कोवाङ-सौरु पुल फेरि अलपत्र

कोवाङ-सौरु पुल फेरि अलपत्र
सुन्नुहोस्

जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका-२ अन्तर्गत पर्ने कालीगण्डकी वारिपारिका गाउँहरू जोड्ने निर्माणाधीन ससपेन्सन पुल निर्माण फेरी अलपत्र परेको छ। कोवाङ-सौरु जोड्ने सस्पेन्सन पुलको फाउन्डेसन तथा सिभिलको ७५ प्रतिशत भौतिक प्रगति हुँदा पुल निर्माणको काम विगत ५ महिनादेखि अलपत्र परेको हो। मुस्ताङको कालीगण्डकी नदीमा निर्माणाधीन (कोवाङ-सौरु) जोड्ने  ५७० मिटर लम्बाइ र २ मिटर चौडा सस्पेन्सन पुल निर्माण २०७७ साल ३० वैशाखमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंले इलाइट रुविना कन्स्ट्रक्सन जेभीसँग ५ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो। सुरुवाती चरणमा जोइनको मुख्य कम्पनी इलाइट कन्स्ट्रक्सनले (कोवाङ-सौरु) जोड्ने पुल बनाउने जिम्मा लिएको भए पनि रुविनाले पुलको आंशिक काम गरेर निर्माणको काम त्यसै अलपत्र पारेर छाडेको थियो।

ठेक्का सम्झौताअनुसार ३० महिनाको समयावधि तोकिएको (कोवाङ-सौरु) जोड्ने सस्पेन्सन पुल निर्माण २०७९ साल कात्तिकसम्म सकिनुपर्ने थियो। तर, निर्माण कम्पनीले कोरोना कहर, हिमपात र प्रतिकूल मौसमको कारण देखाउँदै म्याद थप गर्दै आएको थियो।

सुरुवाती जोइन कम्पनी रुविनाले निकै लामो समयसम्म (कोवाङ-सौरु) जोड्ने ससपेन्सन पुलको काम अलपत्र पारेर छोडेपछि गत वर्षको फागुनदेखि जोइन पार्टनर इलाइट कन्स्ट्रक्सनले जिम्मा लिएको थियो। कालीगण्डकी नदीमा सस्पेन्सन पुल बनाउन इलाइट कम्पनीले प्रतिनिधिका रूपमा निकेश श्रेष्ठलाई कार्यस्थलमा खटाएको थियो।

पुल निर्माणका लागि निकेश श्रेष्ठ कार्यस्थलमा फर्किए लगत्तै गत मंसिर महिनासम्म (कोवाङ-सौरु) जोड्ने पुलको कालीगण्डकी वारिपारि फाउन्डेसन निर्माणका साथै कालीगण्डकी नदीमा दुई वटा ६ मिटर गहिरो फाउन्डेसन निर्माणको संरचना निर्माण सकिएको छ। अहिले इलाइट कन्स्ट्रक्सनले खटाएका प्रतिनिधि निकेश श्रेष्ठले पुलको सिभिलको सबै काम सम्पन्न गरिसकेका छन्। तर, प्रतिनिधि श्रेष्ठलाई पुलको लाठो तान्ने र पुल फिनिसिङको काम बाँकी रहँदै गर्दा इलाइटले जिम्मेवारीमा अलग गराएको छ। प्रतिनिधि श्रेष्ठले (कोवाङ-सौरु) ससपेन्सन पुलको भौतिक प्रगति ७५ प्रतिशत सम्पन्न भइसकेको बताए। ‘पुलको सबै सिभिलको काम सकियो, अब पुल फिटिङको काम मात्रै बाँकी छ’, प्रतिनिधि श्रेष्ठले भने, ‘मैले सरासर गर्न पाएको भए अहिलेसम्म सक्किसकिन्थ्यो। तर, म अहिले पुलको कामबाट अलग भइसकेको छु।’ इलाइट कम्पनीले पुलको फिनिसिङको कामका लागि अर्को प्रतिनिधि खटाउने तयारी गरेको उनले बताए। 

मुस्ताङको थासाङ गाउँपालिका-२ का वडाध्यक्ष गौतम शेरचनले कालीगण्डकी नदीमा निर्माणाधीन (कोवाङ-सौरु) जोड्ने सस्पेन्सन पुल निर्माणको काम ६ महिनादेखि फेरि रोकिएको जानकारी दिए। ३ वर्ष अगावै सकिनुपर्ने पुलको काम निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा सम्पन्न हुन विलम्ब भएको वडाध्यक्ष शेरचनको भनाइ छ।

कालीगण्डकी नदीमा निर्माणाधीन पुलका लागि निर्माण कम्पनी इलाइटले पुलको लाठो र स्टिलपार्टसमेत निर्माणस्थल नजिकै व्यवस्थापन गरेको भए पनि पुल फिटिङको काम अघि बढ्न नसकेको थासाङ-२ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए। मुस्ताङको राष्ट्रिय राजमार्ग सडकदेखि कालीगण्डकी पारीको गाउँ सौरु, सिर्खुम र कोखेठाँटी लगायतका गाउँहरू पुल बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन्। बर्सेनि बर्खायाममा कालीगण्डकी नदीमा जोखिम मोलेर खोला तरेर आवतजावत गर्नुपर्ने सास्ती सौरु, सिर्खुम र कोखेठाँटीका स्थानीयलाई छ। कालिगण्डकी नदीमा पुल नहुँदा कालीगण्डकी पारीका गाउँमा उत्पादन हुने कृषि उपजको बजारिकरणमा समेत समस्या पर्ने गरेको छ। 

बर्खायाममा कोखेठाँटी झोलुङे पुल तरेर डेढ घण्टाको यात्रा गर्दै गाउँपालिका कार्यालय, विद्यालय, स्वास्थ्य सेवा र सदरमुकाम जोमसोम आवतजावत गर्नुपर्ने बाध्यता त्यस क्षेत्रका स्थानीयको रहेको सौरु गाउँका स्थानीय सोजन हिराचनले उल्लेख गरे। कालीगण्डकी नदीमा निर्माणाधीन पुल सकिएमा डेढ घण्टाको यात्रा १५ मिनेटमै तय गर्न सकिने स्थानीय हिराचनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.