मुस्ताङका वन्यजन्तुपीडितले पाएनन् राहत
जोमसोम : मुस्ताङका वन्यजन्तुपीडित यतिखेर पशुधन क्षति राहतको पर्खाइमा छन्। क्षति राहतका लागि एक्याप कार्यालयमा निवेदन सिफारिसपत्र बुझाएको दुई वर्ष बितिसक्दा समेत उनीहरूले उनीहरूले पशुधन क्षतिको राहत सुविधा पाउन नसकेका हुन्। मुस्ताङमा हिउँचितुवा र मानव बीचको द्वन्द्वले यहाँको पशुपालन व्यवसाय संकटमा पर्न थालेको छ। संरक्षित वन्यजन्तुको संरक्षण तथा परम्परागत पशुपालन व्यवसाय जोगाउनुपर्ने यहाँको मुख्य चुनौती छ।
वन्यजन्तुबाट हुने पशुधन किसानलाई सरकारले प्रक्रिया पुर्याएर सम्बन्धित निकायमार्फत राहत उपलब्ध गराउने गर्छ। तर, यो प्रक्रिया पशुपालकका लागि निकै झन्झटिलो छ। मुस्ताङका वन्यजन्तुपीडितले पशुधन क्षतिको राहत सुविधा यथोचित समयमा पाउन नसकेको गुनासो गरेका छन्।
आर्थिक वर्ष २०८०/०८१ मा दुईवटा चौंरीका पाठा क्षति भएको रकम अझै आफूले पाउन नसकेको थासाङ–२ नाउरिकोटका किसान सकेन्द्र गौचनले जानकारी दिए। ‘क्षति भएको केही समयमा पाउन सके पो राम्रो हुन्थ्यो’, सकेन्द्रले भने,’ एक्यापले आउँछ भनेको छ, खै राहत कहिले हो आउने ?।’
यस्तै, घरपझोङ–४ जोमसोमका पशुपालक किसान पूर्णबहादुर नेपालीले पनि वन्यजन्तुबाट भएको पशुधनको क्षति दुई वर्ष पुग्दासमेत पाउन नसकेको दुःखेसो गरे। वन्यजन्तुको क्षति विवरण सबै टिपेर निवेदन एक्याप कार्यालयमा पेस गरेको भएप नि क्षति राहत आउन निकै ढिलो भएको पशुपालक किसान नेपालीको भनाइ थियो।
नाउरिकोटका गौचन र जोमसोमका नेपाली क्षति राहत रकम नपाउने केबल प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरू जस्तै मुस्ताङमा धेरैजसो पशुपालक किसानले वन्यजन्तुबाट भएको क्षति राहत पाउन नसकेको पाइएको छ।
मुस्ताङमा पछिल्लो दुई आर्थिक वर्षदेखि वन्यजन्तुबाट भएको क्षति राहत रकम वितरण हुन नसकेको सम्बन्धित एक्याप कार्यालयले स्वीकार गरेको छ। कार्यालयबाट वन्यजन्तु क्षतिको सबै कागजातहरू राहत सिफारिसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा पेस गरेको भए पनि सरकारले उपलब्ध गराउने राहत रकम कार्यालयलाई प्राप्त हुन नसकेको एक्याप मुस्ताङले उल्लेख गरेको छ।
मुस्ताङमा आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा ७६ वटा घरधुरीका २८० वटा पशुचौपाय वन्यजन्तुको आक्रमणबाट क्षति भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोममा वन्यजन्तुको आक्रमणबाट दुई आर्थिक वर्षमा ३९ घरधुरीका ११९ वटा पशुधनको क्षति भएको छ। यस्तै, इलाका संरक्षण कार्यालय लोमान्थाङमा ३७ घरधुरीका १६१ वटा पशुधनको क्षति भएको छ।
एक्याप जोमसोमअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ मा २७ घरधुरीका ५६ वटा पशुचौपाया र आर्थिक वर्ष २०८१/०८२ मा १२ घरधुरीका ६३ वटा पशुधनको वन्यजन्तुको आक्रमणबाट क्षति भएको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। कार्यालय आर्थिक वर्ष २०८१/०८२ मा जोमसोममा ६, मुक्तिनाथमा १, कोवाङमा १, कुञ्जोमा १, मार्फामा १ र कागबेनीमा २ घरधुरीको वन्यजन्तुबाट पशुधनको क्षति भएको हो। यहाँ च्यांग्रा ५४ वटा, चौंरी ८ वटा र १ घोडामा वन्यजन्तुबाट क्षति भएको कार्यालय प्रमुख गुप्ताले बताए। उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा २७ घरधुरीको ३० वटा याक, २ घोडा, १९ च्यांग्रा र ५ वटा कुखुरामा वन्यजन्तुले नोक्सान पुर्याएको हो। जसअन्तर्गत कोवाङमा १७, मार्फा, २, मुक्तिनाथ २ र कागबेनीमा ६ वटा पशुधनको क्षति भएको एक्याप जोमसोम कार्यालयले जनाएको छ।
तर, एक्याप कार्यालय जोमसोमले आर्थिक वर्ष २०७९/०८० मा वन्यजन्तुबाट भएको ३१ पशुधनको क्षति राहत रकम ५ लाख ५ हजार रूपैयाँ सम्बन्धित १२ घरधुरीलाई गतवर्ष हस्तान्तरण गरेको जनाइएको छ।
यसैगरी, एक्याप लोमान्थाङ क्षेत्रमा पनि दुई आर्थिक वर्षको वन्यजन्तुको क्षति राहत रकम आउन नसकेको जनाएको छ। एक्याप लोमान्थाङअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ मा २७ घरधुरीले वन्यजन्तु क्षति राहतका लागि निवेदन पेस गरेको कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !