कोवाङ–सारु जोड्ने पुल फेरि अलपत्र

कोवाङ–सारु जोड्ने पुल फेरि अलपत्र
सुन्नुहोस्

जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका–२ अन्तर्गत पर्ने कालीगण्डकी वारिपारीका गाउँहरू जोड्ने निर्माणाधीन सस्पेन्सन पुल निर्माण फेरि अलपत्र परेको छ। कोवाङ–सौरु जोड्ने सस्पेन्सन पुलको फाउन्डेसन तथा सिभिलको ७५ प्रतिशत भौतिक प्रगति हुँदा पुल निर्माणको काम विगत ५ महिनादेखि अलपत्र परेको हो।

मुस्ताङको कालिगण्डकी नदीमा निर्माणाधिन (कोवाङ–सौरु) जोड्ने ५७० मिटर लम्बाइ र २ मिटर चौडा सस्पेन्सन पुल निर्माण २०७७ साल ३० वैशाखमा ससपेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंंले ईलाइट रुविना कन्सट्रक्सन जेभीसँग ५ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो। सुरुवाती चरणमा जोइनको मुख्य कम्पनी इलाइट कन्सट्रक्सनले (कोवाङ–सौरु) जोड्ने पुल बनाउने जिम्मा लिएको भए पनि रुविनाले पुलको आंशिक काम गरेर निर्माणको काम त्यसै अलपत्र पारेर छाडेको थियो।

ठेक्का सम्झौताअनुसार ३० महिनाको समयावधि तोकिएको (कोवाङ–सौरु) जोड्ने सस्पेन्सन पुल निर्माण २०७९ साल कात्तिकसम्म सकिनुपर्ने थियो। तर, निर्माण कम्पनीले कोरोना कहर, हिमपात र प्रतिकूल मौसमको कारण देखाउँदै म्याद थप गर्दै आएको थियो।

सुरुवाती जोईन कम्पनी रुविनाले निकै लामो समयसम्म (कोवाङ–सौरु) जोड्ने सस्पेन्सन पुलको काम अलपत्र पारेर छोडेपछि गत वर्षको फागुनदेखि जोईन पार्टनर इलाइट कन्सट्रक्सनले जिम्मा लिएको थियो। कालीगण्डकी नदीमा सस्पेन्सन पुल बनाउन इलाइट कम्पनीले प्रतिनिधिका रूपमा निकेश श्रेष्ठलाई कार्यस्थलमा खटाएको थियो।

पुल निर्माणका लागि निकेश श्रेष्ठ कार्यस्थलमा फर्किए लगत्तै गत मंसिर महिनासम्म (कोवाङ¬–सौरु) जोड्ने पुलको कालिगण्डकी वारिपारी फाउन्डेसन निर्माणका साथै कालीगण्डकी नदीमा दुईवटा ६ मिटर गहिरो फाउन्डेसन निर्माणको संरचना निर्माण सकिएको छ। अहिले इलाइट कन्सट्रक्सनले खटाएका प्रतिनिधि निकेश श्रेष्ठले पुलको सिभिलको सबै काम सम्पन्न गरिसकेका छन्। तर, प्रतिनिधि श्रेष्ठलाई पुलको लाठो तान्ने र पुल फिनिसिङको काम बाँकी रहँदै गर्दा इलाइटले जिम्मेवारीमा अलग गराएको छ। प्रतिनिधि श्रेष्ठले (कोवाङ–सौरु) सस्पेन्सन पुलको भौतिक प्रगति ७५ प्रतिशत सम्पन्न भइसकेको बताए। ‘पुलको सबै सिभिलको काम सकियो, अब पुल फिटिङको काम मात्रै बाँकी छ’, प्रतिनिधि श्रेष्ठले भने, ‘मैले सरासर गर्न पाएको भए अहिलेसम्म सक्किसकिन्थ्यो। तर, म अहिले पुलको कामबाट अलग भइसकेको छु।’ इलाइट कम्पनीले पुलको फिनिसिङको कामका लागि अर्को प्रतिनिधि खटाउने तयारी गरेको उनले बताए। 

मुस्ताङको थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले कालिगण्डकी नदीमा निर्माणाधिन (कोवाङ–सौरु) जोड्ने सस्पेन्सन पुल निर्माणको काम ६ महिनादेखि फेरी रोकिएको जानकारी दिए। ३ वर्ष अगावै सकिनु पर्ने पुलको काम निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा सम्पन्न हुन विलम्ब भएको वडाध्यक्ष शेरचनको भनाइ छ।

कालीगण्डकी नदीमा निर्माणाधीन पुलका लागि निर्माण कम्पनी इलाइटले पुलको लाठो र स्टिलपार्ट समेत निर्माणस्थलनजिकै व्यवस्थापन गरेको भए पनि पुल फिटिङको काम अघि बढ्न नसकेको थासाङ–२ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए।

मुस्ताङको राष्ट्रिय राजमार्ग सडकदेखि कालीगण्डकी पारीको गाउँ सौरु, सिर्खुम र कोखेठाँटी लगायतका गाउँहरू पुल बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन्। बर्सेनि बर्खायाममा कालिगण्डकी नदीमा जोखिम मोलेर खोला तरेर आवतजावत गर्नुपर्ने सास्ती सौरु, सिर्खुम र कोखेठाँटीका स्थानीयलाई छ। कालीगण्डकी नदीमा पुल नहुँदा कालिगण्डकी पारीका गाउँमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा समेत समस्या पर्ने गरेको छ। 

बर्खायाममा कोखेठाँटी झोलुङे पुल तरेर डेढ घण्टाको यात्रा गर्दै गाउँपालिका कार्यालय, विद्यालय, स्वास्थ्य सेवा र सदरमुकाम जोमसोम आवतजावत गर्नुपर्ने बाध्यता त्यस क्षेत्रका स्थानीयको रहेको सौरु गाउँका स्थानीय सोजन हिराचनले उल्लेख गरे। कालीगण्डकी नदीमा निर्माणाधिन पुल सकिएमा डेढ घण्टाको यात्रा १५ मिनेटमै तय गर्न सकिने स्थानीय हिराचनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.