सन्ततिका लागि घरसम्पत्तिा जोड्ने र जोगाउने आम नेपाली परम्परा चलचित्रको केन्द्रमै छ। घर भनेको पर्खाल मात्र होइन, भावना यसमा छ। चलचित्रले यस्तै थुप्रै कथा र सन्दर्भ बोकेको छ।
झुस्स दाह्री, नकाटेको कपाल, खुला सर्ट, खुकुलो पाइन्ट। सुदूर गाउँबाट काठमाडौं पहिलोपटक पसेको एक युवक राजारामको हुलिया हो यो। खाली हात सहर पस्दाको मनस्थिति कस्तो हुँदो हो ? कहाँ बस्ने, के गर्ने, को आफन्त ? को बिरानो ? ठेगाना बिनाको छ राजाराम।
राजाराम परिवार बिछोडको पीडामा भौंतारिएका पात्र हुन्। भोलापनको उच्चतम विन्दुमा रहेका राजारामलाई हरेक ठक्करहरूले अवसर दिँदै जाँदाको लोभलाग्दो पल। चलचित्र कस्तो हुन्छ ? कुनै रोमान्टिक सिन, ग्ल्यामर सिन तथा फिका डबिङले खल्लो बनाउने नेपाली चलचित्रहरूको भिडमा ‘के घर के डेरा, घर नम्बर–२’ फरक र अब्बल चलचित्रमा दर्ज हुने चलचित्र हो।
काठमाडौं सहर, हेर्दा त राम्रै छ। बाँकी त सबका आआफ्ना दुःख छन्। ती दुःखलाई कसरी परास्त गर्ने ? राजारामको इमानको अगाडि जो कोही नतमस्तक बनिदिन्छन्। इमानले पलाएको जिद्दीलाई जो कोहीले सहजै स्वीकारिदिन्छन्। राजाराम, जहाँ उनी पुग्छन्, त्यहाँ उनले अवसर देख्छन्। पैसामा भन्दा इमानलाई जोड दिँदा उनी खुसी हुन्छन्। उनको इमानसामु अरूको स्वार्थ र जालझेलपूर्ण सम्बन्धहरू फिका देखिन्छन्। राजारामसँगै चलचित्रमा जो कोहीको पनि ध्यान तान्न कथाका केही प्लटहरूले महत्वपूर्ण भूमिका खेलेका छन्।
कोरोना महामारीपछिको लकडाउन र त्यसले सिर्जना गरेको आर्थिक मन्दीलाई चलचित्रमा मिहिन ढंगले उठाइएको छ। एक प्याज व्यवसायीले लाखौं रुपैयाँको प्याज भारतबाट नेपाल भिœयाउँदै हुन्छन्। तर, सोही समयमा भारतले नाकाबन्दी गरेपश्चात् उनको प्याज कुहिएर माटोमा मिल्न जान्छ। त्यसपछि उनले खेप्नुपरेको आर्थिक समस्याले जीवनभर सताउँछ। प्याज व्यवसायीले विगतमा समयले आफूलाई ठगेको अनुभूति गर्ने गरेको भए पनि त्यसपछि भने राजनीतिका कारण यी सब भएको महसुस गर्छन्। उनलाई लाग्छ, राजनीति र कूटनीति मिलेको भए उनको प्याज कुहिने थिएन।
चलचित्रको अन्तिमसम्म उनै व्यवसायीले सिंहदरबार अगाडि आत्मदाह प्रयाससमेत गर्ने दृश्यले मुलुकको अर्थतन्त्रको संकट र त्यसले सिर्जना गरेको हायलकायल परिस्थितिले मुटु काँप्छ। सन्ततिका लागि घरसम्पत्ति जोड्ने र जोगाउने आम नेपाली परम्परा चलचित्रको केन्द्रमै छ। घर भनेको पर्खाल मात्र होइन, भावना पनि हो भन्ने कुरालाई बुद्धिसागरले आफ्नो लेखनमार्फत बुझाउने कोसिस गरेका छन्। आफूले चलाएको फोन हेक्का नगरी अरूलाई दिँदा कस्तोसम्म विपत् आइलाग्छ भन्ने सतर्कता चलचित्रले गराएको छ।
ऋण तिर्न नसकेर बैंकमा भर्खरै याचना गरेर निस्केको ऋणीले चलाएको गाडीमा सडकमा हिँड्ने माग्नेले पैसा मागेको दृश्य, ह्विलचेयरमा बसेर पानीको व्यापार गरिरहेका पसलेले सक्ने भएदेखि सागर नै बोकिदिन्थें भनेको क्षण, बैंकको ऋण तिर्नका लागि पैसा नपुग्दा छोरीको खुत्रुकेसमेत फुटाउन लागेको दृश्य निकै कारुणिक छन्। चलचित्र ऋणै ऋणको जन्जालमा फसेका नागरिकको यथार्थ चित्रण हो ।
नाकाबन्दी, कोभिड–१९ र त्यसपछि उत्पन्न आर्थिक मन्दी, बस दुर्घटना, एक व्यवसायीले बानेश्वरमा गरेको आत्मदाह, मिटरब्याज, अश्लील सामग्री पठाएर गरिने साइबर क्राइमजस्ता देशका पछिल्ला प्रतिनिधि आर्थिक र सामाजिक घटना वरिपरि फिल्मको कथा बगिरहन्छ। ‘मिसअन्डरस्ट्यान्डिङ’ले परिवारको विखण्डन गराउन खोजेको प्रसंगसँगै आर्थिक र मानसिक समस्याले प्रताडित हुँदा निम्तिने घर झगडा र त्यसले बाल मनोविज्ञानमा पर्ने असर फिल्ममा चित्रण गरिएको छ।
सम्बन्धहरूबाट टाढिएका राजारामले कसरी नयाँ सम्बन्धहरू जोड्छ भन्ने प्रसंगहरू र उनको नादान चरित्र चलचित्रका उत्कृष्ट पाटाहरू हुन्। चलचित्रमा राजारामको भूमिकामा खगेन्द्र लामिछाने छन् भने रौनकको भूमिकामा आर्यन सिग्देल, ऋचाको भूमिकामा केकी अधिकारी, दिवाकरको भूमिकामा निश्चल बस्नेत छन्। उपासना सिंह ठकुरी, सिर्जना नापित, प्रकाश घिमिरे लगायतका कलाकारले आफ्नो भूमिकालाई न्याय दिएका छन्।
‘घर नम्बर २’ अब फेरि ‘घर नम्बर ३’ देखाउने आशयसहित टुंगिएको छ। राजारामको परिचय विस्तृतमा खुल्न अझै बाँकी छ। घरबेटीसँगको उसको हिसाबकिताब, बाइकको नामासारी लगायतका प्रसंगले अर्को सिक्वेल बन्दा चलचित्र राजाराम पात्रकै वरिपरि केन्द्रित हुने देखिन्छ। हरेक घरका घरबेटी अनि भाडावालहरूको कथासँगै आर्थिक मन्दीको असरले छोएका व्यक्तिहरूको व्यथा बुनिएको भएकाले प्रायःजसो नेपालीलाई चलचित्रको कथाले आफ्नै अतीत र वर्तमान याद गराइदिन्छ। चलचित्र हेर्ने हरेकले आफ्नै कथा जसरी चलचित्रमा डुबाउन सक्नु निर्देशकको सफलता हो।
सिनेमाटोग्राफर कृष्णबहादुर थापाले खिचेका दृश्य र साउन्ड इफेक्ट फिल्मका उत्कृष्ट प्राविधिक पक्ष हुन्। समग्रमा चलचित्रले नेपालमा नाकाबन्दी र कोरोना महामारीपछिको आर्थिक मन्दीको असरलाई मिहिन ढंगले उतारेको छ। लेखक बुद्धिसागरले हरेक घटनाक्रमलाई न्याय दिएर कथा लेखेका छन् भने दीपेन्द्र के खनालको उत्कृष्ट निर्देशनलाई कथाका मुख्य कलाकारहरूको अभिनयले जीवन दिएका छन्। आर्थिक समस्याको कथा बताएको चलचित्र आफैं भने विभिन्न ब्रान्डसँगको सहकार्यमा चुकेको छ। गहना पसल, बिमा कम्पनी, होटल तथा क्याफे लगायतका ब्रान्ड चलचित्रमा सहजै प्रवर्धन गर्न सकिन्थ्यो। ती बाहेक पनि विभिन्न ब्राण्डहरूलाई सन्दर्भगत रूपमा जोड्न सकिन्थ्यो। झण्डै साढे २ घन्टा लामो चलचित्र केही छोट्याउन सकेको भए मध्यान्तर अगाडिका दृश्यहरू अलि छिटो बग्ने थिए। युवराज कार्की कार्यकारी निर्माता र नकिम उद्दिन, शरद श्रेष्ठ, किरण महर्जन निर्माता छ।
प्रतिक्रिया दिनुहोस !