तिलिचो पदमार्गमा बने पर्यटक बासस्थान
जोमसोम : विश्वकै अग्लो उचाइमध्येको तिलिचो ताल जाने पदमार्गमा पर्यटक बासस्थान निर्माण गरिएको छ। मुस्ताङको घरपझोङ–५ ठिनीबाट कैसाङ क्याम्प हुँदै तिलिचो ताल जाने सबैभन्दा छोटो दूरीको पर्यटकीय पदमार्गमा पर्यटक बासस्थान निर्माण गरिएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका आर्थिक सहयोग तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोमको समन्वयमा सैनिक उच्च शिखर शिक्षालय कैशाङको जन श्रमदानबाट समुद्री सतहको ४ हजार ५४५ मिटरको अग्लो उचाइमा रहेको ड्रम्प क्याम्पनजिक पर्यटक बासस्थान निर्माण भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए।
‘एक्याप कार्यालयबाट इकुमेन्ट खरिदका लागि २ लाख ५० हजार, समितिको समन्वय र शिक्षालयको भौतिक श्रमदानबाट पर्यटक बासस्थान निर्माण भयो’, कार्यालय प्रमुख गुप्ताले भने, ‘इक्युपमेन्ट जडानदेखि जमिन सम्याउने र फिटिङको काम सबै शिक्षालयबाट पूरा भएको छ।’
समुद्री सतहको ४ हजार ८१९ मिटर अग्लो उचाइमा अवस्थित तिलिचो ताल जोड्ने पर्यटकीय पदमार्गमा शैनिक उच्चशिखर शिक्षालयका सैनिक टोलीले फलामे ट्रस जडान गरेर जस्तापाताले पर्यटक बासस्थान निर्माण भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति सचिव पवन गुरुङले जानकारी दिए।
बासस्थान पूर्वाधारले तिलिचो पदमार्गमा आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई कुनै समस्या परेमा वा साँझमा बस्ने सुविधा प्राप्त भएको संरक्षण व्यवस्थापन समिति सचिव गुरुङले उल्लेख गरे।
मुस्ताङबाट सबैभन्दा छोटो दूरीको तिलिचो पदमार्गमा यात्रा गर्ने पर्यटकलाई मौसम प्रतिकूल हुँदा, हिमपात र हावाहुरी हुँदा र बासस्थानका लागि नवनिर्मित पर्यटक बासस्थानले निकै ठूलो सहयोग पुर्याउने बताइएको छ। मुस्ताङको सैनिक उच्च शिखर शिक्षालय कैसाङका सुरक्षाकर्मीले पूर्वाधार निर्माणका लागि निर्माण सामग्री जोमसोमबाट उक्त स्थानसम्म ढुवानी गरेको एक्यापले जनाएको छ। शिक्षालयले एक महिना खर्चिएर त्यहाँ पर्यटक बासस्थान निर्माण सम्पन्न गरी एक्याप कार्यालयलाई हस्तान्तरण गरेको हो।
मुस्ताङको घरपझोङ–५ ठिनी गाउँ हुँदै तिलिचो जाने दुई पर्यटकीय पदमार्ग रहेका छन्। जोमबाट ठिनी, नमखुलेक हुँदै मेसोकोन्दो पास कटेपछि तिलिचो ताल जाने पर्यटकीय पदमार्ग छ। अर्को ठिनीबाट सैनिक उच्चशिखर शिक्षालयको तालिम केन्द्र कैसाङ हुँदै छमाताल, ड्रम्प क्याम्प हुँदै मेसोकोन्दो पास छेउमा निस्किएर केही घण्टाको पैदल यात्रापछि तिलिचो ताल पुग्न सकिन्छ।
ठिनी हुँदै नमखुसम्म प्रदेश सरकारले कच्ची सडक विस्तार गरेकाले त्यहाँबाट तिलिचो ताल ६ घण्टाको पैदलयात्रा तय गरेपछि तिलिचो ताल पुग्न सकिने ठिनीका स्थानीय नरेन्द्र थकालीले जानकारी दिए। यसैगरी, ठिनी गाउँबाट सैनिक उच्चशिखर शिक्षालय कैसाङसम्म सवारीसाधन जाने सडक बाटो निर्माण भइसकेको छ।
यहाँबाट पनि करिब ५–६ घण्टाको पैदल दूरीमा तिलिचो ताल पुग्न सकिने स्थानीय थकालीको भनाइ छ। गतवर्ष एक्याप जोमसोम र घरपझोङ गाउँपालिकाले मुस्ताङबाट तिलिचो पदमार्गको मर्मत तथा स्तरोन्नति गरेको थियो।
प्रतिक्रिया दिनुहोस !