किसानलाई मल खरिद, उपकरण खरिद, विषादी र अन्य आवश्यक सामग्रीहरूमा अनुदान सहुलियत दिने गरेको कार्यालय प्रमुख गुरुङको भनाइ छ।

केन्द्र प्रमुख गुरुङले परम्परागत गोरु झोपा पलायन हुँदै जानुको कारण जलवायु परिवर्तन र युवा पलायन मुख्य रहेको बताए। जलवायु संकटका कारण चरनक्षेत्र खुम्चिनु र वैदेशिक रोजगारका लागि युवाशक्ति विदेश पलायन हुँदा गोरु–झोपाले खेतबारी जोत्ने चलन हराउन थालेको केन्द्र प्रमुख गुरुङले उल्लेख गरे। 

प्रविधियुक्त कृषि यान्त्रिकीकरण अहिले किसानको बाध्यता भएको उनले जनाए। हिमालको सौन्दर्यता र संस्कृतिसँग जोडिएको परम्परागत गोरु–झोपाले यहाँका जैविक विविधतामा महत्वपूर्ण योगदान पुर्‍याउने गरेको भएपनि समयको माग र प्रविधिको विकासले यहाँको गोरु–झोपा पालनको पुख्र्यौली परम्परा जोगाउन चुनौती भएको केन्द्र प्रमुख गुरुङको भनाइ छ।

मुस्ताङको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश किसानले परम्परागत गोरु–झोपा त्यागेर हाते ट्र्याक्टरले खेत जोत्न थालेको पाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.