बुद्ध भनेकै ज्ञान
लुम्बिनी प्रदेशको लुम्बिनी वनमा एक बालक जन्मिएका थिए। जसले देशकै नाम प्रख्यात गरिदिए। शान्तिको सन्देश फैलाए। ती बालक को थिए ? ती बालक सिद्धार्थ गौतम थिए। उनी शाक्य वंश कुलमा जन्मिएका थिए। बुवाको नाम शुद्धोदन शाक्य र आमाको नाम महामाया देवी शाक्य हो। शुद्धोदन कपिलवस्तुको महाराजा थिए। महामाया देवीको माइती देवदह कोलिया हो।
सिद्धार्थ गौतम (बुद्ध) नेपालमा जन्मिएका हुन्। उनले नेपालको नाम संसारमा परिचित गराइदिए। नेपाललाई शान्तिको देश तथा बुद्ध जन्मिएको देश भनेर संसारमा चिनाइदिए। यो नेपालीका लागि गौरवको विषय हो। कपिलवस्तुमा शाक्य वंशले राज्य चलाएको ठाउँ वा दरबार अहिले पनि हेर्न सकिन्छ। अहिले यो भग्नावेशका रूपमा छ।
रानी मायादेवीले बच्चा जन्माउनु अघि एकपटक माइती गएर आमा बाबुको मुख हेर्ने इच्छा गरिन्। राजाबाट आज्ञा पाएपछि सुसारेहरूसमेत लिएर कपिलवस्तुबाट प्रस्थान गरिन्। रानी मायादेवी लुम्बिनीको अति सुन्दर बगैंचामा– वनमा पुगेपछि आराम गर्न थालिन्। गर्मीले गर्दा लुम्बिनीको पोखरीमा नुहाउने इच्छा व्यक्त गरिन्। स्नान गरेपछि रानीको जिऊ भारी भयो। हिँड्न अप्ठ्यारो भयो। रातभरि त्यही वनमा वास बसिन्। रानीलाई पेट दुख्न थाल्यो। पीडा बढ्दै गयो। गर्भमा ११ महिनाको बच्चा थियो। शुक्ल पक्ष वैशाख पूर्णिमाको दिन परेको समयमा बिहानीपख मायादेवीले एउटा रूखमुनि बच्चालाई जन्म दिइन्। पौराणिक पुस्तकमा उल्लेख भएअनुसार ती बालकले पृथ्वीमा पाइला टेक्नेबित्तिकै एक अनौठो दृश्य देखियो। ज्योति निस्कियो, सातवटा कमलको फूल देखिए। सात पाइला फूलमा टेकेको, हात माथि लगेको, आंैला एउटा ठाडो गरेको, एक ऋषि आएर हातबाट माला लगाइदिएको, तेजिलो फुर्तिलो बालक देखेर सबै सुसारे चकित भए। जन्म भएको बेला प्रकृति पनि रमाएको थियो। सिरसिर हावा चलेको, फूलहरू पनि फुलेको र चरा चुरुंगी चिरचिर गीत गाउन थाले। यो पूर्णिमालाई स्वाया पूर्णिमा (फूल पूर्णिमा) पनि भनिन्छ। बुद्धपूर्णिमा पनि भनिन्छ।
माइती जान भनेर गएकी रानीले बीच बाटोमै छोरालाई जन्म दिएको खबर माइती र राजा शुद्धोदनलाई पठाइयो। दुवै राजा खुसी भए। शुद्धोदन महाराजाले यस्तो खबर सुनेर तुरुन्तै सैनिक पठाएर दरबारभित्र ल्याउन आदेश दिए। तर, रानी बिरामी भएको खबर सुनेर राजा दु:खी भए। बालकको जन्मबारे सुसारेहरूले राजालाई बिन्ती चढाए। लुम्बिनी वनको पोखरीमा नुहाएर आएपछि रानीको व्यथा लागेको, बिहानपख बच्चा जन्मनेबित्तिकै कमलको फूलमा सात पाइला टेकेको, पुष्प–वृष्टि भएको र हात माथि उठाइ एक आंैला ठाडो गरेको घटना सुनाए। राजा पनि अचम्ममा परे। राजाले राजवैद्य बोलाएर रानीको उपचार गराए। पुरोहितहरू उच्च सरकारी पदाधिकारीहरूसँग परामर्श गर्न थाले। छोरा राजकुमारको नामकरण गरियो। पुरोहितहरूले बालकबारे भविष्यवाणी गरे। भविष्यमा बालक सर्व श्रेष्ठ हुने, संसारभरि नाम अगाडि आउने, नाम सर्वसिद्ध हुने हुँदा सिद्धार्थ भनी नामकरण गरियो। त्यति मात्र नभई बालकले राजगद्दीको इच्छा नगर्ने भविष्यवाणी गरे।
सबै कुरा सुनेर राजा चकित परे। बालक जन्मिएको ७ दिनपछि रानी मायादेवीको निधन भयो। बालकको पालनपोषण उनको सानी आमाले गरिन्। राजकुमारले दरबारमा बसेर शिक्षा हासिल गरेका थिए। जन्म दिने आमाको माया ममता नपाएकाले सिद्धार्थ राजकुमारले दु:ख महसुस गरे। सिद्धार्थ गौतम शाक्य वंशले यशोधरा शाक्य वंशसँग विवाह गरे। केही वर्षमा नै यशोधराबाट एउटा छोराको जन्म भयो र छोराको नाम राहुल शाक्य वंश नामकरण गरियो। दरबारमा सबै सुविधा पाए पनि राजकुमार सिद्धार्थलाई शान्तिको महसुस भएन। ज्ञान, शिक्षाको खोजीका लागि सधैं चिन्तन गरिरहन्थे। एक दिन राति श्रीमती, छोरा र बुबालाई त्याग गरेर दरबारबाट बाहिर निस्के। राजकाज त्यागेर ज्ञानको खोजीमा जंगलतिर लागे। जंगलमा गएर एउटा ठूलो बोद्धिको रूखमुनि बसेर ध्यान र तपस्या गर्न थाले। ध्यान गर्नुभन्दा अगाडि स्तूप अगाडि बसेर कपाल मुण्डन गरेको (काटेको) पनि ग्रन्थमा उल्लेख छ।
सिद्धार्थले जंगलमा धेरै दिन वा वर्षसम्म केही पनि नखाइकन ध्यान गरेका थिए। तर सफल भएनन्। ध्यान गरी बसिरहेको देखेर एकजना युवती सुजाताले सिद्धार्थलाई खिर पकाएर चढाएको वा दान दिएकी थिइन्। सिद्धार्थले खिर भोजन गरे। त्यसपछि उनमा केही साहस आयो, धैर्य गर्ने मौका पाए। भोजन गरेर केही दिनमा नै सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरेका थिए। यो बोधिज्ञान प्राप्त गरेको दिन पनि वैशाख पूर्णिमाको दिन थियो। ३५ वर्षको उमेरमा उनले बोधिज्ञान प्राप्त गरेका थिए। अहिले २६१४ वर्ष भयो। बुद्धत्व प्राप्त गरेपछि सिद्धार्थ गौतमलाई सिद्धार्थ गौतम बुद्ध नामकरण गरियो। छोटकरीमा उनलाई गौतम बुद्ध पनि भनिन् थाल्यो।
ज्ञान प्राप्त भएपछि उनले पाएका ज्ञान अरूलाई दिने विचार गरे। सबैभन्दा पहिले ५ जवान पण्डित ब्राह्मणका छोराहरूलाई ज्ञान र शिक्षा दिएका थिए। उनको प्रवचन सुनेर ती ५ जना ब्राह्मणका छोराहरू भिक्षु भएर अरहत भएका थिए भन्ने पौराणिक पुस्तकमा उल्लेख छ। बुद्ध भनेको ज्ञान हो। अनुसन्धान गरेर हेरियो भने राजकुमारले पाउनु भएकै ज्ञान नै बुद्धत्व हो। मानिसहरूले पनि सिद्धार्थ गौतम शाक्य वंश जस्तै ज्ञान पाउन र बुद्धत्व पाउन सकिन्छ भनेर पुरानो ग्रन्थमा उल्लेख छ। त्यसपछि धेरै मानिसहरूले ज्ञान र शिक्षा पाए। धेरै मानिसहरू उनको चेला भए, भिक्षु बने। सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि भन्ने वा भिक्षुुसहित स्वयम्भूको दर्शन गरेर पूर्वतिर पनौतीको पहाडमा पुगेका थिए। त्यहाँ बनाएको एउटा चैत्यलाई वा (स्तूप) लाई हात जोडेर नमस्कार गरेका थिए। बुद्धले नमस्कार गरेको देखेर भक्तहरूले बुद्धभन्दा माथि को होला ? भनेर बुद्धसँग प्रश्न गरे। बुद्धले साधुबाल भनेर व्याख्या गरेका थिए। नमस्कार शब्द पहिलोपटक बुद्धले प्रयोग गरेका थिए। आपूmले पाएका ज्ञान, दु:ख, सुख, अहिंसाको शिक्षा दिएर ८० वर्षको उमेरमा परिनिर्वाण भए। महापरिनिर्वाण भएको २५६९ वर्ष सुरु भयो। बुद्धत्व प्राप्त २६१४ वर्ष भयो। बुद्धको जन्म, बुद्धत्व प्राप्त र निर्वाण गरेको दिन वैशाख पूर्णिमाको दिन थियो।
बुद्ध नेपालमा जन्मिएर के फाइदा भए ?
१) बुद्ध जन्मिएको देश भनेर नेपालको नाम परिचित गराए,
२) शान्तिभूमिको देश भनेर चिनाए,
३) विश्व सम्पदा सूचीमा लुम्बिनी सूचीकृत भयो,
४) देशको गौरव बढाइदिए,
५) बुद्ध जन्मस्थल भनेर धार्मिक पर्यटकको केन्द्र बन्यो
६) विदेशी मुद्रा आम्दानी बढ्यो
७) यहाँको कलाकृति अन्तर्राष्ट्रियस्तरमा बिक्री हुन थाले
९) बुद्ध जन्मस्थलमा विभिन्न देशले मन्दिर बनाए,
१०) नेपाली उत्पादनले बजार पायो
११) लुम्बिनीमा अन्तर्राष्ट्रिय विमान स्थल बन्यो,
१२) विभिन्न जिल्लामा गुम्बा, विहार, बहिल, मन्दिरको विकास भयो।
शाक्य, नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष हुन्।
प्रतिक्रिया दिनुहोस !